एलआईसी नेपालको साधारण सभाको समय परिवर्तन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले साधारण सभाको समय परिवर्तन गरेको छ । इन्स्योरेन्स कम्पनीले यसअघि अपरान्ह ४ बजे गर्ने भनेको वार्षिक साधारण सभा अब बिहान ११ बजेबाट सुरु हुने छ । इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा साउन १७ गते बोलाएको छ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० को अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
मानिसको औसत आयु १२० वर्षसम्म बढ्न सक्ने
काठमाडौं । कृत्तिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी)ले आइतबार जनाएको छ । मालार्डालेन युनिभर्सिटी (एमडीयू)का अनुसन्धाता इग्नाट कुलकोभले एसभीटीसँग भने, ‘हाम्रो प्राग्ज्ञान (रोगको पुर्वानुमान) अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा १०० देखि १२० वर्षको बीचमा हुनेछ ।’ फिनल्याण्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत)का विश्वविद्यालयका सहकर्मीहरूसँग गरिएको एक अध्ययनको निष्कर्षबारे वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको एक अध्ययनको निष्कर्षको बारेमा कुलकोभले बताए । उनले भने, ‘धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन् ।’ कुलकोभले प्रसङ्गलाई थप जोड्दै भने, ‘यी सेन्सरहरूमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणहरूले चिकित्सकहरूलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुको साथ सिफारिस गर्न सक्षम बनाउनेछ ।’ अन्य क्षेत्रमा भएको प्रगतिले पनि लामो आयुमा योगदान पु¥याउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् कुलकोभले भने, ‘कोभिड–१९ को महामारीबाट भाइरसलाई कसरी बढी कुशलतापूर्वक पत्ता लगाउने भन्नेबारे राम्रो ज्ञान प्राप्त भएको छ। यसपहिले नै रोगहरूको छिटो निदान गर्न र नयाँ उपचारहरू विकास गर्न कृत्तिम बौद्धिकता ९एआई०को प्रयोग गरिएको छ ।’ व्यक्तिगत रूपमा तयार पारिएका औषधिसँग व्यक्तिगत औषधिले पनि स्वास्थ्यमा सुधार ल्याउन योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए । ‘यद्यपि, त्यहाँ नयाँ चुनौतीहरू पनि छन्,’ कुलकोभले भने । तर, जलवायु परिवर्तनले भविष्यमा मात्र नभई अहिले नै हाम्रो स्वास्थ्य सेवा प्रणाली र हाम्रो जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्ने उनले बताए ।
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममार्फत वस्तु विनिमय बजार (डेरिभेटिभ मार्केट) सुरु गर्नेदेखि ‘इन्ट्रा डे’ कारोबारको प्रबन्ध मिलाउनेसम्ममा वार्षिक योजना सार्वजनिक गरेको छ । बोर्डले लामो समयदेखि डेरिभेटिभ मार्केट चलाउने भन्दै आएकामा त्यसको नीतिगत तथा व्यावहारिक पूर्वाधार भने हालसम्म तयार पार्न सकिएको छैन । आइतबार सार्वजनिक भएको बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजारसम्बन्धी कारोबार, राफसाफ तथा फछ्र्योट, वेयर हाउस लगायतका सम्बन्धमा आवश्यक कानूनी व्यवस्था तयार पार्ने उल्लेख गरेको छ । त्यस्तै, विश्वका अरू देशको पूँजी बजारमा सञ्चालनमा रहेका औजारहरू नेपालमा पनि लागू गर्ने बोर्डले जनाएको छ । ‘धितोपत्र बजारको विकास र विस्तार गर्न बजार संरचनाको स्वरूपमा परिवर्तन एवं नयाँ धितोपत्र औजारहरूको सञ्चालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सर्ट सेलिङ, इन्ट्रा डे कारोबार, अक्सन मार्केट र सेक्युरिटी ल्यान्डिङ एन्ड बरोइङको व्यवस्था गरी इक्विटी डेरिभेटिभ्सलगायतका नयाँ औजारहरू लागू गर्ने सम्बन्धमा विज्ञमार्फत अध्ययन थालिने छ ।’ जलविद्युत् क्षेत्रका कम्पनीका संस्थापक सेयरधनीको ‘लकिङ पिरियड’ र संस्थापक सेयरधनीमा भएको परिवर्तनका सम्बन्धमा आवधिकरूपमा जानकारी गराउने नीति लिइने बोर्डले जनाएको छ । धितोपत्र बजारको पारदर्शिता बढाउन यस्तो नीति आवश्यक रहेको बोर्डको भनाइ छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारबारे लगानीकर्ताबाट आएका गुनासो समाधान र उजुरीको व्यवस्थापनका लागि मोबाइल एपसहितको केन्द्रीकृत गुनासो सुनुवाइ प्रणाली (सेन्ट्रलाइज्ड ग्रिभान्स ह्यान्डलिङ सिस्टोम) को व्यवस्था गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र सम्बन्ध विकासका लागि बोर्डको नियमन तथा सुपरीवेक्षण कार्यलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरूपको बनाउने नीति लिइएको छ । ‘धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित ज्ञान अनुभवहरूको आदानप्रदान गर्न आवश्यकताअनुसार विदेशी नियमन निकायसँग दीर्घकालीन रणनीतिक समन्वय र साझेदारी विकास गर्नेसम्बन्धी कार्य अगाडि बढाइनेछ,’ वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘पूँजी बजारसम्बन्धी विषयवस्तुमा अध्ययन/अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धिसम्बन्धी पाठ्यक्रम विकास र वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग आदानप्रदान गर्न विभिन्न विश्वविद्यालयसँग सम्झौता गरी समन्वयात्मकरूपमा कार्य अगाडि बढाइनेछ ।’ धितोपत्र बजार र वस्तु विनिमय बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीमा विद्युतीय (साइबर) अपराध न्यूनीकरणका लागि पनि बोर्डले जोड दिएको छ । त्यस्तै, पूँजीबजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्न धितोपत्र बजारसम्बन्धी ई–लर्निङ प्लेटफर्म तयार पार्ने र बारम्बार सोधिने प्रश्नको जानकारी दिन ‘एआई बेस्ड च्याटबट’को अध्ययन गरिने जनाइएको छ । ‘सुपरभाइजरी इन्फरमेसन सिस्टोम’ (एसआइएस) स्थापनाका लागि अध्ययन गर्ने विषय पनि नीति तथा कार्यक्रममा राखिएको छ । धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पूँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीले लिने शुल्क सम्बन्धमा अध्ययन गरिने पनि बोर्डले जनाएको छ ।
मिटरब्याजसम्बन्धी २३ हजार ९६१ उजुरी दर्ता, २२ जिल्लामा छैनन् मिटरब्याज पीडित
काठमाडौं । अनुचितल लेनदेन (मिटरब्याज)सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार ९६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार ५२० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए । उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८१२ रुपैयाँ कारोबार भएको उल्लेख थियो । त्यही पीडितहरुमाथि साहुले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १९९ रुपैयाँ माग दाबी गरेको भेटिएको छ । त्यसमध्ये अहिलेसम्म ८४ करोड ३६ लाख ८३ हजार ३४ रुपैयाँ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए । मिलापत्र गरेर कूल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए ।
उच्च शिक्षाका लागि १६४ विदेशी विद्यार्थीले रोजे नेपाल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत ३ महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ । उच्च शिक्षाका लागि नेपालबाट दैनिक करिब ५ सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउनेक्रम देखिएको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त सङ्ख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रुपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाइएको हो । सो अवधिमा ३१ हजार १०४ नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी शङ्कर अधिकारीले जानकारी दिए ।
आज खीर दिवस, साउन १५ मा किन खीर खाइन्छ ?
काठमाडौं । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् । चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १ सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा साढे १९ करोड, वितरणयोग्य नाफा कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा २३.३९ प्रतिशत घटेर १९ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष लघुवित्तको व्यवसाय खुम्चिएपछि नाफामा धक्का लागेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशत बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४२ करोड ५४ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटे ४ करोड १२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशत घटेर ४७ करोड ४७ लाख रुपैयाँ, सञ्चालन नाफा २३.४२ प्रतिशत घटेर २८ करोड ४७ लाख रुपैयाँ र वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ, जगेडा कोष ०.६६ प्रतिशत बढेर ४३ करोड ४६ लाख रुपैयाँ, सापटी २१.०७ प्रतिशत घटेर ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ र कर्जा लगानी २६.३३ प्रतिशत घटेर ७ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ छ । असार मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ घटेर १७.१६ रुपैयाँमा झरेको छ । असार मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.८६ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.६६ प्रतिशत, कस्ट अफ फण्ड १२.०२ प्रतिशत र आधार दर १२.६ प्रतिशत पुगेको छ । लघुवित्तका अनुसार अघिल्लो आर्थिक बर्ष अन्त्यको तुलनामा यस त्रैमास मसान्तमा तरलता मौज्दातमा १८८ प्रतिशतले बृद्धि, संचित नाफा तथा जगेडा कोषमा ०.६६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा नाफा घटेपनि गत तेस्रो त्रैमासको तुलनामा १ प्रतिशत नाफा बढेको लघुवित्तले जनाएको छ । कर्जा असूलीको रकमबाट ब्याजदर लागत बढी भएको ऋण सापटी चुक्ता गर्नुका साथै तरलता व्यवस्थापन गरिएको छ ।
२३९ रुपैयाँमा सन नेपाल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रिमियम मूल्यमा सेयर बिक्री गरिरहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १ गतेदेखि बिक्री खुला गरिरहेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १५ गतेसम्म आवेदन दनसक्ने छन् । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउँछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।