सोनापुर मिनरल्सको आईपीओ प्रिमियममा बिक्री खुला, कति कित्ता भर्ने ?
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले आज साउन २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीयलाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
अर्थमन्त्रीसँग बैंकरले भने : प्रशस्त पैसा हुँदा पनि ऋण माग्ने आएनन्, सम्भावित क्षेत्र पहिचान गरिदिनुस्
काठमाडौं । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले अर्थमन्त्री डा.प्रकाश शरण महतलाई कर्जा प्रवाहका क्षेत्र पहिचान गरिदिन माग गरेका छन् । आइतबार अर्थमन्त्री डा.महतसँगको छलफलमा बैंकका सीईओहरुले कर्जाको माग नै आउन छाडेपछि अध्ययन गरेर कर्जा प्रवाह हुने क्षेत्र पहिचान गरिदिन माग गरेका हुन् । बैंकको ब्याजदर कम हुँदा पनि कर्जाको माग नै नआएको गुनासो बैंकरहरुले गरेको छलफलमा उपस्थित एक बैंकका सीईओले विकासन्युजलाई बताए । उनका अनुसार बैंकसँग प्रयाप्त पैसा हुँदा पनि ऋणीहरु ऋण लिन आएका छैनन् । ‘बैंकको ब्याजदर कम भइसक्यो, बैंकसँग प्रयाप्त पैसा छ, ब्याजदर पनि घटिसकेको छ,’ उनले भने, ‘नयाँ उद्योग स्थापना तथा व्यवसयास सुरु गर्छु कर्जा चाहियो भनेर बैंकमा कर्जा लिन कोही आएका छैनन्, कर्जाको माग नहुनुमा सरकारको नीतिका कारण त होइन् ?, बैंकसँग भएको ५/६ खर्ब उत्पादनमुलक क्षेत्रमा नजाने हो भने त्यो पैसा जाम भएर बस्छ ।’ पछिल्लो समय बैंकहरुले कर्जा प्रवाहका लागि आकर्षक प्रडक्ट ल्याउँदा पनि लिन आउने सुरसार नै नगरेको उनको भनाइ छ । यस्तै स्थिती रहिरहने हो भने अर्थमन्त्रालयले कुन क्षेत्रमा कर्जाको माग छ त्यसको पहिचान गरिदिनु पर्याे भनेर बैंकरहरुले माग गरेको सहभागी ती बैंकरले बताए । ‘बैंकहरुले ब्यापार, सेयर, घरजग्गा कर्जाका आकर्षक प्रडक्ट वा स्कीम ल्याउँदा पनि माग नै छैन, बैंकहरुले धमाधम स्कीम ल्याइरहेका छन्,’ उनले भने, ‘कर्जाको माग नै नभएपछि अर्थमन्त्रालयले कर्जाको माग कहाँ छ भनेर पहिचान गर्न अध्ययन गर्नु पर्याे, हामी कर्जा दिन तयार छौं, हामीले कर्जा रोकेर बसेका छैनौं, कर्जा दिन कुनै कन्जुस्याईं गरेका छैनौं ।’ साथै, छलफलमा बैंकको ब्याजदर बढी भएर कर्जा नरोकिएको बैंकरहरुले अर्थमन्त्रीलाई जानकारी गराएका थिए । कसैले चाहेर बैंकको ब्याजदर घटबढ हुन नसक्ने बैंकरहरुले अर्थमन्त्रीलाई बताएका थिए । ‘कसैले चाहेर ब्याजदर घट्ने र बढ्ने होइन, अब क्रमशः ब्याजदर घट्दै जान्छ, बैंकहरुले प्रिमियम घटाउँदै लगेका छन्,’ उनले भने । बैंकरहरुले बैंकप्रतिको नकारात्मक प्रचारप्रसार तथा अराजक गतिविधि अन्त्य गर्न माग राखेका थिए । पछिल्लो समय अराजक गतिविधि बढ्दै गएपछि बैंकरहरुको मनोबल खस्किएको बताएका थिए । यस्तै स्थिती आगामी दिनमा पनि रहिरहे काम नगर्ने चेतावनी अर्थमन्त्रीलाई बैंकरहरुले दिए । स्थानीय निकायको पैसालाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउनु पर्ने माग गरेका थिए । झण्डै १ खर्ब रुपैयाँ स्थानीय तहको छ । स्थानीय तहको रकम निक्षेपमा गणना गर्दा ब्याजदर घट्न मद्दत पुग्ने तर्क बैंकरहरुले गरेका थिए । अर्थमन्त्री डा. महतले अहिलेको मन्दीलाई चलायमान गर्न बैंकरहरुको सुझाव संकलनका लागि आइतबार अर्थमन्त्रालय बोलाएका थिए । छलफलमा बैंकका सीईओ रत्नराज बज्राचार्य, किरण श्रेष्ठ, सुदेश खालिङ, सुनिल केसी लगायतले आफ्नो सुझाव राखेका थिए । ‘अराजक गतिविधिलाई निस्तेज हुनु पर्याे, कर्जा लिएपछि चुक्ता नगर्ने, उल्टै बैंकरमाथि आक्रामण गर्ने परिपाटी बढेको छ, भौतिक आक्रमणको अन्त्य हुनु पर्छ, बैंकरहरुको सुरक्षाको प्रत्याभुति हुनु पर्याे,’ उनले भने । अर्थमन्त्री डा. महतले ठूला ऋणीलाई मात्रै नभएर सानालाई पनि कर्जा दिन बैंकरहरुलाई निर्देशन दिएका थिए । