भोजपुरका किसान व्यावसायिक गड्यौला मल उत्पादनमा जुट्दै
भोजपुर । रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् । कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरुलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउँछन् । गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले कृषकलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उनको भनाइ छ । ‘हामीले कृषकलाई प्राङ्गारिक खेतीमा जोड्न गड्यौला मल उत्पादनको कार्यक्रम सञ्चालन गरेका हौँ’, प्रमुख खत्री भन्छन् , ‘यहाँका ४० कृषकले यो मलको उत्पादन थाल्नुभएको छ । यो मलको धेरै फाइदा भएकाले किसानलाई जानकारी दिँदै मल उत्पादनमा प्रोत्साहन गर्दै आएका छौँ ।’ गाई–भैँसीको मलमूत्रसँगै सड्ने झारपात प्रयोग गरेर गड्यौला मल तयार गरिने हुँदा अन्नबालीका लागि धेरै उपयोगी हुन्छ । यो प्रविधिबाट मल बनाउँदा गड्यौला पाल्नका लागि संरचना निर्माण गरेर त्यहाँ गड्यौला राखिन्छ । गड्यौला राखेको ठाउँमा पशु चौपायाको मललाई राखी दिएपछि त्यसलाई उनीहरुले आफ्नो आहाराका रुपमा खाएर दिसा गर्ने र त्यसैलाई मलको रुपमा प्रयोग गरिने उउनी बताउँछन् । ‘यो प्रविधिबाट मल उत्पादन गर्दा पशु चौपायाको मलसँगै झारपात प्रयोग गरिन्छ’, प्रमुख खत्री भन्छन्, ‘गड्यौलाले खाएर गरेको दिसालाई मलका रुपमा प्रयोग गर्ने हो । यो मल वातावरणीय हिसाबले पनि निकै उपयोगी हुन्छ। यसले माटोको उर्वराशक्ति वृद्धि गराउँछ ।’ गड्यौला मलको प्रयोगले प्राङ्गारिक उत्पादनमा सहयोग पुग्ने किसानहरुको भनाइ छ । गड्यौला मलको प्रयोग गर्दै आफूहरूले प्राङ्गारिक तरकारी फलफूल उत्पादनमा जोड दिने न्यू जिम्पु कृषक समूह टक्सारका अध्यक्ष रुद्रमणि राई बताउँछन् । गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यासमेत अन्त्य हुन्छ । ‘हाम्रो कृषक समूहका २० परिवारले यसको उत्पादन थालेका छौँ’, कृषक राईले भने, ‘यो मलको प्रयोग गरेर प्राङ्गारिक बस्तु उत्पादनमा जोड दिएका छौँ । गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यालाई समेत अन्त्य गर्ने हाम्रो उद्देश्य छ ।’ माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल लाभदायक रहेको किसान राई बताउँछन् । गड्यौला मल उत्पादनका लागि ज्ञान केन्द्रले दुई कृषक समूहलाई २० लाख सहयोग गरिएको जनाएको छ । एक किसान समूहले ५० हजार बराबरको गड्यौला पाल्न भर्मी बेड निर्माण गरेर गड्यौला मल उत्पादन गर्न थालेको छ । राम्रो ढङ्गले गड्यौला पाल्न सकेमा वर्षमा तीन पटकसम्म मल निकाल्न सकिने कार्यालयले जनाएको छ । एकवटा भर्मी बेडबाट औसतमा नौ मेट्रिक टनसम्म मल उत्पादन हुने कार्यालयका अधिकृत विशाल राईको भनाइ छ । ‘गड्यौला मलसँगै प्राङ्गारिक मलको प्रयोगमा किसानलाई प्रोत्साहन गर्दै आएका छौँ’, उनी भन्छन्, ‘किसानहरुले ४० वटा भर्मी बेडमा यो मल उत्पादन थालेका छन् । राम्रो ढङ्गले गड्यौला फस्टाए वर्षमा तीन पटकसम्म मल निकाल्न सकिन्छ । सरदरमा एक भर्मी बेडबाट नौ मेट्रिक टनसम्म मल उत्पादन गर्न सकिन्छ ।’ रासस
फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रुपमा विकास गरिने, एक अर्ब रुपैयाँ लाग्ने अनुमान
काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, वालउद्यानलगायतका संरचनाहरु निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरुलाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गरिने छ । परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरु निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुग्नु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री वस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गरेका थिए । मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताउनुभयो । उहाँले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक बृद्धि हुने गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए । ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्र्दयलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्यहरु अगाडि बढाइने उल्लेख गरे । फर्पिङ जलविद्युत केन्द १९६८ जेठ ९ गतबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो । केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसंभार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।
आफैँ होटेल सञ्चालन गरेर बिआइएचएम पढाउँदै आईआईएमएस कलेज
काठमाडौं । ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (बिआइएचएम) आफैँमा पूर्ण प्रयोगात्मक विषय हो । जसको लागि सैद्धान्तिक भन्दा व्यवहारिक अभ्यासको बढी आवश्यकता पर्छ । मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौंको आईआईएमएस कलेजले बिआईएचएम पढ्ने विद्यार्थीहरुलाई पढाइकै क्रममा क्षमतावान बनाउने उद्देश्यले आफैँले होटेल सञ्चालनमा ल्याएको छ । जसले गर्दा विद्यार्थीहले पढाइको क्रममा अनिवार्य रुपमा जानुपर्ने इन्टर्नसिप अगाडि नै होटेलमा आफ्नो रुची अनुसारको अभ्यास गर्न पाएका छन् । चार वर्षे अवधिमा आठ सेमेस्टरमा पढाइने बिआइएचएम कार्यक्रमको छैठौं सेमेस्टरमा ५५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । यतिबेला कलेजले विद्यार्थीहरुको अभ्यासलाई लक्षित गरेर ‘होटेल टेकओभर’ कार्यक्रम सञ्चालन गरेको छ । कलेजले विद्यार्थीहरुलाई सानो-सानो ग्रुप बनाएर नागपोखरीको आफ्नै प्रतिष्ठित अरन्या बुटिक होटेलमा अभ्यास गर्ने अवसर प्रदान गरिएको छ । कलेज सञ्चालनकै क्रममा आईआईएमएस सञ्चालक ग्रुपले व्यवसायिक तथा शैक्षिक उद्देश्यले ठूलो लागनीमा झण्डै छ महिना अगाडि सो होटेल खरिद गरेको हो । देश तथा विदेशमा राम्रो प्रतिष्ठा बनाएको सो होटेलमा कलेजका विद्यार्थीहरुले आफ्नो पढाइको अभ्यास गर्न पाएका छन् । बिआइएचएम कार्यक्रम अन्तर्गत फन्ट अफिस, किचन, वेटर लगायतका धेरै नै विधा भएपनि विद्यार्थीहरुले आफ्नो रुची अनुसारको क्षेत्र रोजेर होटेलमा अभ्यास गरिरहेका छन् । विशेष संवेदनशील जिम्मेवारी बाहेकका सम्पूर्ण काम विद्यार्थीहरुले नै सञ्चालन गरिरहेका छन् । किनकी होटेल तथा रेष्टुरेन्टमा नियमित रुपमा आउने ग्राहकलाई अभ्यासको फिलिङ नहोस भनेर सो गरिएको हो । तर, टेकओभरमा सहभागी भएका विद्यार्थीको पहिचान होस भन्ने उद्देश्यले कलेजले विद्यार्थीहरुई भिन्न पोशाकको भने व्यवस्था गरेको छ । विद्यार्थीहरुले आफूहरुलाई कलेजले इन्टर्नसिप अगाडि नै होटेलमा प्रत्यक्ष रुपमा काम गर्ने अवसर दिएकोमा आगामी पढाइ र करिअरमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । कलेजमा बिआइएचएम अध्ययन गर्दै गरेका अतिन श्रेष्ठले होटेल टेकओभर कार्यक्रममा फन्ट अफिस म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनले कलेजले पढाइकै क्रममा अभ्यासका रुपमा उपलब्ध गराएको सो अवसरले आफूलाई राम्रो अनुभव भएको सुनाउँछन् । ‘मलाई यो एकदम एकदमै नयाँ अनुभव भइरहेको छ, होटेलमा आएर वास्तविक गेस्टसँग डिल गर्न पाउँदा एकदमै नयाँ अनुभव भएको छ’, उनी अनुभव सुनाउँछन्, ‘म अहिले यहाँ होटेल म्यानेजरको रुपमा काम गरिरहेको छु, डे टु डे होटेलको एक्टिभिटी कसरी ह्यान्डिल गर्ने भन्ने विषय सिक्न पाइरहेका छौं ।’ कलेजको बिआइएचएम छैठौं सेमेस्टर अध्ययन गर्दै गरेका गौरव कोइरालाले होटेल अरन्या बुटिक होटेलको बारमा अभ्यास गरिरहेका छन् । उनले गेस्टको अर्डर अनुसारको कफी बनाइरहेका छन् । उनले वास्तविक गेस्टहरुसँग जोडिएर काम गर्दा नयाँ अनुभव भएको सुनाउँछन् । ‘मैले अहिले बार्टेनिङ गर्दैछ्, मेरो विभागमा बारिष्ठा र बार टेन्डर दुईवटै पर्छ, यसमा कफिदेखि ड्रिंक्स सबै आइटम बनाउने काम हुन्छ’, गौरव सुनाउँछन्, ‘मैले गेस्टको अर्डरअनुसार बनाइरहेको छु ।’ त्यस्तै सुभेक्षा न्यौपानेले होटेल अरन्या बुटिकमा रेष्टुरेन्ट म्यानेजरको रुपमा काम गरिरहेकी छन् । उनले रेष्टुरेन्टको चौतर्फी अवस्थाको व्यवस्थापनमा ध्यान दिइरहेकी छन् । उनले आफूले वास्तविकतामा होटेल कसरी सञ्चालन हुन्छ भनेर सिक्ने अवसर पाएको बताउँछिन् । काठमाडौं नागपोखरीस्थित अरन्या बुटिक होटेल टेलर्स विश्वविद्यालयको बिआइएचएम कलेजका बिआइएचएम विभागका प्रमुख अश्विनिकुमार लघुका अनुसार बिआइएचएम कोर्ष भनेको अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम हो । होटेल तथा हस्पिटालिटी व्यवसायिक क्षेत्रलाई चाहिने विषय बिआइएचएमको कोर्षमा समावेश गरिएको उनको भनाइ छ । उनले टेलर्स विश्वविद्यालयको सो मोडेल क्युएस र्याङकिङमा समेत सोह्रौं स्थानमा रहेको बताएका छन् । अनुसन्धान, लाइफ स्किल र प्रयोगात्मक विधिमा जोड दिएर पढाउने गरिएको समेत विभागीय प्रमुख लघुको भनाइ छ । ‘यहाँबाट तयार भएको विद्यार्थीले राम्रो टिमवर्क गर्छन्, समस्याको समाधान गर्छन्, उनीहरुलाई कलेजबाटै सफ्टवेयर र स्कील सम्बन्धी विषयहरु सिकेर पास आउट हुने आधारमा र्याङ्क प्राप्त भएको हो’, विभागीय प्रमुख लघु बताउँछन् । साथै कलेजले पनि नतिजामामुखी आधारमा प्रणाली सञ्चालन गरेको उनको भनाइ छ । विद्यार्थीले प्रत्येक च्याप्टरको अध्ययन पश्चात व्यवहारिक रुपमा के सिक्नुपर्ने भन्ने विषयलाई ख्याल गरेर पढाइने उनी बताउँछन् । कलेजमा चार वर्ष पढेको विद्यार्थीले सम्बन्धित क्षेत्रमा गएर काम गर्न सक्नेगरी सिकाइ तथा पढाइ कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए । बिआइएचएम पढाउँदा पनि विद्यार्थीलाई एकदिन सैद्धान्तिक र अर्को दिन प्रयोगात्मक विधि अपनाउने गरिएको विभागीय प्रमुख लघु बताउँछन् । उनका अनुसार विद्यार्थीलाई परीक्षा लिने तरिका पनि विषयको आधारमा प्रोजेक्ट, प्राक्टिकल, प्रस्तुती लगायत हुने गर्छन् । विद्यार्थीहरुले विश्वविद्यालयले उपलब्ध गराएको लर्निङ म्यानेजमेन्ट सफ्टवेयरमा आफूले सिकेका विषयहरु अपलोड गर्नुपर्ने हुन्छ । जसमा विद्यार्थीले अन्यत्रबाट कपी गर्न पाउँदैन । बिआइएचएमको पढाइमा विश्वविद्यालयले १४ हप्ताको एक सेमेस्टर हुने व्यवस्था मिलाएको छ । जसको प्रत्येक १६ औं हप्तामा नतिजा आउँछ । यदि विद्यार्थी असफल भएमा १७ औं हप्तामा उसले फेरि परीक्षा दिन सक्छ र नियमित पछिल्लो सेमेस्टर पढाइमा जोडिन सक्छ । विद्यार्थीले