फलफूलको बिरुवा बेचेर लाखौँ आम्दानी गर्दै धुलिखेलकी लक्ष्मी दाहाल
धुलिखेल । नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ काफ्लेडीका घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आएकी छिन् । विगत चार वर्षदेखि घर नजिकै सञ्चालन गर्दै आएको नर्सरीमा सबैखाले बिरुवा गरी बर्षको १५ लाख देखि २० लाख रुपैयाँसम्मको बिरुवा बिक्री हुँदै आएको उनले बताइन् । ‘शुविहान एग्रो नर्सरी’ सञ्चालन गरेर दाहालले विभिन्न जातका फलफूलका बिरुवा उत्पादन र बिक्री गरेर वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । तीन रोपनी जमिनमा फैलिएको नर्सरीमा किबी, कागती, सुन्तला, जुनार, आँप, लिची, केरा र कफीको बिरुवा उत्पादन हुँदै आएको उनको भनाइ थियो । थोरै लगानीबाट सुरु गरिएको व्यावसायमा करिब २५ लाख रुपैयाँसम्म लगानी गरेर मौसमी रुपमा अरुलाईसमेत रोजगार दिँदै आएकी उनले मेहनत गरे कृषिबाट धेरै आम्दानी लिन सकिने बताइन् । ‘यहाँ उत्पादन भएका विभिन्न जातका फलफूलका बिरुवा काभ्रेपलाञ्चोकलगायत नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र पूर्वी जिल्ला खोटाङ र ताप्लेजुङसम्म पनि बिक्री हुने गरेको छ ।’ उनले भनिन्, ‘नर्सरीमा उत्पादन भएको बिरुवा बिक्री भएन भन्ने चिन्ता लिनुपर्दैन, ठाउँ ठाउँबाट लिन आउने गरेकी छिन् ।’ विशेष गरेर अमिलो जातको फलफूलको बिरुवा उत्पादन गर्दै आएको नर्सरीमा केरा र कफीको बिरुवासमेत उत्पादन गर्ने गरेको उनले बताइन् । पछिल्लो समयमा उत्पादन हुने बिरुवा सिधैँ किसानले भन्दा पनि पालिकाले उठाउने गरेको सञ्चालक दाहालको भनाइ थियो । नर्सरीमा निरन्तर काम गर्न एक जनालाई रोजगार दिइएको छ । जेटिए अध्ययन गरेकी उनले नर्सरी स्थापना गरी मनग्य आम्दानी गर्दै आएकी हुन् । कामदारसँगै दैनिक नर्सरीमा उनलाई ससुराबुबा मोहनमणि दाहालले व्यवस्थापनमा सहयोग गर्दै आएकी छिन् । फुर्सदको समयमा श्रीमान्ले पनि सहयोग गर्दै आएको उनले बताइन् । किसानले थोरै थोरै मात्रमा खरिद गर्ने र पालिकाले एक पटकमा धेरै मात्रामा खरिद गरेर लाने भएकाले एकै पटक बिक्री गर्न पाउँदा सजिलो पनि हुने दाहालले बताइन् । नर्सरीमा धेरै मात्रमा कागती र कफीको बिरुवा बिक्री हुने गरेको छ । त्यससँगै मेकाडेमियानटलगायतको बिरुवा पनि बिक्री हुने गरेको छ । रासस
डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए । उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे । ‘दैनिक डेङ्गुको सङ्क्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ’, निर्देशक डा. मरासिनीले भने, ‘डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ।’ नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो । सुनसरीमा सात हजार सङ्क्रमित डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । यस्तै मोरङ एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौँमा एक सय ९६, दार्चुलामा एक सय ९४, सङ्खुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कोशी प्रदेशमा बढी डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् । यस्तै बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७, लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । रासस
मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता
चितवन । चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन् । पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए । रत्ननगर नगरपालिका– ९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन् । अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र सो जग्गा फिर्ता गरी पाऊँ भनी परेको उजुरीमा छलफलका क्रममा दुवै पक्षबीच सहमति भई जग्गा फिर्ता गरिएको उनले बताए । विसं २०६९ मा राजीनामा गरेको जग्गा फिर्ता गराइएको लम्सालले बताए । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए । ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदनसमेत दिएको उनले जानकारी दिए । पीडितका तर्फबाट परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका नायव सुब्बा लम्सालले बताए । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको थियो । अधिकांशले जग्गा फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन् । नायब सुब्वा लम्सालका अनुसार परेका उजुरीमध्ये ५५ माथि छलफल गरिएको छ । ‘सात उजुरीमा सहमति जुटेको छ । अन्यबारे दोस्रो र तेस्रो चरणमा छलफल भइरहेको छ’, उनले भने । अन्य पाँच जनाको निवेदनका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ । यसअघि गृह मन्त्रालयले २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । हालसम्म एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ । अन्य २४ उजुरीबारे आवश्यक कारबाही अघि बढाइएको छ । रासस
