दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान रोक्नु अव्यवहारिक, १३ प्रतिशत कर हटाउन माग

<p>काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ । मंगलबार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकुल मौसम हुँदा पनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय तत्काल सच्याउन माग गरेको हो । प्राधिकरणको सो निर्णयले [&hellip;]</p>

काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ ।

मंगलबार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकुल मौसम हुँदा पनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय तत्काल सच्याउन माग गरेको हो ।

प्राधिकरणको सो निर्णयले कर्णालीका आम जनता, विद्यार्थी, कर्मचारी, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ओसार–पसारमा समस्या भएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए ।

मौसम अनुकुल भएको बेलामा दिनभर उडान गर्न सक्ने गरी निर्णय गरिदिनुपर्ने उनले बताए ।

त्यसैगरी, हवाई टिकटमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था हटाउन पनि समाजले माग गरेको छ । कर्णालीका नागरिकहरुको हवाई सेवा बाहेक अरु विकल्प नभएको भन्दै अध्यक्ष रोकायाले बिरामी, शव, खाद्यान्न सामग्रीमा समेत कर तिर्नुपर्ने बाध्यतालाई हटाउन सरकार समक्ष माग गरेको उनले बताए ।

त्यसैगरी, भारतीय पर्यटकहरुलाई नेपाली बाटो हुम्लाको हिल्सा हुँदै मानसरोबरसम्म जाने व्यवस्था मिलाउन चीन सरकारसँग कुटनीतिक पहल गर्नुपर्ने कर्णाली पर्यटन उद्यमी समाजले बताएको छ ।

अध्यक्ष रोकायाले कर्णालीका हिमालहरु पहिचान गरी पर्यटकहरुलाई आरोहणका लागि खुला गर्नुपर्ने बताए ।

कर्णालीको समग्र विकासका लागि रारा पर्यटन विकास प्राधिकरण वा कर्णाली विकास बोर्डको स्थापना गर्नुपर्ने पनि उनको भनाई छ ।

त्यस्तै, कर्णालीमा सेवा दिँदै आएका बिमान कम्पनीहरुलाई हवाई इन्धन, ल्यान्डिङ, पार्किङ र करमा विशेष छुट दिई सहुलियत भाडा दर कायम गराउनुपर्ने पनि माग गरिएको छ ।

Share News