विकासन्युज

अपर तामाकोशीको हकप्रद खरिद गर्न कहिलेसम्म सेयरधनी बन्नु पर्छ ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । अब साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले मात्रै कम्पनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीका् १ः१ को अनुपात अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयर हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।

एउटै जिल्लाबाट साढे २ सय महिला र बालबालिका हराए

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । यहाँको गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो । पछिल्लो ३ वर्षमा यहाँबाट २ सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७÷७८ देखि आर्थिक वर्ष २०७९÷८० सम्म २४३ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७÷७८ मा ६०, आव २०७८÷७९ मा ७८ र गत आव २०७९÷८० मा १०५ जना हराएका छन् । हराउनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हराएकामध्ये केही फेला पर्ने गरेका भए पनि आधाजसो अझै सम्कर्पविहीन रहेको प्रवक्ता जोशीले बताए । गत आर्थिक वर्षमा १०५ जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका छन् । उक्त वर्ष ७२ महिला, २१ बालिका, १० बालक र २ ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये ३३ महिला, १२ बालिका, ९ बालक र १ ज्येष्ठ नागरिक फेला परेका हुन् । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ४० महिला, २६ बालिका र १२ बालक हराएका थिए । तीमध्ये २३ महिला, १६ बालिका र ६ बालक मात्रै फेला परेका छन् । दुई वर्षको अवधिमा हराएकामध्ये १ सय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए । यसका साथै आव २०७७÷७८ मा हराएका ६० जनामध्ये ३९ मात्रै फेला परेका र अरु सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । आफन्तहरूले खोजीकार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको सङ्ख्या एकीन गर्ने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए । ‘हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिए पनि हराएको मान्छे फेला परेपछि प्रहरीलाई जानकारी दिँदैनन्,’ उनले भने, ‘हराएकाको अझै पनि जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरी खोजी भइरहेको छ ।’ हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । धेरैजसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरू फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ । घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्ने लगायतका कारणले महिला हराउने गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना पनि हुने गरेका छन् । ‘मोबाइल र सामाजिक सञ्जालको दुरूपयोगले पनि पछिल्लो समय यस्ता घटना बाहिर आइरहेका छन् । उमेर नपुगी बिहे गर्ने र घरपरिवारलाई जानकारी नै नदिने कारणले महिला बढी हराएका घटना देखिएका हुन्,’ उनले भने । भागी बिहे गरेको धेरै वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा समेत नआउने गरेका छन् । सीमा नाकामा पनि प्रहरीले शङ्कास्पद व्यक्तिलाई सोधपुछ गर्ने गरेको छ ।रासस

नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै साढे ४४ लाख रुपैयाँ ठगी

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई सोमबार काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बर्माले विक्रम कार्कीसमेत ६ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने, नेदरल्याण्ड्समा प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने तथा मासिक २ लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट पटकपटक गरी जम्मा ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका बर्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका छन् । बैँक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्सपोट्र्स एशोसियशनले संयुक्त रूपमा आयोजना गरेको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ विषयक पुस्तक विमोचन कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निर्यातलाई बढावा दिनुपर्ने बताए । मुख्यसचिव डा.अर्यालले मुलुकले निर्यातजन्य वस्तु विकासमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गरे । निर्यात बढाउनका लागि निर्यात घर स्थापना राम्रो काम भएको बताउँदै निर्यात घर स्थापनाका लागि सरकार लाग्ने स्पष्ट गरे । उनले विदेशमा निर्यात हुने वस्तुलाई स्वदेशी बजारमा समेत प्रयोग गर्नसके राम्रो हुने बताए । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने बताए । उनले निर्यातजन्य वस्तुमा गुणस्तरलाई ध्यान दिन आम व्यवसायीलाई आग्रहसमेत गरे । परराष्ट्र सचिव पौडेलले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले समेत सहजीकरण गर्ने बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालमा उत्पादित वस्तुलाई विदेशसम्म निर्यात गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो हुने धारणा राखे । सरकारले विदेशमा निर्यात हुने वस्तुलाई पहिचान गरिरहेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाललगायतले दिगो विकासको लक्ष्य पूरा गर्न नेपालको मौलिक उत्पादनलाई बढावा दिई विदेशमा निर्यात गर्नुपर्ने बताएका थिए । बैंक तथा वित्तिय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले आकाशिँदो आयात र बढ्दो व्यापार घाटालाई कम गरी मुलुकमा रोजगारी प्रदान गर्नका लागि निर्यातलाई बढाउनुपर्ने बताए । उनले मौलिक उत्पादनलाई विकास गरेर विदेशमा निर्यात गर्न सके २ वर्षमा ८ लाख रोजगारी सिर्जना गर्न सकिने धारणा राखे । डा.गोपालप्रसाद तिवारी, उत्तमप्रसाद गौतम र कृष्णराज बजगाईंद्वारा लिखित उक्त पुस्तकमा नेपाली हाते कागज, अल्लो, वस्त्र, उनी फेल्ट, धनियाँ, अलैँची, जडीबुटी, बेसार, अदुवा, धूपरअगरबत्ती र बास्केटलाई विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताइएको छ ।

