सरकारले ल्याएको विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनमा इप्पाने गर्यो स्वागत
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले ‘विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन, २०८०’ को स्वागत गरेको छ । इप्पानले काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै प्रतिवेदनमा विद्युत आयोजनाहरुको विद्यमान अवस्था, विद्युत उत्पादनको अवस्था, विद्युत प्रशारणको अवस्था, समितिले कार्यदेश अनुसार गरेको अध्ययन तथा विश्लेषणका विषय वस्तुहरुको स्वागत गरेको हो । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०७९ माघ २६ गते बसेको बैठकले विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत रुपमा फेरबदल गर्नुपर्ने आवश्यकता महशुस गरी प्रतिवेदन तयार गर्न उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो । समितिले तयार पारेको प्रतिवेदन नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति समक्ष पेस भइसकेको छ । पत्रकार सम्मेलनमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले पीपीए गर्दा क्यु ४० पिओर्ईमा गर्दै आएकोमा आयोजना अप्टीमाइज हुने पिओईकै आधारमा पिपिए गर्ने तथा उत्पादन सम्मिश्रणमा उल्लेखित सीमाभन्दा ३५ प्रतिशत बढी क्षमतामा आरओआर, पिआरओआर र स्टोरेजरपम्प्ड स्टोरेज आयोजनाहरुको विद्युत खरिद बिक्री गर्ने कुरा स्वागतयोग्य भएको बताए । उनले पिआरओआरको लागि न्युनतम दुई घण्टा पिकिङ पाउण्डेज भए हुने, सुख्खा यामका महिनाको ३० प्रतिशत उर्जा पुग्नुपर्ने व्यवस्था हटाई वर्षायाम र सुख्खायामको अवधिमा ६/६ महिना कायम गर्ने कुराले पिआरओआर आयोजना विकास गर्न निकै सरल र सहज बनाउने बताए । डागीँले इप्पानले लामो समयदेखि राख्दै आएको मागलार्ई कार्यदलले सम्बोधन गरेको भन्दै क्यु ४० मा डिजाइन गर्दै आएको प्रोजेक्टलाई यो प्रतिवेदनले क्यु २५ मा डिजाइन गर्दा हुने बनाएको भन्दै प्रतिवेदन स्वागतयोग्य रहेकोमा जोड दिए । ‘नेपाल सरकारले कार्यदल गठन गरेर एउटा रिपोर्ट सार्वजनिक गरेको छ । इप्पानले लामो समयदेखि राख्दै आएको मागलार्ई कार्यदलले सम्बोधन गरेको छ । नेपालमा जलविद्युतको सम्भावना कति छ ? भन्ने विषयमा धेरै पहिलेदेखि कुरा आएको छ । बच्चैदेखि नै ८३ हजार पाँच सय मेगावाट सुनिरहेका छौं । तर, ठ्याक्कै नेपालको क्षेमता कति हो भन्ने कुरामा डिजाइन गाइडलाइनले असर गरेको थियो । अर्थात नेपालको रिसोर्स किल भइरहेको थियो । यसलाई उपयोग गर्ने निति लिएको छ । १०० मेगावाटसम्म पनि १७ प्रतिशत भन्दा धेरै कमाउन पाइँदैन भन्ने थियो । त्यसले जलविद्युतत क्षेत्रमा विकृतिहरु आएका थिए । यी सबै विषयमा लामोसमयदेखि इप्पानले पहल गरेको हो । जलस्रोतको भरपुर उपयोग गर्ने कुरामा प्रतिवेदन स्वागतयोग्य छ’, उनले भने । स्वतन्त्र उर्जा उत्पादकहरुले कुनै कोरीडोरमा प्रशारण लाइनको क्षमता बाँकी भई विद्युत प्रशारण हुने अवस्था रहेमा त्यस क्षेत्रमा रहेका आयोजनाहरुको पिपिए गरिदिन सुझाव दिएका छन् ।
सिम्रिकले तिर्याे ५५ लाख बक्यौता
काठमाडौं । सिम्रिक एयर नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई बक्यौता रकम भुक्तानी गरेको छ । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकणले सिम्रिक एयरको जहाज नै ग्राउण्डेड गरेपछि कम्पनीले ५५ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले उक्त रकम आइतबार बुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबारदेखि कम्पनीका सबै उडानमा प्रतिवन्ध लगाएको थियो । बक्यौता रकम भुक्तानी नगरेको तथा प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडानमा रोक लगाईएकोे प्राधिकरणले जनाएको थियो । सिम्रिकले बक्यौता रकम भुक्तानी गरेसँगै कम्पनीमाथि लगाईएको उडान प्रतिबन्ध फकुवा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनका अनुसार कम्पनीले कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि भुतानी गरेको थिएन ।
कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द
