ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरे । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भएपनि जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै त्यसबाट जोगिनका लागि अनुकूलनका उपायहरुको खोजी गरिरहेको बताए । सो अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ । बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढ्ने बताएका थिए । सो भेटमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो । यस्तै, ऊर्जामन्त्री बस्नेतसँग आजै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले शिष्टाचार भेटवार्ता गरेका थिए । सो भेटमा पनि ऊर्जामन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए । सो अवसरमा आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारलगायतका विषयमा छलफल भएको थियो ।
लिवर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए शपथ
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित थिए ।
बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट
काठमाडौं । बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट हुने भएको छ । स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको हो । यस आफर र अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सकिनेछ । यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
नेपालको आक्रामक सुरुवात, पाकिस्तानको दोस्रो विकेट चैट
काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध दुई विकेट लिएको छ । सुरुमा नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गर्दै दाेस्रराे विकेट लिएका हुन् । पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।
चालु पुँजी कर्जा मार्गदर्शन संशोधन र एकीकृत निर्देशनमा परिसंघको प्रतिक्रिया
काठमाडौं । उत्पादनमुलक उद्योग परिभाषित गर्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरेको संशोधनलाई नेपाल उद्योग परिसंघले सकारात्मक रुपमा लिएको छ । परिसंघले दिएको सुझावहरु साना तथा मझौला उद्योगहरुका हकमा सम्बोधन भए पनि ठूला उत्पादनमुलक उद्योगहरुलाई भने यस संशोधनले समेटेको छैन । उत्पादमुलक उद्योगलाई चालु पुँजी कर्जासम्बन्धी हालको परिमार्जनले धेरै कुरा दिएको भाष्य प्रवाह भएको भए पनि यो अर्थतन्त्रलाई चलायमान बनाउन पर्याप्त नरहेको परिसंघको बुझाइ छ । उद्योग व्यवसाय संचालन प्रकृतिका आधारमा चालु पुँजी कर्जासम्बन्धी फरक फरक व्यवस्था गरिनुपर्ने सुझाव अनुरुप विश्लेषणका आधारमा परिवर्तिय चालु पुँजी कर्जाको सीमा वार्षिक कारोबारको २५ बाट ४० प्रतिशतसम्म दिनेगरी गरिएको व्यवस्थाले ठूला उद्योग व्यवसायलाई केही राहत दिने परिसंघको विश्वास छ । भेरियन्स विश्लेषणलाई आधार बनाएर सीमा निर्धारण गरी लिइएको कर्जाको नवीकरण तथा पुनरावलोकनका लागि मुनासिब कारणसहित समय माग गरेको अवस्थामा थप अवधि उपलब्ध गराउने गरी गरिएको संशोधन पनि सकारात्मक छ । तर मार्गदर्शनमा भएको भेरियन्सको टोलरेन्स पनि हालको २० प्रतिशत पर्याप्त नभएकाले यसलाई ४० प्रतिशत बनाउनुपर्ने परिसंघको सुझावलाई हालको संशोधनले सम्बोधन गरेको छैन । आर्थिक वर्षको कुनै एक समय कम्तिमा लगातार ७ दिन सम्पूर्ण चालु पुँजी कर्जा खाता शून्य बक्यौता गर्नुुुपर्ने प्रावधान व्यवहारिक नभएकाले पूर्णरुपमा खारेज गरिनुपर्ने परिसंघको माग आंशिक रुपमा मात्र सम्बोधन भएको छ । सम्पूर्ण चालु पुँजी कर्जा खाताको सट्टा क्रेडिट कर्जा खातामा मात्र लगातार ७ दिन १० प्रतिशतभन्दा कम बक्यौता कायम भएको हुनुपर्ने गरी भएको संशोधनले पूर्णरुपमा समस्या समाधान गर्दैन । व्यवसायको विस्तारसँगै स्थिर चालु