मारुती कारले दुई गाडीमा हाइब्रिड भेरियन्ट ल्याउँदै
काठमाडौं । मारुती सुजुकीले आफ्ना दुई गाडीमा छिट्टै नै हाइब्रिड भेरियन्ट ल्याउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक र सेडान कारलाई हाइब्रिड बनाउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक कार स्वीफ्ट र सेडान कारमा हाइब्रिड भेरियन्ट डिजाइन थपेर छिट्टै नै भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ । यी कारको अहिलेको डिजाइनमा समेत परिवर्तन हुनसक्ने र कम्पनीले यी कारको फेसलिफ्ट डिजाइन ल्याउन सक्नेछ । हाइब्रिड भेरियन्टले ग्राहकलाई धेरै फाइदा पुग्न सक्ने साथै एक लिटर पेट्रोलमा ३५ किलोमिटरसम्म चलाउन सकिने छ । कम्पनीले बलियो हाइब्रिडसँगै माइल्ड हाइब्रिड समेत दिनसक्ने जनाइएको छ । एजेन्सीको सहयोगमा ।
ऋण लिएर खर्च धान्दै सरकार, आर्थिक वर्षको सुरुमै खतराको घण्टी
काठमाडौं । आर्थिक वर्षको सुरुदेखि नै सरकार आर्थिक संटकमा परेको छ । अनुमान गरेजस्तो राजश्व संकलन नभएपछि सरकारले धमाधम आन्तरिक ऋण उठाउन सुरु गरेको छ । यसअघिका आर्थिक वर्षमा साउनदेखि ऋण नलिने गरेको सरकारले खर्च धान्नै नसक्ने अवस्था भएपछि आर्थिक वर्षको सुरुवातदेखि नै ऋण उठाउन थालेको हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षकाो २८ दिनको अबधिमा न्यून राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष साउन २८ गतेसम्म सरकारले ८० अर्ब ७० करोड ७३ लाख रुपैयाँ बराबर राजश्व संकलन गरेको थियो । जसमा राजश्व तर्फ ६९ अर्ब ७२ करोड ८१ लाख, अनुदान तर्फ ७९ करोड ३० लाख रुपैयाँ र अन्य तर्फ १० अर्ब १८ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । चालू आर्थिक वर्षमा ७९ अर्ब ४१ करोड ७४ लाख रुपैयाँ बराबर मात्र राजश्व संकलन गरेको छ । जसमा राजश्वतर्फ ७० अर्ब २८ करोड ९० लाख रुपैयाँ र अन्य आम्दानी तर्फ ९ अर्ब १२ करोड ८४ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । खर्चतर्फ भने २८ दिनको अबधिमा सरकारले १९ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको मात्र गरेको थियो । तर, गत आर्थिक वर्षको तुलनामा सरकारले चालू आर्थिक वर्षको २८ दिनको अबधिमा आम्दानी कम र खर्च बढी गरेको तथ्यांकले देखाएको छ । २८ दिनको अबधिमा सरकारले २२ अर्ब ५० करोड ८६ लाख रुपैयाँ हाराहारीमा खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम राजश्व संकलन भएको बताए । ‘अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा केही कम राजश्व संकलन भएको हो, आर्थिक वर्षकोे सुरुवाती चरणमा कम भयो भन्ने अवस्था छैन्’, उनले भने, ‘अहिलेको अवस्थामा यति राजश्व संकलन गर्नु नै ठूलो उपलब्धी हो, विस्तारै वृद्धि हुने अनुमान हो ।’ अर्थ मन्त्रालयका अधिकारीहरु भने चालू आर्थिक वर्र्षको सुरुवाती दिनमै आन्तरिक ऋण लिदा स्रोत व्यवस्थापनमै कठिनाई हुने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमध्ये चालुतर्फ ९ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पुँजीगततर्फ ४ खर्ब ७१ अर्ब ६ करोड ५८ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ३० अर्ब ९१ करोड ७ लाख उठाउने अनुमान गरिएको छ । राजस्वबाट १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ, गैरकर राजश्व तर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बजेटमा नै उल्लेख गरिएको थियो । २ खर्ब ४४ अर्ब ऋण उठाउँदै चालु आवमा अर्थमन्त्री महतले २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने योजना बनाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि आन्तरिक ऋण उठाउने समय तालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तालिका सार्वजनिक गरेको हो । केन्द्रिय बैंकले जारी गरेको तालिका अनुसार पहिलो त्रैमासमा ५५ अर्ब, दोस्रो त्रैमासमा पनि ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब आन्तरिक ऋण उठाईने उल्लेख छ । पहिलो र दोस्रो त्रैमासमा ट्रेजरी बिल र विकास ऋणपत्र मात्र निष्काशन गर्ने राष्ट्र बैंकको तयारी छ । तेस्रो र चौथो त्रैमासमा भने नागरिक बचतपत्र र वैदेशिक रोजगार नागरिक बचतपत्र निष्काशन हुने उल्लेख छ । तालिका अनुसार साउनदेखि नै आन्तरिक ऋण उठाउन सुरु गरिने उल्लेख छ । साउन १८ गते १० अर्बको र साउन २८ गते पनि १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने तालिका छ । तालिकामा खुला बजार सञ्चालन समितिले आवश्यकतानुसार परिवर्तन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आर्थिक रुपमा सुरुवातबाटै कमजोर देखिएको सरकारले आन्तरिक ऋण उठाउने प्रकृया थालेको छ । बजेट पासलगत्तै ऋण उठाउन बाटो खुले पनि अघिल्ला वर्षहरुमा सुरुवातमै ऋण उठाइँदैन थियो । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरकारले आर्थिक वर्षको सुरुवातदेखि नै ऋण उठाउनु खतराको संकेत भएको बताउँछन् । ‘अहिले खर्च मात्रै बढिरहेको छ, सरकारले आम्दानी गर्ने क्षेत्र संकुचित हुँदै गएका छन्, सरकारले आफ्नो खर्च धान्न ऋण उठाउने गर्छ, विगतका वर्षहरुमा यसरी आर्थिक वर्षको सुरुमै ऋण लिने अभ्यास थिएन, अहिले सुरुमै ऋण लिइयो, यो भनेको सरकार ठूलो संकटमा छ भन्ने जनाउँछ, यसले खतराको संकेत पनि गरेको हो,’ ती बैंकरले भने ।
नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सपथ
काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले शपथ लिएकी छिन् । जनमत पार्टीका तर्फबाट मन्त्री बनेकी साहलाई सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन् । नवनियुक्र मन्त्री साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ । जनमतलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार नै मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएका थिए । जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो । तर, मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो ।
कोरियाबाट फर्केका कुँवरले बाख्रा पालनबाट एकै वर्ष गरे ४५ लाख आम्दानी
गलकोट । रोजगारीका लागि कोरिया गएका गमबहादुर कुँवरले बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झिए । उनले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाए । पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाले । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गरेका छैनन् अध्ययन अवलोकनका लागि विभिन्न मानिससमेत भित्र्याइरहेका छन् । ‘ज्यमिरे गाउँमा ८० घर छन् तर ४० घरमा मानिस बस्दैनन् धेरैले गाउँ छोडेर खेतबारी बाँझै छोडेर गए, मलाई त्यही बाँझो बारीले बाख्रापालन गर्न सघाएको छ,’ उनले भने, ‘चार सय रोपनी जग्गा आफ्नै छ, गाउँलेको खेतबारी र वनको एक हजार दुई सय रोपनी जग्गाको घाँस काट्छु, घाँसमा आधारित भएर बाख्रापालन गर्दा आधा नाफा हुँदो रहेछ, गत वर्ष ९० लाखको बोका, बाख्रा र पाठापाठी बिक्री गरे, ४५ लाख नाफै भयो, बसाइँसराईले उजाडिएको ज्यामिरे गाउँ हरियाली भएको छ, चार/पाँच घर त मैले फार्मकै लागि प्रयोग गर्दै आएको छु ।’ विसं २०७४ मा १० बाख्राबाट उनले सुरु गरेको बाख्रापालन अहिले पहाडी जिल्लामै नमूना बाख्रा फार्मको रुपमा लिइएको छ । उनको साहारा बाख्रा फार्ममा अहिले चार सय बोका, बाख्रा र पाठापाठी रहेका छन् । आठ ब्लकमा छुट्टाछुट्टै आधुनिक बाख्राको खोर रहेको जनाउँदै व्यवसायी कुँवरले अहिले एक सय ६० माउ मात्रै ब्याउने रहेको जानकारी दिए । दुई आधुनिक खोरमा ब्याउने बाख्रा, केही खोरमा पाठापाठीसहितका बाख्रा, तीन खोरमा पाठापाठी र तीन खोरमा बिक्रीका लागि तयारी बोका राखिएका छन् । अहिले ५० बोका बिक्रीका लागि तयारी हुन लागेको उनको भनाइ छ । कुँवरकै नेतृत्वमा गलकोट नगरपालिकाका ११ वडा समेटिएको बाख्रा पकेट क्षेत्रसमेत घोषणा गरिएको छ । गत वर्षनै ३१ बाख्रा फर्मका लागि खोर सुधार योजनाअन्तर्गत एक/एक लाखका दरले अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वितरण गरिएको छ । यस वर्ष भने बोका बिक्री थोरै हुने जनाउँदै उनले ६० बाख्राको एकैसाथ गर्भ तुइएकाले समस्या भएको सुनाए । ‘यस वर्ष जम्मा सात लाखको बोका बाख्रा बिक्री गरेँ, यस वर्ष समग्रमा ४० लाखको कारोबार गर्न मुस्किल छ, किसानलाई यस्तो समयमा फर्म धान्नै समस्या हुन्छ, ६० बाख्राको गर्भ नतुइएको भए अहिले पाँच सय बढी बाख्रा–पाठा हुन्थे,’ उनले भने, ‘अहिले निकै अनुभव भइसक्यो, हटियाको मासु पसल बन्द गरेर अहिले घरमै मासु पसल सञ्चालनमा ल्याएको छु, १० केजीभन्दा माथि खसी तथा बोकाको मासु अर्डर भएमा घरमै पुर्याइदिन्छु, दाना खरिद गर्न, बोकाको बजारीकरण गर्न र घाँस बोक्नको लागि आफ्नै पिकअप जीपसँगै १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु ।’ उनले बाख्रापालन व्यवसायसँगै कामदार परिचालन गरेर एक हजार कागतीका बिरुवा, दुई सय ६१ ओखर र ४० सुन्तलाका बिरुवा यस वर्ष नै रोपेको बताए । कुँवरले ४० रोपनी जग्गामा मात्रै खुर्सानी खेती गर्दै आएको सुनाए । दश जना कामदारले घाँस काट्नेदेखि मासुको बजारीकरण गर्दै आएको र बचत भएको समयमा कागती, सुन्तला बगैँचा र खुर्सानी खेतीको काम गर्दै आएका छन् । व्यवसायी कुँवरले १५ देखि २० हजारका दरले मासिक तलब दिएर स्थानीय १० युवालाई बाख्रा फर्ममा प्रत्यक्ष रोजगारी दिँदै आएका छन् । उनले यो फर्म विस्तार भएर अहिलेको अवस्थामा आउनुमा नेपाल सरकारको ब्याजमा अनुदानसहितको ऋणको ठूलो भूमिका रहेको बताए । ’एक करोड जम्मा तीन प्रतिशत ब्याजमा ऋण लिएको थिएँ, अहिले मासिक एक लाख ५३ हजार रुपैयाँ किस्ता तिर्छु,’ उनले भने, ‘फर्म विस्तारको आधार यही ब्याज अनुदानको ऋण बन्यो, अहिले ऋणसमेत आधा घटाइसकेको छु ।’ कुँवरका भाइ विष्णु समेत कोरियाबाट फर्केर बाख्रापालनमा सघाए पनि अहिले लोकसेवा तयारीको लागि काठमाडौँमा छन् । कुँवरले आफ्नो फर्मलाई ‘फर्मस्टे’को रुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । पर्यटकलाई आफ्नै फर्मको तयारी खसी तथा बोकाको मासु खुवाइँदै त्यही बास बसाउने गरी फार्मस्टे बनाउने तयारीमा आफू रहेको उनले बताए । बसाइँसराइले उजाडिएको गाउँमा कुँवरले भने पर्यटक ल्याएर गुल्जार बनाउने लक्ष्य लिएका छन् । कुनै रोगव्याधी नभए आफ्नो फर्मबाट वार्षिक एक करोडको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फर्म सञ्चालित भइरहेको छ । उक्त बाख्रा फर्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फर्ममध्येमा पर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए । बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च हुने र अहिलेसम्म बजारको कुनै चिन्ता नरहेको उनले बताए । फर्ममा हालसम्म पाँच करोड लगानी भइसकेको छ । फर्मको खोर मात्रै छ रोपनी जग्गामा फैलिएको छ । पाँच सयभन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या नहुँने गरी फर्मको संरचना र घाँसको व्यवस्थापन भएको व्यवसायी कुँवरको भनाइ छ । रासस
मानिसमा गम्भीर रोगको कारण बन्दै प्लाष्टिक
काठमाडौं । बजारबाट घरमा तरकारी लैजान होस वा अन्य सामग्रीको लागि प्लाष्टिकको झोला प्रयोग गर्ने बानी धेरैको बनेको छ । घर बाहिर मात्रै नभएर घरभित्र वा कार्यालयमा समेत प्लाष्टिकको बोटलमा पानी राखेर पानी पिउने चलन धेरैको रहेको छ । भान्छामा बिस्कुटको प्याकेटदेखि चिनीको डब्बा सबै प्लाष्टिकले बनेका हुन्छन् । साथै स्टेशनरी, ग्याजेट, जुत्ता–चप्पल, आदि धेरैमा सायदै कुनै वस्तु होलान जसमा प्लाष्टि प्रयोग नभएको होस । तर, प्लाष्टिक विष बनेर हाम्रो शरीरमा घुलिरहेको विषयलाई भने हामीले बुझिरहेका छैनौं । आँखाले देख्न नसक्ने प्लाष्टिकका कणले हाम्रो मृगौला र कलेजोलाई गम्भीर असर पुर्याएर क्यान्सरको कारण बनिरहेको छ । प्लाष्टिक मानिसदेखि पृथ्वीको लागि निकै खतरनाक बनिरहेको छ । खाना र स्वाससँगै निलिरहेका छौं प्लाष्टिक नेदरल्यान्ड्सको युनिभर्सिटी अफ एम्सटडर्मले गरेको एक अनुसन्धानमा ८० जना मानिसको रगतमा प्लाष्टिकको कण भेटिएको जनाएको छ । पाँच मिलिमिटर अथवा सो भन्दा छोटो आकारको प्लाष्टिकको कणलाई माइक्रोप्लाष्टिक भनिन्छ । पानीको बोटलबाट पानी पिउने, टुथब्रसले दाँत माझ्नेदेखि लिएर सास फेर्दा प्लाष्टिक हाम्रो शरीरभित्र पुगिरहेको छ । वल्र्ड वाइल्डलाइफ फेडेरेसनका अनुसार एक हप्तामा दुई हजार प्लाष्टिकका कण मानिसको शरीरमा पुगिरहेको छ भने एक वर्षमा एक जना मानिसले एक लाख बढी माइक्रोप्लाष्टि निलिरहेको छ । जसले मानिसको कलेजोदेखि मृगौलामा गम्भीर असर पुर्याउनुका साथै रक्तचाप समेत बढाउने काम गरेको छ । एजेन्सीको सहयोगमा ।
तरकारीको भाउ बढ्यो, ६० रुपैयाँ पर्ने गेलभेँडाको मूल्य १६० पुग्यो
