प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा अधिकारी मनोनयन
काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ । संस्कृत, पयटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको यो कार्यालययले रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेश भएका कागजात लगायतको अध्ययनका तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञमा मनोनयन गरेको हो । सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रडक्ट लगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेश गरेको कागजातको अध्ययन तथा प्रमाणीकरणमा विज्ञ अधिकारीले सहजीकरण गर्नेछन् । सूचना प्रविधिसम्बन्धी विभिन्न सेवाको विकास तथा प्रयोग भइरहँदा यससम्बन्धी उत्पादनका निर्माता एवं हकवालाको अधिकारलाई कानूनी रूपमा सुरक्षित गर्न मद्दत गर्ने उनले बताए । साथै, आईटी क्षेत्रमा अनाधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताहरूको अधिकार संरक्षण तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफ्नो सहयोग रहने उनले उल्लेख गरे ।
आर्यन इन्जिनियरिङका विद्यार्थी नेपाल इको प्यानलमा
काठमाडौं । आर्यन स्कुल अफ इन्जिनियरिङ मध्यबानेश्वर काठमाडौं नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले सोमबार भक्तपुरस्थित एउटा निमार्ण सामाग्री उत्पादन कारखानामा पुगेर अध्ययन भ्रमण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेजका इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले नेपाल इको प्यानल चाँंगुनारायण झौखेल भक्तपुरस्थित कारखानामा पुगेर अध्ययन भ्रमण गरेका हुन् । सन् २०१० देखि व्याचुलर इन इन्जिनियरिङको पढाई सुरु गरेको कलेजका इन्जिनियर विद्यार्थीहरु पाठ्यक्रम अनुसार सिभिल इन्जिनियरिङ म्याटिरिअल्स विषयमा जानकारी लिन कारखाना पुगेका हुन् । कारखानामा पुगेका विद्यार्थी इन्जिनियरहरुलाई नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानल निर्माणको विविध पक्षहरुकाबारेमा जानकारी गराएका थिए । नेपाल इको प्यानल पछिल्ला वर्षहरुमा देशैभरि लोकप्रिय निर्माण सामाग्रीको रुपमा आएको भन्दै यसको विविध कारणहरुबारे विद्यार्थीलाई जानकारी दिएका थिए । त्यस क्रममा विद्यार्थीलाई इको प्यानल अग्नी प्रतिरोधी निर्माण सामाग्री भएको प्रयोगात्मक रुपमा गरेर देखाइएको थियो । इको प्यानलमा मटितेल लगाएर आगो लगाउँंदा पनि नजल्ने निर्माण सामाग्री भएको भन्दै इको प्यानलमा आगो लगाएर पनि नबलेको सप्रमाण देखाइएको थियो । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्पन्न हुने, ढुवानीमा सहजता हुनेलगायतका कारण पछिल्ला वर्ष नेपाल इको प्यानल देशैभरि विभिन्न ठाउँंहरुमा डिलरमार्फत् विक्रीवितरित छन् । भ्रमणले विद्यार्थीमा प्रयोगात्मक ज्ञान वढेको विश्वास कलेजले गरेको छ । सल्लाघारी भक्तपुरमा कर्पोरेट कार्यालय रहेको नेपाल इको प्यानलको उत्पादन गर्ने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।
कुमारी, कृषि विकास र नेपाल बैंकबाट सेयर कर्जा लिँदा सस्तो, कुन बैंकको ब्याज कति ?
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको र कर्जाको ब्याजदर घट्दै गएपछि बैंकहरुले कर्जा लगानी बढाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर घटेपछि ऋणीहरु पनि थप ऋण लिन उत्साहित हुन थालेका हुन् । विशेष गरेर सेयर बजार घटेकोले पनि ऋणीहरुले बैंकबाट ऋण लिएर सेयर खरिद गर्न खोजिरहेका छन् । बैंकहरुले पनि लगानीकर्ताहरुलाई फोन गरेर सेयर कर्जा लिन आग्रह गरिरहेको लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले पनि ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत लागू गर्न निर्देशन दिएपछि लगानीकर्ताहरु थप कर्जा लिन हौसिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष सेयर कर्जा घटाएपनि चालू आर्थिक वर्षमा भने बढ्ने देखिएको बैंकरहरु बताउँछन् । उनीहरुका अनुसार कर्जा प्रवाहमा सहज हुँदै गएकाले यस वर्ष सेयर कर्जा वृद्धि हुनेछ । गत वर्ष बैंकहरुले सेयर कर्जा १४.७१ प्रतिशत घटाएर ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँको मात्रै प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको जेठसम्म ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत जेठसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ, विकास बैंकहरुले १३ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले ३ अर्ब ६१ करोड ९४ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । अब बैंकहरुमा लगानी योग्य पूँजी तथा तरलता सहज भएपछि सेयर कर्जा प्रवाहमा जोड दिन थालेका हुन् । विगत केही महिनादेखि ठप्प रहेको सेयर कर्जा फेरी बढ्ने बैंकहरुले अपेक्षा गरेका छन् । गत वर्ष बैंकिङ्ग क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गरेको थियो । अब, तरलता हुँदै गएपछि राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जा बढाउन चाहेको देखिन्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दछन् । जसको आधार दर र प्रिमियम दर कम छ सो बैंकको कर्जाको ब्याज पनि सस्तो पर्छ । बैंकहरुको तथ्याङ्क अनुसार सेयर कर्जामा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ११.२७ प्रतिशतमा सेयर कर्जा दिने गरेको छ । बैंकको आधार दर ८.०२ प्रतिशत छ भने सेयर कर्जाको प्रिमियम ३.२५ देखि ३.५० प्रतिशत तोकिएको छ । बैंकका अनुसार ऋणीको अवस्था हेरेर प्रिमियम निर्धारण गरिन्छ । यदि असल ऋणी सेयर कर्जाका लागि बैंकमा आउनु भयो भने आधार दरमा ३.२५ प्रतिशत गणना गरेर सेयर कर्जामा ब्याजदर निर्धारण गर्ने गरेको बैंकले बताएको छ । सेयर धितो कर्जामा राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर बैंकिङ्ग क्षेत्रमै सबैभन्दा सस्तो हो । यस्तै, नेपाल बैंकले न्यूनतम ११.९४ प्रतिशत ब्याजदरमा सेयर कर्जा प्रवाह गर्ने गरेको जनाएको छ । बैंकले सेयर कर्जामा आधार दर ९.४४ प्रतिशतमा २.५ प्रतिशतदेखि ५ प्रतिशत प्रिमियम दर गणना गर्ने गरेको छ । यस्तै, नबिल बैंकले १२.५२ प्रतिशतमा सेयर धितो कर्जा प्रवाह गर्ने गरेको छ । बैंकले आधार दर ९.५२ प्रतिशतमा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेको बताएको छ । यस्तै, कृषि विकास बैंकले सेयर धितोमा १२.६४ प्रतिशत ब्याजमा कर्जा दिने बताएको छ । बैंकको आधार दर १०.१४ प्रतिशत छ भने २.५ प्रतिशत प्रिमियम लिने बैंकको भनाइ छ । यस्तै, कुमारी बैंकले न्यूनतम १२.७८ प्रतिशतमा सेयर धितो कर्जा दिने बताएको छ । बैंकले आधार दर १०.७८ प्रतिशतमा ऋणको स्थिती हेरेर न्यूनतम २ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म प्रिमियम तोक्ने बताएको हो । यस्तै, सिद्धार्थ बैंकले १४.४१ प्रतिशत, सिटिजन्स बैंकले १४.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १४.५७ प्रतिशत, एभरेष्ट बैंकले १४.६१ प्रतिशत, माछापुच्छ्रे बैंकले १४.७४ प्रतिशत र एनआईसी एशिया बैंकले १४.९८ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिने बताएका छन् । यस्तै, ग्लोबल आइएमई बैंकले १५.०८ प्रतिशत, सानिमा बैंकले १५.१५ प्रतिशत, प्रभु बैंकले १५.१६ प्रतिशत, एनएमबि बैंकले १५.२४ प्रतिशत, प्राइम बैंकले १५.५७ प्रतिशत, नेपाल एसबिआई बैंकले १५.७२ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १५.८० प्रतिशत र हिमालयन बैंकले १५.८४ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिने गरेका छन् ।
