लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डले घोषणा गर्याे लाभांश
काठमाडौं । लक्ष्मी क्यािपटलले आफ्ना दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको लाभांश घोषणा गरेको हो । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई समान ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलको आगामी साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ । लक्ष्मी क्यापिटल लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी हो ।
एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् र हंसराज हुलासचन्द एन्डको एक सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् तथा हंसराज हुलासचन्द एन्डको कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् । उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्डको तर्फबाट कम्पनिका सहायक महाप्रबन्धक– एच.आर. नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् का तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना हस्ताक्षर गरेका छन् ।
बिना अध्ययन सञ्चालक पाइलटलाई उडानमा रोक, क्यानले मौसमको जानकारी नै दिँदैन
काठमाडौं । वायुसेवा सञ्चालकहरुले मौसमको विषयमा समयमै जानकारी नै नपाइने गरेको गुनासो गरेका छन् । हाल सञ्चालित वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) मार्फत् जल तथा मौसम विज्ञान विभागलाई प्रति उडान १० डलर भुक्तानी गर्नु पर्ने भएपनि समयमै सूचना नपाइने गुनासो गरेका हुन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष एवंम सिम्रिक एयरका अध्यक्ष क्यापटेन रामेश्वर थापाले मौसमको बारेमा समयमै जानकारी नै नपाइने गरेको बताए । ‘हामीलाई उडान गर्ने गन्तव्य तथा अवतरण गर्ने गन्तव्यको मात्रै मौसमको बारेमा जानकारी दिइन्छ, तर इन रुटको बारेमा जानकारी नै पाइदैन’, उनले भने, ‘इन रुटको जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्यो, यस तर्फ नियामकको ध्यान छैन ।’ उनले नियामकले हवाई दुर्घटना कम गर्न हेलिकप्टर कम्पनीका सञ्चालक पाइटललाई रोक लगाउनु गलत रहेको धारण राखे । ‘सरकारी संयन्त्रले समयमै सूचना दिदैँनन्, उडानका क्रममा दुर्घटना भयो भने त्यसको पूर्ण दोष हामी क्यापटेनलाई दिइन्छ’, उनले भने, ‘इन रुट मौसमको बारेमा जानकारी दिन छोडेर प्रधिकरण सञ्चालक क्यापटेन तिर लाग्यो, आफ्नो ज्यान र सम्पत्तिको माया कसलाई हुँदैन।’ वायुसेवा सञ्चालक संघका महासचिव एवमं समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जल तथा मौसम विज्ञान विभागले २१ हजारभन्दा माथिको मौसमको बारेमा मात्रै जानकारी दिने बताए । ‘हामीलाई १० देखि १२ हजार फिट उचाईको बारेमा जानकारी चाहिन्छ, तर विभागले हामीलाई २१ हजारभन्दा माथिको बारेमा मात्रै जानकारी दिन्छ’, उनले भने । उनले प्राधिकरण तथा विभागले उडान गर्ने गन्तव्य तथा अवतरण गर्ने गन्तव्यको बारेमा मात्रै जानकारी दिने गरेको भन्दै इनरुटको बारेमा कुनै जानकारी नै नहुने बताए । ‘हामीले काठमाडौंबाट विराटनगर गन्तव्यका लागि उडान गर्दा, काठमाडौं र विराटनगरको मात्रै जानकारी दिइन्छ, बाँकी गन्तव्यका लागि हामीले प्रत्येक जिल्लामा कर्मचारी राख्नु परेको छ, मौसमका बारेमा जानकारी लिन प्रत्येक उडानमा १० डलरसँगै जिल्ला(जिल्लामा कर्मचारी राखेका छौँ,’ ‘अनुभव नै नभएका व्यक्तिले आखाँले हेरेको भरमा हामीले उडान गर्नुपर्ने बाध्यता छ ।’ वायुसेवा कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच समन्वयकारी भूमिका रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् । ‘हामी दुई निकायबीच समन्वयको मात्रै भूमिका हो, हामीसँग मौसमको जानकारी लिने प्रविधि छैन, विभागले दिएको जानकारी अनुसार हाम्रा एटीसीहरुले मौसमको जानकारी दिने हो’, उनले भने । जोमसोम रुटमा क्यामरा जडान २०७९ को जेठमा जोमसोम रुटमा तारा एयरको जहाज दुर्घटना भएपछि प्राधिकरणले मौसमको जानकारी लिन क्यामरा जडान गरेको छ । दुर्घटना अगाडि निजी क्षेत्रका वायुसेवा कम्पनीले क्यामरा जडान गरी इनरुट मौसमको विषयमा जानकारी लिँदै आएकोमा क्यानले पछिल्लो समय मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरेको हो । मौसम खराबीका कारण दायाँ मोड्नुपर्ने जहाज बायाँ मोडिएर भित्तामा ठोक्किँदा दुर्घटनामा परेको अध्ययन रिपोर्टले देखाए अनुसार प्राधिकरणले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहयोगमा तीन ठाउँमा त्यहाँको मौसम देखिने गरी विशेष क्यामरा जडान गरेको हो । उक्त जहाज पोखरा जोमसोम रुटमा प्रभावकारी भएको क्यानले जनाएको छ । हामीले पाइलट प्रोजेक्टका रुपमा पोखरा(जोमसोम रुटमा क्यामरा जडान गरेका थियौँ, त्यो रुटमा प्रभावकारी बन्यो, अब हामीले अन्य रुटमा पनि क्यामरा जडानको तयारी गरेका हौँ’, सूचना अधिकारी भूलले भने । नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उडड्यन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन प्राधिकरणले सिमिकोट, लुक्लालगायतका दुर्गममा रहेका विमानस्थलमा हवाई सुरक्षा बढाउन बीचभागमा क्यामरा जडानको तयारी भएको उनले बताए ।
शून्य प्रतिशत ब्याजदरमा ‘इकोविट विद्युतीय स्कुटर’ किन्न माछापुच्छ्रे बैंकले ऋण दिने
काठमाडौं । इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु खरिद गर्दा माछापुच्छ्रे बैंकद्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध हुने भएको छ । गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर गर्दै इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुच्छ्रे बैंकद्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता गरेको हो । सो सम्बन्धि सम्झौतामा आज माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङ्गका डेपुटी चीफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । कर्जा सुविधा अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउनेछन् । कर्जा सुविधा अनुसार ६ महिना देखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ। जस अन्तर्गत ग्राहकले सो वापत व्याज तिर्नु पर्दैन । शुन्य प्रतिशतको व्याजदरमा उक्त कर्जा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । हाल इकोविट विद्युतीय स्कुटर खरिदमा मनसुन अफर समेत सञ्चालनमा रहेको छ । साथै एक्स्चेन्जको सुविधा समेत उपलब्ध रहेको छ ।
सागरनाथ वन विकास परियोजनाका १४६ कर्मचारीले १ वर्षदेखि पाएनन् तलब
सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब २० करोड मूल्य रुपैयाँको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६ कर्माचारी विगत करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित भएका छन् । सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ शूत्र (हुबर) लागू गरेपछि परियोजना क्षेत्रबाट उत्पादन भएको काठ बिक्री नभएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले बताए । उनका अनुसार विगतका वर्षहरुमा (क्वाटर गर्थ) शूत्रमार्फत काठ बिक्री गर्ने गरिएको भए पनि हुबर शूत्रले हिसाब गर्दा काठको परिमाण धेरै निस्किने गरेको र नयाँ नियमावलीले राजस्व दर पनि बढाएका कारण परियोजनाको काठ बिक्री नभएको हो । काठ व्यापारी नयाँ शूत्रअनुसार निस्किएको परिमाण र बढेको राजस्व दरमा