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने भौतिक आक्रमण रोक्न राज्यका सबै निकाय परिचालनका लागि समन्वय गर्ने विश्वास अर्थमन्त्री महतले दिलाए । साथै, निर्माण क्षेत्रका व्यवसायीहरुको भुक्तानी थोरै मात्रै रहेको उनले दावी गरे । ‘साना ऋणीहरुलाई पनि कर्जा दिनु पर्याे, अहिलेको अराजक गतिविधि रोकिरहेका छौं, यस्ता गतिविधि आगामी दिनमा गर्न दिँदैनौं, सरकारका अन्य निकाय परिचालन गर्छाैं,’ उनले भने, ‘निर्माण क्षेत्रका व्यवसायीहरुको रकम पनि उपलब्ध गराइरहेका छौं, अब थोरै रकम मात्रै उपलब्ध गराउन बाँकी छ ।’
अर्थतन्त्र चलायमान बनाउने बारे गभर्नर, निजी क्षेत्र र बैंकरसँग अर्थमन्त्रीको छलफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका तीनवटा संगठन र नेपाल बैंकर्स संघका अध्यक्षसँग संयुक्त छलफल गरेका छन् । आइतबार साँझ डा. महतले सबैलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान गराउने विषयमा छलफल गरेका हुन् । मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको मन्त्री महतको सचिवालयले बताएको छ । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री महतलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् । मन्त्री महतले बोलाएको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासंघका अध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स संघका अध्यक्ष सुनिल केसी सहभागी थिए । छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउन र चालु पुँजी कर्जामा लचिलो हुनेगरी नीति लिन माग गरेको छ । अर्थमन्त्री महतले अर्थतन्त्र चलातमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधानमा सहयोग गर्न गभर्नर अधिकारीलाई भनेको मन्त्रीको सचिवालयले बताएको छ ।
नबिल बैंकले ल्यायो १० वर्षको स्थिर ब्याजदरमा घर कर्जा
काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत १० वर्षसम्म स्थिर ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, दुई स्थिर ब्याजदरमा सुलभ घर कर्जाको योजना ल्याएको हो । नविलले ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने नीति बनाएको बताएको छ । नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने बर्ताको छ । यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले बताइन् । नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने बताएको छ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्ने बैंकले बताएको छ । बैंकको यही योजनामा दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी हुने बैंकले बताएको छ । नबिल बैंकले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
एभरेष्ट बैंकले सुरू गर्याे अफलाइन भुक्तानी सेवा
काठमाडौं । एभरेष्ट बैंकले फोन–पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै बैंकको मोबाइल एपबाट भुक्तानी सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ । विशेष कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन–पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको सुरुवात गरेका हुन् । कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन–पेका अन्य विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक केन्द्रित नयाँ सुविधा र उर्जा थपेको बताए । फोन–पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमालाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिएको बताए । हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुने बैंकले बताएको छ ।