बजेट अभावमा पशुपक्षी रोग अन्वेषण प्रयोगशालाको सेवा आजदेखि बन्द

काठमाडौं । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । सरकारले चालु वर्षमा यो कार्यालयका लागि शून्य बजेट विनियोजन गरेपछि कार्यालयले दिँदै आएको सेवा बन्द गर्नुपरेको कार्यालयका प्रमुख डा.नरेश जोशीले बताए । नेपाल सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा कृषि तथा पशुसम्बन्धी प्रयोगशाला, फर्म केन्द्र र स्रोत केन्द्रलाई प्रदेशमा हस्तान्तरण गर्ने भनी उल्लेख भई पशुसेवा विभागअन्तर्गतका केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालयलगायतका अत्यावश्यक सेवा पु¥याउने निकायको बजेट विनियोजन शून्य पारेको बताइएको छ । “कार्यालयमा पानी पिउन, मास्क लगाउन, किट खरिद गर्न पाउनेसम्मको बजेट छैन”, डा.जोशीले प्रश्न गरे, “पशुजन्य रोगको महामारी फैलिएको अहिलेको अवस्थामा कार्यालयको बजेट शून्यमा झारेर के गर्न खोजिएको हो ?” पशुपक्षीका विभिन्न महामारीजन्य रोगको अन्वेषण र निदानका लागि किसानलाई सेवा प्रवाह गर्दै आएको सुदूरपश्चिम प्रदेशको एकमात्र यो कार्यालयको बजेट शून्यमा झारेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको कर्मचारीले बताएका छन् । यो कार्यालयमा १४ कर्मचारी कार्यरत छन् । कार्यालयका अर्का एक कर्मचारीले भने, “आवश्यक बजेट अभावमा कार्यालयको सेवा नचाहँदा नचाहँदै पनि बन्द गर्नुपरेको छ, यसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई गराएका छौँ ।”

हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार

काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ । पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए । सुत्केरी खड्का र बच्चाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । सुत्केरी भएको १५ मिनेटपछि बच्चाको फोक्सोमा समस्या देखिएको थियो । बच्चालाई मुटु र फोक्सोमा समस्या भएपछि जिल्ला अस्पतालमै केही बेर आइसियु र ३ घण्टा भेन्टिलेटरमा राखिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप सिलवालले जानकारी दिए । बच्चाको मुटु र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको मेडिकल अधिकृत सिलवालले बताए । सुत्केरी खड्काको सोमबार बिहान साढे १० बजे शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ । सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।

करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन निर्देशन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका करारका कर्मचारीको भविष्य सुनिश्चितताका लागि सामाजिक सुरक्षा कार्यक्रम यही साउनदेखि नै लागू गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समीक्षा बैठकमा उनले स्थायी कर्मचारीको पेन्सन तथा उपदान हुने तर करार कर्मचारीको जागिर छोड्दा वा अशक्त हुँदा हातमा केही नहुने भएकोले यो कार्यक्रम अनिवार्य लागू गर्न लागिएको बताए । उनले भने, “जागिर छुट्दा, अशक्त हुँदा आर्थिकरूपले सहयोग पाउनका लागि यो कोषको महत्त्व छ । त्यसैले यही साउनदेखि लागू हुने गरी काम गर्नुहोस् ।” उनले बागमती प्रदेश सुशासन केन्द्रलाई तालिम दिने क्रममा उपलब्धिको पनि लेखाजोखा राख्न सुझाए । राज्यकोषबाट खर्चिएको रकम उपलब्धिमा परिणत हुनैपर्ने बताउँदै उनले तालिमपछिको उपलब्धि हेर्न पनि विशेष जोड दिए । खर्च फछ्र्योट गर्नका लागि तालिमको आयोजना नगर्न उनले आग्रह गरे । त्यसैगरी प्रदेश नीति तथा योजना आयोगलाई पनि मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री एवं सचिवहरूको टेबलमा अटाउने खालको प्रभावकारी योजना पेस गर्न निर्देशन दिए । बजेट बन्दा संयोगले आयोगको योजना पर्ने बाहेक योजनाको ठेलीमा कसैको आँखा नजाने तितो यथार्थ रहेको भन्दै यसलाई सुधार गर्न प्रभावकारी योजना टेबलमा राख्न मिल्ने बनाउन उनले सुझाव दिए । यसका साथै प्रदेशको सूचना बैंक चुस्तदुरुस्त राख्न उनले कर्मचारीलाई निर्देशन दिए । बागमती प्रदेशका मुख्यमसचिव घनश्याम उपाध्यायले गत आर्थिक वर्षको उपलब्धि राम्रो भए पनि अब उत्कृष्ट काम गर्नुपर्ने बताए । उनले आफूहरूको उपस्थिति प्रदेशको विकासले देखाउने भन्दै सबै कर्मचारीलाई देखिने र प्रभावकारी काम गर्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा डा नरविक्रम थापाले पूँजीगत खर्च कम देखिएकाले सुधार ल्याउँदै प्रभावकारी बजेट र कार्यान्वयन शैली अपनाउनुपर्ने बताए । उनले विनियोजित बजेटले योजना पूर्णरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । समीक्षा बैठकमा प्रदेश सुशासन केन्द्र र प्रदेश किताबखानाले प्रगति विवरणसहितको कार्यत्र प्रस्तुत गरेको थिए ।

लम्पी स्किन रोग पीडित किसानलाई राहत दिने सरकारको तयारी

काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताए । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताए । लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए । प्रधामन्त्री प्रचण्डले भने, “छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदममा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र क्षति भएको छ ।” उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहालले बैठकमा भने, “अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ ।” उनले चीन र भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए । लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “गाईभैँसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।” किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए । लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानमा सचेतना फैलाउन जोड दिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । यस्तै, राहतको मोडालिटीका बारेमा आवश्यक प्रस्ताव तयार पारेर ल्याउन प्रधानमन्त्री प्रचण्ड दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका थिए । यस्तै, सो रोग नियन्त्रणका लागि ‘बर्डफक्स’ नामक खोप निःशुल्क उपलब्ध गराउने भएको छ । हाल प्रयोग भइरहेको खोपभन्दा प्रभावकारी रहेको र विश्व स्वास्थ्य सङ्गठनले समेत सो खोप प्रयोग गर्न अनुमति दिएको तथा नेपालका कृषि तथा पशुविज्ञहरुले दिएको सुझावका आधारमा बर्डफक्स खोप प्रयोग गर्न लागिएको हो । सो खोप प्रयोगका लागि समेत आवश्यक अनुमति दिन लागिएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा भुसालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार देशभर कूल ११ लाख बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । हाल एक लाख ८१ हजार पशु चौपाया सो रोगका कारण सक्रिय सङ्क्रमित छन् । पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा रु तीस अर्ब बराबरको क्षति भएको छ । यस्तै, समग्रमा रु एक खर्ब बराबरको क्षति भएको सो अवसरमा जानकारी दिइएको थियो । रोगका कारण पशु चौपाया मर्दा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित भएको छ । दूध उत्पादनमा समेत असर परेको छ । किसान प्रत्यक्ष रुपमा प्रभावित भएकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्ने र त्यसका लागि आवश्यक बजेट र मापदण्डको व्यवस्था गनुपर्र्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको भनाइ छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले रोग प्रभावित किसानले प्रत्यक्ष रुपमा राहत पाउने गरी व्यवस्था गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले किसान प्रत्यक्ष रुपमा मारमा परेकाले उचित राहत दिने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए । यस्तै, निःशुल्क खोप उपलब्ध गराएर थप क्षति हुनबाट रोक्नुपर्ने उनको भनाइ छ । उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपन्छी विकासमन्त्री भुसाल, योजना आयोगका उपाध्यक्ष श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, गणेश पाण्डे, रामप्रसाद थपलिया कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल, सोही मन्त्रालयका कृषितर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो ।