
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका तीनवटा संगठन र नेपाल बैंकर्स संघका अध्यक्षसँग संयुक्त छलफल गरेका छन् ।
आइतबार साँझ डा. महतले सबैलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान गराउने विषयमा छलफल गरेका हुन् ।
मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको मन्त्री महतको सचिवालयले बताएको छ ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री महतलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् ।
मन्त्री महतले बोलाएको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासंघका अध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स संघका अध्यक्ष सुनिल केसी सहभागी थिए ।
छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउन र चालु पुँजी कर्जामा लचिलो हुनेगरी नीति लिन माग गरेको छ । अर्थमन्त्री महतले अर्थतन्त्र चलातमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधानमा सहयोग गर्न गभर्नर अधिकारीलाई भनेको मन्त्रीको सचिवालयले बताएको छ ।