चन्द्रागिरि हिल्सले मनायो १४औं वार्षिकोत्सव
काठमाडौं । चन्द्रागिरि हिल्सले १४औँ वार्षिकोत्सव मनाएको छ । साउन १४ गते कम्पनीको व्यवस्थापक समुहले आयोजना गरेको कम्पनीको १४औ वार्षिक उत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम संचालन गरिएको थियो । उक्त वार्षिक उत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरि हौसला प्रदान गरिएको थियो । त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई अध्यक्षको तर्फबाट प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित निशुल्क रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरि कर्मचारीहरुलाई थप हौसला प्रदान गरिएको थियो । यस कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीहरुलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षबाट सम्मान गरिएको थियो । अध्यक्षको अध्यक्षता एवं कम्पनी सचिव झलकराज शर्माबाट कार्यक्रमको संचालन गरिएको यस कार्यक्रममा कम्पनीका महाप्रवन्धकबाट स्वागत मन्तव्य दिनुका साथै संचालक समितिका सदस्यहरुले शुभकामना मन्तव्य दिएका थिए । कम्पनीका अध्यक्षबाट उपस्थित सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना दिदै यस पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको यस चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई पहिलो रोजाई स्थल हुने गरि सेवा प्रदान गर्न अनुरोध गर्दे कम्पनीमा कार्यरत कर्मचारीहरुले कम्पनीबाट दिइएको जिम्मेवारी पूर्ण रुपमा पालना हुने नै छ भन्ने विश्वासका साथ कम्पनीको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको सास्कृतिक कार्यक्रम संचालन गरि मनोरञ्जन प्रदान गरिएको थियो ।
सिंहदरबार वरिपरिका कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउँदै मन्त्री मोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी एक्सनमा उत्रिएका छन् । विद्यमान सरुवा प्रणालीको विकृति हटाउन लागिरहेका मन्त्री मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्दै एक्सनमा उत्रिएका हुन् । मन्त्री मोदी पदभार सम्हालेदेखि नै प्रशासनिक र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा अग्रसर छन् । मन्त्री मोदीको निर्देशनपछि सरुवा व्यवस्थापन कार्यदलले दिएको सुझावअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको थियो । यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ । जसअनुसार मन्त्रालयले बुधबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्का कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ । त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ । यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ । यसअघिदेखि नै मन्त्री मोदीले पहुँच नभएकै कारणले विकटको विकट क्षेत्रमा रहिरहनुपर्ने कर्मचारीको बाध्यता अन्त्य गर्ने बताउँदै आएका छन् ।
नापतौलमार्फत ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा
काठमाडौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ। विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ। विभागका अनुसार काठमाडौंबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार छ सय ७९, बुटवलबाट एक हजार ६४, नेपालगञ्जबाट एक हजार ५०, सुर्खेतबाट चार सय नौ, धनगढीबाट एक हजार ६७, सिलगढीबाट एक सय ७४, वीरगञ्जबाट एक हजार दुई सय ५१, जनकपुरबाट एक हजार एक सय ३९, विराटनगरबाट एक हजार चार सय ८५ र झापाबाट आठ सय ४५ व्यापारीलाई कारबाही गरिएको हो। विभागका प्रवक्ता ज्योति जोशी भट्टले नाप्ने र तौलने यन्त्रको प्रयोगमा उपभोक्तालाई ठगी गरेकाले विभागले उनीहरुलाई कारबाही गरेको जानकारी दिए। उनले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले उनीहरुमाथि विभागले विशेष निगरानी बढाएको बताए । अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको विभागले जनाएको छ। त्यस्ता व्यापारीमाथि कारवाही गर्दै आइएको प्रवक्ता भट्टले बताए । गत आ.व.