सुन प्रकरणमा म माथि लागेको आरोपबारे छानबिनका लागि तयार छु : वर्षमान
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् । सोमबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए । पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी बिरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए । अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरीत्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने उनले बताए । राज्यका निकायहरुले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करी बिरुद्ध चलाएको अभियान नेपाली राजनितिलाई शुद्ध बनाउन चालिएको अभियान हो । यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन । म कतै जोडिएको छैन । गत आठ वर्ष पहिले पारिवारीक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ’, उनले भने, ‘आगामी दिनमा हामी कस्ता मान्छेसँग छानबिन गर्ने कस्ता मान्छेसँग नगर्ने भनेर सोंच्नुपर्छ । मेरोबारेमा पनि ठोस रुपले त उठेको छैन, कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु । र, म दोषी ठहरीए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु । राजनीतिक, व्यक्तिगत चरित्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्छ । न्यायिक समिति, संसदीय छानबिन समिति वा प्रहरी कसबाट अनुसन्धान हुनुपर्ने हो म उभिन तयार छु’, उनले भने ।
कुलमानद्वारा ‘फोन पे’ अभियानका विजेता पुरस्कृत
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ अभियानका विजेतालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशनक कुलमान घिसिङले पुरस्कृत गरेका छन् । फोन पेले सुरु गरेको ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ अभियान अन्तर्गतका विजेता अनुप सिकर्मी घिसिङबाट पुरस्कृत भएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यलयमा गत बिहीबार पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । उक्त अभियान गत जेठ महिनाभर लागू गरिएको थियो । उक्त योजनाप्रति ग्राहकको राम्रो आकर्षण देखिएको कम्पनीको भनाइ छ। उक्त योजनामा सहभागी हुन ग्राहकले तोकिएको अवधिभर, बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोन पेको बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने शर्त राखिएको थियो ।
सिविफिनले ल्यायो उद्योग मर्जरको बहस, यी १० वस्तु निर्यात गर्न सके अर्थतन्त्र बलियो हुने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ र फेडरेसन अफ नेपाल एक्सपोटर्स एसोयिसनले संयुक्त रुपमा आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु नामक पुस्तक सार्वजनिक गरेको छ । लेखकहरु डा. गोपाल तिवारी, उत्तम प्रसाद गौतम र कृष्णराज बजगाईंकोे सहयोगमा दुइटै संस्थाले सो पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा मुलुकलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने विषय उल्लेख छ । मुलुकको समग्र आर्थिक विकासका लागि उद्योग तथा वाणिज्य क्षेत्रको योगदान, आपूर्ति सुनिश्चितता सहित पर्याप्त परिमाणमा प्रतिस्पर्धी र गुणस्तरीय वस्तु उत्पादन र निर्यात क्षेत्रलाई दीगो बनाउने मूख्य सम्भावना र चुनौतीका विषय पुस्तकमा समावेश छन् । पुस्तकमा व्यापारिक गतिविधि, रियलस्टेट, दोश्रो बजार तथा सवारी साधनमा केन्द्रित वर्तमान वित्तीय लगानीलाई दीर्घकालीन प्रकृतिको उद्योग क्षेत्रमा केन्द्रित गर्नु जरुरी रहेको उल्लेख गर्दै देशभित्र बढ्दो माग र