भदौमा अधिकांश बैंकको ब्याज बढ्ने, पैसा खोस्ने प्रतिस्पर्धाले फसाद

<p>काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन् । कम ब्याज भएका बैंकहरुको निक्षेप बढी  ब्याज भएका बैंकले खोसेपछि भदौमा ब्याज बढाउने तयारी अधिकांश बैंकले गरेका हुन् । पछिल्लो सयम बैंकहरुले ब्याजदर निर्धारणमा भद्र सहमति तोडेपछि स्वतन्त्र रुपमा निर्धारण गर्दै आएका थिए । तर, साउनमा केही बैंकले ब्याज बढाएपछि निक्षेप खोसिएका बैंकहरुले भदौमा बढाउने [&hellip;]</p>

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन् । कम ब्याज भएका बैंकहरुको निक्षेप बढी  ब्याज भएका बैंकले खोसेपछि भदौमा ब्याज बढाउने तयारी अधिकांश बैंकले गरेका हुन् ।

पछिल्लो सयम बैंकहरुले ब्याजदर निर्धारणमा भद्र सहमति तोडेपछि स्वतन्त्र रुपमा निर्धारण गर्दै आएका थिए । तर, साउनमा केही बैंकले ब्याज बढाएपछि निक्षेप खोसिएका बैंकहरुले भदौमा बढाउने तयारी गरिरहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले बताए ।

उनका अनुसार साउनमा केही बैंकले घटाउँदा र केहीले यथावत राख्दा बढी ब्याज भएको बैंकले कम ब्याज भएको बैंकबाट पैसा तानेका थिए । निक्षेपकर्ताले कम ब्याज भएको बैंकबाट पैसा निकालेर बढी भएको बैंकमा जम्मा गरेका थिए । अब त्यो अभ्यास रोक्नका लागि कम ब्याज भएका बैंकले पनि भदौमा ब्याज बढाउने तयारी गरेको ती बैंकरको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंककी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सरस्वती अधिकारी ब्याजदर घटाउँदा निक्षेप बाहिरीएको बताउँछिन् । साथै, संस्थागत निक्षेप नवीकरणमा सकस परेकाले भदौमा ब्याज बढाउने उनको भनाइ छ । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ब्याज अन्य बैंकको भन्दा कम रहेकाले बढाउनै पर्ने बाध्यता छ ।

‘राष्ट्रिय वाणिज्य बैंकको ब्याज सबैभन्दा कम छ, अन्य बैंकको ब्याज बढी भएपपछि समस्या पर्यो, नवीकरण गर्दा झनै सकस परेको छ, हाम्रो बैंकमा ब्याज कम हुँदा निक्षेप निकालेर अन्य बैंकमा जान थाले, त्यसैले भदौमा राष्ट्र बैंकको निर्देशन भित्र रहेर ब्याज बढाउछौं,’ डीसीईओ अधिकारीले भनिन् ।

केही बैंकको ब्याज उच्च रहेकाले त्यति धेरै नपुर्याउने उनको भनाइ छ । स्थानीय तहको १२ अर्ब ९० करोड रुपैयाँ निक्षेप सरकारले निकालेपछि ब्याजदर बढाउन दबाव परेको उनको धारणा छ ।  साथै, बैंकमा कर्पारेट निक्षेपको परिपक्वता अध्ययन गरेर कति ब्याज बढाउने भनेर निर्णय गर्ने उनको भनाइ छ ।

‘बैंकलाई तरलता अभाव छैन, कर्पोरेट निक्षेपमा १ प्रतिशतभन्दा बढी अन्तर भएपछि धेरै फरक पर्छ, कर्पोरेट निक्षेपको अध्ययन गरेर ब्याजदर कति बढाउने भनेर निर्णय गर्छौं,’ उनले भनिन्, ‘भद्र सहमति तोडेपछि ब्याजदर बढ्ने देखियो तर, अहिले स्थानीय तहको निक्षेप निकालिएको हुँदा यो समस्या देखिएको हो, दीर्घकालमा धेरै माथि जाँदैन किनभने बैंकहरुले ट्रेजरी बिलमा लगानी गरेर तरलता त्यता पठाएका थिए, अब त्यो विस्तारै परिपक्व भएर तरलता पनि सहज हुन्छ ।’

साउनमा ब्याज बढाएका बैंकहरुले निक्षेप खोसेको आरोप एक बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले विकासन्युजलाई बताए । ब्याज घटाएका बैंकहरुलाई साउनमा ठूलो समस्या परेको उनको भनाइ छ ।

यसअघि नेपाल बैंकर्स संघले ब्याजदर निर्धारण गर्ने गरेको थियो । तर, साउनदेखि भद्रसहमति तोडेपछि केही बैंकहरुले ब्याज बढाएका थिए भने केही बैंकले घटाएका थिए ।

‘जुन बैंकले ब्याज बढाए अन्य बैंकमा भएको सबै पैसा बगेर बढी ब्याज भएको बैंकमा पुग्यो, ब्याजदरको भद्र सहमति तोड्दा घट्ने भन्दा बढ्ने सम्भावना देखियो, भदौमा बैंकको ब्याजदर बढ्छ,’ उनले भने, ‘निक्षेप खोसिन थालेपछि कम ब्याज भएका बैंकहरुले बढाउनै पर्ने बाध्यता छ ।’

कम ब्याज भएका बैंकका सीईओहरुले पुरानै भद्रसहमति अनुसार ब्याजदर निर्धारण हुनु पर्ने आवाज उठ्न थालेको ती सीईओ बताउँछन् ।

ब्याजदर खुला छाडेपछि साउनमा ४ वाणिज्य बैंकले ब्याजदर बढाएका थिए । नबिल बैंकले मुद्दती निक्षेपमा १०.४९ प्रतिशत, प्राइम कमर्सियल बैंकले १०.९३ प्रतिशत, एनएमबी बैंकले १०.९८ प्रतिशत र कुमारी बैंकले १०.९३६ प्रतिशत पुर्याएका थिए ।

साउनमा राष्ट्रिय वाणिज्य बैंकले संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ न्यूनतम ६.९५ प्रतिशत र ब्यक्तिगततर्फ ८.९५ प्रतिशत, माछापुच्छ्रे बैंकले संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत, प्रभु बैंकले संस्थागततर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत तोकेका थिए ।

यस्तै, एभरेष्ट बैंकले संस्थागततर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत, नेपाल एसबिआई बैंकले संस्थागत तर्फ ७.१० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत, कृषि विकास बैंकले संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र नेपाल बैंकले संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशत ब्याज दिइरहेका छन् ।

ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक र हिमालयन बैंकले भने साउनमा ब्याजदर स्थिर राख्दै संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत प्रदान गरिरहेका छन् ।

Share News