विकासन्युज

एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा अहिले भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो । पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् । नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

राष्ट्रिय लोकमार्गको दुरावस्था : यात्रुलाई सास्ती

ढोरपाटन । सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् । यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्र गर्नका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई खण्ड बनाएर ठेक्का लगाएको थियो । बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्स्ट्रक्सन सिद्धिसाई जेवीसँग विसं २०७३ माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर कालोपत्रका लागि एमपिएससिएफ इसिसी जेभीसँग विसं २०७२ माघमा सम्झौता भएको थियो । बागलुङ–ताराखसे खण्ड विसं २०७६ माघसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म चार पटक म्याद थप गर्दा पनि ७२ प्रतिशत भौतिक प्रगति भएको लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । यसको म्याद गत असार २० मा सकिएको थियो । त्यस्तै, ताराखसे–घोडाबाँधे खण्ड पाँच वर्षअगाडि नै सक्नुपर्नेमा पाँचौँ पटक म्याद थप गर्दा पनि ७४ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पवन सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डको म्याद गत असार ५ गते सकिएको हो । बागलुङ–ताराखसे खण्ड निर्माणका लागि  ४० करोडमा सम्झौता भएको थियो भने ताराखसे–घोडाबाँधे खण्डका लागि  ३४ करोडमा सम्झौता भएको इन्जिनियर सुवेदीले जानकारी दिए। आयोजना कार्यालयले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ । ठेक्का सम्झौता अन्त्य भए पनि अहिलेसम्म नयाँ ठेक्का प्रक्रिया अगाडि बढ् नसकेको बताउँदै नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरिएको उहाँले जानकारी दिए । ‘माथिल्लो खण्डको काम निर्माण कम्पनीले ढिला सुस्ती गरेकाले कार्यालयले पत्रिकामा सूचना निकालेर सम्झौता रद्द गरेको छ । सम्झौता रद्द गरेपछि निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । हामी गएर जफाफ दियौँ, अदालतले स्टेअडर दिएन,’ इन्जिनियर सुवेदीले भने, ‘अब कामको मूल्याङ्कन गरेर नयाँ ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ, त्यसका लागि लाग्ने सबै लागत पुरानै निर्माण कम्पनीले असुल गर्नुपर्ने हुन्छ । अहिले मूल्याङ्कन गर्ने र कम्पनीलाई लाग्ने लागत असुली गर्ने प्रक्रिया सुरु भएको छ ।’ लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयवासीले सडक नै अवरुद्ध गरेका थिए । इन्जिनियर सुवेदीले सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्द गर्ने स्थितिमा पुगेको भन्दै यस खण्डअन्तर्गत छ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी दिए । थप दुई किलोमिटर कालोपत्रका लागि तयारी अवस्थामा रहेको जनाउँदै चार किलोमिटर ग्राभेलको काम र दुई किलोमिटर नाली निर्माण गर्न बाँकी रहेको उनले बताए । इन्जिनियर सुवेदीका अनुसार तल्लो बागलुङ–ताराखसे खण्डको हालसम्म सात किलोमिटर कालोपत्र भएको छ । एक किलोमिटरमा कालोपत्र गर्न तयारी अवस्थामा रहेको, पाँच किलोमिटर सडक फराकिलो गरी ग्राभेल र कालोपत्र गर्न बाँकी रहेको उनले बताए । यस खण्डको ठेक्का सम्झौता अन्त्यका लागि तयारी गरे पनि सरकारले सार्वजनिक खरिद निवामावलीको १२औँ संशोधन नियम १२० (क) बमोजिम म्याद थप भएका ठेक्काको सम्बन्धमा विभिन्न कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकामा सम्बन्धित कार्यालय प्रमुखले एक पटकसम्मलाई म्याद थप सक्ने भनेअनुसार पत्र आएको हुँदा रोकिएको इन्जिनियर सुवेदीले बताउनुभयो । स्थानीय र पालिकाले यस खण्डको काम निर्माण कम्पनीलाई अन्तिम पटक दिइने सहमति भएको उनको भनाइ थियो । स्थानीय र यात्रुले भने दुई खण्डका निर्माण कम्पनीलाई कारबाही गरी नयाँ सम्झौता गर्नुपर्ने माग गर्दै आएका छन् । बर्खाका कारण सडकको अवस्था बिजोग रहेको भन्दै यात्रा गर्न निकै गाह्रो भएको यात्रु दिलबहादुर क्षेत्रीले बताए । कच्ची सडकबाट भल बगेर कालोपत्र सडकसमेत क्षतविक्षत भएको भन्दै आधा घण्टा लाग्ने दूरीमा अहिले दुई घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । सडकमा नाली नहुँदा वर्षाको भल सडकको बीच भागबाट बग्दा ठूला–ठूला खाल्डो परेको क्षेत्रीले बताए । ‘घोडाबाँधेदेखि बागलुङ बजारको दूरी जम्मा २५ किलोमिटर हो, यो दूरीमा समय लाग्ने भनेको आधा घण्टा हो तर सडकको अवस्था खराब हुँदा दुई घण्टा लाग्छ, सडक खोला जस्तो भनेको छ, ठूलो पानी पर्दा भल भग्छ, भलले गाडी नै बगाउला जस्तो गर्छ’, उनले भने, ‘यस्तो सडकमा ज्यान धरापमा राखेर यात्रा गर्नुपर्छ, यो अहिलेको मात्रै समस्या होइन, २०औँ वर्षभन्दा बढी भयो, धेरै पटक यस क्षेत्रबाट सांसद भने मन्त्री बने तर यति बाटो बनाउन सकेनन् ।’ स्थानीय पवन कँडेलले बर्खाको समयमा हिलो र हिउँदमा धुलो घरभित्रै आउने हुँदा सडक नजिकका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाए । यति बेला लोकमार्ग आसपासका घर र बारीमा भएका फलफूल सबै सडकबाट उछिट्टिएका हिलोले पुरिएको बताए । दैनिक सयौँ गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेको भन्दै स्थानीय पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । रासस

