९ प्रतिशत ब्याज पाइने नेपाल एसबिआई बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा आज साउन ३१ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँको ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
सानिमा जिआईसीको नाफामा ९३ प्रतिशत छलाङ, अन्य सूचकमा उत्साहजनक प्रगति
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ९३.३६ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेर ६२ करोड ८८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष ११७.५९ प्रतिशत बढेर ३२ करोड ९४ लाख रुपैयाँ र बीमा कोष १५९.६० प्रतिशत बढेर ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.६५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.३९ गुणा रहेको छ ।
सगरमाथा लुम्बिनीको नाफा २२ प्रतिशत बढ्यो, ईपीएस २९.३६ रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २२.२७ प्रतिशत बढेको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १४.९५ प्रतिशत बढेर १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, जगेडा कोष ११६ प्रतिशत बढेर ९१ करोड ३२ लाख रुपैयाँ र बीमा कोष ९० प्रतिशत बढेर २ अर्ब २८ करोड ३३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९.३६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २२८.९२ रुपैयाँ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.४८ गुणा रहेको छ ।
अपि पावरको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला, कति कित्ता आवेदन दिन पाइन्छ ?
काठमाडौं । अपि पावर कम्पनीले आज साउन ३१ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार २२ गते बुक क्लोज गरेको थियो । त्यसैले असार २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीआमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन २८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज साउन ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् २० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपाली लाई बाँडफाँट भइसकेको र २ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । ५ प्रतिशत अर्थात् १ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष र स्थानीयले आवेदन नदिएको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्तालले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि.ओ.के.क्यापिटल मार्केट रहेको छ । नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् कम्पनीको सेयरमा आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
पौने ८ अर्ब नाफा गरेको नेपाल टेलिकमको ईपीएस ४३.३६ रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बिक्री आम्दानी घटेपछि अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.८६ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको असारसम्म कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ, अन्य आम्दानी ४५.३४ प्रतिशत घटेर २९ करोठ ९२ लाख रुपैयाँ र कुल आम्दानी १.११ प्रतिशत बढेर ४४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष १.८६ प्रतिशत घटेर ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ घटेर ४३.३६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, लिटरमै १४ रुपैयाँसम्म बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य लिटरमै १४ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर मूल्य समायोजन गरिएको छ । मूल्य बढेर समायोजन गर्दा अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४.५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य समायोजन गरेको प्रवक्ता ठाकुरले बताए । आइओसीले पेट्रोलमा प्रतिलिटर ३.८५ रुपैयाँ र डिजेलमा ११.२५ रुपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको निगमले जनाएको छ । मूल्य अभिवृद्धि करको प्रभाव र पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको मूल्य तय गरिएको हो । निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ, डिजेल तथा मट्टीतेल १६४.५० रुपैयाँ पर्नेछ । यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १७७ रुपैयाँ, डिजेल तथा मट्टीतेल १६६ रुपैयाँमा उपलब्ध हुनेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल तथा मट्टीतेल १६७ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय
फाइल फोटो काठमाडौं । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कित्ताकाट खुला गर्ने निर्णय गरेको बताए । ‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ उनले भने । जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ । त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । ‘त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ,’ उनले भने ।