
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलबारबाट सम्पन्न भएको बताएको छ ।
तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलबार सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिँदै दुवै कार्र्यालयमा सांकेतिक तालाबन्दी गरिएको थियो ।
शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले सेफ्टी ज्याकेट, हेल्मेट र हातमा कालो पट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका हुन् ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्ना सहित सांकेतिक ताला लगाएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामानेतृत्वको टोलीले सिंचाई विभागमा नाराबाजी गर्दै सांकेतिक ताला लगाएको हो ।
सडक विभागको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका जायजमाग राज्यले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले महासंघको आन्दोलन समृद्ध निर्माण उद्योग स्थापनामा केन्द्रीत रहेको बताए ।
यसैबीच, आन्दोलनरत महासंघलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक पत्र आएपछि महासंघको मंगलबार सम्पन्न कार्य समिति बैठकले अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
महासंघले सरकारबाट छलफलका लागि बोलाइनु सकारात्मक भएको ठहर गर्दै माग पूरा नभएसम्म सांकेतिक प्रदर्शन भने जारी राख्ने भएको छ ।
जसअन्तर्गत ७७ जिल्ला संघहरूले बुधवारदेखि आ—आफ्नो कार्यालयमा महासंघको ९ बुँदे माग सहितको ब्यानर राख्ने भएका छन् ।
व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने लगायतको माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा थिए ।