नेपाल-पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा विदा

काठमाडौं । नेपाल र पाकिस्तानबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि जनकपुरधाम उप-महानगरपालिकाले  विद्यालयहरु विदा दिएको छ । आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको  हो । भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै उपमहानगरले आज नेपालले पाकिस्तासँग एशिया कपको पहिलो खेल खेल्न लागेकोले टिमको हौसला बढाउन विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउन २:०० बजे पछि कुनै पनि कक्षा संचालन नगरी विदा गर् विद्यालयहरुलाई निर्देशन दिएको छ । पहिलो पटक एशिया कप खेल्न लागेको नेपाली टोली आज दिउँसो ३ बजेपछि पाकिस्तानसँग पहिलो खेल खेल्दै छ ।

सहकारी विभागले सार्वजनिक गर्‍याे समस्याग्रस्त सहकारीको सूची

काठमाडौं । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको सूची सार्वजनिक गरेको छ । विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषणा गरिएको १३ वटा सहकारी नामावली सार्वजनिक गरेको छ । पछिल्लो समय सहकारी क्षेत्रमा चरम समस्या देखिएको भए पनि विभागले भने गत साउनमा एउटा मात्रै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । पछिल्लोपटक भने गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो । विभागले जारी गरेको सुचीमा २०७६ भन्दा अगाडि नै समस्याग्रस्त घोषणा भएका धेरै वटा सहकारी संस्थाको नाम छन् । २०७५ सालमा ९ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । विभागले २०७४ कात्तिक २० गते ओरेन्टल को–ओपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

स्थानीय उत्पादन प्रवर्द्धनको लागि विराटनगरमा स्याटर्डे मार्केट

काठमाडौं । विराटनगरमा प्रत्येक शनिबार ‘मेरो देश, मेरो उत्पादन’ भन्ने नारासहित स्याटर्डे मार्केट सञ्चालन हुने भएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको सहकार्यमा शनिबारीय बजार सुरु गर्न लागिएको उद्योग संगठन मोरङले बताएको छ । घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहन गर्नको लागि शनिबारीय बजार सुरु गर्न लागिएको बताइएको छ । भदौ १६ गते शनिबारबाट यस्तो बजार सुरु गर्न लागिएको उद्योग संगठन मोरङले बताएको छ । युवा तथा महिलाहरुमा निहित सीपको प्रयोगबाट घरमै उत्पादन भएका बस्तुको बजार व्यवस्थापन गरिदिने उद्देश्यले यस्तो सातामा एक दिन बजार सुरु गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । मोरङ संगठनको प्राङगणमा आयोजना हुने बजारमा १७ देखि २१ वटासम्म स्टल रहने र प्रत्येक स्टलले तीन सय रुपैया तिर्नुपर्ने छ । बजारमा घरायासी प्रयोजनका सामाग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रिहरु, खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु जस्ता समाग्री रहने छन् ।

किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै, प्रतिक्रेट ४५५ रुपैयाँ तोकियो

