विकासन्युज

सकसपछिको संघर्षबाट सफलताको स्वाद चाखेका ज्ञानबहादुरको कथा

काठमाडौं । आजभोली गाउँहरु गाउँ छैनन् । गाउँहरुले गाउँको विशेषता भुलिसकेका छन् । गाउँलेहरुले गाउँलेको पहिचान गुमाइसकेका छन् । घ्यू बेचेर पेप्सी किन्न थाले गाउँलेहरु । लोकभाका गुनगुनाउन र दमाहा बजाउन बिर्सेर स्पिकर घन्काउन थाले गाउँलेहरु । अब गाउँ, गाउँ रहेनन् । शहरको सिको गरेर गाउँहरु न शहरजस्तै बने नत गाउँको पहिचान नै कायम राख्न सके । बारी बाँझै राखेर शहरबाट आएको तरकारीमै मिठो स्वाद भेट्टाउन थालिसकेका छन् गाउँलेहरुले पनि । हो, यो देख्दा, अनुभव र महसुस गर्दा कत्ति नमिठो लाग्छ मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरालाई । गाउँघरमा गाउँलेहरुको एकता, समन्वय, सहकार्य र भाइचाराको सम्बन्ध पनि उनले नजिकबाट नियालेका छन्, अनुभव गरेका छन् । तर, अहिले त्यो आत्मियता पाउन मुस्किल छ गाउँघरमा । अहिले सामाजिक सञ्जालमा एकले अर्कालाई पछार्ने, एकले अर्काको विरोध गर्ने र राम्रो कामको साथ, समर्थन र सहयोग नगरेर सञ्जालमै रुमल्लिएको समाजलाई परिवर्तन गर्न चाहन्छन् उनी । एकले अर्काप्रतिको मान–सम्मान र भाइचाराको सम्बन्ध पुनः स्थापित गराउन चाहन्छन् उनी । अब गाउँले शहरको सिको होइन, गाउँलाई गाउँ नै बनाउने अभियानमा जुटेका छन् उनी । भनिन्छ नी, ‘कुनै पनि व्यक्तिको खराब कुरा गर्नु मानिसको प्रवृत्ति हो । तर, खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।’ यही भित्र रहेर समाज परिवर्तनको बिकुल बजाइरहेका छन् अध्यक्ष बोहरा । त्यसलाई उनले आफ्नो जिम्मेवारी र समाजप्रतिको बफादारिता ठानेका छन् । ‘हामीले जनतालाई मोटिभेसन गर्न जरुरी छ, कागले कान लग्यो भनेर कान नछामेर कागको पछि लाग्ने जमात ठूलो छ, यो प्रवृतिको अन्त्य गर्न जरुरी छ, हामीले त्यसका लागि एउटा मोडेल पनि तयारी गरिरहेका छौं, स्थानीय तहले नागरिकहरुलाई कसरी उद्यमी बनाउन सक्छ, त्यस्ता कार्यक्रमहरुलाई पनि प्राथमिकता दिइरहेका छौं, त्यसको संकेत र सन्देश हामीले एक वर्षमा गरेको कामले गरेको छ,’ अध्यक्ष बोहराले कामको फेहरिस्त सुनाउँदै भने । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको साविकको रिलु गाविस र हालको मष्टा गाउँपालिका ७ मा जन्मेका बोहराले नै अहिले सोही गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । घरको जेठो छोरा बोहरामाथि घरको जिम्मेवारीले पनि सानैदेखि नेतृत्व गर्ने बानी बस्यो । सानैदेखि केही पृथक काम गर्नु पर्छ, समाज परिवर्तन गर्नु पर्छ भन्ने सोच बोकेका उनी अहिले पनि सोही सोच बोकेर अगाडि बढिरहेका छन् । उनी भन्छन्, ‘समाज सेवा मेरो रहर हो, सोही कारण म राजनीतिमा आएँ, सकारात्मक दृष्टिकोण राखेर काम गरियो भने एकदिन अवश्य नै सफल भइन्छ ।’ विकट जिल्लाको पनि दुर्गम क्षेत्रमा जन्मेका बोहराभित्रको समाज सेवाको भोक सानैदेखि भएको सुनाउँछन् । ‘घरको जेठो छोरा भएकोले पनि सानैदेखि जिम्मेवारी के हो भन्ने विषय बुझें, सानैदेखि संघर्ष गर्नु पर्छ भन्ने कुरा मनन् गरें, सामान्य परिवारमा जन्मेर पनि पढ्नु पर्छ भन्ने मानसिकताका साथ अगाडि बढें,’ उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘मान्छेमा इच्छाशक्ति छ भने अभावले नछेक्ने रहेछ ।’ बोहराले विद्यालय तहको पढाइ गाउँमै पुरा गरे । त्यो बेला आधारभूत आवश्यकताहरु पुरा गर्न पनि सकस हुन्थ्यो । शिक्षा, स्वास्थ्य र यातायातको त ठूलो अभाव थियो । त्यो अभावका बिच पनि पढ्नुपर्छ भन्ने मानसिकताका साथ उनी लागि रहे । उनले गाउँमै रहेको मालिका प्राथमिक विद्यालयबाट कक्षा एकसम्मको पढाइ पूरा गरे । २ देखि ५ कक्षासम्मको अध्ययन रिलु चौर माध्यमिक विद्यालयबाट गरे भने ६ कक्षादेखि १० सम्मको पढाइ दुर्गा भवानी माध्यमिक विद्यालयबाट पूरा गरे । उनलाई अझै पढ्नुपर्छ भन्ने भोक मरेन । सामान्य परिवेशमा हुर्केका बोहरा पढ्नका लागि निकै संघर्ष गर्नु परेको सुनाउँछन् । ‘कक्षा ५ देखि १० सम्म पढ्नको लागि घरबाट ३ घण्टाको बाटो हिड्नु पथ्र्यो, विद्यालयको आसपासमा कोठा खोजेर घरबाट चामल लगेर पढ्नु पथ्र्यो, विद्यालय तहको पढाइ स्मरण गर्दै उनी भन्छन्, ‘संघर्षपछि अवश्य नै सफलता मिल्छ ।’ बोहराले वि.सं. २०५५ सालमा एसएलसी हालको एसईई पास गरे । एसएलसी पास गरे पश्चात् सहरमा पढ्ने उनको सपना थियो । तर, घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नकै लागि कमाउनु पर्ने बाध्यता आइलाग्यो उनलाई । घरको जेठो छोरा भएकै कारण पनि उनीमाथि कमाउनै पर्ने आवश्यता थपियो । चार दाजुभाई र एउटा बहिनी छिन् उनको । उनीहरु सबैको अभिभावकत्व निर्वाह गर्नु पथ्र्यो । बारीमा उब्जिएको अन्नले घरपरिवार चल्थ्यो । तर, पढ्न र उपचारका लागि भने पैसाको अभाव थियो । उनी भन्छन्, ‘घरमा कोही बिरामी भयो भने पनि उपचारको लागि कसरी पैसा जोहो गर्ने भन्ने चिन्ता थियो ।’ तर, आमाबुवाले भने पढ्नु पर्छ भनेर सल्लाह दिइरहने गरेको उनी स्मरण गर्छन् । भारतमा ६ महिना काम पढ्नैका लागि भएपनि उनले कमाउनु पर्ने बाध्यता आइलाग्यो । गाउँघरमै काम गर्नका लागि कुनै अवसर थिएन । गाउँघर/घरछिमेका आफन्तहरु रोजगारीका लागि भारत जान्थे । भारतबाट कमाएको पैसाले नै परिवार चल्थ्यो । जुन अभ्यास अहिले पनि चलिरहेको छ । बोहराले पनि भारत जाने निधो गरे । एसएलसी दिएका उनी कामको सिलसिलामा भारत होमिए । आफन्तहरुसँग भारतको उत्तराखण्डमा पुगेर खरी बनाउने काममा लागे उनी । पैसा कमाएर पढ्ने सपना बोकेका उनले त्यहाँ ६ महिना काम गरे । नेपालीहरुले भारतमा भोगिरहेको समस्या र गरिरहेको संघर्ष उनले नजिकबाट नियाले, अनुभव गरे । उनको पढ्ने सपना थियो । भारतमा ६ महिना काम गरेको पैसा बोकेर नेपाल फर्किए । ‘भारतबाट फर्किएपछि गाउँमा समय बिताउन मन लागेन, भारतबाट ल्याएको पैसा लिएर काठमाडौं हिडें, उनी थप्छन्, ‘काठमाडौंमा पनि सहजै रुपमा बस्न कहाँ सजिलो रहेछ र ।’ उनलाई भारतबाट ल्याएको पैसाले काठमाडौंमा खान बस्न र कोठा भाडा तिर्न पनि नपुग्ने भयो । उनको मन मोडियो र पुनः गाउँ फर्किए । दुई वर्ष त्यतिकै बित्यो । अब उनले जयपृथ्वी क्याम्पसमा भर्ना गर्ने निर्णय गरे । ‘प्लस टु’ पास गरे । तर, उनको मनले अझैं मानेन । मनले चाहेको शिक्षा जिल्लामा पाउन सकेनन् । उनको मनले उनलाई भन्यो, ‘फेरि काठमाडौं जाउ ।’ गाउँमा साथीसँग ऋण काढेर उनी पुनः काठमाडौंका लागि हिंडे । समाजशास्त्र विषय लिएर स्नातकमा पाटन बहुमुखी क्याम्पसमा भर्ना भए । ‘पाँच वर्ष घर नगई स्नातक तहको पढाइ पुरा गरें, पाटन क्याम्पसबाटै समाजशास्त्र विषयमा स्नातकोत्तर पनि पास गरें,’ उनी भन्छन्, अभावले मान्छेलाई धेरै सिकाउने रहेछ, संघर्ष गर्न सिकाउँदो रहेछ ।’ शिक्षक बन्ने थियो सपना त्यो पूरा होस् वा नहोस्, सपना सबैको हुन्छ । त्यो सपना ममा पनि छ र तपाईंमा पनि छ । सपना ज्ञानबहादुर बोहरामा पनि थियो । सानैदेखि उनको सपना शिक्षक बन्ने थियो । शिक्षक बन्ने सपना बोक्नुभित्रको रहस्य पनि गज्जवको छ उनको । ‘पढ्ने इच्छा थियो तर पढेपछि के बन्ने भन्ने सपना सुरुमा थिएन, बझाङमै ८ कक्षा पढ्दा विद्यालयको निरीक्षण गर्न विद्यालय निरिक्षक (बिनी) आउनु भयो, विद्यालयमा उहाँलाई सबैले सम्मान गरेको देखेर बिनी बन्न नसके पनि शिक्षक चाहिँ बन्नुपर्छ भन्ने महसुुस गरें, बोहरा मुस्कुराउँदै भन्छन्, ‘त्यही समयदेखि हो मैले शिक्षक बन्ने सपना बोकेको । तर, उनको शिक्षक बन्ने सपना धेरै टिकेन । उच्च