काठमाडौं । तरकारी र फलफूलको भाउ दिनप्रतिदिन बढिरहेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९५, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ७०, हरियो फर्सी ९०, घिरौला ४० कायम भई कारोबार भइरहेको छ । त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ४०, सेतो मूला ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २००, कागती १३० रुपैयाँ, भिण्डी ५०, पिँडालु ५०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काँक्रो ९०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ । समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५० रुपैयाँ, नासपती ७०, आभोकाडो ५००, कालो अङ्गुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा९मुंगरी० २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको जनाएको छ । साथै, लप्सी ५०, हरियो धनियाँ ३५०, लसुन हरियो २५०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ८० मा कारोबार भइरहेको छ ।
कञ्चनपुरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन्, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । ‘खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ’, उनी भन्छन्, ‘यसैबाट घरखर्च चल्छ ।’ सुरुआतमा दुई बिघा जमिन भाडामा लिएको उनले बताए । महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उनले गरेका छन् । ‘१२ हजार रूपैयाँ प्रत्येक वर्ष जमिनको भाडा तिर्छुँ, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ’, उनी भन्छन्, ‘घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।’ भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन । यहाँका स्थानीयको रोजीरोटी पनि एकापसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् । नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्छन्र । बर्सेनि एक/दुई लाख तरकारी खेतीबाट बचत गर्ने गरेको उनी बताउँछन् । उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उनको भनाइ छ । ‘व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौँ’, उनले भने, ‘बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ ।’ धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको उनले बताए । कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पुयाउने गरेको पुलिनको गुनासो छ । एक पटक छरेको परवलको बीउ पाँच/छ वर्षसम्म उत्पादन दिने गरेको उनले बताए । ‘एक पटक छरेपछि पाँच/छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ’, उनले भने, ‘त्यसैले पटकपटक लगानी गरिराख्नु पर्दैन, आफ्नो मेहेनत मात्रै लाग्छ ।’ दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । ‘अचेल यतै गाडी चल्न थाले, अब हामीलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ’, विश्व मण्डलले भने । उनका अनुसार परवल प्रतिकिलोग्राम ३५ देखि ४० सम्म बिक्री हुने गरेको छ । एक कट्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मण्डलले बताए । ‘परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं’, उनले भने, ‘एक पटकमा एक/दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।’ रासस
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन
तनहुँ । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ । मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकोमा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको हो । स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ । राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ । शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै ठूला ढुङ्गा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो । राति नै ढुङ्गा पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो भने आइतबार दिउँसोमात्रै राजमार्ग दुईतर्फी भएको थियो । आइतबार बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा पहिरो जाँदा अवरुद्ध सडक डेढ घण्टापछि सञ्चालनमा आएको थियो । पहिरो खसेर सडकमै लेदो जमेपछि सडक विभागसँग समन्वय गरी बाटो खुलाइएको थियो । वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जान थालेको छ । शुक्रबार मात्रै कन्टारमा सडक भाँसिएर चार घन्टा राजमार्ग अवरुद्ध भएको थियो । त्यसअघि गत मङ्गलबार व्यास नगरपालिका–१२ स्थित देउरालीमा सडक भासिँदा दिनभर यातयात अवरुद्ध भएको थियो । रासस