भदौमा अधिकांश बैंकको ब्याज बढ्ने, पैसा खोस्ने प्रतिस्पर्धाले फसाद
काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन् । कम ब्याज भएका बैंकहरुको निक्षेप बढी ब्याज भएका बैंकले खोसेपछि भदौमा ब्याज बढाउने तयारी अधिकांश बैंकले गरेका हुन् । पछिल्लो सयम बैंकहरुले ब्याजदर निर्धारणमा भद्र सहमति तोडेपछि स्वतन्त्र रुपमा निर्धारण गर्दै आएका थिए । तर, साउनमा केही बैंकले ब्याज बढाएपछि निक्षेप खोसिएका बैंकहरुले भदौमा बढाउने तयारी गरिरहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले बताए । उनका अनुसार साउनमा केही बैंकले घटाउँदा र केहीले यथावत राख्दा बढी ब्याज भएको बैंकले कम ब्याज भएको बैंकबाट पैसा तानेका थिए । निक्षेपकर्ताले कम ब्याज भएको बैंकबाट पैसा निकालेर बढी भएको बैंकमा जम्मा गरेका थिए । अब त्यो अभ्यास रोक्नका लागि कम ब्याज भएका बैंकले पनि भदौमा ब्याज बढाउने तयारी गरेको ती बैंकरको भनाइ छ । राष्ट्रिय वाणिज्य बैंककी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सरस्वती अधिकारी ब्याजदर घटाउँदा निक्षेप बाहिरीएको बताउँछिन् । साथै, संस्थागत निक्षेप नवीकरणमा सकस परेकाले भदौमा ब्याज बढाउने उनको भनाइ छ । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ब्याज अन्य बैंकको भन्दा कम रहेकाले बढाउनै पर्ने बाध्यता छ । ‘राष्ट्रिय वाणिज्य बैंकको ब्याज सबैभन्दा कम छ, अन्य बैंकको ब्याज बढी भएपपछि समस्या पर्यो, नवीकरण गर्दा झनै सकस परेको छ, हाम्रो बैंकमा ब्याज कम हुँदा निक्षेप निकालेर अन्य बैंकमा जान थाले, त्यसैले भदौमा राष्ट्र बैंकको निर्देशन भित्र रहेर ब्याज बढाउछौं,’ डीसीईओ अधिकारीले भनिन् । केही बैंकको ब्याज उच्च रहेकाले त्यति धेरै नपुर्याउने उनको भनाइ छ । स्थानीय तहको १२ अर्ब ९० करोड रुपैयाँ निक्षेप सरकारले निकालेपछि ब्याजदर बढाउन दबाव परेको उनको धारणा छ । साथै, बैंकमा कर्पारेट निक्षेपको परिपक्वता अध्ययन गरेर कति ब्याज बढाउने भनेर निर्णय गर्ने उनको भनाइ छ । ‘बैंकलाई तरलता अभाव छैन, कर्पोरेट निक्षेपमा १ प्रतिशतभन्दा बढी अन्तर भएपछि धेरै फरक पर्छ, कर्पोरेट निक्षेपको अध्ययन गरेर ब्याजदर कति बढाउने भनेर निर्णय गर्छौं,’ उनले भनिन्, ‘भद्र सहमति तोडेपछि ब्याजदर बढ्ने देखियो तर, अहिले स्थानीय तहको निक्षेप निकालिएको हुँदा यो समस्या देखिएको हो, दीर्घकालमा धेरै माथि जाँदैन किनभने बैंकहरुले ट्रेजरी बिलमा लगानी गरेर तरलता त्यता पठाएका थिए, अब त्यो विस्तारै परिपक्व भएर तरलता पनि सहज हुन्छ ।’ साउनमा ब्याज बढाएका बैंकहरुले निक्षेप खोसेको आरोप एक बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले विकासन्युजलाई बताए । ब्याज घटाएका बैंकहरुलाई साउनमा ठूलो समस्या परेको उनको भनाइ छ । यसअघि नेपाल बैंकर्स संघले ब्याजदर निर्धारण गर्ने गरेको थियो । तर, साउनदेखि भद्रसहमति तोडेपछि केही बैंकहरुले ब्याज बढाएका थिए भने केही बैंकले घटाएका थिए । ‘जुन बैंकले ब्याज बढाए अन्य बैंकमा भएको सबै पैसा बगेर बढी ब्याज भएको बैंकमा पुग्यो, ब्याजदरको भद्र सहमति तोड्दा घट्ने भन्दा बढ्ने सम्भावना देखियो, भदौमा बैंकको ब्याजदर बढ्छ,’ उनले भने, ‘निक्षेप खोसिन थालेपछि कम ब्याज भएका बैंकहरुले बढाउनै पर्ने बाध्यता छ ।’ कम ब्याज भएका बैंकका सीईओहरुले पुरानै भद्रसहमति अनुसार ब्याजदर निर्धारण हुनु पर्ने आवाज उठ्न थालेको ती सीईओ बताउँछन् । ब्याजदर खुला छाडेपछि साउनमा ४ वाणिज्य बैंकले ब्याजदर बढाएका थिए । नबिल बैंकले मुद्दती निक्षेपमा १०.४९ प्रतिशत, प्राइम कमर्सियल बैंकले १०.९३ प्रतिशत, एनएमबी बैंकले १०.९८ प्रतिशत र कुमारी बैंकले १०.९३६ प्रतिशत पुर्याएका थिए । साउनमा राष्ट्रिय वाणिज्य बैंकले संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ न्यूनतम ६.९५ प्रतिशत र ब्यक्तिगततर्फ ८.९५ प्रतिशत, माछापुच्छ्रे बैंकले संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत, प्रभु बैंकले संस्थागततर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत तोकेका थिए । यस्तै, एभरेष्ट बैंकले संस्थागततर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत, नेपाल एसबिआई बैंकले संस्थागत तर्फ ७.१० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत, कृषि विकास बैंकले संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र नेपाल बैंकले संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशत ब्याज दिइरहेका छन् । ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक र हिमालयन बैंकले भने साउनमा ब्याजदर स्थिर राख्दै संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत प्रदान गरिरहेका छन् ।
