उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…
बङ्गलादेश । बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो । दोस्रो घटनामा, रिपोर्ट अनुसार, त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकष्मात रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ । यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो । रासस
सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक बढेको छ । गत बुधबार र बिहीबार पनि नेप्से बढेको थियो । आइतबारको बजारले पनि सोही क्रमलाई निरन्तरता दिएको छ । आइतबार कारोबार रकम पनि बढेको छ । आइतबार २७१ स्टकको ९५ हजार ९६५ पटकको कारोबारमा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आइतबारको बजारमा थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने घोराही सिमेन्ट्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । आइतबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ ।
दुई दिनदेखि कालीगण्डकी करिडोर ठप्प
गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध छ । निरन्तरको वर्षाले पहिरो झर्नेक्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध जारी रहेको हो । बागलुङ नगरपालिका–१० दबल्याङमा दुई दिनदेखि सडक अवरुद्ध भएको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो । दब्ल्याङहुँदै बलेवा कुश्मिसेरा जाने सडकसमेत गए रातिदेखि बन्द छ । वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । करिडोरको दब्ल्याङमा यही साउन २६ गतेदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जिल्ला सदरमुकामसँगको सडक सञ्जालबाट टुटेको छ । दबल्याङको पहाड गहिरिएर पहिरो गएका कारण बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र परेका छन् । यस्तै बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डे जाने सडकसमेत अवरुद्ध बनेको छ । रासस
अर्थमन्त्रीले गभर्नरसहित बैंकका सीईओलाई सिंहदरबार बोलाए, ब्याजदर घटाउने बारे छलफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई छलफलका लागि बोलाएका छन् । आइतबार साढे ५ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा हुने छलफलमा सहभागी हुन अर्थमन्त्रीको सचिवालयबाट खबर आएको एक वाणिज्य बैंकका सीईओले जानकारी दिए । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि बोलाइएको बताइएको छ । अर्थमन्त्री महतले बैंकको बैंकको ब्याजदर घटाउने विषयमा छलफलका लागि गभर्नरसहित वाणिज्य बैंकको सीईओहरुलाई बोलाएको बुझिएको छ । साउन महिना केही बैंकहरुले ब्याजदर बढाएका थिए । उद्योगी व्यवसायीहरुले भने बैंकको ब्याजदर महङ्गो भएको कारण नयाँ परियोजनामा लगानी गर्न नसकिने अवस्था भएको बताउने गरेका छन् । गत असारमा अर्थमन्त्रीले नै बैंकरहरुले ब्याजदरमा कार्टेलिङ गर्ने गरेको सार्वजनिक टिप्पणी गरेका थिए । त्यसको केही दिनपछि नेपाल बैंकर्स एसोसिएसनले बैंकहरुले स्वविवेकीय हिसाबले ब्याजदर तोक्न सक्ने व्यवस्था गरेको थियो । त्यसअघि, बैंकरहरुले छलफल गरेर मात्रै बैंकको ब्याजदर निर्धारण गर्ने गरेका थिए । अर्थमन्त्री महत भने बैंकले ब्याजदर घटाउनुपर्ने पक्षमा छन् ।
हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी, सञ्चुरी मेडलबाट बढी आम्दानी
चितवन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् । विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन । बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ । हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ । कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ । सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन् । एकै ठाउँमा खुल्लारुपमा हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ । सौराहाको सपना भिलेजका सञ्चालक ध्रुब गिरीले छ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आएका छन् । हात्ती सफारी बन्द गरेर