बाह्य मुलुकहरूमा निर्यातको बढ्दो सम्भावनाहरूका माझ उत्पादनमुलक क्षेत्रमा थप लगानी आकर्षित गर्न सकिने विषयले पनि प्राथमिकता पाएको छ । पुस्तकमा मुख्य १० वटा वस्तुको पहिचान गरी ती वस्तुको निर्यात गर्न सके देशलाई आत्मनिर्भर र अर्थतन्त्रमा मजबुुत बनाउन सकिने बताइएको छ । लेखकहरुले अल्लो, अलैंची, अगरबत्ती/धुप, फेल्ट, अदुवा, जडीबुटी, नेपाली हाते कागज, धनियाँ, बेसार, यार्न (धागो), कपडा (टेक्सटाइल) तथा तयारी पोशाक र वानस्पतिक रेशाबाट बनेका हस्तकलाका वस्तुहरू (बास्केट, गुन्द्री, चटाई, डोको डालो) लाई उत्पादन गरेर निर्यात गर्न सके देशको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने बताएका छन् । पुस्तकमा ती १० वस्तुहरुको विषयमा प्राफाइल पनि समावेश छ । अल्लोको उत्पादन तथा निर्यातले आगामी पाँच वर्षमा रेशाजन्य वस्तुहरुको करिब १३ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात प्रतिस्थापन गर्न सकिने, अलैंचीको निर्यात ४० अर्ब रुपैयाँ बराबर पुग्ने, १४३ अर्बको विश्व अलैंची बजारमा नेपालको उपस्थिती बढ्ने र अगरबत्तीको उत्पादन तथा निर्यातले करिब ४ हजारले थप रोजगारी पाउने विषय पनि पुस्तकमा उल्लेख छ । यस्तै, उनी फेल्टको निर्यातले १ अर्ब २५ करोड युएस डलरको विश्व आयात बजारमा नेपालको उपस्थिती बढ्ने, करिब ३० हजारले थप रोजगारी पाउने, अदुवाको निर्यात ७४ अर्ब रुपैयाँ पुग्ने, करिब २३ हजारले रोजगारी पाउने र जडीबुटीको उत्पादनले विश्वको ३ अर्ब १६ करोड युएस डलर अर्थात् ३ खर्ब ७४ अर्ब रुपैयाँ को जडीबुटी आायत बजारमा नेपालको उपस्थिती हुने विषय पुस्तकमा लेखिएको छ । नेपाली हाते कागजको विश्वको आयातको ८ करोड ४३ लाख युएस डलर को बजारमा नेपालको उपस्थिती उल्लेख्य बढ्ने, ५ हजारले रोजगारी पाउने, यार्नको उत्पादनले सबै प्रकारको कपडा आत्मनिर्भर बनाउन सकिने, धनियाँ र बेसारको उत्पादनले ३५ करोड अमेरिकी डलर बराबर रहेको धनियाँको वर्तमान विश्व आयात बजारमा नेपालको उल्लेख्यउपस्थिती हुने, वार्षिक ९६ करोड बराबरको धनियाँको आायत प्रतिस्थापन हुने विषय पुस्तकमा उल्लेख छ । बनस्पतिक रेशाबाट बनेका हस्तकलाका वस्तुहरुको उत्पादन तथा निर्यातबाट २ अर्ब ८२ करोड अमेरिकी डलर को विश्व बजारमा नेपालको उपस्थिती उल्लेख्य वृद्धि गर्न सकिने विषय पनि पुस्तकमा समावेश छ । यस्तै, पुस्तकमा लेखकहरुले केही सुझावहरु पनि दिएका छन् । लेखकहरुले नीतिगत व्यवस्था, संस्थागत व्यवस्था, उत्पादन वृद्धि, सरोकारवालाहरुको हित प्रवद्र्धन, प्रतिस्पर्धी क्षमता अभिवृद्धि, वस्तु विविधकरण, बजार प्रवद्र्धन, आन्तकिरक बजार प्रवद्र्धन र बाह्य बजार विस्तार लगायत सम्बन्धमा सुझावहरु दिएका छन् । व्यवसाय विस्तारमा सहज हुने गरी भूमीको हदबन्दीमा छुट तथा बाँझो जमिन उपयोगमा सहजीकरणको व्यवस्था, दोहोरिएका संस्थागत संरचनाको एकल छातामा पुनर्गठन, उत्पादन क्षेत्रमा विस्तार तथा उत्पादकत्व वृद्धि, खरिद प्रत्याभुति सहित आधार मुल्यको व्यवस्था, नेपाली उत्पादनहरुको गुणस्तर मुल्य, परिमाण र आपुर्ति समयजन्य प्रतिस्पर्धी क्षमताको अभिवृद्धि गर्नु पर्ने विषय सुझावका रुपमा राखिएको छ । नेपाली वस्तुको प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि अनुदान, छुट र प्रोत्साहन लगायत विषयमा जोड दिनुपर्ने सुझाव लेखकहरुले दिएका छन् । मर्जरमा जाने उद्योगहरुका लागि उत्प्रेरणात्मक व्यवस्था गर्नु पर्ने, द्रूत गति ढुवानी सेवाको प्रावधानको व्यवस्था गर्ने, अन्तर्रासष्ट्रय मूल्यलाई सन्दर्भ मूल्य तोकी भन्सार मूल्यांकनको व्यवस्था गर्ने, आन्तरिक र बाह्य बजारको समानुपातिक रुपमा उपयोग गर्ने, स्वदेशी उपभोक्ता सामु नेपाली उत्पादनको परिचय स्थापना गर्ने र बाह्य बजार अनुसन्धानमा नेपाली कुटनीतिक नियोगको समन्वय तथा सहयोगमा निजी क्षेत्रका अनुसन्धानकर्ता परिचालन गर्नु पर्ने सुझाव लेखकका छन् ।
सामुदायिक सरह निजी विद्यालयलाई सुविधा दिन निर्देशन
