यस्ता छन् मन्त्रिपरिषद्का २० वटा निर्णय
काठमाडौं । सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका छन् । बैठकले विद्युत्सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । सरकारले अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीबाहेकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय, नेपालगञ्ज बाँकेको कार्यक्षेत्रमा राप्ती सोनारी गाउँपालिका वडा ३, ४, ५, ६ र ७ थप गर्ने निर्णय गरेको छ । बैठकले साँगु खोला जलविद्युत् आयोजना निर्माणका लागि दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा साँगु खोला १ जलविद्युत् आयोजनाको विभिन्न संरचनाको विकास निर्माणका लागि गौरीशङ्कर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । अरुण ३ जलविद्युत् परियोजना निर्माणका क्रममा उत्पादन हुने वेष्ट म्याट डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वेरी साइटको संरचना निर्माण गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ । सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा दिनेशकुमार घिमिरेलाई बढुवा र विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहलय विकास समितिको कार्यकारी निर्देशक पदमा डा सनतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०र८१ का लागि जम्मा ३८ राजपत्राङ्कित अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृति दिएको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति गत साउन २६ गतेदेखि लागू हुने गरी एक महिना थप गरेको छ । बैठकले २८ औँ वार्षिक सम्मेलन र अभियोजकको अन्तर्राष्ट्रिय सङ्घको साधारणसभामा महान्यायाधिवक्ता डा दिनमणि पोखरेललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने दिगो विकास लक्ष्य सम्मेलन २०२३ विषयक कार्यक्रममा सहभागी हुनका लागि जिल्ला समन्वय समितिका प्रमुख सुनसरीका राजन मेहता, रसुवाका अशोककुमार घिमिरे, काभ्रेपलाञ्चोकका दीपककुमार गौतम, रुकुम पश्चिमका लुम्बिनी गौतम र खोटाङका सनबहादुर राईलाई स्वीकृति दिएको छ । बैठकले नेदरल्याण्ड्समा हुने पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङको नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले इजिप्टको राजधानी कायरोमा आयोजना हुने ‘जनसङ्ख्या स्वास्थ्य र विकासमा ग्लोबल कांग्रेस’ विषयक सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृत प्रदान गरेको छ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति र नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा डडेल्धुराका कैलाशकुमार पनेरुलाई नियुक्तिको निर्णय गरेको छ ।
कागज व्यवसायी संघको २२औं साधारणसभा सम्पन्न
काठमाडौं । कागज व्यवसायी संघ नेपालको २२औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न साधारणसभाले कार्यसमितिको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । उक्त साधारणसभामा वर्तमान आर्थिक परिदृश्यको समीक्षाका साथै कागज व्यवसायका चुनौतीमाथि व्यापक छलफल भएको थियो । साधारणसभाले उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौं झमेलाको सामना गर्नुपरेको निष्कर्ष निकाल्दै उक्त ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मूल्य अभिवृद्धिकर, भन्सार मूल्यांकन र क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल गर्नेलगायत प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको विषयमा पनि सरकारलाई गम्भीर भएर सोच्न र तदनुरुप कार्ययोजना ल्याउन आग्रह गर्ने निर्णय साधारण सभाले गरेको छ । उक्त सभाले मनोहरदास मूलको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र काबरा, महासचिव दिनेश चोखानी र कोषाध्यक्ष कमल तोदी हुन् ।
४६ औं इफाप्काको तयारी तीव्र, विदेशी अतिथिलाई निम्तो दिन महासंघका उपमहासचिव मनिलामा
काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी तिव्र पारिएको छ । यसैक्रममा सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने क्रम शुरु भएको छ । सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजक रहेका महासंघका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले फिलपिन्सको राजधानी मनिला पुगेर अतिथिहरूलाई सम्मेलनको लागि निमन्त्रणा हस्तान्तरण गरेका छन् । घिमिरेले फिलिपिनी कन्स्ट्रक्शन एसोसिएशनका अध्यक्ष रोनाल्डो एलिपानो, कार्यकारी निर्देशक इबारा ब्यारी जी. पोउलिन्हो, इफाप्काका कार्यकारी निर्देशक लेभी भी रहेका छन् । एसपिरितु, इफाप्कका सचिवालयकी मेलोडी डियोनिसियो लगायतलाई मनिलामा भेटी सम्मेलनका लागि आमन्त्रण गरेका हुन्। भेटमा घिमिरेले इफाप्कालाई अझ सशक्त संगठन बनाउने विषयमा पनि विस्तृत छलफल गरेका छन् । इफाप्काको मुख्यालय समेत रहेको मनिलामा भएको छलफलमा घिमिरेको साथमा निर्माण व्यवसायी अक्कल बहादुर तामाङ पनि रहेका थिए । इफाप्का सहित फिलिपिनी कन्स्ट्रक्शन एसोसिएशनका पदाधिकारीहरूसँग घिमिरेले ४६ औं सम्मेलनलाई भव्य रुपमा सफल बनाउन नेपालले गरिरहेको तयारी बारे अवगत गराएका छन् । इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ । हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको भूमिकामा रहेका छन् । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
काठमाडौं । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्ट्री फोर्स– इआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे । एआईएफसम्बन्धी पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डा महतले एमसिए–नेपाल अन्तरगत कार्यान्वयन हुने विद्युत् प्रसारणलाईन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने,’आजबाट हामीले एमसिसी कार्यान्वयन सुरुआत गरेका छौंँ । यो कोशेढुङ्गासम्ममा आइपुग्न धेरै उतावचढाव भोग्नु परेको थियो ।’ अर्थमन्त्री डा महतले भने, ‘नेपालले पूर्वाधारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको छ । एमसिए नेपालअन्तरगतका सडक आयोजनाले नागरिकलाई उत्पादनमा जोड्न र उद्यम व्यवसायका लागि सहजता दिनेछ । अर्कोतर्फ नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेकाले प्रसारणलाइनले नेपालभित्रको प्रसारण प्रणाली सहज बनाउने मात्र नभइ भारतसँगको अन्तरदेशीय विद्युत व्यापारका लागि पनि महत्वपूर्ण रहेको छ ।’ अर्थ सचिव एवं एमसिए–नेपाल सञ्चालक समिति अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालको विद्युत् व्यापारमा लागि प्रसारण आयोजना महत्वपूर्ण रहेको बताए । जग्गा अधिग्रहणको काममा शीघ्रता दिएर चाँडै सक्ने र परियोजना कार्यान्वयनका क्रममा अनुगमनको काम प्रभावकारी ढङ्गले गर्ने प्रतिबद्धता उनले जनाएका छन् । एमसिए–नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) खड्गबहादुर विष्टले जग्गा अधिग्रहण र मुआब्जाको काम आगामी डिसेम्बर सम्ममा सकिसक्ने तयारी रहेको बताएका छन् । प्रसारणलाईनको ठेक्का प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले दुई देशबीच ७५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्धबारे स्मरण गर्दै एमसिसी नेपाल कम्प्याक्टले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्ने विश्वास व्यक्त गरेका छन् । एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसिसी अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा इआईएफ एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताएका छन् । रासस
नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज
कलैया । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ । आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल एक करोड ३४ लाख ३५ हजार सात सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए । गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ ९ पसल एक सय ६१ समेत गरी दुई सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य चार सय ७१, सेवामूलक दुई सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा आठ सय ९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ । हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए । उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो । रासस
विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अर्ग्यानिक खेतीमा रमाँउदै
गलेश्वर । म्याग्दीमा पछिल्ला दुई वर्षयता कृषि क्षेत्रमा युवाहरुको संलग्नता उत्साहाजनक रुपमा बढेको छ । कृषिमा युवाहरुको प्रवेशसँगै ग्रामीण क्षेत्रका खेतबारी र पाखो जमिनमा समेत कृषि प्रविधिको प्रयोग हुन थालेपछि यहाँका किसानहरु अर्ग्यानिक खेती विस्तारमा जुटेका छन् । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा जिल्लाको कृषकहरुले आग्र्यानिक खेती प्रणाली सुरु गरेका हुन् । विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि यहाँ कृषिले व्यावसायिक रुप लिनाका साथै कृषिमा प्रविधिको प्रयोग र आग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो । विगत दुई वर्षयता जिल्लामा आग्र्यानिक खेती सुरु भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताहरुले बताएका छन् । तीन वर्षअघि सम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ताहरु अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन् । ‘अहिले सदरमुकाम बेनीका प्रायः सबै घरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ’, बेनीबजारका व्यवसायी राधिका केसीले भने, ‘ग्राहकहरु स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट आग्र्यानिक तरकारी बजारमा झर्न थालेपछि आयातित तरकारीको माग घटेको छ ।’ त्यसैगरी कृषकले पनि बजारमा आग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन् । करिब ४० वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग परेका छन् । घर नजिकैको १४ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघि सम्म कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउउको थिएनन् । ‘म विगत ४० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।’ युवाहरु नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयवासीको भनाइ छ । ‘लाहुरेहरुको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाहरुको सङ्ख्या बढ्दै जान थालेको छ । खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका २४ भन्दा बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीको सुरुआत गरेका छन् । विगतमा तरकारी बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०८० को साउनसम्म तरकारी बिक्री गरेर ४० लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको जानकारी दिए । कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताए । अर्ग्यानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन् । कोरोनापछि अग्र्यानिक तरकारी खोज्दै उनको बारीमा धेरै उपभोक्ता पुग्छन् । प्राङ्गारिक तरकारी खेती गर्न पाउँदा एकदम खुसी लागेको उनी बताउछन् । जिल्लका छवटा स्थानीय तहमा गरी दुई सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्य आम्दानी गर्न थालेका कृषि प्राविधिकजगत् बानियाँको अनुभव रहेको छ । बानियाँ भन्छन्, ‘कोरोना कहर सुरु भएयता मानिसले अग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अग्र्यानिक खेती गर्नु कृषिविज्ञको भनाइ रहेको छ । म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषिफार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनीनगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मङ्गला गाउँपालिकाको हिदीमा तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय अर्ग्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् । कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउने काममा लागेका छन् । सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याई कृषि उपकरण लगायत मल र बीउको पनि सहज रुपमा व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाहरुको आकर्षण बढ्दै जान थालेको हो । विगत दुई वर्ष अघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजहरुको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । दुई वर्षअघि सम्म कूल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ । रासस
नक्कली फेसबुक आइडिबाट चरित्र हत्या गर्ने भक्तपुरका युवा पक्राउ
काठमाडौं । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार निज चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरुलाई साथी बनाई नजिक भई प्रेमजालमा पारी विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए । चौगुठीले खिचिएका अश्लील फोटो तथा भिडियोको दुरुपयोग गरी नक्कली फेसबुक खाता बनाई उक्त फोटो तथा भिडियो सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही फोटो तथा भिडियो पीडितका आफन्तलाई समेत पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न रही विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका चौगुठीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रासस
सुन प्रकरणमा मुछिएका राहुल महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप)मा नौ किलो सुन लुकाएर ल्याएको प्रकरणमा महरा बाबु–छोरा मुछिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन छुटाउनको लागि उनीहरुले भुमिका निर्वाह गरेको आरोप महरा बाबु–छोरालाई लागेको छ । प्रहरीले सुन प्रकरणमा उनीहरुको संलग्नता रहेको भने पनि पक्राउ गरेर अनुसन्धान भने गरेको थिएन । सुन प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले चिनियाँ व्यापारीले ल्याएको सुन भन्सारबाट छुटाउन भूमिका निर्वाह गरेको र टेलिफोनबाट कैयौ पटक संवाद गरेको खुलेको छ ।