विकासन्युज

विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बनाउनु पर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन् । सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा पछिल्लो समय इकमर्स, डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए । सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको उनले बताए । नेपालमा फिनटेक कम्पनी, अनलाइन व्यापार, कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्स लगायतमा अनलाइन सेवा बिस्तार भइरहेको उनले बताए । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिनेगरी योजना बनाएर काम गरिरहेको गभर्नर अधिकारीले जानकारी दिए । मुलुकको जिडिपीमा सूचना प्रविधिको क्षेत्रले २ प्रतिशत योगदान पुर्याएको भन्दै उनले नेपालका लागि रोजगारी सिर्जनाको विषय मात्र नभएर सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रुपमा विकास हुने सम्भावना देखिएको बताए । गभर्नर अधिकारीले नेपाल सरकार आफैँले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर आन्तरिक बजार लक्षित गतिविधि बढाउँदै जानुपर्ने बताए । नेपाल राष्ट्र बैंकले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ ।

दराज क्यामूमा सिटिजन्स बैंकका ग्राहकले सामान किन्दा विशेष छुट पाउने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले दराज क्यामूमा सामान किन्दा विशेष छुट पाउने भएको छन् । छुट सम्बन्धी सम्झौतापश्चात बैंकका कार्डवाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५ सयसम्म छुट पाउन सक्नेछन् । यसका साथै सिटिजन्स बैंकबाट आउँदो अगस्ट १ तारिखपश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमा प्रथमपटक कारोबार गर्दासमेत थप  १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन् । दराज क्यामुको रोटरी कम्पलेक्स थापाथलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे । सोही अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ई–कमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने बताए । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । हालसम्म बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हेटौँडामा राजमार्ग विस्तार थालियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । ‘कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ’, उनले भने । सडक विस्तारको काम पेचिलो बन्दै गइरहेका बेला उपमहानगरले केही साताअघि बजार क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटबिरुवा, गमला र फलामका रेलिङ हटाएको थियो । उपमहानगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारबाट हेटौँडाको सुन्दरता बढ्ने उल्लेख गर्दै उनले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले कार्यालयले घरटहरालगायतका संरचना हटाउन दिएको म्याद सकिएकाले आजदेखि अदालतमा फछ्र्योट भएर आएका तीन सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने उनले जानकारी दिए। रासस

मोरङमा मात्र ८६५ डेङ्गुबाट सङ्क्रमित

मोरङ । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् । यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् । मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनले यो रोग नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी कार्य गरिरहेको जानकारी दिए । प्रमुख डा. मेहताले डेङ्गु फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान सुरु गर्नका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको बताए । कार्यालयले डेङ्गु सङ्क्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनाका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने  रक्त किटहरु पालिकाको मागअनुसार  पठाइसकिएको जनाएको छ । बिराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन डेङ्गुका बिरामीको उपचार भइरहेको छ । अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेङ्गुका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चन्द्रलाल झाले बताए । यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने भएकाले अविलम्ब  चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उनको सुझाव थियो । यो रोगबाट  बच्न राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने छ । डेङ्गु सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत पानी जम्ने स्थान सफा राख्नु पर्छ । रासस

चामल-दाल-तेल उद्योग संघको अध्यक्षमा पुन: दुगड निर्वाचित, यस्ता छन् पहिलो बैठको निर्णय

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघको काठमाडौंमा  सम्पन्न अधिवेशन तथा ४४औँ वार्षिक साधरण सभाले दुगडको अध्यक्षतामा र्निविरोध नयाँ कार्यसमिती चयन गरेको हो । कार्यसमितीको प्रथम उपाध्यक्षमा राम थापा निर्वाचित भएका छन् । त्यस्तै द्धितिय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दिपक कुमार पौडेल, उपमहासचिवमा धिरज गोल्छा, कोषाध्यक्षमा रतन लाल केडिया निर्वाचित भएको संघले जनाएको छ । काठमाडौंमा सम्पन्न अधिवेशन तथा साधारण सभाले विभिन्न निर्णयहरु समेत गरेको संघले जनाएको छ । यस्ता छन् संघको पहिलो बैठको निर्णय : चामल : क) धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नु पर्ने । ख) भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुंदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसंग मिलेर उचित ब्यवस्था गर्न भारत सरकार संग धान आयातको लागि पहल पर्ने । ग) नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, ब्यवसायी र किसान मिलेर त्रिपक्षिय सम्झौतामा काम गर्न पहल गर्ने । दाल/गेडागुडी : क. कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायम गर्न पहल गर्ने । ख) मुसुरो दाल बिदेश निकासी गर्दा दिदै आएको इनसेनटिभ कायम गर्न पहल गर्ने । ग) छिमेकी देश भारतले ० प्रतिशत महसुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमा बिक्री गरीरहेको छ । यसले नेपाली उद्योगलाई प्रत्यक्ष असर गरिरहेकोले मुल्य समायोजनमा समस्या पर्ने गरेकोले तयारी दाल आयात रोक्न पहल गर्ने । घ) दाल निकासी गर्दा लाग्ने प्रति के.जी १ रुपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने । तोरीतेल : क) तोरी तेलमा मु.अ.कर नहटने हो भने उद्योग बचाउन त्यसको बिकल्प सरकारले सोचि दिनु पर्ने । ख) सस्तो भएकै कारण तराई क्षेत्रको बजारमा भारतिय तेलले प्रभुत्व जमाएको छ । ग) खुल्ला तेल, प्याकेट वा टिनमा भारतिय कम गुणस्तरका सस्तो तेल खुलेआम जाँचपासनै नगरी नेपाल भित्री तराईका प्राय धेरै बजारमा बिक्री भईरहेको कारण नेपाली तेल मिल चलाउन सक्ने अवस्थानै रहेन । ताराई क्षेत्रका बजारमा भारतिय तेल कम्तिमा पनि प्रति लिटर ३० रुपैयाँ सस्तोमा बिक्री हुन्छ । भारतिय तेलले नेपाली बजार कब्जा गरेको हुंदा अनाधिकृत व्यपारले प्रोत्साहन पाईरहेकोछ जसको कारण सरकारको राजश्वमा समेत प्रत्यक्ष प्रभाव पारेकोले रोकथामको लागि पहल गर्ने । अन्य : क) नेपाल अधिराज्यका विभिन्न भागमा स्थापित चामल, तेल र दाल उद्योग र प्रतिष्ठानलाई संगठित वनाउदै लैजाने । ख) कृषि क्षेत्रको लागि सरकारले दिंदै आएको बैंक ब्याजदर अनुदान कृषि प्रसोधित गर्ने उद्योगलाई पनि दिनु पर्ने । बैक ब्याज दर एकल बिन्दुमा राख्न पहल गर्ने । ग) नेपालमै धान, तोरी तथा दाल उत्पादनको लागि सरकार र सरोकारवाल निकाय मिलेर दिर्घकालिन योजना ल्याउनु पर्ने । घ)कृषि उत्पादन बृद्दी गर्न कृषिमा यान्त्रिकरण गर्नु पर्ने ।