चारवर्षे पढाइको क्रममा तीन वर्ष कलेजको अध्ययन र पछिल्लो एकवर्ष देश विदेशका होटलमा इन्टर्नसिप गर्ने व्यवस्था रहेको विभागीय प्रमुख लघु बताउँछन् । उनले अहिलेसम्म कलेजबाट बिआइएचएम पढेका विद्यार्थीहरु सतप्रतिशत विद्यार्थी रोजगारमा जान सफल भएको बताए । एकजना विद्यार्थीलाई करिअरमा सफल हुनको लागि एकेडेमिक एक्सिलेन्स, लाइफ स्कील र सकारात्मक भावना चाहिनेमा ती सबै विषयहरु बिआइएचएमको कोर्षमा समावेश रहेको लघुको भनाइ छ । अश्विनिकुमार लघु बिआइएचएम विभाग प्रमुख कसरी कोर्षहरु सञ्चालन गर्ने भनेर विश्वविद्यालयले शैक्षिक क्यालेन्डर उपलब्ध गराएको छ । सोही आधारमा नै रहेर कलेजले वर्क लोड प्लान निर्माण गर्ने गरिएको बिआइएचएम प्रोग्राम को–अर्डिनेटर रिमा मानन्धर बताउँछिन् । विद्यार्थीहरुले पढ्दै गर्र्दा उनीहरुले पूरा गर्ने अभ्यास, परीक्षा, प्रोजेक्ट लगायतबाट पाउने नम्बर हेर्नको लागि विश्वविद्यालयले माई टाइम्स एप्लिकेसन उपलब्ध गराएको छ, जसबाट विद्यार्थीहरुले आफूले पढ्दै गर्दा प्राप्त गरेको नम्बर हेरिरहन सक्छन् । बिआइएचएम कार्यक्रमकी मोविलिटी एन्ड प्लेसमेन्ट को–अर्डिनेटर रोजिना महर्जनले विद्यार्थीले कलेजमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सिकेका विषयहरुलाई इन्टर्नसिपको माध्यमबाट प्रस्तुत गर्ने अभ्यास रहने गरेको बताइन् । उनका अनुसार कलेजले होटेल टेक ओभर कार्यक्रम राखेर इन्टर्नसिप अगावै अभ्यास गर्न दिँदा विद्यार्थीहरुलाई आफूले पढेको विषय कत्तिको व्यवहारिक छ भन्ने जान्ने मौका मिलेको छ । साथै उनले विद्यार्थीहरुले आफ्नो कन्फिडेन्स विकास गरेको बताइन् । कलेजमा गर्ने प्रयोगात्मक अभ्यास भन्दा होटेल टेक ओभर कार्यक्रमले वास्तविक होटेल तथा हस्पिटालिटी क्षेत्रमा कसरी काम गर्न आवश्य हुँदोरहेछ भनेर विद्यार्थीले सिक्ने अवसर प्राप्त गरेको महर्जनको भनाइ छ । इन्टर्नसिपमा जाँदा आवश्यक पर्ने कन्फिडेन्स, कम्युनिकेसन स्कील लगायतका विषय होटेल टेकओभर कार्यक्रमबाट प्राप्त गर्ने हुँदा उनीहरुलाई पछि सजिलो हुने समेत उनले बताइन् । ‘विद्यार्थीहरुले पढ्दा होटल इन्डस्ट्री यस्तो हुन्छ होला है भनेर जसरी सोचेका हुन्थे वास्तविकतामा अनुभव गर्छन्, जसले गर्दा उनीहरुलाई इन्टर्नसिपमा जाँदा सजिलो हुन्छ’, उनले भनिन् । मोविलिटी एन्ड प्लेसमेन्ट को–अर्डिनेटर रोजिना महर्जन सामान्यतया होटेल तथा हस्पिटालिटी क्षेत्रमा काम गर्न रुची राखेका कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुले बिआइएचएम पढ्न सक्छन् । बिआइएचएकी एडमिसन अफिसर पुनम बानियाँका अनुसार कक्षा ११//१२ मा जुनसुकै विषय लिएर उत्तिर्ण गरेको विद्यार्थीले पनि सो विषय पढ्छन् । टेलर्स विश्वविद्यालयले कक्षा १२ मा ५० प्रतिशत अथवा २ जिपिए ल्याएर उत्तिर्ण भएको विद्यार्थीलाई बिआइएचएम पढ्न योग्य मानेको छ ।
एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुप क्षेत्रको सडक
