विकासन्युज

कक्षा १२ को नतिजा : ३ दशमलब ६१ देखि ४ जिपिए ल्याउने ६ हजार ९७६ जना

काठमाडौं । कक्षा १२ को नतिजामा ६ हजार ९७६ जना विद्यार्थीले ३ दशमलब ६१ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को परीक्षामा ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी मध्ये ६ हजार ९७६ जना विद्यार्थीले सो जिपिए ल्याएका हुन् । त्यस्तै, ३८ हजार ९९९ जना विद्यार्थीले ३ दशमलब २१ देखि ३ दशमलब ६०, ६९ हजार एकसय ७४ जना विद्यार्थीले २ दशमलब ८१ देखि ३ दशमलब २० र ६३ हजार ७७ जना विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जिपिए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार ११ हजार चार सय ३८ जना विद्यार्थीले २ दशमलब ०१ देखि २ दशमलब ४० र ४७ जना विद्यार्थीले १ दशमलब ६१ देखि २ जिपिए ल्याएका छन् । एक लाख ८२ हजार नौ सय २६ जना विद्यार्थी भने कम अंक प्राप्त गरेका कारण नन ग्रेडिङमा परेका छन् । अघिल्लो वर्षको तुलनामा विद्यार्थीको नतिजामा सुधार आएको बोर्डले प्रकाशित गरेको नतिजाले देखाएको छ । कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलबारबाट सम्पन्न भएको बताएको छ । तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलबार सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिँदै दुवै कार्र्यालयमा सांकेतिक तालाबन्दी गरिएको थियो । शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले सेफ्टी ज्याकेट, हेल्मेट र हातमा कालो पट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका हुन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्ना सहित सांकेतिक ताला लगाएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामानेतृत्वको टोलीले सिंचाई विभागमा नाराबाजी गर्दै सांकेतिक ताला लगाएको हो । सडक विभागको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका जायजमाग राज्यले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले महासंघको आन्दोलन समृद्ध निर्माण उद्योग स्थापनामा केन्द्रीत रहेको बताए । यसैबीच, आन्दोलनरत महासंघलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक पत्र आएपछि महासंघको मंगलबार सम्पन्न कार्य समिति बैठकले अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । महासंघले सरकारबाट छलफलका लागि बोलाइनु सकारात्मक भएको ठहर गर्दै माग पूरा नभएसम्म सांकेतिक प्रदर्शन भने जारी राख्ने भएको छ । जसअन्तर्गत ७७ जिल्ला संघहरूले बुधवारदेखि आ—आफ्नो कार्यालयमा महासंघको ९ बुँदे माग सहितको ब्यानर राख्ने भएका छन् । व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने लगायतको माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा थिए ।

दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान रोक्नु अव्यवहारिक, १३ प्रतिशत कर हटाउन माग

काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ । मंगलबार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकुल मौसम हुँदा पनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय तत्काल सच्याउन माग गरेको हो । प्राधिकरणको सो निर्णयले कर्णालीका आम जनता, विद्यार्थी, कर्मचारी, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ओसार–पसारमा समस्या भएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । मौसम अनुकुल भएको बेलामा दिनभर उडान गर्न सक्ने गरी निर्णय गरिदिनुपर्ने उनले बताए । त्यसैगरी, हवाई टिकटमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था हटाउन पनि समाजले माग गरेको छ । कर्णालीका नागरिकहरुको हवाई सेवा बाहेक अरु विकल्प नभएको भन्दै अध्यक्ष रोकायाले बिरामी, शव, खाद्यान्न सामग्रीमा समेत कर तिर्नुपर्ने बाध्यतालाई हटाउन सरकार समक्ष माग गरेको उनले बताए । त्यसैगरी, भारतीय पर्यटकहरुलाई नेपाली बाटो हुम्लाको हिल्सा हुँदै मानसरोबरसम्म जाने व्यवस्था मिलाउन चीन सरकारसँग कुटनीतिक पहल गर्नुपर्ने कर्णाली पर्यटन उद्यमी समाजले बताएको छ । अध्यक्ष रोकायाले कर्णालीका हिमालहरु पहिचान गरी पर्यटकहरुलाई आरोहणका लागि खुला गर्नुपर्ने बताए । कर्णालीको समग्र विकासका लागि रारा पर्यटन विकास प्राधिकरण वा कर्णाली विकास बोर्डको स्थापना गर्नुपर्ने पनि उनको भनाई छ । त्यस्तै, कर्णालीमा सेवा दिँदै आएका बिमान कम्पनीहरुलाई हवाई इन्धन, ल्यान्डिङ, पार्किङ र करमा विशेष छुट दिई सहुलियत भाडा दर कायम गराउनुपर्ने पनि माग गरिएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले गत बैशाख २६ गतेदेखि लिएको कक्षा १२ को परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको र नतिजा वेबसाइटमा राख्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी भएका थिए । यसरी हेर्न सकिन्छ नतिजा कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस, युएसएसडी र आइभिआरबाट हेर्न सकिने भएको छ । आइभिआरबाट नतिजा थाहा पाउन ल्यान्ड लाइन फोन र मोबाइलबाट १६०० डायल गरेर प्राप्त हुने निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसबाट नतिजा थाहा पाउन मोबाइलको एसएमएस बक्समा गएर NEB< space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्छ । त्यस्तै युएसएसडीबाट नतिजा थाहा पाउन *1600 # डायल गरी प्राप्त निर्देशनअनुसार गर्नुपर्छ भने वेबबाट नतिजा हेर्नको लागि नेपाल टेलिकमको https://neb.ntc.net.np बेबसाइटमा जानुपर्ने हुन्छ । जहाँबाट मार्कसिटसहितको नतिजा समेत प्राप्त गर्न सकिन्छ । साथै राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट https://www.neb.gov.np/results मा गएर पनि नतिजा हेर्न सकिन्छ ।

‘बिहार परीक्षा बोर्ड’ले डा. सुनिल शर्मालाई अनभेरिफाइड भनिदिएपछि…

काठमाडौं । नेपाली कांगेसका नेता तथा मेडिकल कलेज सञ्चालक डा. सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साउन २५ मा पक्राउ गर्दा देश नै तरङ्गीत बन्यो । सत्तारूढ दलको बहालवाला सांसद पक्राउ पर्दा कतिपयले आश्चर्यसमेत व्यक्त गरे । डा. शर्मा पक्राउ परेपछि अरू पाँच जना डाक्टर पनि सोही दिन पक्राउ परेका थिए । कांग्रेसको संस्थापन इतर खेमामा रहेका डा. शर्मालाई पक्राउ गर्नकै लागि अन्य डाक्टरलाई समेत पक्राउ गरेको टिप्पणी भएपछि सिआइबीले त्यसको खण्डन गरेको छ । डा. शर्माको शैक्षिक प्रमाणपत्र नक्करी रहेको उजुरीको आधारमा उनीमाथि पटक पटक अनुसन्धान भएको छ । गत साउन ५ गते मेडिकल काउन्सिलबाट शर्माको बारेमा थप जानकारी आएपछि सिआईबीले अनुसन्धानको लागि प्रक्राउ गरेको सिआइबीका अधिकारीहरुले बताएका छन् । विभिन्न विश्वविद्यालयमा अध्ययन गरेको भनिएका मध्ये ८०९ जना डाक्टरको प्रमाणपत्रमाथि सिआइबीले २०७३ सालमा अनुसन्धान गरेको थियो । जसमध्ये १०९ जनाको सर्टिफिकेटलाई भारतको ‘बिहार इक्जामिनेसन बोर्ड’ले अनभेरिफाइड भनिदिएको थियो । सोही बोर्डबाट प्राप्त अनभेरिफाइडको सूचीमा डा. सुनिल शर्माको नाम समेत उल्लेख छ । त्यतिबेला सिआइबीले शुरु गरेको ‘अपरेसन क्वाक’ अन्तर्गत ५९ जना मात्रै पक्राउ परेका थिए । बाँकी ५० जना भने फरार भएका थिए । त्यसबेला पक्राउ पर्ने डरले शर्मा पनि फरार भएका थिए । पछि उनी नेपाली कांग्रेसकोतर्फबाट संसदीय राजनीतिमा आए । २०७४ को निर्वाचनमा पराजय भएका शर्मा २०७९ को निर्वाचनबाट भने सांसद बनेर आाए । त्यसबेला सिआइबीले पक्राउ परेका विरुद्धमा मात्रै अदालतमा मुद्दा दर्ता गरेको थियो । सिआइबीले अदालतमा मुद्दा दर्ता गरेकामध्ये कतिपय साधारण तारेखमा छुटे भने केहीले २५ लाख रूपैयाँसम्म धरौटी बुझाएर छुटेका थिए । मेडिकल काउन्सिलले गत साउन ५ मा डा. सुनिल शर्मासहित १३ जनाको प्रमाणपत्र अनुसन्धान गर्न सिआइबीलाई पत्र पठाएको थियो । मेडिकल काउन्सिलको त्यहीँ सूचीमाथि सिआइबीले ‘अपरेसन फस्ट्रोट’ सञ्चालन गरेर १३ जनालाई नै गिरफ्तारको प्रयास गरेको तर, ७ जनालाई मात्रै पक्राउ गर्न सकिएको सीआईबीका एक अधिकारीले बताए । बाँकी ६ जना भने फरार छन् । डा. शर्माले रिहा भएपछि सरकारले प्रतिशोध साँध्न गिरफ्तार गरेको बताउँदै आएका छन् ।

