हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड बिहीबारदेखि बिक्री खुला हुने
काठमाडौं । हिमालयन क्यापिटलले भोलि बिहीबार (साउन ३२ गते)देखि पहिलो म्युचुअल फण्ड ल्याउने भएको छ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलले ‘हिमालयन ८०–२०’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ । क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा छिटोमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ ।
डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे अब निशुल्क हेर्न पाईने
काठमाडौं । डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे निशुल्क हेर्न पाईने भएको छ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सकिने कम्पनीले जनाएको छ । गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । साथै, गोल्भ डट डिसहोम डट कम एनपीमा लगइन गरेर ल्यापटप तथा कमप्युटर मा समेत चलाउन सकिन्छ भने एनरोइड टिभिको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सकुल्सीप कन्टेन्टहरु पनि उपलव्ध रहेको छ ।
काठमाडौं– तराई द्रुतमार्गको डिपिआर संशोधन, दुई अर्ब दुई करोड लाग्ने
काठमाडौं । काठमाडौं तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झण्डै दुई अर्ब दुई करोड लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो ।’ काठमाडौँ–मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ । दु्रतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएको थियो । प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । दुई खर्ब १३ अर्ब नौ करोड ५३लाखको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । रासस
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा
ढोरपाटन । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बाढीले पोल र तारमा क्षति पुर्याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए । उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ । ‘अहिले विद्युत् पूर्ण रुपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ’, प्रजिअ केसीले भने, ‘उपभोक्त सहकारीलाई भोलीका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छौँ । उनीहरुले अस्तीदेखि नै पोल र तार मर्मतको काम गरिरहेका छन् ।’ विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए । ‘अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्’, उनले भने, ‘विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ ।’ खानेपानी सञ्चालनको तयारी बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। मङ्गलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए। प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए । उनका अनुसार बाढीले चारपाङ्ग्रे सवारी दुई, मोटरसाइकल ३०, पशुचौपाया २५, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल, प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंक्षिक क्षति पुर्याएको छ । रासस
बेनी–जोमसोम सडकको बैसरीमा अवरुद्ध सडक १२ दिनपछि खुल्यो
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिए । ‘सडक खुलेपछि रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन्,’ उनले भने ‘मौसममा सुधार आएपछि सडक मर्मत र पहिरो पन्छाउने काम गर्न सकियो ।’ ‘डोजरको सहायताले छरिएको पानीको स्रोतलाई एकितृत गरी खोला बगाएर झारिरहेका छौँ,’ बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘करिब दुई सय मिटर लामो पहिरो यसरी नै बगायो । माटो जति पानीले बगाउने र खस्न सक्ने ढुङ्गा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन् । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा चटृान भेटिएको छ ।’ भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको उनले जानकारी दिए । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरुपमा खोल्साबाट बगाइएको छ । पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गरिएको थियो । बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो । बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरोमा परेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । पहिरोले पुरेको जिप निकालिएको छ । सवारी धनीसमेत रहेका शेरपुञ्जाको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस
घुससहित सप्तरीको दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई तीन लाख रुपैयाँको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका वडा नं ३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उनले सुनाए । दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
एक महिनादेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । केन्दीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । ‘साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ’, उनले भने, ‘अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन ।’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले राजनीतिक भागबन्डा अन्त्य नभएसम्म विश्वविद्यालयको ताला नखोल्ने बताए । ‘पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने, ‘दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।’ यसअघि एमाले निकट अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्यको अडान राख्दै तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयमा भएको तालाबन्दीले विश्वविद्यालयको दैनिक कामकाज एक महिनादेखि ठप्प छ । रासस
सरकारद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा
काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गरेको छ । सामाजिक सुरक्षा कोषले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषमा समेटेको घोषणाा गरेका हुने । उनको घोषणासँगै स्वरोजगार तथा अनौपचारिक क्क्षेत्रमा रहेका ५५ हजार श्रमिक कोषमा आवद्व हुने बाटो खुलेको हो । अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो । तर उक्त समयमा तयारी नपुगेको भन्दै रोकेको कोषले बुधबार औपचारिक रूपमा घोषणा गरेको हो । कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गरिने छ । अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमवल ३७ प्रतिशत रकम योगदान गर्नुपर्ने कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवालिले जानकारी दिए। उनका अनुसार योगदान रकमको ११ प्रतिशत सम्बन्धित व्यक्ति र बाँकी सरकारका तर्फबाट नौ दशमवल ३७ प्रतिशत जम्मा हुनेछ । सरकारका तर्फबाट जम्मा गरिने रकम सङ्घ, प्रदेश वा स्थानीय तहले जम्मा गरिदिने वा त्यस्तो रकम योगदानकर्ता आफैँले जम्मा गर्न सक्नेछन् । दुई पालिका अवरुद्ध कोषले अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन २ पालिकासँग सम्झौता गरिसकेको छ । कोषले यसअघि नै स्याङ्जाको फेदीखोला गाउँपालिका र मक्वानपुरको भिमफेदि गाऊपालिकासँए सम्झौता गरेको छ । सम्झौताअनुसार पालिकाले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको तर्फबाट आधारभूत परिश्रमिकको नौ दशमवल ३७ प्रतिशत र सम्बन्धित व्यक्तिको ११ प्रतिशत गरी एक हजार नौ सय १२ मासिक कोषमा योगदान गर्नेछ । कोषले गोरखा, बागलुङ, बर्दियालगायत जिल्लाका स्थानीय तहसँग सम्झौता गर्ने तयारी भइरहेको जनाएको छ।