उनले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहेका छन् । उनको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक (झाडीमा हात्तीसँगै घुम्ने) प्याकेज तयार गरिएको छ । यो प्याकेज अन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि–पछि घुम्छन् । उनीहरुले बिहानी खाजा (ब्रेक फाष्ट) हात्तीसँगै खुलारुपमा लिन्छन् । गिरीका अनुसार यो प्याकेजवापत पर्यटकसँग तीन हजार पाँच सय लिइन्छ । हात्ती सफारी गर्दा दुई हजार पाँच सय मात्रै आउने भन्दै उनले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाए । गिरीले आफ्नै करिब २२ विघा जमिनमा हात्ती पालन गरिरहेका छन् । दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ । यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ । विहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन् । उनीहरुले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन् । उनीहरुले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन् । यो प्याकेजका लागि प्रति पर्यटकले १५ हजार लाग्छ । समूहमा काम गर्न सबै इच्छुक नभएपछि बिगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ । ‘हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन । त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ’, उनले भने । सौराहाका अन्य व्यवसायीले सङ्गठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन् । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो । हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उनले त्यसले पूर्णता भने पाउन नसकेको बताए । तत्कालिन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उनको भनाइ छ । उनले भने, ‘हात्ती बिनाको पर्यटन सौराहामा सम्भव छैन, त्यसैले हामीले यसको विकल्प सोच्नैपर्छ ।’ हात्ती सफारी दिगोरुपमा सम्भव नरहेको भन्दै उनले ढिलो चाँडो हात्ती सेञ्चुरीमा जानुको विकल्प नभएको बताए । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे युरोपेली, अमेरिकन, अष्ट्रेलियनलगायतका देशका पर्यटकले प्याकेजमा हात्ती सफारी छाडेको उनको भनाइ छ । जनावरमाथि चढेर उनीलाई सास्ती दिनु हुँदैन भन्ने मान्यता अनुसार त्यसो गरिएको हो । थाइल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा हात्ती सेञ्चुरी राम्रो भएको घिमिरेको भनाइ छ । उनले भने, ‘हात्तीले खाएको, नुहाएको, हात्तीसँगै हिँडेको जस्ता गतिविधिको अवलोकन गराइ पर्यटकबाट आम्दानी गर्न सकिन्छ ।’ सौराहामा हाल ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ सञ्चालनमा छ । संस्था अन्तर्गत हाल ३० वटा हात्ती छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा निजी हात्तीको सङ्ख्या ४२ वटा छ । कोरोना महामारी सुरु हुनुअघि हात्तीको सङ्ख्या ८० थियो । संस्थामा मात्र कोभिडअघिसम्म ६५ हात्ती रहेकोमा कोभिडपछि यो सङ्ख्या घटेर ३० मा सीमित भएको उनको भनाइ छ । व्यवसायीहरुले हात्ती पाल्न नसकेपछि बाहिरबाट ल्याइएका हात्ती फिर्ता गरेको उनको भनाइ छ । एउटा हात्ती पाल्न मासिक करिब एक लाख २० हजार खर्च हुने खतिवडाले जानकारी दिए। एउटा वयस्क स्वस्थ हात्तीको मूल्य औसतमा एक करोड ५० लाख पर्छ । रासस
ड्रागन फ्रुट खेतीबाट आम्दानी गर्दै निर्माण व्यवसायी विमलेश, केजीको ५ सय रूपैयाँमा बिक्री
बागलुङ । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेका छन् । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेको छ । बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका बागलुङ नगरपालिका–१ रामरेखाका उनले पहिलो चरणमा यसको फल उत्पादन गरी एक लाख रुपैयाँमा एक सय ५० केजी फ्रुट बिक्रीसमेत गरिसकेको बताए । रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गरेका आचार्यले एक वर्षमै उत्पादन दिन थालेपछि आफू दङ्ग परेको उल्लेख गरे । जिल्लामै ठूलो क्षेत्रफलमा यो खेती गर्ने उनी पहिलो कृषक हुन् । ‘छ रोपनी जग्गामा गरिएको उक्त खेतीबाट अहिले उत्पादन सुरु भइरहेको