जाजरकोट । सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो । बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले यही साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको छ । हवाई मार्ग रोकिए पछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन् । नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा पनि उडान बन्द भएको छ । त्यस्तै कालिकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म जहाजको अवतरण हुनसकेको छैन । वर्षायाममा सडक अवरुद्ध भएकाले बिरामी लैजान सबैभन्दा बढी समस्या हुने भएको सर्वसाधारणले बताए । मुगुको सोरु गाउँपालिका–८ पानमती रावलको सात महिनाको गर्भ छ तर उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ । रावलले नेपालगञ्ज जानका लागि आठ दिनसम्म रारा विमानस्थलमा जहाजको पर्खाइमा बिताइन् । त्यस्तै सोरु–८ कै सनिता शाहीले पनि जहाजका लागि विमानस्थलमा जहाज कुर्दा कुर्दा नौ दिन बित्तेको बताइन् । उनलाई बुबाको उपचारका लागि काठमाडौँमा समय मिलाउनुपर्ने बाध्यता छ तर जहाज नआउँदा बुबाको स्वास्थ्य समस्या थपिँदै गएको छ । कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक नभएकाले हवाई मागको बिकल्प खोजिनुपर्नेमा डोल्पाका ठूलिभेरीस्थित जुफालका बालकृष्ण डाँगीले बताए । जुफाल विमानस्थलमा दैनिक जहाजको पखाइँमा ५० भन्दा बढी यात्रु आउने गरे पनि जहाज नआउँदा समस्या हुँदै गएको उनले बताए । प्रविधिको प्रयोग लाइफ क्यामरा, मेट्रोलोजीयन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैर जिम्मेवार भएको पर्यटन व्यवसायीको आरोप थियो । हुम्लामा यातायात सेवा अझैँ जोडिएको छैन । डोल्पाको भेरी नदीमा पुल निर्माण नभएका कारण सहजरुपमा यात्रा असम्भव जस्तै छ । ठूलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ६ दिनसम्म नेपालगन्ज विमानस्थल जहाज कुरेर अन्तिममा भेरी करिडोर हुँदै डोल्पा पुग्नुपरेको बताए । नेपालगन्जबाट डोल्पा पुग्दा भारी मात्रामा दुःख भएको उनको भनाइ थियो । उपल्लो डोल्पास्थित डोल्पोबुद्ध–३ याङ्की गुरुङले सात दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउदा आमाको उपचार गर्न नपाएको गुनासो गरिन् । स्थलमार्ग हुँदै नेपालगन्ज जाँदा तीन दिन लागेको र दुःख धेरै पाइएको उनले बताइन् । दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा ,जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए । उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले हवाई उडान भर्न समस्या हुँदा यहाँका नागरिक मर्कामा परेका छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितका लागि प्रतिकूल हुने नीतिगत व्यवस्थालाई सुधार गर्दै जानुपर्नेमा जोड दिए । ‘प्राधिकरणको यो निर्णयले त कर्णालीवासीको जिउधनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थपेजस्तो भएको छ । यसलाई समन्वय गरी उपयुक्त निर्णयमा पुग्नुपर्छ,’ उनले भने । रासस
विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा टेलिभिजन तथा मोबाइलफोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागिदार हुने गरेका थिए । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने व्यवस्था गरिएको भन्सार विभागले जानकारी दिएको छ । सो अनुसार विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार एक्स–रे मेशिनमा पुग्नु अगावै स्वयम् घोषणाको सुविधा पाउने व्यवस्था गरिएको हो । विदेशबाट नेपाल फर्कने महिला यात्रुले अधिकतम ५० ग्रामसम्म र पुरुष यात्रुले अधिकतम २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । साथै एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन । मोबाइलको हकमा भने यात्रु आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार छ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ । श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजनमात्र भन्सार नतिरी साथमा ल्याउन पाउने व्यवस्था छ । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ । यसैगरी पाँच हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ । रासस
आयातकर्ता र करदातालाई अप्ठ्यारोमा पारेर कर्मचारीले बार्गेनिङ गर्न हुँदैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’ हाम्रा आयातकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’ राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ मन्त्री डा. महतको भनाइ छ । प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइएर राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’ इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’ साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमान्दार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए । अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए । उनले भने, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’
निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ : चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन् । भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह समेत गरे । उनले विश्वका अन्य मुलुकहरुमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै अध्यक्ष ढकालले यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताए । ‘विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा १ घण्टा, १७ अर्थतन्त्रमा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत, १६ अर्थतन्त्रमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ । हाम्रो छिमेकी राष्ट्र भुटानमा समेत आयात र निर्यातमा समान समय लाग्छ । तर, नेपालमा भन्सारमा ११ घण्टा लाग्ने गरेको छ, यसलाई नघटाई निर्यात प्रवद्र्धन हुन सक्दैन ‘, उनले भने । उनले विश्व बैंकको एउटा प्रतिवेदनले कच्चा पदार्थमा भन्सार महशुल छुट, पुँजीगत सबै वस्तुहरुमा भन्सार छुट वा अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे । अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागु गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुहरुको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेशिन जस्ता न्यूनतम् प्रविधिको प्रयोग गरि भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताए । एक अर्को प्रसंगमा अध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको सुधारका लागि लगानीकर्ता र उपभोक्ता दुवैको कन्फिडेन्स बढाउनुपर्नेमा जोड दिए । ‘अहिलेको अवस्थाभन्दा अर्थतन्त्र विग्रने अवस्था छैन । तर पनि अहिले लगानीकर्ता र उपभोक्ताको कन्फिडेन्स बढाउन नसक्दा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन । यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले सकारात्मक पहल लिनुपर्ने देखिन्छ,’ उनले भने ।
आईएमई ग्रुपले छाड्यो नेपाल इन्स्योरेन्स, एशियन लाइफले किन्यो साढे ५८ करोडको सेयर
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएको छ । आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त सेयर गत असार २४ गते बिक्रीमा राखिएको थियो । स्रोतका अनुसार उक्त सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको छ । आईएमई समूहले प्रतिकित्ता न्युनतम ३२५ रुपैयाँ मूल्य राखी बढाबढ मूल्यमा सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३६६ रुपैयाँमा टेण्डर पारेको हो । ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । सनी सेक्युरिटीजमार्फत उक्त सेयर बिक्री भएको छ भने डाइनामिक मनि मार्केट सेक्युरिटीजबाट सेयर किनिएको छ । उक्त सेयर आईतबार नेप्सेमा कारोबार भएको हो । बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सेयर क्रसहोल्डिङ हटाउन दवाब दिँदै आएको थियो । सोही क्रममा आईएमई समूहले प्रवर्द्धन गरेको आईजीआई र नेपाल इन्स्योरेन्सबीच मर्जरको प्रयास पनि भएको थियो । अन्तिममा आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि आईएमई ग्रुपले नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको थियो ।
सुन तस्करीमा संलग्नता पुष्टि गर्न अर्थमन्त्री डा. महतको चुनौती
फाइल तस्बीर काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा डा. महतले कसैले आफ्नो संलग्न पुष्टी गरे पदमा नबस्ने बताएका हुन् । ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म पदमा बस्दिनँ’, महतले भने, ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरुलाई शंका लाग्छ भने भन्नुस् ।’ आफूले लोभ लालच राखेको भए अनेक उपाय गर्न सक्ने तर, त्यस्तो लोभ लालचमा नरहेको उनले बताए । कांग्रेसकै कतिपय नेता कार्यकर्ताले पार्टी अनुशासन भन्दा बाहिर गएर अनावश्यक तर्क र टिप्पणी गर्ने गरेको भन्दै महतले असन्तुष्टि व्यक्त गरेका छन् । ‘पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनु पर्दैन ? बाहिर जे पनि बोल्दै हिड्नु ठिक हो ?’, महतले प्रश्न गरेका छन् । उनले सुनिल शर्मा प्रक्राउ बारे भने आफूलाई थाहा नभएको बताए । तर, उनको अभिव्यक्ति बारे भने महतले रोष व्यक्त गरेका छन् । शर्माले महत सुन तस्करी प्रकरणमा संलग्न रहेकाले राजीनामा दिनुपर्ने बताएका थिए । त्यसबाहेक, महतले चुनावी प्रतिस्पर्धा विना नै निरन्तर लाभको पद लिइरहेको भन्दै आलोचना गरेका थिए । शर्मालाई किन अहिले नै पक्राउ गरियो भन्ने बारेमा अनुसन्धान गर्ने र पक्राउ गर्ने निकायले नै जवाफ दिनुपर्ने महतले बताए ।