चितवन । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठूलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट (३० वटा) चार सय ५५ र मिडियम चार सय २५ तोकेको छ । यस अघि अण्डाको मूल्य प्रतिक्रेट चार सय ५० तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ हुन आउँछ । किसानले हाल १५ पाएका छन् । उनको भनाइमा अहिले चल्लाको मूल्य एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० पर्दछ । कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ सम्म पर्ने बताए । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा एक सय ६५ खर्च हुने उनको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत १४ पैसा ८० पर्ने ढकालको दाबी छ । उनले भने ‘बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य १७ पर्न आउँछ ।’ पछिल्लो समय बढेको मूल्यमा किसानले बैंक ब्याज र किस्ता छाडेर लागत मूल्य पाउने उनको भनाइ छ । सङ्घका अध्यक्ष विनोद पोखरेल लागतभन्दा कममा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको बताउछन् । उनले भने ‘लागत मूल्य पाउन नसकेपछि ३० प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् ।’ झण्डै एकवर्ष यता स्वयं व्यवसायीको अग्रसरतामा गरिएको बजारीकरणपछि अण्डाले मूल्य पाएको भन्दै उनले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए । उनले भने ‘हामी देशैभर दौडाहा अभियानमा लागेर बजारीकरण गरेकै कारण लागत मूल्य नजिक पुगेका छौं ।’ धेरै किसान ऋण तिर्न सक्ने नरहेको जनाउँदै उनले केही ऋण थपेर उनीहरुलाई पुनः पेसामा फर्किन वातावरण तयार पार्नुपर्ने उनले बताए। नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेलले अबका दिनमा लागत मूल्य पाउन नसके सबै किसान विस्थापित हुने बताए। उनले भने ‘दाना र औषधिको मूल्य दोब्बरभन्दा बढी हुँदा अण्डाको उस्तै छ ।’ दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले एकीन तथ्याङ्क नभए पनि ३५ लाखको हाराहारी मात्रै उत्पादन हुने गरेको छ । दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्यधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुँदै गएका हुन् । यसैबीच नेपाल लेयर्स कुखुरा पालक सङ्घको पोखरामा मङ्गलबार सम्पन्न बैठकले आगामी असोज २६ गते विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । असोज २० गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सुरु गरिने सप्ताहव्यापी कार्यक्रको समापन पोखरामा गरिँदै छ । सङ्घका अध्यक्ष पोखरेलका अनुसार यस अवधिमा मानव स्वास्थ्यमा अण्डाको महत्वको बारेमा देशव्यापी रुपमा प्रचारात्मक कार्यक्रम गरिने छ । अनाथालय, वृद्धाश्रम, अस्पताल लगायतका क्षेत्रमा अण्डा वितरण गरिँदै छ । जिल्ला जिल्लामा कार्यक्रम गरिने उनले जानकारी दिए । डा. अशेष भट्टराईको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम मनाउन लागिएको हो । अध्यक्ष पोखरेलले भने ‘अण्डाको प्रबद्र्धन र सामाजिक उत्तरदायित्व अन्तर्गतका काम हामीले गर्छौ ।’ अण्डा दिवसमा पहिलो पटक देशव्यापी रुपमा कार्यक्रम गर्न लागिएको पोखरेलको भनाई छ । सरकारी निकायसँग सहकार्य गरेर सप्ताहव्यापी कार्यक्रम घोषणा गरिने उनले जानकारी दिए । रासस