पुँजीको संरचना र आवश्यकता पनि परिवर्तन हुने हुँदा समयसापेक्ष यसको आवश्यकता पुनर्मूल्यांकन गर्न सक्ने व्यवस्था गरिनुपर्ने हाम्रो सुझाव छ । यस्तै, मार्गदर्शन लागू हुनुअघि नै लिइएको निर्धारित सीमाभन्दा बढीको चालु पुँजी कर्जाको हकमा दिइएको वक्यौता कायमको समयावधि २०८२ असार मसान्तसम्म दिइएकोमा हाल बजार मागमा आएको संकुचन तथा अर्थतन्त्रका अन्य प्रतिकूलतालाई दृष्टिगत गर्दै थप एक वर्षको सहुलियत दिइनुपर्ने परिसंघको आग्रह छ । साथै, चुनौतिपूर्ण अवस्थामा रहेको वर्तमान अर्थतन्त्रमा सुधार ल्याउन तुलनात्मक रुपमा खुकुलो र अनुकूल नीति लिनुपर्नेमा एकीकृत निर्देशनमार्फत निष्कृय कर्जा र सामूहिक कर्जा सुक्ष्म निगरानीका सम्बन्धमा लगाएको अंकुश असान्दर्भिक छ । व्यवसायिक प्रतिष्ठानहरु असहजता र बजार मागमा चरम संकुचन रहेको बेला आर्थिक विस्तारमा प्रमुख भूमिका रहने ठूला उद्योग व्यवसायलाई थप समस्या पर्ने गरी आएको परिसंघको बुझाइ छ । निर्देशनमा निष्कृयमा वर्गीकृत कर्जा स्तरोन्नतिका लागि आवश्यक सम्पूर्ण बक्यौता रकमको किस्ता तथा ब्याज लगातार ६ महिनासम्म तिरेपछि मात्र असल वर्गमा स्तरोन्नती हुने भनिएको छ । यस्तै, संस्थाले एकभन्दा बढी शीर्षकमा लिएको कर्जामा कुनै एक शिर्षकको कर्जा मात्र पनि निष्कृय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल कर्जा समेतलाई सूक्ष्म निगरानीमा वर्गीकरण गर्नुपर्ने प्रावधानले निजी क्षेत्रलाई नि?त्साहित बनाउने छ । साथै, कुनै समुहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसंगको व्यावसायिक अन्र्तसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष प्रभावित प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत सोहि निष्कृय वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थाले निजीक्षेत्रलाई गम्भिर असहजताको स्थिती सिर्जना गर्छ । ठूला उद्योग व्यवसाय/समूहलाई लक्षित गरी ल्याइएका यी नयाँ व्यवस्थाले बजारको मनोबल थप कमजोर हुने र समग्र अर्थतन्त्र विस्तारमा प्रतिकूल असर पार्ने परिसंघको ठहर छ ।
इन्टरनेटले बालबालिका यौन दुर्व्यवहारमा
काठमाडौं । सूचना प्रविधिको प्रयोगका कारण बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले सार्वजनिक गरेको अनलाइन बाल यौन दुर्व्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्षमुनिका बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको जनाएको छ । महान्याधिवक्ता डा. दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभई मनोविज्ञान रुपमा असर पार्ने बताए । उनले पहिले शारीरिक यौनदुर्व्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौन दुर्व्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताए । उनले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए । महान्याधिवक्ता डा. पोखरेलले ‘साइबर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ती कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोसेढुंगा हुने बताए । अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौनदुर्व्यहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौनदुर्व्यहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताए । लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुर्व्यहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौनदुर्व्यहार भएको भन्ने थाहा पाउन साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताए । उनले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने तर्क गरे । उनले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाईमा ‘चाइल्ड सेभ मोड’ राखिएको जानकारी दिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताए । कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौनदुर्व्यहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ । अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिए । रासस