शिक्षाका लागि काठमाडौंमा पढ्न आएपछि उनको शिक्षा, समाज र सपना फेरियो । काठमाडौंमा पढाइसँगै काम सुरु गरे । समाजशास्त्र पढिरहेका उनले एक जना दाईको सस फ्याक्ट्रीमा मार्केटिङ गर्न थाले । उनको चेतनाको स्तर बढदै गयो । पढाइ पनि सुधारिँदै गयो । अब उनको जिम्मेवारी र भूमिका पनि फेरिन थाल्यो । उनले विभिन्न पुस्तक सम्पादन गर्ने जिम्मेवारी पाउन थाले । ‘मैले कलेजमा भर्ना भएपछि धेरै किताबहरू सम्पादन गरें, त्यो बेलामा विद्यार्थी सन्देश, विद्यार्थी आन्दोलन जस्ता राजनैतिक किताबहरू प्रकाशन हुन्थे, ती किताबहरु सम्पादनको जिम्मा मलाई दिइन्थो, त्यहाँबाट पनि केही पैसा आउँथ्यो, त्यो पैसाले काठमाडौंमा दिनचर्या गर्न सहज हुन थाल्यो,’ उनले भने । यसरी नै दिनहरु बित्दै गए । स्नातकोत्तरको पढाइ पनि सकियो । स्नातकोत्तरको पढाइ सकेपछि उनले पाटन क्याम्पसमै ८ महिना पढाए पनि । त्यो बेलासम्म उनको आर्थिक हैसियत केही सुधार भइसकेको थियो । विभिन्न राजनीति किताबहरु सम्पादनको जिम्मा पाउन थालेका उनलाई अब सक्रिय राजनीति गर्ने मुड चल्यो । उसो त उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय नै थिए । तर, स्नातकोत्तरको पढाइपछि भने त्यो सक्रियता झनै बढ्यो । विद्यार्थी राजनीतिसँगै उनले २०६९ सालमा विवाह गरे । रमिला बुढासँग प्रेमपछि विवाह गरेका उनीसँग अहिले दुई छोरा छन् । उनकी श्रीमती रमिला अहिले टोखा नगरपालिकाको वडा नं. १ मा वडा सचिवका रुपमा कार्यरत छिन् । …त्यसपछि सुरु भयो सक्रिय राजनीतिक यात्रा उच्च शिक्षा हासिल गरेपछि बोहरा गाउँ फर्किए । काठमाडौंमै बस्दा राजनीतिक माहोल बुझेका उनले गाउँ फर्केर विकृति र विसंगतीको विषयमा प्रश्न उठाउन थाले । विकास निर्माणमा हातेमालो गर्न थाले । सानैदेखि समाज सेवामा रुची राख्ने उनले दिनप्रतिदिन सम्बन्धित निकायमा खबरदारी गर्न थाले । उनले पढेपछि जागिर होइन, समाजसेवा गर्नु पर्छ भन्ने भावना राखेर गाउँको सेवा गरे । गाउँमा कुनै समस्या आयो भने त्यो समस्या समाधानको लागि सबैभन्दा अगाडि उनै बोहराको नाम आउँथ्यो । जिल्लामा हुने विभिन्न राजनीतिक कार्यक्रमको अग्रमोर्चामा उनै बोहरा देखिन्थे । ‘मैले केही गर्नुपर्छ भन्ने भावना थियो, अफिसमा बसेर १० देखि ५ बजेसम्म काम गरेर जीवनमा मैले गरेको दुःखको उपलब्धि हुँदैन भन्ने विषयमा म प्रष्ट थिएँ, उनी भन्छन्, ‘समाजसेवालाई पनि गाइड गर्ने विषय राजनीति हो भन्ने सिकेरै म राजनीतिमा होमिएको हुँ, राजनीतिमार्फत् समाज सेवा गर्न सकिन्छ ।’ उनले गाउँघरमा युवालाई तालिम दिने, जनचेतना मूलक कार्यक्रम गर्ने, गाविसका वृतचित्रहरु तयार गर्ने लगायतका थुप्रै काम गरे । त्यसबाट पनि उनको पहिचान बदलियो । उनको सक्रियता, लगाव–झुकाव र पार्टीप्रतिको बफादारिता देखेर काँग्रेस पार्टीले पनि उनलाई विभिन्न समितिमा संलग्न गराउन थाल्यो । सुरुमा उनले बझाङको जिल्ला कार्यसमितिको सदस्य बन्ने अवसर पाए । त्यसपछि पार्टी उपसभापति र महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाए । उनको उपलब्धि र प्रगतिको ग्राफ त्यतिमै रोकिएन । स्थानीय तहको निर्वाचन नजिकिँदै थियो । उनले स्थानीय तहको निर्वाचनमा मष्टा गाउँपालिकाको अध्यक्षमा दाबी गर्ने योजना बनाए । आकांक्षी धेरै थिए । पार्टीले नजिकबाट नियालेका बोहराले टिकट पाए । मष्टा गाउँपाकिाको अध्यक्षको बलियो दाबेदार बने बोहरा । वि.