विद्युत प्राधिकरणका देशभरका कार्यालयद्धारा वृक्षरोपण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत सोमबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहरुमा कार्यारत कर्मचारीहरुले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरुमा वृक्षरोपण गरेका हुन् । कार्यालयहरुले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरु रोपेका छन् । जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने छ । प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपण कार्यको सुरुवात गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरुबाट विभिन्न प्रजातिका तीन सयभन्दा बढी बिरुवा रोपिएको छ । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा त्यसकै रोपिएका छन् । कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्पूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिए । वातावरण संरक्षण र विकासलाई एक अर्कार्को बिरोधीको रुपमा चित्रण हुने गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले वृक्षरोपणले दुई विषय एक अपासका बिरोध हैनन् भन्ने सकारात्मक सन्देश जाने बताए । सचिव घिमिरेले वृक्षरोपण गरिएका बिरुवाहरुलाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत् आयोजनाहरुको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताए ।

किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान

दमौली । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन  १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन  १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ । केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ ।’ गत वर्षको मागका आधारमा चालु आवमा पाँच सय पाडापाडी हुर्काउनका लागि अनुदान दिने व्यवस्था मिलाइने श्रेष्ठको भनाइ छ । डा श्रेष्ठका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि कृषकले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा अनुदानको व्यवस्था गरिएको केन्द्रको भनाइ छ । हामीकहाँ मुर्रा जनाका भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । केन्द्रका प्रमुख डा. श्रेष्ठले भने, ‘अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीन रूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’ यसैगरी कार्यालयले दूध उत्पादनका आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गत आवमा केन्द्रले किसानलाई  ३६ लाख वितरण गरेको थियो । केन्द्रले आठ सहकारी संस्थामार्फत किसानलाई अनुदान वितरण गरेको हो । प्रतिलिटर रु दुई दशमलव ४५ का दरले अनुदान वितरण गरिएको डा श्रेष्ठले बताए । व्यास नगरपालिका–१० स्थित दुम्सी दुग्ध उत्पादक सहकारी, शेवर दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ स्थित बेलवास दुग्ध उत्पादक सहकारी, भानु नगरपालिका–४ स्थित प्रगति दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१ स्थित चारकुने दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–५ स्थित चिन्तुटार दुग्ध उत्पादक सहकारी, व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी र बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामार्फत अनुदान वितरण गरिएको हो । अनुदानले किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएको र जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । डा. श्रेष्ठले भने, ‘उत्पादनका आधारमा अनुदान दिँदा कृषकमा हौसला बढेको छ । पहिला कम उत्पादन गर्नेले अहिले धेरै उत्पादन गर्न थालेका छन् ।’ बन्दीपुर गाउँपालिका–१ का कृषक भोजनाथ पराजुलीले प्रदेश सरकार, स्थानीय सरकारमार्फत दुधमा अनुदान पाउँदा पशुपालन गर्न हौसला मिलेको बताए । उनले भने, ‘उत्पादनका आधारमा अनुदान पाउँदा व्यवसायमा लगानी थप्न सहयोग मिलेको छ ।’ कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्ष यता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यक पर्नेमा ९४ दशमलव ४१ केजी मासु उपलब्धता छ । साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशलमव ४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । रासस

संसदमा टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना सुनाइँदै

काठमाडौं ।  प्रतिनिधि सभा सदस्यको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । संसदमा नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना सुनाइने भएको छ । सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ। नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी छुट्टा–छुट्टै पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् । प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा भने निलम्बनमा पर्ने व्यवस्था छ । थुनामा रहेको अवधिभर निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने प्रावधान नियमावलीको नियम २४८ ९३० मा छ । ३१ वैशाख २०८० मा रायमाझी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले रायमाझी सहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई १ असार २०९० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।