एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु
काठमाडौं । एनसेल आजियाटाले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन् । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरि एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् । ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछ । दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ । त्यसै गरि तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछ । यतिमात्र नभई, विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभए सम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ । सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ । साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढि प्राप्त गरेको अंकको आधारमा ९९८ रूपैयाँपर्ने कम्बो प्याक प्रदान गरिने छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य रहन्छ । विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिनेछ । पुर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ । प्रतियोगितामा सहभागीहरुले विजयी टोलि मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन् । यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य छन् । ईपीएल खेलहरुको पुर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधनः लागत र समय घट्यो, सुरुङ थपियो
फाइल फाेटाे काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो । ‘करिव २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समयपनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिदा सडकको लम्वाई घट्यो र मुल्य दुवै घट्यो ।’ काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण कार्य भइरहेको छ । २०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाउँदै आएका छन् । ‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाको भनाई थियो । डिपीआर संशोधन भएपनि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्व १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख रुपैयाँ आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।
कैलालीमा गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन
टीकापुर । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए । ‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन’, उनले भने, ‘१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।’ बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । ‘मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्’, स्थानीय समिरा चौधरीले भने, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।’ जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताए । लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए । ‘हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।’ रासस
निर्जीवन बीमा कम्पनीको नाफा ४२.६६ प्रतिशत बढ्यो, नेकोको अग्रस्थान कायमै
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरुले उल्लेख्य रुपमा नाफा बढाएका छन् । गत असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १२ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बभन्दा बढी नाफा गरेका छन् । १२ वटा निर्जीवन बीमा कम्पनीले गत वर्ष ४२.६६ प्रतिशत नाफा बढाएर ४ अर्ब १६ करोड ५० लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । गत वर्ष बीमा कम्पनीहरुले १ अर्ब २४ करोड ५५ लाख रुपैयाँ नाफा बढाएका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले १.५२ प्रतिशत बढाएर ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २२.२६ प्रतिशत बढाएर ४५ करोड ८२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४६.५६ प्रतिशत बढाएर ४० करोड ३१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ६ लाख रुपैयाँ र ओरियन्टल इन्स्योरेन्सले ३७.६२ प्रतिशत बढाएर ४० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत असारसम्म नेपाल इन्स्योरेन्सले ९.८९ प्रतिशत बढाएर ४० करोड ५७ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ प्रतिशत बढाएर ३६ करोड ३५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २८ करोड १ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, एनएलजी इन्स्योरेन्सले १.०२ प्रतिशत बढाएर २४ करोड १० लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ४४.६९ प्रतिशत बढाएर २० करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो वर्ष ऋणात्मक रहेको नेशनल इन्स्योरेन्सले गत वर्ष भने २० करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण भने विकासन्युजलाई उपलब्ध भएको छैन ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता हुने, अङ्ग्रेजीमा विद्यार्थी बढी कमजोर
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जतिवटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए । यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको अध्यक्ष शर्माले बताए । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी रहेका छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छ भने पनि एनजी आएकाहरूले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् । नतिजा चित्त नबुझे पुनर्योग बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको अध्यक्ष शर्माले बताए । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको छ । विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ । ४९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण, अङ्ग्रेजीमा बढी कमजोर राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ । यसवर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए । बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७, आंशितर्फक ६० हजार नौ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार एक सय ३५ र २०७२/७३ को ग्रेडवृद्धितर्फ एक हजार एक सय ६ जना गरी चार लाख ४८ हजार आठ सय ३७ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ एक लाख ८९ हजार सात सय ११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार एक सय ४० र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६ सय ५० जना ग्रेडेड प्राप्त अर्थात् उत्तीर्ण भएका छन् । ५१ जनाको विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने थप पाँच जनाको परीक्षा रद्द गर्दै आगामी एक वर्षको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको छ । यस वर्षको परीक्षामा ६ हजार नौ सय ७६ अर्थात् १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जिपिए अर्थात् ‘ए प्लस ग्रेड’ ल्याएका छन् । २०७९ को परीक्षामा भने चार हजार एक सय ७९ अर्थात् १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए । २०७९ मा भन्दा यस वर्ष दुई हजार सात सय ९७ अर्थात् ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जिपिए ल्याएका हुन् । यस वर्ष परीक्षा दिएका नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये ६ हजार नौ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३८ हजार नौ सय ९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जिपिए, ६९ हजार एक सय ७४ विद्यार्थीले २.८१ देखि ३.२० जिपिए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जिपिए, ११ हजार चार सय ३८ विद्यार्थीले २.१ देखि २।४० जिपिए र ४७ जना विद्यार्थीले १.६१ देखि २ जिपिए ल्याएका छन् । ननग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको सङ्ख्या गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए । गत वर्ष एक लाख ८८ हजार चार सय १० जना अर्थात् ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुत्तीर्ण) ल्याएका थिए भने यस वर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गत वर्षभन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात् अनुत्तीर्ण हुनेको सङ्ख्या घटेको उनले जानकारी दिए । अङ्ग्रेजीमा विद्यार्थी बढी कमजोर बाेर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार अङ्ग्रेजी विषयमा विद्यार्थी सबैभन्दा कमजोर रहेको देखिएको छ । सार्वजनिक भएको नतिजाअनुसार अङ्ग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ । सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार एक सय चार जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ । रासस
दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आज घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो । अदालतले निजलाई एक वर्ष कैद, ४ लाख बिगो र सोहीअनुरुप जरिवाना हुने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो ।
५५ करोड नाफा गरेको नेको इन्स्योरेन्सको ईपीएस २७.४९ रुपैयाँ
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक बर्षको चौथो त्रैमासमा ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १.५२ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्ष ८७ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले गत असारसम्म ८७ करोड १४ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ, जगेडा कोष ४९ करोड १३ लाख रुपैयाँ र बीमा कोष १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २७.४९ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ २७९.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३२.४२ गुणा रहेको छ ।
राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ५ अर्ब ८४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले साउन ३२ गते बोलकबोल मार्फत् बिक्री गर्ने र भदौ १ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।