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङका अनुसार उक्त उपनियममा फिदिम नगरपालिकाभित्र सञ्चालन हुने सबै संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई तहअनुसार सामुदायिक विद्यालय सरह सुविधा दिनुपर्ने व्यवस्था छ । उक्त उपनियमले तलब स्केल, दशैँ खर्च, बिदा, तालिम र ज्येष्ठता भत्ता सामुदायिक विद्यालयको सरह हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै सोही नियमावलीको नियम १३ को उपनियम ३ मा शिक्षक कर्मचारीका लागि नियमित तलबबाट निश्चित प्रतिशत रकम छुट्टयाइ सोही बराबर रकम थप गरी सञ्चयकोषको प्रवन्ध गर्नुपर्ने, उपनियम ५ मा शिक्षक तथा कर्मचारीका दुई जनासम्म बालबच्चाको मासिक पढाइ शुल्क लिन नपाउने र उपनियम ८ मा बैङ्क खातामार्फत शिक्षक कर्मचारीलाई तलब भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत योङहाङले सबै संस्थागत विद्यालयलाई पत्र लेख्दै यसबारे भइरहेको प्रगतिको विवरण यथाशीघ्र नगरपालिकामा पठाउन निर्देशन दिएको हो । रासस
आलु बिक्रीबाट राम्रो आम्दानी गर्दै रोल्पाका किसान
रोल्पा । गङ्गादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ । उनीहरुको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्नमै बित्ने गरेको छ । आजभोलि कोही आलु खनेर बोरामा प्याकिङ गर्न त कोही गर्न मोटर बाटोसम्म बोरा ओसार्न व्यस्त देखिन्छन् । यहाँ माघ–फागुनमा रोपेको आलु जेठ अन्तिम साताबाटै खन्न सुरु भइसकेको छ । यहाँ हिउँदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुन्छ । सिँचाइको पहुँच भएका ठाउँमा माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ । बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले गङ्गादेव गाउँपालिकाका अधिकांश किसान आलु खेतीतर्फ आकर्षित छन् । आलुले सामान्यतयाः ९० दिनमा प्रतिफल दिन सुरु गरिसक्छ । गङ्गादेव–३ का किसान पार्वती केसीलाई पनि वर्षभरिको घर खर्चको जोहो आलु खेतिबाटै हुन्छ । ‘हामिले घर खर्च चलाउने भनेकै आलुखेती हो । आलु किन्न व्यापारी घरमै आउँछन् बेच्नका लागि कुनै समस्या छैन’, केसीले भने । गङ्गादेव गाउँपालिकाका सबै वडामा आलु खेती राम्रो हुने भए पनि वडा नं. ३ आलुखेतीका लागि राम्रो मानिन्छ । आलु यहाँको मुख्य नगदेवाली भएकाले गाउँपालिकाको कृषि शाखाले आलु खेती विस्तार, बजारीकरणलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका कृषिशाखा प्रमुख टीका रामवलीले भने । यहाँ प्रत्येक किसानले न्यूनतम ३० देखि बढीमा दुई सय २० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेको उनको भनाइ छ । जेठ पहिलो सातादेखि हालसम्म यहाँबाट करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ । यसपटक गङ्गादेवमा करिब ४० हजार क्विन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरिसक्ने गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वलीको भनाइ छ । यसपटक करिब १२ करोड बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको उनले बताए। यहाँ उत्पादन हुने आलु दाङ, बुटवल, पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ । गंगादेवगाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु बिकास कार्यक्रम खुमलटारसँगको समन्वयमा काम गर्दै आएको छ । गाउँपालिकाले चालु आवमा विज्ञ नै बोलाएर तालिम समेत दिने योजना बनाएको छ । गङ्गादेव गाउँपालिकामा आलु बीउका लागि रष्ट्रिक स्टोरको समस्या भएको हुदा आलुको बीउ सुधारका लागि विभिन्न खालका रष्ट्रिक स्टोर निर्माण गर्ने र किसानलाई बीउ सुधारको लागि नयाँ आलुको मूल तथा उन्नत बीउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले बताए । उनले आलुको उत्पादन बढाउन ठाउँमा सिँचाइका पहुँच पुर्याउने समेत लक्ष्य लिइएको बताए । ‘गङ्गादेव गाउँपालिकाले कृषिलाई विशेष प्राथामिकता दिएको छ । लुम्बिनी प्रदेशभर यहाँको आलुको चर्चा हुने गरेको छ’, उनले भने । रासस