सं. २०७९ मा वैशाख ३० गते भएको स्थानीय तहको चुनावी मैदानमा बोहरालाई साथ दिनेहरुको भीड लाग्यो । एउटा शिक्षित युवा । त्यसैमाथि समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका उनीमाथि विश्वास गर्नेहरुको जमात बढ्यो । परिणामस्वरुप स्थानीय तहको निर्वाचनमा मष्टा गाउँपालिकाको नेतृत्व गर्ने अवसर तिनै बोहराले पाए । उसो त उनी २०७४ सालमा भएको निर्वाचनमा पनि प्रतिस्पर्धामा नउत्रिएका होइनन् । तर, उनी पराजित भए । उनले उक्त निर्वाचनबाट धेरै पाठ सिकेर दोस्रो पटक चुनावी मैदानमा होमिएको र विजयी पनि भएको अनुभव सुनाए । उनी गाउँपालिकाको अध्यक्षमा ३ हजार ८३ मत ल्याएर विजयी भए । उनको विजयीमा सिंगो मष्टावासी रमायो । उनी भन्छन्, ‘मलाई मेरो समाजले चिन्यो, अब मैले यो समाजलाई चिनाउनु छ ।’ आशाको किरण अध्यक्ष बोहराले मष्टा गाउँपालिकाको नेतृत्व गरेपछि धेरै विषयहरुमा परिवर्तनको संकेत देखिएको छ । पालिकावासीलाई  विभिन्न तालिमहरु प्रदान गर्ने र सीप सिकाएर उद्यममा जोड्ने प्रयत्न उनले गरिरहेका छन् । उसो त उनी एक वर्षको अवधिमा पालिकाले १०० अंकमा ९० अंक ल्याएर डिस्टिङ्सन हाँसिल गर्न सफल भएको हिसाब सुनाउँछन् । उनको नेतृत्वमाथि धेरैले अपेक्षा गरेका छन् । एउटा शिक्षित युवाले पालिकाको नेतृत्व गर्दा उनको कार्यकालमा पालिकाको मुहार फेरिने विश्वासमा मष्टावासी छन् । अध्यक्ष बोहरा पनि भन्छन्, ‘म पालिकाको सेवा गर्न आएको हुँ, पाँच वर्षको मेरो कार्यकालमा मष्टा गाउँपालिकाको इमेज परिवर्तन गरेर देखाउँछु, त्यो महसुस आम सर्वसाधारणहरुले गर्नेछन् ।’ उनी गाउँलाई गाउँ नै बनाउने अभियानमा जुटेको बताउँछन् । गाउँ सुन्दर बनाउनको लागि त्यहाँ भएका पूर्वाधार विकास, सहज स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र स्वस्थ खानपानीको आपुर्तिमा आफ्नो विशेष प्राथमिकता रहेको अध्यक्ष बोहरा सुनाउँछन् । दिनप्रतिदिन विदेशिरहेका युवाहरुलाई उनी स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न लागिरहेको बताउँछन् । ‘स्वदेशमै केही न केही काम गर्ने विषयमा जोड दिइरहेका छौं, अलिकति अक्षर चिन्न थालेपछि युवा श्रम गर्न तयार हुँदैन तर काम पाइएन भनेर हिँडेको देखिन्छ, हामीले काम गर्ने वातावरण पालिकामा निर्माण गरिरहेका छौं, अब युवाहरु उद्यमी बन्नु पर्छ, उनी भन्छन्, ‘त्यसका लागि हामीले कार्यक्रम पनि ल्याएका छौं र अझै ल्याउनेछौं,’ उनी थप्छन्, ‘जनताको खुसी नै मेरो खुुसी हो ।’

मनो–सामाजिक परामर्शले फेरिएको दैनिकी, सकारात्मक प्रभाव

वालिङ । वालिङ–७ की २५ वर्षीया एक महिला दुई सन्तानकी आमा हुन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । छोराछोरीको लालनपालन र घर सम्हाल्दै आएकी उनी र श्रीमान्बीच अकस्मात झै–झगडा हुन थाल्यो । घरमा अन्य कोही पनि नभएको र स–साना दुई छोराछोरीको स्याहार गर्दै बसेकी ती महिला र परिवारको खुसीका लागि विदेशी भूमिमा पसिना बगाएका श्रीमानबीचको झै–झगडा बढ्दै जान थाल्यो । जसको असर साना छोराछोरीमा पनि पर्न थाल्यो । श्रीमान विदेशबाट पैसा पठाउन छाडे । घर खर्च चलाउन उनलाई धौधौ भयो । परदेशमा रहेका श्रीमान र घर चलाउँदै आएकी ती महिलाबीच दैनिक झै–झगडा हुने, श्रीमानले पैसा नपठाउँदा परिवारमा विचलन आयो । पछि उनी डिप्रेशनको रोगी बनिन् । “जो हो साहारा दिने उसैको सहारा नपाएपछि जिन्दगी नै उजाड भएजस्तो लाग्न थाल्यो, जतिबेला नि पिर चिन्ताले सताउन थाल्यो, हुँदाहुँदै रोगी बनें” उनले भने, “मनो–सामाजिक परामर्शकै कारण म अहिले निको हुँदै गएकी छु, जीउन सकिने धेरै बाटाहरु रैछन् भन्ने साहस र हिम्मत पाएकी छु ।” औषधिभन्दा पनि मनो–सामाजिक परामर्शकै कारण आफ्नो दैनिकी फेरिनुका साथै सहजता भएको अनुभव उनको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत मनो–सामाजिक परामर्शकर्ताले घरमै पुगेर मनोसामाजिक र वित्तीय साक्षरताका बारेमा परामर्श दिएपछि सुधार हुँदै गएको महशुस उनले गरिन् । “जब मनो–सामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी ज्ञान पाएँ तब दैनिकी फेरिदै जान थाल्यो, अहिले सहज हुँदै गएको छ” ती महिलाले भनिन्, “अहिले घर परिवारमा खुसी छाएको छ ।” वित्तीय साक्षरताले सानो सानो भएपनि वचत गर्ने तरिका सिक्न पाएकाले मासिक पाँच हजार वचत गर्न थालेकी छिन् । “मनो–सामाजिक परामर्श तथा वित्तीय साक्षरताले जिन्दगीको मोड लिएको छ” उनले भनिन्, “अहिले दैनिक हिसाबकिताब कापीमा टिपेर राख्ने गरेकाले आम्दानी खर्च स्पष्ट हुन थालेको छ ।” श्रीमान् विदेश गएपछि घर धानेर बसेकी श्रीमतीले राम्रा लुगा लगाएर हिंड्दासमेत समाजले फरक तरिकाले हेर्ने गरेको बताउनुहुन्छ, वालिङ १३ की एक महिला । श्रीमानले विदेशमा सकी नसकी दुःख गरेको छ यहाँ चाहीँ ऊ लुगा फेर्दै हिंडेकी छ भनेको सुन्नुपर्दा मन दुख्थ्यो । अझ समुदायकै केही केहीले त श्रीमानलाई भए नभएका कुरा लगाइदिने गरेकाले श्रीमान् श्रीमतीबीच झगडासमेत हुने गरेको थियो । “स–सानो पैसा खर्च हुने तर विवरण नराखेकै कारण हिसाबकिताब सबै देखाउन सकिएन भने झैझगडा हुन्थ्यो” उनले भनिन्, “पैसा कमाउनेभन्दा पनि बचाउने अनि त्यसलाई लेखेर राख्ने गर्दा आम्दानी खर्च सबै स्पष्ट हुने भएकाले अहिले त्यसै गर्न थालेकी छु ।” २१ हप्तासम्म वित्तीय साक्षरतासम्बन्धी तालिम लिएपछि सहज भएको छ । परिवारबीच झैझगडा हुन छाडेको छ । वैदेशिक रोजगारीसम्बन्धी कुनै समस्याहरु भएमा कहाँ जाने, के गर्ने भन्ने ज्ञानसमेत प्राप्त भएको उनले बताइन्। श्रीमानले विदेशमा दुःख गरेर घरमा पैसा पठाउने तर घरमा त्यसको हिसाबकिताब देखाउन नसक्दा झैझगडा हुने र परिवार नै दुर्घटनामा पर्ने गरेका प्रशस्तै उदाहरणहरु हाम्रो समाजमा छन् । परिवारमा झैझगडा हुँदा श्रीमान् श्रीमतीबीच परापाचुके हुने र त्यसको प्रत्यक्ष असर बालबालिकाहरुमा पर्ने गरेको छ । तीन वर्षको अवधिमा ५८ जनालाई मनो–सामाजिक परामर्श गरेको छ । मनो–सामाजिक परामर्शकर्ता विमला थापाले सामूहिक वा व्यक्तिगतरुपमा समस्याहरु बुझी सोही अनुसारको परामर्शलाई निरन्तरता दिँदै आएकी छिन् । डिप्रेसन, पिर चिन्ता, खान मन नलाग्ने, रुन मन लाग्ने, एकोहोरिने, निद्रा नलाग्ने जस्ता लक्षण देखिएका परिवार तथा व्यक्तिहरुलाई घर–घरमै पुगेर मनो–सामाजिक परामर्श प्रदान गरेसँगै अहिले दैनिकी फेरिंदै गएको छ । “वैदेशिक रोजगारीका कारण परिवार तथा परिवारका सदस्यमा देखिएको समस्याको पहिचान गरी परामर्श दिने गरिएको छ” उनले भनिन्, “अहिले उहाँहरुमा व्यवहार परिवर्तन हुँदै गएको छ, समस्याको समाधान हुँदै जाँदा परिवारमा त्यसको सकारात्मक सन्देश जाने गरेको छ ।” विशेषगरी २५ देखि ५० वर्ष उमेर समूहका महिला, १४ देखि १८ वर्षका बालबालिकामा बढी असर परेको देखिएको छ । वैदेशिक रोजगारीका लागि गएको श्रीमानले घर पैसा पठाउने तर त्यसको व्यवस्थापन गर्न नजान्दा परिवारमा झैझगडा हुने गरेको छ । श्रीमान् श्रीमतीबीच झैझगडा हुँदा त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्ने गरेको छ । बालबालिकाहरु विद्यालय जान नमान्ने, धेरै डराउने, तर्सनेजस्ता असरहरु देखिने गरेको छ । महिला तथा बालबालिकालाई छुट्टाछुट्टै खालको मनो–सामाजिक परामर्श दिने गरेको उनले बताइन् । प्रायःजसो वैदेशिक रोजगारी र त्यसबाट उत्पन्न भएका समस्याहरुका कारणले परिवारका सदस्यहरु पिर, चिन्ता, डिप्रेसनमा जाने गरेको देखिएको छ । समाजमा लाञ्छना, भेदभाव, परिवार ब्यवस्थापन नहुनु, लैङ्गिक हिंसा, घरेलु हिंसा लगायतका समस्याहरु छन् । “घरायसी झैझगडाका कारण बालबालिकामा त्यसको प्रत्यक्ष असर परेको छ” उनले भनिन्, “जसका कारण बालबालिकाको मनोबल कमजोर हुने, खान मन नगर्ने, एक्लोपन भएको महशुस गर्ने, डराउने, समय समयमा तर्सने जस्ता