खातामा साढे १५ खर्ब विदेशी मुद्रा, साट्न जाँदा ३०० डलर भन्दा बढी पाइँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही सयम अघि सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति छ । अझ अमेरिकी डलरमा हिसाब गर्दा ११ अर्ब ७४ करोड अमेरिकी डलर नेपालसँग छ । तर, राष्ट्र बैंकमा अमेरिकी डलर साट्न जाने नेपालीहरुले भने सहजै विदेशी मुद्रा पाइरहेका छैनन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई समेत प्रशस्त विदेशी मुद्रा उपलब्ध गराउन सकेको छैन् । पछिल्ला दिनमा राष्ट्र बैंकमै विदेशी मुद्रा साट्न जाने नेपालीहरुको ताँती नै लाग्ने गरेको छ । विगतमा दैनिक ७/८ सय जनाले विदेशी मुद्रा सटही गरिरहेका भए पनि आइतबार भने १५ सयको हाराहारीमा मानिसहरु विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैैंक पुगेका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । ‘दैनिक सयौंको संख्यामा विदेशी मुद्रा सटहीका लागि आइराख्नु भएको छ, विद्यार्थी, पर्यटक लगायत सबै जना विदेश गइरहेका छन’, पोखरेलले भने । तथ्यांकमा हेर्दा विदेशी मुद्राको सञ्चिति प्रशस्त देखिने तर, नगद लिन जाँदा नपाउने अवस्था कसरी भयो ? राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेल भन्छन्, ‘बैंकको खातामा विदेशी मुद्रा प्रशस्त छ । तर, हामीसँग अहिले विदेशी नोट कम भएकोले मागे जति दिन सकेका छैनौं ।’ अन्य बैंकहरुको पनि अवस्था त्यस्तै छ । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली पनि विदेशी नोट पर्याप्त नहुँदा ग्राहकले मागे जति नगद दिन नसकिएको बताउँछन् । अहिले वाणिज्य बैंकदेखि राष्ट्र बैंकसम्मै विदेशी मुद्रा साट्न जानेमध्ये विद्यार्थी धेरै छन् । विदेश अध्ययनमा जाने विद्यार्थीहरु आफु जाने देशको मुद्रा अथवा अमेरिकी डलरको माग गर्दै राष्ट्र बैंक पुग्ने गरेका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट डलर सटही सुविधालाई खुकुलो बनाएको थियो । राष्ट्र बैंकले प्रतिब्यक्ति १५ सयबाट बढाएर २५ सय डलरसम्म नगद सटही गर्न सक्ने व्यवस्था गरेको छ । तर, अमेरिकी डलरको नोट अभाव भएपछि राष्ट्र बैंकले नै ३/४ सय अमेरिकी डलर मात्रै उपलब्ध गराइरहेको डा. पोखरेल बताउँछन् । राष्ट्र बैंकमा नगद नै माग गरेर गइरहेकाहरूलाई भने डलर कार्ड बनाउन र त्यसैमा पैसा लोड गर्न आग्रह गरिरहेको पोखरेलले बताए । ‘राष्ट्र बैंकले २५ सय डलर नै उपलब्ध गराउन सकेको छैन, अहिले ३/४ सय डलर मात्रै दिइरहेको छौं, नगदमा हामी धेरै दिन सक्दैनौं, डलर कार्ड बनाउनुहोस् भनिरहेका छौं’, उनले भने । हिमालयन बैंकका सहायक सीईओ गोर्खालीले पनि बैंकहरूमा विदेशी मुद्राको नगद सञ्चिति नभएपछि ग्राहकले मागेजति विदेशी मुद्रा नगदमै दिन नसकिएको र थोरै दिएर फर्काउने गरेको बताए । नेपालमा १५ खर्ब विदेशी मुद्रा सञ्चिती भएपनि त्यो खातामा मात्रै सीमित रहेको उनले बताए । नेपालमा बैंकिङ प्रणालीमा विदेशी मुद्रा (नगदमा) अभाव हुनुको कारण पर्यटनमा आएको कमी मुख्य रहेको बैंकरहरु बताउँछन् । पर्यटन नेपाल आउँदा उनीहरुले विदेशी मुद्रा ल्याइदिने हुँदा बैंकिङ प्रणालीमा अमेरिकी डलर नगदमै रहन्थ्यो । ‘विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदा प्रतिब्यक्ति ५/७ हजार डलर साट्छन्, त्यसरी नगद बढी हुन्थ्यो तर, अहिले पर्यटक पनि कम आएका छन्, साथै पयर्टकहरुले पनि डिजिटल कारोबार गर्न थाले, ट्राभल एजेन्सीलाई पनि नगद दिँदैनन्, क्रेडिट कार्डबाटै भुक्तानी गर्छन्, होटल रेष्टुरेन्टमा खाँदाबस्दा पनि कार्ड नै प्रयोग गर्छन्,’ उनले भने । नेपालीहरूलाई विदेश जाँदा कार्ड लिएर जानु भन्दा पनि नमान्ने गरेको गोर्खाली बताउँछन् । नेपालीहरुलाई नगद मात्रै कारोबार गर्ने बानी बसेकाले डलर कार्डको महत्व जानकारी नभएको उनले बताए । ‘हामीसँग प्रयाप्त मात्रामा विदेशी मुद्रा छ, बैंकहरुलाई डलर दिन केही समस्या छैन । तर, नगद मात्रै नभएको हो, विदेशी पर्यटकले नगद ल्याउने गरेका थिए । तर, पछिल्लो समय उनीहरुले पनि नगद ल्याउन छाडिसके,’ उनले भने, ‘नगद नभएपछि कार्ड लिएर जानुहोस् भन्दा नेपालीहरु मान्नुहुन्न ।’ साथै, दशैंमा हजारौं नेपालीहरु विदेश घुम्न जाने भएकाले अमेरिकी डलरको नगद माग अझै बढ्ने उनको भनाइ छ । उनका अनुसार यदि सबैलाई २५ सयका दरले नगद दिने हो भने पुग्दैन । ‘विदेशीहरु नेपालमा आउँदा एक हजार डलर मात्रै खर्च गर्छन्, तर नेपालीहरु विदेश जाँदा २५ सयदेखि चार हजार डलर खच गर्छन्,’ उनले भने । पर्यटनको सिजन सुरु हुन थालेकाले आगामी दिनमा नगदमा विदेशी मुद्रा बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । तर, विदेशी पर्यटकहरुले नगद नल्याइ कार्ड प्रयोग गरे भने समस्या हुन सक्ने बैंकरहरु बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले डलरको नगद अभाव हुन थालेपछि बैंकहरुले कार्डमा जोड दिइरहेको बताए । ‘बैंकहरुमा अहिले अमेरिकी डलरको नोट अभाव छ तर बैंकहरुले बाहिरबाट ल्याइरहनु भएको छ, राष्ट्र बैंकले पनि सहजीकरण गरिरहेको छ, रकम अभाव हुँदा कार्डलाई प्रमोट गरिरहेका छौं,’ उनले भने, ‘कार्ड सुरक्षित पनि हुन्छ, कार्ड प्रयोग गर्ने बानी नभएपनि बिस्तारै बानी बसाल्नु पर्छ ।’