श्रीराम सुगर मिल्स सञ्चालनको माग गर्दै उद्योग मन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं । रौतहटका उखु किसानहरुले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् । आइतबार गडा चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट उनीहरुले उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् । रौतहटमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड २०७७ श्रावण ११ गतेदेखि बन्द गरिएको थियो । साउन ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेपछि किसानहरुले सुगर मिल चलाउने वातावरण बनाउन मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले उद्योग स्थापनाको समयमा स्थानीयले भविष्यको लागि भन्दै उद्योग खोल्न सहुलियतमा जग्गा बिक्री गरेको र अहिले उद्योग बन्द हुँदा किसानलाई दैनिकी चलाउनै असहज भएको उनीहरुले बताएका छन् । उद्योग सञ्चलनमा राज्य पक्षले आवश्यक समन्वय गर्नुपर्ने, उद्योगको स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा लगाउन नपाउने व्यवस्था गर्न मागसहितको ज्ञापनपत्र मन्त्री रिजालाई बुझाएका छन् । उ नीहरुले आफ्ना माग बेवास्ता गरे संघर्षका कार्यक्रम थाल्ने चेतावनी दिएका छन् । मन्त्री रिजालले सुगल मिलनको विषयमा कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् ।
खल्तीबाट रोड टु ग्लोबल ईस्पोर्ट्स गेम्स क्वालिफायरको रजिस्ट्रेसन गर्न सकिने
काठमाडौं । खल्तीले ई–स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई–स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ टुर्नामेन्टको रजिस्ट्रेसन सुविधा उपलब्ध गराएको छ। सो रजिस्ट्रेसन सुविधा साउन २४ गतेदेखि साउना ३० गतेसम्मका लागि उपलब्ध गराइएको जनाइएको छ । साउन ३० देखि सुरु हुने यस टुर्नामेन्टमा डोटा २, पबजी, स्ट्रिट फाइटर र ई–फुटबल गरी ४ वटा गेम छन्। ई–स्पोर्ट्स गेमिङमा रुचि भएका र खेल्न इच्छुक जोसुकैले पनि खल्तीमार्फत रजिस्ट्रेसन गरी निःशुल्क सहभागिता जनाउन सक्ने कम्पनीले जनाएकाे छ । प्रतियोगीले गेमको नियमहरुमा सीमित रहेर प्रतिस्पर्धा गर्नेछन्। सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिमका साथै स्ट्रिट फाइटर र ई–फुटबलतर्फ १–१ प्रतिस्प्रधी नेसनल क्वालिफायरका विजेता बन्नेछन् । क्वालिफायरका विजेताहरु साउदी अरेबियामा हुने अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स गेमिङ टुर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘हामीले ‘खल्ती’ लाई डिजिटल वालेटका रुपमा मात्र नभएर ट्रेन्डी र लाइफ स्टाइल ब्रान्डका रुपमा प्रस्तुत गर्दै आइरहेका छौँ । हामीले आफ्ना प्रयोगकर्तालाई आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमको रजिस्ट्रेसन सुविधा पनि उपलब्ध गराउँदै आएका छौँ। त्यसैअनुरुप हामीले यस ई–स्पोर्ट्स गेमिङको दर्ता सेवा उपलब्ध गराएका हौँ। यस सुविधाले खल्ती प्रयोगकर्तामा थप उत्साह प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’
मन्त्री अमनलाल मोदीलाई माओवादीले फिर्ता बोलायो
काठमाडौं । सरकारबाट नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आइतबार मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए । अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीका ती पदाधिकारीले बताए ।