व्यवहार देखाउने गरेका छन् ।” व्यक्तिगत वा सामूहिक मनो–सामाजिक परामर्शपश्चात अहिले दैनिकी फेरिंदै गएको छ । मनो–सामाजिक परामर्शको सकारात्मक प्रभाव परेको उनले बताइन् । वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरी वित्तीय साक्षरता एवं मनो–सामाजिक परामर्श कक्षा सञ्चालन गरिएको छ । नगरभित्रका विभिन्न वडामा १२ वटा समूह बनाई सामूहिकरुपमा र आवश्यकता हेरी व्यक्तिगतरुपमा समेत मनो–सामाजिक परामर्श प्रदान गरिएको उन बताइन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई भिसा अवधिभर काम गर्ने सिलसिलामा मृत्यु भएको, अङ्गभङ्ग भएको, ठगिएको, बेपत्ता भएको, बिरामी भएको लगायतका घटनाहरुमा उजुरी गरेको खण्डमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता र ठगी, बेपत्ताहरुको  खोजी तथा उद्दारको कार्यका लागि आप्रवासी स्रोत उपकेन्द्रले पहल गर्दै आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वालिङ नगरपालिकाले सञ्चालन गरेको छ । उपकेन्द्रमार्फत गत आर्थिक वर्षमा चार हजार ७५२ जनालाई सूचना तथा परामर्श दिएको सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताइन् । यसमा तीन हजार ४९२ पुरुष र एकहजार २६० जना महिला रहेका छन् । ४० वटा विभिन्न घटना तथा मुद्दाहरु परेकामा २६ वटाको समाधान भएको र १४ वटा बाँकी रहेको उनले बताइन् । बाँकी रहेका मुद्दाहरुको छिट्टै समाधानका लागि पहल भएको कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा गएको व्यक्तिको घर परिवारमा कुनै घातक रोग (मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमरलगायत) लाग्दा पनि परिवारलाई आर्थिक उपचार सहायता प्राप्त हुने गरेको उनले बताइन् । आप्रवासी स्रोत उपकेन्द्र वालिङबाट स्याङ्जाका वालिङ, भीरकोट, चापाकोट, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकासहित दक्षिण पर्वत र पाल्पाको रामपुरको केही भेगका मानिसले सेवा लिने गरेका छन् । उपकेन्द्रमार्फत रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएको व्यक्तिको शवलाई नेपाल ल्याइपुर्याउनका लागि पहलसहित आवश्यक समन्वय गर्दै आएको छ । वैदेशिक रोजगारमा रहेका कामदारका परिवार तथा फर्केका कामदारको सञ्जाल निर्माण गर्ने, कार्यक्रम साझेदारहरुबीच समन्वय गर्ने, संयन्त्र निर्माण र समुदायसँगको सहकार्यमा कामदारको समस्या समाधानका लागि सहजीकरण प्रणालीको विकास गर्न विभिन्न कार्यहरु उपकेन्द्रमार्फत हुँदै आएको छ । सेवालाई दिगोरुपमा सञ्चालन गर्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक नीति, कार्यविधि, योजना तर्जुमा तथा कार्यान्वयनका लागि आवश्यक सहयोग पु¥याउने रहेको सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन मार्गदर्शन २०७९ मा उल्लेख गरिएको छ । वैदेशिक रोजगारीमा गएका ठाउँका सीमान्तकृत समुदाय तथा विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई लक्षित गरी समुदाय अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्ति तथा तिनका परिवारलाई सूचना प्रदान गर्न वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई रिटर्नी स्वयंसेवकको रुपमा परिचालन गर्न सकिने व्यवस्था समेत रहेको छ । वालिङ नगरपालिकाका १४ वटै वडालाई समेट्ने गरी वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको रिटर्नी सञ्जाल गठन गरिएको छ । जीतबहादुर नेपाली संयोजक रहने गरी १५ सदस्यीय सञ्जाल गठन गरिएको हो । वैदेशिक रोजगारीमा गएकाहरुको अवस्थाका बारेमा जानकारी लिने र कुनै समस्या आइपरेमा उद्दारका लागि सहयोग गर्ने सञ्जालका संयोजक नेपालीले बताए । कस्तो कम्पनीमा जाने, कसरी जाने समस्या परिहालेमा कहाँ सम्पर्क गर्ने, श्रम स्वीकृति लिएर मात्रै जानुपर्ने लगायतका विषयमा परामर्श दिंदै आएको उनले बताए । टोलटोलमा पुगेर पनि समयसमयमा वैदेशिक रोजगारीमा गएकाको परिवारलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्श सञ्जालले दिने गरेको छ । रासस