परियोजनाको काठ गरिद गर्न अनिच्छुक भएका कारण परियोजना क्षेत्रमा उत्पादन भएको टिक, सिसौँ, कर्मा, जामुन, अस्ना, टुनी, शिरिष, भुडकुल, गुटेल र बाँझी आदि प्रजातिका काठ लामो समयसम्म बाहिरै राखिँदा कुहिने अवस्थामा पुगेको जनाइएको छ । ठेकेदारले यस प्रकारका काठ खरिद गर्न नचाहेका र काठ बिक्री नहुँदा परियोजनाका कर्माचारी करिब एक वर्षदेखि तलबविहीन भएका परियोजनाका लेखापाल सुरेन्द्र जोशीले बताए । काठ बिक्री नभएपछि यसको प्रभाव वन पैदावार विकास समितिलाई परेको छ । समितिले सागरनाथ वन परियोजनाकै वन पैदावार बिक्रीको आम्दानीबाट खर्च व्यवस्थापन गर्दै आएको भए पनि लामो समयदेखि काठ बिक्री नहुँदा समिति अहिले आर्थिकरुपमा धरासायी बन्दै गएको समितिका प्राविधिक उपसचिव जीतेन्द्र कर्माचारीले बताए। उनका अनुसार हाल समितिअन्तर्गत सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वृक्षरोपण आयोजना केर्खा झापा गरी दुई वन विकास परियोजना सञ्चालनमा छन् । काठको यही समस्याका कारण समितिसहित यी आयोजनामा कार्यरत करिब एक सय ९२ कर्मचारीले विगत करिब एक वर्षदेखि नै तलब खान नपाएपछि उहाँहरु आन्दोलित भएको समितिका प्राविधिक उपसचिव कर्माचार्यले जानकारी दिए । वन पैदावार बिक्रीबाट विगतमा वार्षिक सरदर रु पाँचदेखि सात करोड राजश्व तथा रु दुईदेखि तीन करोड भ्याट समितिले बुझाउँदै आएको थियो । यस्तै, प्रत्यक्षरुपमा नियमित तथा वृक्षरोपण गोडमेललगायत कार्यमार्फत एक हजारभन्दा बढीलाई वार्षिक रोजगारी प्रदान गर्दै आइरहेको थियो । एकातिर परियोजना क्षेत्रमा उत्पादन भएको काठ नबिकेर वनमा सड्ने अवस्थामा पुगेको छ भने अर्कोतिर कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन् । यसको दोष काठ मापनको नयाँ शूत्र (अुबर) रहेको परियोजनाले जनाएको छ । एक वर्षसम्म तलब खान नपाउँदा घर खर्च चलाउन मुस्किल भएको साथै कर्माचारीको मनोबलसमेत खस्केको नेपाल निजामती कर्मचारी सङ्गठन सागरनाथका अध्यक्ष एवं आन्दोलन सङ्घर्ष समितिका अध्यक्ष छत्रबहादुर लामाले बताए । ‘एक महिना ढिलो तलब आउँदा सबैलाई कति गाह्रो हुन्छ । एक वर्षसम्म पनि तलब नआउँदा हामीलाई कस्तो भयो होला ?’ ‘जङ्गलमा काठ सडाएर हाम्रो पेट भोको कतिञ्जेल राख्ने ? राज्यको सम्पत्ति जङ्गलमा नै सडाएर फाल्ने यो हुबर शूत्रको के काम ?’ सरकारले समस्या समाधान गर्ने आश्वासन दिए पनि काम नगरेका कारण सोही समस्या बल्झिएको सागरनाथ वन परियोजनाका लेखापाल युवराज कार्कीले बताए । ‘परियोजनाको मात्रै काठ बिक्री भए रु २० करोड आम्दानी हुन्छ, समस्या समाधन हुन्छ तर, हुबर शूत्रपछि काठ व्यवसायीले काठ किन्नै मानेनन् । आम्दानीको बाटौ नै बन्द हुँदा समस्या आएको हो’, उनले भने । दुवै स्थानको वन परियोजनाका एक सय ९२ कर्माचारीका लागि मासिक करिब ७५ लाख रुपैयाँ खर्च हुने गरेको परियोजनाले जनाएको छ । समितिका प्राविधिक उपसचिव कर्माचार्यले भने, ‘हुबर शूत्रका कारण २७ दशमलव तीन प्रतिशतसम्म काठको परिमाण बढ्छ । सरकारले टिकमा ६० प्रतिशत र मसलामा ७५ प्रतिशत राजश्व बढाएको छ । यही कारण काठ महँगो भएकाले बिक्नै छोड्यो, कर्मचारीलाई तलब खुवाउनसमेत समितिलाई धौ–धौ परिरहेको अवस्था छ ।’ रासस
आजको मौसम : मेघ गर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्ष भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
रिलायबल लाइफले साउन २३ गतेदेखि २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २६ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
मोटरसाइकल ट्रकमा ठोक्किदा २ जनाको मृत्यु
काठमाडौं । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।