घटेको सेयर बजारमा माछापुच्छ्रे बैंकको १० करोडको सेयर कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेर बन्द भएको छ । मंगलरबार घटेको नेप्से बुधबार पनि घट्दो क्रममलाई निरन्तरता दिएको हो । बुधबार सेन्सेटिभ इण्डेक्स १.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ । सेयर बजारमा केही दिन यता कारोबार रकम समेत घटिरहेको थियो । तर, बुधबार भने कारोबार रकम बढेर अर्बभन्दा माथि पुगेको छ । बुधबार २७६ स्किप्टकाे ३२ हजार २९८ पटकको कारोबारमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । केही दिन यता सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी हाइड्रोको सेयर मूल्य भने घटेको छ । बुधबारको बजारमा सिटि होटलको शेयर भने ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँ बढेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार सानिमा बैंकको ऋणपत्रको मूल्य ५.७२ प्रतिशत बढेको छ । बुधबारको बजारमा माछापुच्छ्रे बैंक कारोबारको आधारमा शीर्ष स्थानमा रहेको छ । बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले यसको कारोबार धेरै भएको छ । माछापुच्छ्रे बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ ।
सेरेसको २१ देशको ‘युरोपेली ग्रान्ड टुर’ सम्पन्न, नेपाल अर्को स्टप
काठमाडौं । सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ । सेरेसले २३ दिनमा २१ देश हुँदै १० हजार किलोमिटर भन्दा बढी यात्रा गरेको छ । सो यात्राले सेरेसका नयाँ इलेक्ट्रिक मोडेलको लागि ठूलो परीक्षण गरेको छ। उक्त यात्रामा सेरेसले आफ्नो सवारीको रेन्ज, सेफ्टी र स्मार्ट ड्राइभिङ टेस्ट गरेको हो । कारको क्षमतालाई कडाईका साथ परीक्षण गर्ने र अनुभवहरू प्रदान गर्ने लक्ष्यका साथ, सेरेसले नेदरल्याण्डको एम्स्टर्डमबाट आफ्नो युरोपेली ग्रान्ड टुर सुरु गरेको थियो । २५ डिग्री सेल्सियस सम्मको तापमान सहित लगभग दसवटा विभिन्न सडक अवस्थाहरू पार गर्दै, यो भ्रमण नर्वे, जर्मनी, इटाली, स्पेन, फ्रान्स र १६ अन्य युरोपेली देशहरू हुँदै नेदरल्याण्ड फर्केको थियो । यात्रा भरि, सेरेसले युरोपेली उपभोक्ताहरूबाट उल्लेखनीय ध्यान प्राप्त गरेको थियो। धेरैले गाडीको प्रदर्शनमा कडा चासो व्यक्त गरे । फ्रान्स, इटाली र जर्मनी जस्ता देशहरूमा स्थानीय मिडियाले पनि सेरेसको स्मार्ट ड्राइभिङ सुविधाहरूको अनुभव गर्दै टेस्ट ड्राइभ गरेका थिए । युरोपेली ग्रान्ड टुरको समयमा सेरेस उत्पादनहरूको प्रदर्शनले विभिन्न अपेक्षाहरू पार गर्दै माटो, हिउँ, सहरी क्षेत्रहरू र अप्रतिबंधित राजमार्गहरू जस्ता चुनौतीपूर्ण भूभागहरू मार्फत १०,००० किलोमिटर यात्रा गर्दै उल्लेखनीय प्रदर्शन गरेको थियो । सेरेसले युरोपका २१ देशहरूमा भ्रमण गर्दा ९५ प्रतिशत चार्जिङ सुविधाहरू सफलतापूर्वक प्रयोग गर्दै, युरोपेली प्रयोगकर्ताहरूको यात्रा आवश्यकताहरूलाई पूर्ण रूपमा सन्तुष्ट पारेको बताएको छ । आउँदो भाद्र २६ बाट सुरु हुन गइरहेको नाडा अटो शोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस–३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ । इलेक्ट्रिक कारको ’एक्सेप्टेन्स’ एसियामै सबैभन्दा बढी (करिब ६० प्रतिशत) रहेको नेपाली अटोबजारमा सेरेसले चीन र युरोपमा झैं सफलता पाउनेमा आधिकारिक वितरक एमएडब्लु ग्रुप विस्वस्त रहेको बताएको छ।