संसद अवरोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन् । बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

झापा । झापामा आर्थिक वर्ष २०७९-८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उनका अनुसार आर्थिक वर्ष २०७७-७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८-७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याब सेवा, फिजियो थेरापी, उपचारात्मक योग सेवा, जलौका (लिच थेरापी), पञ्चकर्म-पूर्वकर्म लगायतका सेवा उपलब्ध छ । यहाँ ग्याष्ट्रिक, बाथ, उच्च रक्तचाप, मधुमेह, पायल्स, फिस्टुला, फिसर लगायतका बिरामी आउने गरेका छन् । चेकजाँच पछि उनीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइन्छ । कविराज अर्याल केन्द्रमार्फत यहाँका विद्यालयमा आयुर्वेद तथा योग शिक्षासमेत प्रदान गर्ने गरिएको बताउछन् । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा हल्दिबारी र भद्रपुरका तीन सय ५८ स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ जडीबुटीजन्य औषधि वितरण गरिएको थियो । आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख डा यादवले बताए । सात जनाको स्थायी दरबन्दी भए पनि तीन जनाको दरबन्दी रिक्त छ । हाल केन्द्रमा स्थायी र करारका गरी १३ कर्मचारीले सेवा दिइरहेका छन् । झापामा सरकारीस्तरमा आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एउटा तथा सात आयुर्वेद औषधालय छन् । रासस

प्राइभेटबाट पब्लिक कम्पनी हुने बित्तिकै आईपीओ निकाल्न पाउने, प्रिमियमा थप सहज

काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गर्दै पुँजीबजारमा केही नयाँ प्रावधानहरू लागू गर्न स्वीकृति दिएको हो । नियमावली संशोधन भएसँगै प्राइभेट कम्पनीको रुपमा दर्ता भएर २ वर्षदेखि कारोबार गरिरहेको कम्पनीले पब्लिकमा रुपान्तरण हुनासाथ सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न सक्ने व्यवस्था भएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । उनका अनुसार प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया पनि केही सहज भएको छ । बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रका नियामनकारी निकायबाट अनुमतिप्राप्त कम्तीमा एक अर्ब रुपैयाँ चुक्तापूँजी भएका संस्थाहरूले अब एक बर्षभित्रै प्रिमियममा आईपीओ जारी गर्न पाउने उनको भनाइ छ । यसअघि कम्तीमा तीन बर्ष नाफामा सञ्चालन भएको संस्थाले प्रिमियममा आईपीओ जारी गर्न पाउने ब्यबस्था थियो । उत्पादनमूलक उद्योगहरूका हकमा दूई आर्थिक बर्षको नाफा गणना गरेर प्रिमियममा आईपीओ जारी गर्न पाइने भएको छ । यस्ता उद्योगहरूको पूँजी पनि एक अर्ब माथि हुनुपर्ने व्यवस्था गरिएको छ ।

जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन् । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताइन् । ’हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन’, उनले भनिन् । नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन । बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन् । जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो पोखे । आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनले दुःखेसो पोखे । अस्पतालका चिकित्सक डा रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो । निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो । ’बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन’, उनले भने । सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको हो । रासस

