विकासन्युज

वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यसैगरी महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले त्यहाँ पनि आवश्यक सतर्कता अपनाउन भनिएको छ  । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ । आज पाँचथर, इलाम, झापा, सङ्खुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीको बहाव सामान्य रहने महाशाखाले पूर्वानुमान गरेको छ । अझै केही दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज र भोलि बदलीका साथै  वर्षा हुने बताए । ’आज र भोलि बदली र वर्षा हुनेछ, तर पनि, गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ । सोमबार र मङ्गबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ’, उनले भने । अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमको पहाडी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि मङ्गलबार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको महाशाखाले जनाएको छ । सोही मौसमी प्रणालीको प्रभावले बदली र वर्षा गराएको हो ।

बरामद गरिएको ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय

गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र  गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले जानकारी दिए । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई समेत थप आकर्षण गराउँछ’, उपप्रमुख थोकरले भने, ‘गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।’ बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहाना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उनले बताए । ‘खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो’, उपप्रमुख थोकरले भने, ‘राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्र्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।’ आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसर भित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उनले बताए । सर्वपक्षीय बैठकमा औलोकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णयसमेत गरिएको थियोे । त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो । भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिइ उत्खनन् तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो । परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्राम रहेको रहेको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । रासस

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

गण्डकी । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो ।  कालोपत्र उप्किएपछि ठाउँ-ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताए । ‘एक महिना पनि कालोपत्र टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ’, उनले भने, ‘यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्छ ।’ रानाभाटले कालोपत्रको सतह नमिल्दा वर्षातको पानी घरभित्र छिर्ने गरेको सुनाए। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो ।  पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको बताए। ‘वर्षाका बेला हतारहतार कालोपत्र गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ’, उनले भने, ‘निर्माणमा लापरबाही भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस् ।’ उपभोक्ता समिति बनाएर सडक कालोपत्र गरिएको थियो । निर्माणको भुक्तानी पनि भइसकेको छ । पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी ई अनुप थापाले वर्षाका कारण कालोपत्र सेट हुन नसकेको बताए। ‘निर्माणका क्रममा अनुगमन गर्दा लापरबाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ’, उनले भने, ‘कमजोरी गरेको भेटिएका कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ ई थापाले वर्षात कम भएपछि सडक मर्मतको काम गरिने बताए । उनले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या देखिने गरेको उल्लेख गरे। ‘समय कम हुन्छ, निर्माण व्यवसायीले पनि हतारहतार काम गर्छन्, प्रभावकारी अनुगमन पनि हुँदैन’, ई थापाले भने । रासस

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी हुँदै, ५ सय जना सहभागी हुने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० गरिने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौमा गोष्ठी हुने भएको हो । गोष्ठिमा सहकारी संघ÷संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ÷संस्थाका प्रतिनिधीहरू गरि ५ सय जनासम्मको सहभागीता रहने छ । सहकारी संघ÷संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले गोष्ठी आयोजना गरिने बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए । उनका अनुसार गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुनेछ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरि सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठिले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए । बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ÷संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुनेछ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय विषय विज्ञहरुको सहजीकरण रहने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताए ।  

स्वदेश फर्किएपछि माधव नेपालले भने : बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । युरोपेली देशहरुको भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किएका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग आफूले कुनै गलत काम नगरेको बताए । सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भन्ने मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको नेपालले बताए । पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन विदेश गएको तर, कतिपयले भने भागेको भ्रम फैलाएको भन्दै नेपालले गुनासो गरे । ‘म विदेश जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो’, नेपालले भने, ‘म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए । त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा त नभाग्ने मान्छे म, कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन ।’ कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने उनले बताए । नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र बेलायत लगायतका युरोपेली मुलुकको भ्रमणमा गएका थिए ।

सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए, पानीको बहाव भने अझै उच्च

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिएपनि नदीको बहाव भने अझै उच्च छ । कोशीको पानी अझैपनि ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ । अझैपनि ब्यारेजका सबै ढोका खुला रहेको छ । बिहानको समयमा पानीको बहाव ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रतिसेकेण्डसम्म पुगेको र बहावमा उतारचढाव जारी रहेकाले पूर्ण शतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले उच्च बहावसँगै खोलिएका ब्यारेजका ५६ ढोकाको अवस्था हेरेर क्रमशः बन्द गरिने जनाएको छ । उता कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लो पटकको ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानी अहिलेसम्मकै तेस्रो उच्च बहाव हो । यसअघि ब्यारेजमा कोशी नदीको बहाव सन् १९६८ मा सबैभन्दा बढी ७ लाख क्युसेक मापन भएको थियो । १९८९ मा भने पानीको बहाव ४ लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । नदीको बहाव उच्च हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ भने यो चौथो पटक खोलिएको हो । यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सो बेला समेत पुलका सबै ढोका खोलिएको थियो । यसैबीच नदीको बढ्दो जलसतहसँगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । सुरक्षाका सबै निकायलाई अलर्टमा राखिएको जनाएको प्रशासनले नदीले कटान र क्षति नपु¥याए पनि जोखिम भने कायम रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै संयन्त्र तयारी अवस्था राखिएको बताउँदै सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखी निरन्तर अनुगमन जारी रहेको बताएका छन् ।

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी

बङ्गलादेश । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको सङ्ख्या ७५ हजार २८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस वर्षको अगष्टमा १४७, जुलाईमा २०४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५७९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेङ्गु ज्वरा आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षण हरू देखा पर्छन् । एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर यो प्रजाति अहिले अन्टार्कटिका बाहेक सबै महादेशहरूमा फैलिएको पाइन्छ । रासस

कागखोला बाढी : स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ’

म्याग्दी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो । ‘खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौँ’, उनले भने, ‘यहाँका बूढापाका हिजो र अस्ती अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन् ।’ कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । कागबेनीकी कल्पना मगर बाढी आएको पूर्वसूचना पाएर भागेर ज्यान बचाउन सफल भए पनि घरवासविहीन हुनुपरेकोमा दुखित भएका छन् । ‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छ’, उनले भने ‘ज्यान त बच्यो तर हाम्रो घरवास केही रहेन ।’ गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पु-याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० भन्दा बढी घर/होटल बाढीले भत्काएको बताए । ‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको छ’, उनले भने ‘रातभर विस्थापितको व्यवस्थानमा लाग्यौ । बिहानदेखि क्षतिको विवरण सङ्कलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ ।’ कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पु¥याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । कागबेनीको बीच भाग भएर कागखोला बग्छ । बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडक अन्तरगत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ । पुलको सल्याब बाढीले बगाएर केही तल पु-याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो । विद्युत्का पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ । कागबेनीमा हिन्दूले पितृलाई तर्पण दिने ठाउँ बगाएको छ । भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ । नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ । कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोम देखि कागबेनी पुग्न समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको बताए । क्षतिको विवरण सङ्कलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उनले बताए । दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिटर पुगेको जनाएको छ । कालीगण्डकी पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिने नदी हो । भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । ‘तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौँ’, उनले भने, ‘म्याग्दीमा क्षति गरिसकेको छैन । जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिका–४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ । पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताए । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने अधेरीखोलामा पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक एक हप्तायता अवरुद्ध छ । हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए । मुस्ताङमा पेट्रोल डिजेललगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र सङ्घीय सरकारसँग ध्यानाकर्षण गराएको उनले बताए । रासस