३१ अंकले घट्यो नेप्से, दुई अर्बको कारोबार
काठमाडौं । मंगलबार नेप्से सूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ । सामेबार सामान्य अंकले घटेको सेयर बजार मंगलबार पनि ओरालो लागेको हो । मंगलबार दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको ५६ लाख ३ हजार १७९ कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक छ भने म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले घटेको छ । इमर्जीङ नेपालको शेयरमूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सिक्लेस हाइड्रोपावरको ३.८५ प्रतिशत र सामुदायीक लघुवित्तको १.९९ प्रतिशतले घटेको छ ।
फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध
जाजरकोट । अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन् । पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुवाउँदा पदमार्ग अवरुद्ध भएको हो । यही बाटो भएर सुलिगाड हुँदै फोक्सुण्डोसम्म जाने गरिन्छ । नदीमा पानीको बहाब बढेसँगै कहाँ क्षति भएको छ जाँचबुझ गरेर व्यवस्थापनतिर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । नदी तथा बाढीपहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पु¥याएको छ उक्त स्थानमा तत्काल वैकल्पिकमार्गका लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताए । रासस
एक क्वीन्टल भनिएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन गालेपछि ६० किलो ७१६ ग्राम कायम भएको छ । साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार कार्यालयबाट बाहिरिएको सुन बरामद गरेको थियो । सोही सुन मंगलबार राष्ट्र बैंकले गालेको हो । सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले सुन तौलन र गाल्नको लागि राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर राखिएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूको रोहबरमा सुन गालेर वास्तविक तौल सार्वजनिक गरेको हो । सोमबार ब्रेक–सुबाट सुन निकाल तौल गर्दा ६० किलो ७८९ ग्राम भएको थियो । त्यसलाई पगालेर विस्कुट बनाउँदा ६० किलो ७१६ ग्राम कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ । सुन बरामद गरिएको समयमा ब्रेक–सुसहित जोख्दा १५५ किलो तौल भएको थियो । सोही आधारमा करीब एक सय किलो सुन हुनसक्ने आँकलन अधिकारीहरुले गरेका थिए ।
ग्लोकल टीन हिरो नेपाल अन्तर्गत ‘ग्लोकल २० अन्डर २०’ को सूची सार्वजनिक
काठमाडौं । मंगलबार ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ । ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो । यो किशोरकिशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ । देशभरिबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२३को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको छ । २०अन्डर२० किशोरकिशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ : आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता अतिथ अधिकारी, १७, सामाजिक उद्यमी अविनाश कुमार पासवान, १७, संगीतकार दिक्षा भारती, १८, स्वास्थ्य अभियन्ता दिवश सर्राफ, १७, सामाजिक अभियन्ता माधव खनाल, १८, लेखक निराजन रिमाल, १८, विज्ञान उत्साही प्रकाश बडु, १५, बाल अधिकारकर्मी प्रकाश पन्त, १७, गणित उत्साही प्रीति पन्थ, १८, सामाजिक अभियन्ता रौशन पंडित, १७, प्राविधिक उत्साही रिशम कुमार साह, १८, वातावरण अभियन्ता सदीक्षा घिमिरे, १८, स्वास्थ्य अभियन्ता सागर बुढा, १७, वातावरण अभियन्ता सागर गुप्ता, १७, एआई वैज्ञानिक/अनुसन्धानकर्ता समिप पौडेल, १६, प्राविधिक उत्साही श्रुति तिवारी, १८, वातावरण अभियन्ता शुभम उप्रेति, १७, कलाकार सुमित्रा आचार्य, १७, अभियन्ता सुशन श्रेष्ठ, १७, अभियन्ता साथै, उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने छ। चयन भएका युवाहरुको सम्मान ग्लोकल टिन हिरो २०२३ को सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ।