
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
युरोपेली देशहरुको भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किएका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग आफूले कुनै गलत काम नगरेको बताए ।
सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भन्ने मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको नेपालले बताए ।
पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन विदेश गएको तर, कतिपयले भने भागेको भ्रम फैलाएको भन्दै नेपालले गुनासो गरे ।
‘म विदेश जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो’, नेपालले भने, ‘म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए । त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा त नभाग्ने मान्छे म, कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन ।’
कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने उनले बताए ।
नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र बेलायत लगायतका युरोपेली मुलुकको भ्रमणमा गएका थिए ।