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् । काठमाडौं महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि तीन महिनामै भत्किएको थियो । कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले बताए । बौद्ध क्षेत्रको टुसालबाट महाङ्काल र सम्पदा मार्गहुँदै बौद्ध चैत्य पुग्न सकिने सडक २०७८ जेठमा कालोपत्र भएको थियो । ‘गुणस्तरीय काम नहुँदा लामो समयदेखि स्थानीयले दुःख पाएको अवस्था छ’, उनले भने, ‘सडक मर्मतका लागि समितिले विगतमा तीन पटक बजेट बिनियोजन गरे पनि काठमाडौँ महानगरपालिकाले नै गर्ने भनेकाले सडकको जिम्मा महानगरलाई नै दिइएको हो ।’ कालोपत्र हुनुभन्दा एक वर्षअघि भने यो सडक समितिकै बजेटबाट मर्मत गरिएको थियो । विश्व सम्पदा क्षेत्रमा लामो समयदेखि सडक बिग्रिएको अवस्थाले पर्यटकहरुमा राम्रो सन्देश नजाने स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउछन् । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्नु परेको उनको भनाइ छ । स्थानीय श्रीकृष्ण शाही सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले लामो समयसम्म नटिकेको दाबी गर्छन् । न्यून गुणस्तरको काम हुँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ । उक्त सडक काठमाडौं महानगरपालिकाको नौ करोड लागतमा कालोपत्र गरिएको थियो । काठमाडौं महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले कमसल काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको दाबी गर्छन् । उनले महानगरपालिकामा यसबारे जानकारी गराउँदै भुक्तानी रोक्न समेत आग्रह गरेको बताए । पाँच तारे होटल हायात रिजेन्सीको पूर्वोत्तरको पर्खालसँगै जोडिएको उक्त सडकको दुरावस्थाले राम्रो सन्देश नदिने महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामा बताउछन् । उनले यसबारेमा महानगरपालिकाको कार्यपालिका बैठकमा विषय उठान गर्ने बताए । ‘बौद्ध क्षेत्रकै विकासका लागि भनी पर्यटकसँग शुल्क उठाइन्छ । त्यो शुल्क समितिको खातामा बैंकमा खर्च हुन नसकी थुप्रिएको छ । तर सडकको दूरावस्थाले विश्व सम्पदा क्षेत्रलाई नै गिज्याइरहेको छ’, उनले भने । रासस
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गरे । ‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्’, उनले भने । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न निर्देशन दिए । विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए । सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उनको भनाइ छ । विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उनको भनाइ छ । अनुसन्धान कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयलाई उच्च प्राथमिकतामा राखेर दक्षजनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । विश्वविद्यालय विकासको प्रारम्भिक अवस्थामै रहेकाले जनशक्ति, भौतिक संरचनाको अभावसँगै स्रोत साधनसम्बन्धी प्रशस्त समस्या रहेकामा आफू जानकार रहेको उल्लेख गर्दै उनले समस्या पहिचान गरी समाधान गर्न गम्भीर प्रयत्न गर्नुपर्ने बताए । विद्यमान समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुने भएकाले विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी तथा समुदायसँग छलफल गरी यस शैक्षिक संस्थाको उन्नति, विकास र सहयोगका लागि सरकार सदैव गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ । सुदूरपश्चिम प्रदेशभित्रका १५ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विश्वविद्यालमा समायोजन गर्ने कार्यलाई पूर्णता दिन गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी थप ११ वटा क्याम्पसलाई पनि समायोजन गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने अवस्था रहेको कटु यथार्थ हाम्रो सामू छ । अब हाम्रो शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि विदेशिनुपर्ने यस अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनुपर्दछ । यसरी युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै हुन् ।’ गुणस्तरमाथि उकास्न सके र देशभित्र रोजगारीको अवसर सिर्जना भए युवा विदेशिने क्रमलाई रोक्न सकिने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्न सकिए बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या एक हदसम्म समाधान हुने सम्भावना आफूले देखेको उनको भनाइ छ । ‘कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीपअनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ‘विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यन दिनुपर्ने देखिन्छ ।’ शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आधुनिक र मर्यादित तुल्याउन सकिए मात्र २१औँ शताब्दीको आजको विश्वमा प्रतिस्पर्धा गर्न योग्य एवं समाज र राष्ट्रका निम्ति कर्मठ र लगनशील नागरिक उत्पादन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस्ता अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रीत हुनुपर्ने बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको सहभागिता थियो ।
टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्यो फुडमाण्डुको आशिंक सेयर
काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी जस्ता नाफामूलक क्षेत्रहरूमा विविधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो । फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको बताइएको छ । झण्डै दुई वर्षको अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ । सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको अनलाइन फुड डेलिभरी (रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्री/वितरण गर्ने) कम्पनीको रूपमा कार्य गर्दै आएको छ। हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित मर्चेन्ट बैंक हो । हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।
नेपालमा पनि च्याटजिपिटीको एन्ड्रोइड मोबाइल एप शुरु, तर, उपयोगी छैन
काठमाडौं । सोमबारदेखि नेपालमा पनि चर्चित च्याटबट एप च्याटजिपिटीको मोबाइल एप्लिकेसन शुरु भएको छ । नेपाली एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले अब गुगल प्ले स्टोरबाट च्याटजिपिटी डाउनलोड गरेर यसको सेवा लिन सक्ने भएका छन् । नेपालमा सोमबारदेखि डाउनलोड गरेर प्र्रयोग गर्न सकिने गरि आएको च्याटजिपिटीको मोबाइल एप्लिकेसन भने खासै उपयोगी नभएको देखिएको छ । च्याटजिपिटीको मोबाइल एप्लिकेसनमा पटक-पटक लगइन गरिरहनपर्ने झन्झट नभएपनि चाहेको जानकारी भने पाउन नसकिने देखिन्छ । मोबाइलमा च्याटजिपिटीको निःशुल्क प्रयोग गर्ने प्रयोगकर्ताहरुले सोधेको विषयको जानकारी निकै छोटो मात्रै प्राप्त गर्न सक्छन् । साथै वेबसाइटमा जस्तो थप जानकारी पाउने सुविधा पनि सो एप्लिकेसनमा रहेको छैन ।
आइपीओ निष्काशन गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । अर्किड होल्डिङ्ग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीले आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् । कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।