मा २३ हजार ४९ व्यापारीले नापतौल यन्त्र जाँच गराएका छन् । उक्त जाँच गराउने व्यापारीमध्ये काठमाडौंमा धेरै छन्। काठमाडौंमा पाँच हजार छ सय ४१ व्यापारीले यन्त्र जाँच गराएका हुन् । यस्तै, पोखराबाट तीन हजार छ सय ७३, बुटवलबाट एक हजार चार सय ५७, नेपालगञ्जबाट एक हजार एक सय ३७, सुर्खेतबाट सात सय ४८, धनगढीबाट एक हजार सात सय ९३, सिलगढीबाट एक सय ८९, वीरगञ्जबाट दुई हजार दुई सय ६३, जनकपुरबाट एक हजार पाँच सय ७८, विराटनगरबाट तीन हजार तीन सय १९ र झापाबाट एक हजार ५१ व्यापारीले सो यन्त्र जाँच गराएका हुन्। सोही आर्थिक वर्षमा सो यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गर्ने व्यापारीको संख्या ११ हजार तीन सय ६३ रहेको छ। यसैगरी, देशभर नौ हजार ६ सय ५८ ट्याक्सीको मिटर जाँच गर्नुका साथै चार हजार नौ सय ६८ पटक पेट्रोलियम पदार्थ वितरण पम्प जाँच गरेको विभागले जनाएको छ। नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि विभागले ९२ पटक एकल अनुगमन तथा ९१ पटक संयुक्त अनुगमन गरेको छ। यस्तै, विभागले उपभोक्ता ठगी गर्ने ३३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ। विभागले जानीजानी आम सेवाग्राही तथा उपभोक्तालाई ठगी गर्ने क्रम बढेकाले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सीविरुद्ध मुद्दा दायर गरेको बताएको छ। विभागका महानिर्देशक दिनानाथ मिश्रले सीमित स्रोत साधनकाबीच विभागले बजार अनुगमनलाई प्राथमिकता दिएको बताए। ‘कम जनशक्ति र स्रोतसाधनका कारण सबै स्थानमा पुग्न सकेका छैनौं, विभागले आगामी दिनमा बजार अनुगमनलाई प्राथमिकता राख्छ’, उनले भने। आम उपभोक्ता ठगी गर्ने जोकोहीलाई विभागले कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ। विभागले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत रू.सात करोड १६ लाख ११ हजार आठ सय ५७ राजश्वसमेत संकलन गरेको छ। रासस
डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए। वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए। धरानमा डेङ्गुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेङ्गुका बिरामीले शय्या पाउन मुश्किल भएको छ । यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेङ्गु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । रासस
जापानको बेरोजगारी दर २.५ प्रतिशतमा झर्याे
काठमाडौं । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत बिन्दुले घटेर १.३० मा झरेको जनाएको छ । यो अनुपात कामको खोजीमा प्रति १ सय मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ । जुन महिनामा कूल बेरोजगारको सङ्ख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको सङ्ख्या १ प्रतिशतले घटेर ७ लाख १० हजारमा झरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कामबाट बर्खास्त हुनेको सङ्ख्या अघिल्लो महिनाको तुलनामा २ प्रतिशतले घटेर ४ लाख ७० हजारमा झरेको छ ।
अमेरिकी उत्पादन क्षेत्रमा सङ्कुचन
काठमाडौं । अमेरिकी उत्पादन क्षेत्रमा जुलाई अर्थात् नवौं महिना सङ्कुचन देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षणको तथ्याङ्कले देखाएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम)को उत्पादन सुचकाङ्क जुनमा ४६.० प्रतिशत रहेकोमा गत महिना ४६.४ प्रतिशतमा झरेको छ । र यसले संकुचनको सुस्त दरलाई सङ्केत गरेको थियो । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले भने, ‘माग कमजोर छ तर जूनको तुलनामा थोरै राम्रो छ, कामको कमीको कारण उत्पादन सुस्त भएको छ, र आपूर्तिकर्ताहरूसँग आपूर्ति क्षमता मजबुत छ, निकट भविष्यमा उत्पादनसँग राम्रो तालमेल गर्न थप रोजगारी कटौतीका सङ्केतहरू देखा पर्छन् ।’ फेडरल रिजर्भको मौद्रिक नीतिमा कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ भने वस्तुको मागले उपभोगलाई सेवातर्फ मोड्न थालेपछि यो कमजोरी आएको हो । गत वर्ष बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन ब्याजदर घटाउँदै आएको छ र यसको कार्यले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई असर गरिरहेको छ । जुलाईको आईएसएम रिपोर्टले नयाँ अर्डरहरू र उत्पादन सूचकाङ्कहरू दुबैले केही सुधार सङ्केत गरेपनि उत्पादन सङ्कुचनमा रहेको देखिएको छ । पेट्रोलियम र कोइला उत्पादनका साथै फर्निचर र सम्बन्धित उत्पादनहरू गरी दुई उत्पादन उद्योगहरूमा जुलाईमा वृद्धि भएको छ भने अन्य १६ वटामा सङ्कुचन आएको छ । रासायनिक उत्पादन क्षेत्रका एक सर्वेक्षण उत्तरदाताले भने, ‘हाम्रो उद्योगमा बिक्री वर्षको उत्तराद्र्धसम्ममा पनि प्रगति अत्यन्तै सुस्त छ र कम्तिमा चौथो त्रैमासिकसम्म कुनै वृद्धि हुने अपेक्षा गरिएको छैन ।’ अर्का एक उत्तरदाताले चीनविरुद्ध सेमीकन्डक्टर व्यापार प्रतिबन्धले उत्तरी अमेरिकाको औद्योगिक व्यवसायमा ‘नकारात्मक प्रभाव’ पारेको उल्लेख गरे ।