छ, पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट बिक्री भइसकेको छ, दोस्रो चरणमा अझ धेरै उत्पादन हुन्छ, माग अत्यधिक भएकाले फार्मबाटै फ्रुट बिक्री भइरहेको छ’, आचार्यले भने, ‘पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीको प्रेरणाबाट मैले यो खेती एक वर्षअघिदेखि आफ्नै छ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाएको थिए, दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाइएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि हर्षित भएको छु, सबै बिरुवा मोरङ जिल्लाबाट ल्याएको थिए ।’ उनका अनुसार ड्रागन फ्रुट सी भेराइटी मध्येको रातो जातको हो । अहिले आचार्यले प्रतिकेजी पाँच सय रूपैयाँका दरले ड्रागन फ्रुट बिक्री गरिरहेका छन् । पछिल्लो समय निकै राम्रो मूल्य र बजारमा माग पनि बढेकाले बागलुङमा व्यावसायिकरूपले यसको उत्पादन थालिएको हो । ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्ट लगायतले खेती अवलोकन गरेका थिए । आचार्यले यस खेतीका लागि कृषि ज्ञान केन्द्रले प्राविधिकसँगै मल्चिङ प्लास्टिक र थोपा सिँचाइका लागि सहयोग गरिरहेको बताए । निर्माण व्यवसायीसमेत रहेका उनले यो खेती विस्तारका लागि ५० लाख रुपैयाँ लगानी गरी प्रतिबिरुवा चार सय रुपैयाँमा खरिद गरेर लगाइएको जानकारी दिए । ड्रागन फ्रुटका लागि सिमेन्टको पोल र टायरसमेत आवश्यक पर्ने भएकाले छ सय सिमेन्टका पोल र टायरमा दुई हजार एक सय बिरुवा आचार्यले लगाएका थिए । जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोललगायतका लागि ५० लाखभन्दा बढी लगानी गरिसकेको र आगामी दिनमा लगानी बढाउने योजना रहेको उनको भनाइ थियो । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यसतर्फ लगानी बढाउँदै लगेको बताए ।। ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरे पनि पछि राम्रो कमाई हुने गरेको छ । उनले ड्रागन फ्रुट रोपेको १८ महिनाभित्रै उत्पादन भइसक्ने अनुमान गरिएकामा एक वर्षभित्रै फल लागेपछि खुसी भएको बताए । ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी नै धेरै भए पनि त्यसपछि खर्च घटेर आम्दानी बढ्दै जानेछ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पहिलो पटक ड्रागन फल उत्पादन भएको बताए । ‘उहाँले आफ्नै लगानीमा फर्म स्थापना गर्नुभएको हो, तर पछि हाम्रो प्राविधिक सहयोगसँगै मल्चिङ प्लास्टिक र सिँचाइका लागि सहयोग गरिएको छ’, प्रमुख भट्टराईले भने, ‘उच्च व्यावसायिकता भएको ड्रागन फलको बजार निकै राम्रो छ ।’ दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डलगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सरबिरुद्ध प्रतिरोधात्मक गुण हुन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । रासस
महानगरमा पसल बन्द गराइदिनेदेखि कोठा खाली गराउनेसम्मका उजुरी बढे
काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढेको छ । अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन लगायतका रहेका छन् । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरुको संख्या बढेको बताइन् । पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन माग गर्दै उजुरीहरु बढी परेको उनको भनाइ छ । न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरु बन्द र खाली गराइ पाउँ भन्ने किसिमले पर्ने गरेको डंगोलको भनाइ छ । न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौंमा यस किसिमका संकेत देखिन राम्रो नभएको भन्दै उनले यस्ता घटना बढ्नु भनेको अर्थतन्त्त चलायमान हुन नसक्नु रहेको बताइन् । ‘न्यायिक समितिको मुद्दाहरु हेरिरहँदाखेरी धेरैजसो अहिले पसलहरु बन्द गर्ने र सटर खालि गर्नुपर्यो, कोठा खाली गरिदिनुपर्यो भन्ने खालका विषय बढी आउन थालेको छ । न्यायिक समितिको इजलाश बस्दाखेरी दशवटा हेर्यो भने आठ वटा जति त कोठा खाली गराइपाउँ, सटर खाली गराइ पाउँ, सहकारी भाग्यो अब खालि गर्नुपर्यो भन्ने खालका यस्ता विषयहरु बढी आउन थालेको छ,’ डंगोलले भनिन्, ‘यसको संकेत पक्कैपनि राम्रो होइन । अहिले बजारमा धेरै पसलहरु बन्द हुन थालेको संकेत पनि हो । धेरै जनाले यो आर्थिक मन्दी आभाष गरिरहनु भएको छ । अर्थतन्त्र चलायमान नभएको भन्ने पनि यसले संकेत दिन्छ । यस्ता खालका विषयवस्तुहरु बढी आउन थालेको छ । र क्रम बढ्न थालेको छ । हरेक हप्ता यसका अपडेट लिदाँखेरी प्रतिशतमा बढ्न थालेको छ ।’ उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तिब्रता दिने बताइन् । नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक भएकाले बजार र योजना अनुगमनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । महानगरपालिकाले शिक्षा, स्वास्थ्य खाद्यान्नसँगै योजना अनुगमनको पाटोलाई पनि प्रमुख विषय बनाएर अघि बढीरहेको भन्दै उपमेयर डंगोलले स्थानीय सरकारले हरेक उपभोक्ताले उपभोग गरिरहेको कुरा ठिक छ भन्ने विश्वास गर्ने वातावरण दिनसक्नुपर्ने बताइन् । ‘अनुगमन र मुल्यांकन अर्को महत्वपूर्ण पाटो हो । हामीले बनाउने नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक छ । महानगरपालिका, स्थानीय सरकारको अनुगमनको विषयमा भन्नुपर्दा एउटा बजार अनुगमन र अर्को योजना अनुगमन । दुई वटैलाई हामीले चाडपर्व लक्षित मात्र नरहेर हरेकचोटी, हरेक दिन हुनुपर्ने हो । यो निरन्तर प्रक्रिया हो । त्यसकारण महानगरपालिकाले अहिले पनि अनुगमन हरेक दिन गरिरहेको छ’ उनले भनिन् । त्यसका लागि विभिन्न टोली बनाइएको उनको भनाइ छ । नियमित रुपमा अनुगमन गर्नु व्यापारीलाई हतोत्साही गर्नु नभएको उनको भनाइ छ ।
‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न, व्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण
मुम्वई । भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । मेलामा नेपाल सुनचाँदी व्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल सहभागी भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलामा सहभागी हुन जानेहरुको औपचारिकरुपमा विदाई गरेका थिए । नेपाल सुनचाँदी ब्यवसायी महासंघका उापध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामुको संयोजकत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले मेलामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको थियो । त्यसक्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलवीच विभिन्न चरणमा छलफल तथा विचार बिमर्श समेत भएको महासंघले जनाएकाे छ। सुनचाँदी तथा गरगहना ब्यवसायलाई लक्षितगरी आयोजना गरिएको सो मेला दुई देशबीच ब्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण गर्न मेला फलदायी भएको संयोजक रामुदामुले बताए । उनका अनुसार यस्तो किसिमको मेलामा सहभागी हुँदा विश्व बजारमा भएको प्रविधिको बारेमा नजिकवाट बुझ्न र नयाँ नयाँ प्रविधि तथा शीपको बारेमा जानकारी लिन सजिलो भएको बताए । नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष शाक्यले सुनचाँदी तथा हिरा जवहारातका गरगहनाको खरिद–विक्री, प्रविधि हस्तान्तरण, शिप विकास, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा यस किसिमको मेला फलदायी हुने गरेको बताए । यस किसिमको मेलामार्फत दुई देशबीचका व्यवसायीवीचको सम्बन्ध विस्तार र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको उनको भनाई छ । जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल (जिजेइपिसी) इण्डियाको आयोजनामा भएको सो मेलामा बिश्व भरका सुनचाँदी तथा आधुनिक व्यवसाय क्षेत्रका पारखी उद्यमी–व्यवसायीहरु सहभागी थिए । जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा सञ्चालित संस्था हो । महासंघका अनुसार सुन तथा चाँदी लगायत वहुमुल्य धातुका गरगहना सम्बन्धी सवै खालका जानकारी तथा आवश्यकता पुरागर्न यस क्षेत्रमा आवद्ध ब्यवसायीहरुका लागि मेला फलदायी बन्ने गरेको छ । इण्डिया इन्टरनेशनल ज्वेलरी शो प्रत्येक बर्षको दुई पटक आयोजना हुने गर्दछ । महासंघको प्रतिनिधीमण्डल बिगत बर्षहरुमा पनि सो मेलामा सहभागी हुँदै आएको थियो ।