काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी तिव्र पारिएको छ ।
यसैक्रममा सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने क्रम शुरु भएको छ । सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजक रहेका महासंघका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले फिलपिन्सको राजधानी मनिला पुगेर अतिथिहरूलाई सम्मेलनको लागि निमन्त्रणा हस्तान्तरण गरेका छन् ।
घिमिरेले फिलिपिनी कन्स्ट्रक्शन एसोसिएशनका अध्यक्ष रोनाल्डो एलिपानो, कार्यकारी निर्देशक इबारा ब्यारी जी. पोउलिन्हो, इफाप्काका कार्यकारी निर्देशक लेभी भी रहेका छन् ।
एसपिरितु, इफाप्कका सचिवालयकी मेलोडी डियोनिसियो लगायतलाई मनिलामा भेटी सम्मेलनका लागि आमन्त्रण गरेका हुन्। भेटमा घिमिरेले इफाप्कालाई अझ सशक्त संगठन बनाउने विषयमा पनि विस्तृत छलफल गरेका छन् । इफाप्काको मुख्यालय समेत रहेको मनिलामा भएको छलफलमा घिमिरेको साथमा निर्माण व्यवसायी अक्कल बहादुर तामाङ पनि रहेका थिए ।
इफाप्का सहित फिलिपिनी कन्स्ट्रक्शन एसोसिएशनका पदाधिकारीहरूसँग घिमिरेले ४६ औं सम्मेलनलाई भव्य रुपमा सफल बनाउन नेपालले गरिरहेको तयारी बारे अवगत गराएका छन् । इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।
हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको भूमिकामा रहेका छन् । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।