लम्पीस्किन रोगको सङ्क्रमणले चितवनमा दूध उत्पादन घट्यो

चितवन । चितवन जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए। उनका अनुसार अघिल्लो आवमा  ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ । उनका अनुसार अघिल्लो आवमा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ । उनका अनुसार विसं २०७७ बाट सुरु भएको लम्पीस्किन रोगको सङ्क्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो । रोग सङ्क्रमणभएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उनले बताए । डा आचार्यले भने, ‘लम्पी स्किनका कारण दूध उत्पादनमा कमी आएको छ । बजारमा दूधको माग पनि घटेको छ ।’ दूध उत्पादन बढाउनका लागि जिल्लामा लम्पीस्किनविरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । लम्पी स्किन रोग नियन्त्रणमा आएपछि विस्तारै दूध उत्पादनमा वृद्धिमा उनको विश्वास छ । उनले भने, ‘जाडो मौसम सुरु भएसँगै रोगको सङ्क्रमण कम हुने र दूध उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौँ ।’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दैनिक दूध उत्पादनमा गिरावट आएको बताए । उनले भने, ‘रोग लागेपछि दूध उत्पादन घट्ने र गाईभैँसी मर्ने हुँदा दूध उत्पादनमा कमी आएको छ ।’ भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालन गरिएको छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म ११ हजार चार सय ७० पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । यो रोगका कारण हालसम्म जिल्लामा दुई सय ९५ गाई मरेका छन् । सङ्क्रमण बढ्दै गएका कारण प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको डा आचार्यले बताए । हालसम्म २० हजार नौ सय १२ डोज खोप पशुमा लगाइएको छ । अहिले प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोप अभियानसमेत साताव्यापी रुपमा सञ्चालन गरिरहेको बताउँदै उनले सङ्क्रमणमा केही कमी आउने विश्वास व्यक्त गरे । रासस

पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण

डुम्रे । पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारका क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नु परेको छ । पोखरा–मुग्लिन सडकअन्तर्गत करिब ९० किलोमिटरमध्ये पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको निर्माण कछुवा गतिमा भएको छ । सडक विस्तारले आँबुखैरेनीदेखि पोखरासम्मको बाटो छिचोल्न यात्रुलाई निकै सास्ती हुने गरेको छ । सडकका विभिन्न स्थानमा ढुङ्गा, माटो हुँदा यात्रा सकसपूर्ण हुने गरेको छ । सडक छेउबाट पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको व्यास नगरपालिका–१२ का तारा पन्थले बताए । उनका अनुसार यस सडक छेउमा घर भएकाले केही कामका लागि निस्कँदा पनि सास्ती खेप्नुपर्ने अवस्था छ । ‘राजमार्गकै बाटो भएर बारीसम्म पुग्न पनि सकस छ, दैनिक रुपमा यस मार्ग हुँदै अध्यापनका लागि विद्यालयसम्म पुग्न सास्ती भएको छ, घाम लागे धुलो, पानी परे हिलोले यात्रा गर्न कठिन छ’, पन्थले भने । ग१ख ७२५७ नं बसका चालक विशाल लामाले पोखरा–नारायणगढसम्म सडक विस्तारको सास्ती भोग्दै दैनिक यात्रु बोकेर यात्रा गरिरहेको बताए । उनले भने, ‘असाध्यै गाह्रोका साथ यात्रा गर्नुपर्छ, सडक विस्तारको जिम्मा लिएको कम्पनीले सामग्री जथाभावी राखिदिँदा समस्या भएको छ ।’ पहिले मुग्लिनमा पहिरा खस्छ भन्ने चिन्ता हुने गरेको प्रसङ्ग सुनाउँदै उनले अहिले पृथ्वी राजमार्गकै तनहुँ खण्डको अवस्था त्यस्तै रहेको  बताए । केही मात्रामा निर्माण कम्पनीले व्यवस्थापनका काम गरिदिए यात्रा सहज हुने लामाले बताए। ग२प ९९० नं बसका चालक आशिष श्रेष्ठले दैनिक रुपमा तीन पटकसम्म यात्रु बोक्ने गरेकामा अहिले एक पटक यात्रा गर्न पनि सकस भएको बताए । उनले भने, ‘विस्तारका क्रममा भएका ठूला खाल्डाखुल्डीको व्यवस्थापन गरिदिए यात्रा गर्न सहज हुने थियो, ठूला खाल्डाखुल्डीले गर्दा बसको कतिबेला पट्टा भाँचिन्छ र यात्रा बीचैमा रोकिन्छ भन्दै यात्रा गर्नुपर्ने अवस्था छ, निर्माण कम्पनीले त्यसतर्फ ध्यान दिए पुग्थ्यो ।’ साना सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधन चलाउन बढी समस्या भएको उनको भनाइ छ । निर्माण पक्षले यस सडकको यात्रा सहजताका लागि समयमै काम गरिदिए यात्रुले भोग्नु परेका समस्या समाधान हुने थियो । कतिपय स्थानमा ठूला सवारीसाधन सडक पार गर्न सक्छन् भने साना तथा दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था नै छैन । खाल्डो पार गर्ने क्रममा दुर्घटना हुने गरेको छ । बर्सातको समय भएकाले यस सडकमार्फत यात्रा गर्दा अधिकांश स्थानमा पहिरा खस्ने गरेको छ । लामो समयसम्म आधा बाटोमै रोकिनुपर्ने अवस्था छ । हाल पहिराका कारण केही स्थानमा एकतर्फी मात्रै सडक सञ्चालनमा छ । पूर्वी खण्डको २०७७ माघ १७ गते सम्झौता भएको थियो । उक्त खण्डको २०७८ वैशाख २ गतदेखि निर्माण सुरु भएको हो ।  रासस

महालक्ष्मी विकास बैंक ‘विएफआइएन एल एण्ड डि एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मानित

काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै बैंकिङ, फाइनान्स, एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल (विएफआइएन) द्वारा प्रदान गरिने एल एण्ड डि एक्सिलेन्स अवार्ड २०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । सोमबार अलफ्ट काठमाडौं होटलमा सम्पन्न लिडरर्स फर द नेक्ष्ट जेनेरेशनः एक्पेक्ट द अनएक्पेक्टेड कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेकाे  बैंकले जनाएकाे छ। ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।