काठमाडौं महानगरले १० गौरवका र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउँदै, ५ अर्ब ८० करोड बजेट
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । महानगरपालिकाले ती योजनाका लागि ५ अर्ब ८० करोड रुपैयाँ रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ र स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको हो । आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवद्र्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । त्यसैगरी नागरिकको प्रत्यक्ष चासोका विषय निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा परेका योजनालाई स्वर्णिम योजनाका रूपमा राखिएको छ । उक्त योजना १३ औँ नगरसभाको अधिवेशनमा विनियोजन वियेधकमा पेश भएर छलफलपछि सभाले पारित गरेको हो । कामपाले निर्धारण गरका गौरवका आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ । गौरवका आयोजनाअन्तर्गत ‘उज्यालो सहर’, ‘मेरो महानगर’, ‘महानगरले देख्छ’, ‘धुलोरहित सडक’, ‘रोजगारी र आय वृद्धि’, ‘काठमाडौँको समृद्धि’, ‘मेरो रहर, सुन्दर र हरित सहर’, ‘संस्कृति, सम्पदा र पर्यटन’, ‘महानगरको धन’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’, ‘सुशासनका लागि अनलाइन सेवा’ र ‘गरी खाने शिक्षा महानगरको इच्छा’ कार्यक्रमलाई समेटिएको छ । त्यसैगरी स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’, ‘स्वच्छ भान्सा कार्यक्रम’, ‘खेलकुद पूर्वाधार परियोजना’, ‘एग्रो पुलिङ परियोजना’, ‘पूर्वाधार एम्बुलेन्स’, ‘एकल सेवा केन्द्र’, ‘श्रम बैंक’ र ‘न्याय चौतारी’जस्ता कार्यक्रम रहेका छन् । त्यस्तै ‘पिउने पानी तथा सार्वजनिक शौचालय’, ‘इरेण्टल’, ‘सुलभ फार्मेसी’, ‘यातायात तथा ट्राफिक’, ‘नदी सफाइ’, ‘डुबान समाधान’, ‘ढुङ्गेधारा हिटी र पोखरी संरक्षण’, ‘आरोग्य जीवन’, ‘मेट्रो मार्ट’, ‘साथी महानगर’, ‘स्मार्ट टोल’, ‘सांस्कृतिक सहर’, ‘पर्यटकीय सहर’, ‘सम्पदा मर्मत तथा संरक्षण कार्य’, ‘अनुसन्धान तथा अन्वेषण केन्द्र’, ‘सबैको योजना, सबैको विकास’, ‘सुन्दर महानगर’जस्ता योजना रहेका छन् । पच्चीस वटा स्वर्णिम योजनामध्ये सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्नुपर्ने तीनरतीनवटा योजना छन् । स्वास्थ्य विभागसँग २ वटा आफैँ र एउटा नगर प्रहरीको सहकार्यमा गर्नुपर्ने छ । प्रशासन विभागले कार्यान्वयन गर्नुपर्ने २ वटा योजना छन् । १३ वटा विभाग रहेको कामपामा अन्य विभागमा एकरएक वटा कार्यक्रम रहेको छ ।रासस
हेटौँडा औद्योगिक क्षेत्रमा आर्थिक सङ्कटले ९ वटा उद्योग बन्द, १०५ वटा मात्रै सञ्चालनमा
काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक १०५ वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन् । उक्त औद्योगिक क्षेत्रमा स्थापना भएको हेटौँडा कपडा उद्योगसहित ९ वटा उद्योग आर्थिक सङ्कटको कारणबाट केही वर्षअघिदेखि बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ । सो क्षेत्रको परिसरभित्र विभिन्न प्रकारका गरी १९ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । ती उद्योगमध्ये ७ वटा उद्योगले आगामी चैत मसान्तभित्रै आ–आफ्नो उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ । यसैगरी, सो औद्योगिक क्षेत्रमा अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख रहेका छन् । यस्तै, उक्त परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतको कम्पनी सञ्चालनमा रहँदै आएको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक भोजराज विनाडीले जानकारी दिए । हाल औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ११ हजार जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् । उनले नेपाल सरकारद्वारा स्थापना गरिएको हेटौँडाको मयुरधापमा स्थापित नयाँ औद्योगिक क्षेत्रमा चालु आर्थिक वर्ष २०८०÷८१ भित्रै नयाँ उद्योग स्थापना गर्ने क्रममा सम्बन्धित उद्योग व्यवस्थापनको मागबमोजिम जग्गा उपलब्ध गराउनेतर्फ प्रक्रिया सुरु भइरहेको बताए । तत्कालीन श्री ५ को सरकारले विसं २०२० साल मङ्सिरमा हेटौँडामा औद्योगिक क्षेत्रको स्थापना गरेको थियो । हाल उक्त औद्योगिक क्षेत्रभित्र करिब ९५५ रोपनी जग्गा नयाँ उद्योग स्थापनाका लागि राखिएको र नयाँ उद्योगले जग्गा प्राप्तिको लागि निवेदन दिँदै आएको पनि प्रबन्धक विनाडी जानकारी दिए । रासस