विकासन्युज

पाँच वटा जहाज किन्दैछौं, म मन्त्री बनेपछि भ्रष्टाचारका प्वाल टालिँदैछन् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए । “हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ”, उनले भने, “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा छौं, छिट्टै ती जहाज आउँछन्र, तर कमिसन आउँदैन ।” नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको उनको भनाइ छ । चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उनकले बताए । “देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ”, उनले भने । मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको बताए । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उनको भनाइ थियो ।

ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्टको पाँचौँ संस्करण आयोजना गर्दै

काठमाडौं । ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । ग्लोबल रिच नेपालले इन्टर स्कुल ए–लेभल तथा आइबिडीपी फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको हो । उक्त फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभल तथा आइबिडीपी स्कूल सहभागी हुने ग्लोबल रिच नेपालले जनाएको छ । एक दिन सञ्चालन हुने उक्त प्रतियोगिता ढुकु फुटसल हव बालुवाटारमा हुने जनाएको छ । यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वास्थ्य र मनोबलमा राम्रो प्रभाव पार्ने आयोजकको विश्वास छ । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाइने छ । प्रतियोगिता विहान १० बजे देखि सञ्चालन हुनेछ । प्रतियोगिमा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले रनरअफ ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । ग्लोबल रिच नेपालद्वारा आयोजित इन्टर स्कुल ए लेभल र आइ बि डी पी फुटसल टुनामेण्ट प्रतियोगिताको यो पाँचौँ संस्करण हो । ग्लोबल रिच नेपालले अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, युके, क्यानडा लगायतका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि अन्तर्राष्ट्रिय शिक्षाका बारेमा विगत ३२ वर्ष देखि निःशुल्क परामर्श प्रदान गर्दै आएको छ । उक्त प्रतियोगितामा निम्न स्कूलहरुको सहभागिता रहने छ ।

‘महा गफाडी’ घोषणा

काठमाडौं । नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो) ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा–वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए । उनले भने, ‘कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महा गफाडी ।’ यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै कुनै प्रस्तुति पनि दिन पाइने भएता पनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए । कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइरहनुभएका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ हुनुहुन्छ । यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्ने छन् । आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक रहेका अभिनेता तामाङले जानकारी दिए । ‘प्रस्ताव आउँदा म केही अचम्मित भएँ । यद्यपि कार्यक्रमको ढाँचाले मलाई आकर्षित गर्यो । मेरो लागि यो नयाँ अनुभव हुनेछ,’ उनले भने । निर्णायककै भूमिकामा रहनुभएकी अभिनेत्री तुलाधरले सबै आ–आफ्नै भाषामा आफ्नो कला देखाउनु पाउनु सुखद रहेको बताए । ‘हामीले सोच्ने हास्य प्रहसन भाषिक अस्वतन्त्रताका कारण चाहेजस्तो व्यक्त गर्न पाइँदैन । यसमा सबैले आफ्नै भाषामार्फत प्रस्तुति दिन पाउनेछन् । यो पनि नयाँ प्रयोग हो,’ अभिनेत्री तुलाधरले भनिन् । आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद १५ लाख रुपैयाँ र सवारीसाधन, द्वितीय हुनेले नगद १० लाख रुपैयाँ र सवारीसाधन तथा तृतीय हुनेले नगद ५ लाख रुपैयाँ र सवारीसाधन प्राप्त गर्नेछन् । सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैङ्गिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन् ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव)पदमा बढुवा गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए । बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार, ऐनअनुसार सो तह प्रदेश सचिवसरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यसअघि नै ऐनअनुसार दुई जनालाई ११औँ तहमा बढुवा गरी पदस्थापन गरिसकेको छ । यो निर्णयसँगै प्रदेश सरकारमा ४ जना सचिव नियुक्त भएका छन् । बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका १ हजार ५ सय ९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारका नाउमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । हवाई टिकटमा भ्याट लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले साउन ११ गते अदालतमा रिट दायर गरेको थियो । सरकारले विना अध्ययन र तयारी हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएर नेपाल गन्तव्यलाई महँगो बनाएको ट्राभल व्यवसायीको भनाइ छ । हवाई टिकटमा कर लगाउने विषय व्यावहारिक नभएको, कर लगाइहाले पनि विश्वकै महंगो गन्तव्य नेपाल बन्ने दाबी ट्राभल व्यवसायीको छ । यस विषयको सम्बोधन गर्न माग गर्दै केही दिन अघि पर्यटन व्यवसायी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्री महतले उनीहरुलाई हप्काएर पठाएको बुझिएको छ । त्यसपछि व्यवसायीहरु कानुनी उपचारका लागि अदालत पुगेका हुन् ।

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, २५ रुपैयाँमा १२ घण्टा कुराकानी गर्न मिल्ने

काठमाडौं । एनसेल आजियाटाले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाईदा लिन सक्छन् । एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित ७५ रुपैयाँमा यो प्याक लिन सक्छन् । प्याकको समयावधि ३ दिनको रहेको छ । यसको अर्थ, ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् । ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स३ ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ । सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दस डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ । हालै मात्र, कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले कर सहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।

पूँजी बजारमा मध्यस्थता लागत कम गर्ने, शुल्क घटाउन अध्ययन गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारमा लिने विभिन्न शुल्क घटाउने बताएको छ । बोर्डले आइतबार चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूँजी बजारमा मध्यस्थता लागत कम र धितो बजारमा लिने शुल्क सम्बन्धमा अध्ययन गर्ने बताएको हो । सुपरभिजोरी इन्फर्मसेन सिस्टम (एसआईएस) स्थापनाको लागि अध्ययन गरिने बोडले बताएको छ । साथै, धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पुँजीमा पहुँच तथा कारोवारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरूले लिने शुल्क सम्बन्धमा अध्ययन गरिने बोर्डको भनाइ छ । यस्तै, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीमा विद्युतीय (साइबर) अपराध न्यूनीकरण तथा प्रणालीहरूको गुणस्तर वृद्धि गर्न अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मानकहरू अध्ययन गरी आवश्यक प्रणाली संपरीक्षण ढाँचा तयार गरिने छ । बोर्डका अनुसार धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजारहरूको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्न शर्ट सेलिङ्ग, इन्द्रा डे कारोवार, अक्सन मार्केट र सेक्युरिटीज लेण्डिङ्ग एण्ड बोरोइङको व्यवस्था गर्न र नयाँ औजारहरू इक्विटी डेरिभेटिभ्स् लगायत धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी अन्य समसामायिक विषयका सम्बन्धमा विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गरिनेछ । यस्तै, जलविद्युत क्षेत्रका कम्पनीहरूका संस्थापक सेयरधनीको लकिङ्ग पिरियड र संस्थापक सेयरधनीमा भएको परिवर्तनका सम्बन्धमा आवधिक रूपमा जानकारी प्रवाह गराउने व्यवस्था गरिनेछ ।

संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने, प्रधानन्यायाधीशको नाम सिफारिस हुने

काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । मंगलबार अपराह्न ४ बजे बस्ने गरी परिषद्को बैठक बोलाईएको प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले जनाएको छ । कार्यलयका अनुसार मंगलबारको बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डा रहेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि आगामी साउन २० गते सकिंदैछ । प्रधानन्यायाधीश कार्कीको पदावधि सकिन लागेपछि नयाँ सिफारिसको तयारी गरिएको हो ।