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार, तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् , उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन्। राईले तीन वर्ष अघि सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उनको भनाइ छ । ‘विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ’, राईले भने, ‘वार्षिक रुपमा रु नौ लाखसम्मको तरकारी बिक्री गर्छु । त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।’ कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा  विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताए । अहिले महिनामा पाँच-छ जनालाई रोजगारीसमेत दिएको उनको भनाइ छ । ‘आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुसी लाग्छ’, उनले भने ‘विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट  छु । केही मानिसहरुलाई रोजगारी पनि दिएको छु ।’ उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उनले बताए । ‘कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ’, उनले भने, ‘बजारको राम्रो व्यवस्था नहुँदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ ।’ नमूना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९-८० मा दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताए । आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुसी लागेको उनको भनाइ छ । ‘लामो समयबाट कृषिमा लागेको थिए’, उनले भने, ‘तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ । यो पटक भने राज्यले सहयोग गरेको छ । यसले मलाई थप हौसला मिलेको छ ।’ युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमूना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए । राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको सङ्ख्या बढेको उनको भनाइ छ । ‘व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ’, उनले भने, ‘राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको सङ्ख्या यो जिल्लामा बढेको अवस्था छ । यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ ।’ रासस

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक थार-ई माेडेल सार्वजनिक, २०२५ सम्म बजारमा आउने

काठमाडौं । सवारी साधन निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ग्लोबल इभेन्ट ‘फ्युचरस्केप’मा इलेक्ट्रिक थारको कन्सेप्ट मोडेल सार्वजनिक गरेको छ । यो ५–डोर इलेक्ट्रिक एसयुभी कम्पनीको बोर्न इलेक्ट्रिक रेन्जको हिस्सा हुने र जसको नाम थार डट इ हुने कम्पनीले जनाएको छ । दक्षिण अफ्रिकाको केपटाउनमा भएको कार्यक्रममा महिन्द्राले स्कार्पियो एन एसयुभीमा आधारित ‘ग्लोबल पिकअप ट्रक’ र ‘ओजेए’ नामको नयाँ प्लेटफर्म प्रस्तुत गरेको थियो । महिन्द्रा राइजले कम्पनीको लाइनअपमा रहेका हल्का तौलका ट्रयाक्टरको लागि यसलाई विकास गरेको जनाएको छ । महिन्द्राले सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक थार अहिलेको आइसिई थारको नयाँ भर्सन नहुने र यो कम्पनीको नयाँ आइएनजिएलओ–पी१ प्लेटफर्ममा आधारित हुनेछ । जसको ग्राउन्ड क्लियरेन्स धेरै हुने र अफरोडको अनुभव गराउने कम्पनीले जनाएको छ । साथै गाडीमा थारको नयाँ लोगो हुनेछ । महिन्द्रा थारले हालको आईसिई मोडेलको तुलनामा फ्युचरिस्टिक डिजाइन तयार गरेको छ । जसमा बाहिरी र भित्री दुवै डिजाइन नयाँ प्रकारको रहेको छ ।