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ । आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धन गर्नाका साथै केदारनाथको आवश्यक प्रचारका गर्न यही भदौ १० देखि १२ गतेसम्म केदारनाथ महोत्सवको आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सो महोत्सवमा जुम्लाका मात्र नभएर धेरै जिल्लाका नागरिक आएकाले यस स्थानको प्रचार भएको जानकारी दिए । नेपाल पर्यटन बोर्डको सहआयोजना र गाउँपालिकाको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागिता रहेको थियो । यसका साथै जिल्लामा रहेका सबै सरकारी कार्यालयका साथै अन्य व्यक्तित्वहरुले पनि सो महोत्सवको अवलोकन गरेका अध्यक्ष धितालले जानकारी दिए । उनले भने, ‘ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथमा मनोरम प्राकृतिक दुश्य, बहुधार्मिक, बहुजातीय, बहुभाषिक जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक खस संस्कृतिले भरिपूर्ण रहेको केदारनाथलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन केदारनाथमै ऐतिहासिक महोत्सव आयोजना गरियो र यो भव्यरुपमा सम्पन्न पनि भएको छ ।’ उक्त महोत्सवको आयोजना गरेर स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्नामा टेवा पुगेको धारणा उनको छ । महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु, सिमी, राडीपाखी, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्री राखिएको थियो । यी सामग्रीहरु महोत्सवका मुख्य आकर्षण रहेका  स्थानीयवासी लिला रावतको भनाइ छ । उक्त महोत्सवसम्म पुग्न सिञ्जा गाउँपालिकाले साङ्टाखोलामा पक्की पुल निर्माणका साथै रुद्रप्रयाग शिवमन्दिर पनि निर्माण गरेको छ । काफल दिवस, खस दिवस, खस पात्रो सार्वजनिक र स्याउ दिवसका पहिचान गराउनाका साथै महोत्सवमा इन्द्रेणी समूहको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो । सो धार्मिक  महोत्सवमा यहाँका  झण्डै दुई सय भन्दा बढी धामी झाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो । सो मेलामा मदिराको बिक्रीवितरण पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो । मेलाका लागि गाँउपालिकाको कुनै रकम खर्च नभएको सिंजा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए । महोत्सवमा १० हजार दर्शकले अवलोकन गरेका र स्थानीय परिकारका ३२ वटा स्टल राखिएको सिंजा गाउँपालिका प्रवक्ता तीर्थ वडले बताए । नेपाल पर्यटन बोर्ड, कृषि विकास कार्यालय जुम्ला र प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा महोत्सव सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । पर्यटकीय गन्तव्य सिंजाको केदारनाथ क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको स्थानीयवासी गोरे रोकायाले जानकारी दिए । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले  बताए । समुद्री सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइको लेकको काखमा अवस्थित केदारनाथ मन्दिरमा अरु समय पनि पूजाआजा र दर्शन गर्नेहरु निकै हुने गर्दछन् । सिंजाको विकास प्राथमिकतामा  खस नेपाली भाषाको जन्म थलो समेत रहेको सिंजा क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने कार्य कर्णाली प्रदेश सरकारको विशेष प्रथामिकतामा परेको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले जानकारी दिए । त्यसैगरी कर्णाली प्रदेश सरकारका कृषि मन्त्री भिमप्रकाश शर्माले सिंजाको रैथाने बालीदेखि अन्य क्षेत्रमा विकास गर्न प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताए। उता कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले सिंजाको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे । रासस