विकासन्युज

सेनाले जिम्मा लिएको पाँच पूर्वाधार आयोजनाको प्रगति सुस्त

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गर्ने भएका छन् । भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले पाँच आयोजनामा निर्माणको काम गरिरहेको छ । नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेको बताएका छन् । काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भने जति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम नभएको भौतिक पूर्वाधार मन्त्रालयको भनाई छ । ‘१८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय भएको छ’, मन्त्रीका नीजि सचिव रामहरी शर्माले भने, ‘छलफलपछि मन्त्री आफै स्थलगत भ्रमणमा जाने कार्यक्रम तय भएको छ’ । नेपाली सेनाले काठमाडौं–तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । यी सबै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाएकोसहसचिव अर्जुन थापाले बताए । काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ । डिपीआर संशोधनपछि लागत मुल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिदा बाटोको लम्बाई पनि कम भएको छ । मन्त्री ज्वालाले सडक विभागअन्र्तत सञ्चालन भएका आयोजनाको ‘टाइम कार्ड’ लागु गरेका छन् । तर, नेपाली सेनाले काम गरिरहेको आयोजनाको तालिका बनेको छैन । तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ ।

पाल्पा दुर्घटना : मृतकको पहिचान खुल्यो

रामपुर । स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ बस्ने ५० वर्षीय मनकलाचुदारा, कास्की पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीमा सवार अन्य आठजना घाइते भएका छन् । अहिले घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नंकोे जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिराले आज बिहान करिब साढे ८ बजे पुरिएर दुर्घना भएको रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताउनुभयो । दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

निर्माण सामग्री अभावले मझगाउँ विमानस्थल निर्माण सुस्त

कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्री अभावले विमानस्थल निर्माण सुस्तगतिमा भएको विमानस्थल आयोजनाका इन्जिनियर अंकित शर्माले बताए । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले विमानस्थल निर्माणको काम रोकिएको उनले बताए । ‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या भएपछि काम रोकिएको छ,’ शर्माले भने, ‘बर्खा रोकिएपछि फेरि काम सुरु गर्नेछौँ ।’ उनका अनुसार विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी ४५ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको ९ सय मिटर सवबेस र ९ सय मिटर नाली निर्माण सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको इन्जिनियर शर्माले जानकारी दिए । उनका अनुसार विमानस्थल पुनःनिर्माणमा भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र संघीय सरकारको ५० प्रतिशत लगानी रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएकाले निर्माण प्रभावित बनेको आयोजनाका इन्जिनियर शर्माले बताए । ‘उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण तथा कामदार निकुञ्जले नियन्त्रणमा लिएको थियो,’ उनले भने, ‘काम सञ्चालन गर्न दिने मौखिक सहमति भई भोगाधिकारको प्रक्रिया अगाडि बढाउने भएपछि धावनमार्ग निर्माण अगाडि बढेको हो ।’ मझागाउँ विमानस्थलमा १ हजार ५ सय २५ मिटर लामो धावनमार्ग निर्माण भइरहेको छ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसयता विमानस्थल सञ्चालनमा आउन सकेको छैन । कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गरेका छन् । रासस

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत

काठमाडौं। यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म तथा विद्वानहरूको राय मुताबिक निर्णय गरी स्वीकृत पञ्चाङ्गमा उल्लिखित भदौ १४ गते बिहीबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति तथा परम्परा अनुकूल रहेको भनी उल्लेख गरिएको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । आज पूर्णिमासँगै भद्रा रहेको छ । आज राति ९ः०३ बजे मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने उनले बताए। रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भदौ १४ गते नै रक्षाबन्धन, ऋषितर्पणी एवं गाईजात्रा पर्व मनाउनु शास्त्रसम्मत हुने समितिको निर्णय छ । ‘हालसम्म रक्षाबन्धन तथा जनैपूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन, एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ, यस वर्षको जस्तो तिथिको अवस्था विगत वर्षमा पनि परेको थियो, विसं १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१, २०७० र २०७९ सालमा पनि यस्तै तिथिको अवस्था परेको थियो, उक्त वर्षमा एक घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनैपूर्णिमा मनाइएको थियो, धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने परम्परासमेत रहिआएको छ, भदौ १४ गतेका दिन पूर्णिमा तिथिको घट्यादि तीन मुहूर्तव्यापी छ, यसको विकल्प दुई मुहूर्त भए पनि पुग्छ, विधि निषेधको न्यायद्वारा अघिल्लो दिन उक्त पर्व मनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न’, अध्यक्ष अधिकारीले भने । चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने समितिको भनाइ छ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सबैलाई रहेको सूचना समितिबाट स्वीकृत सबै पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ब्रह्माजीले पूर्णिमाको उदयकालमा नै वेद पाएकाले पूर्णिमाकै उदयकालमा जनैपूर्णिमा मनाउनु पर्दछ । चतुर्दशीको उदयमा उक्त कर्म गर्नु  हुँदैन । कालिका पुराणमा भनिएको छ– संप्राप्तवान् श्रुतीर्ब्रम्हा पर्वण्यौदयिके पुनः । अतो भूतदिने तस्मिन्नोपाकरणमिष्यते ।। अघिल्लो दिन भद्रा पर्ने भएकाले एक घडीमात्र भए पनि भोलिपल्ट उदय पूर्णिमाका दिन रक्षाबन्धन गर्नु पर्दछ । भद्राको समयमा बाँच्न चाहनेले कुनै पनि माङ्गलिक कार्य गर्नु नहुने ज्योतिष शास्त्रको मुहूर्त चिन्तामणि नामक ग्रन्थको शुभाशुभ प्रकरणमा उल्लेख गरिएको छ । मुहूर्त चिन्तामणि ग्रन्थमा भनिएको छ– नकुर्यान्मङ्गलं विष्ट्यां जीवीतार्थी कदाचन । कुर्वन्नज्ञस्तदा क्षिप्रं तत्सर्व नाशतां व्रजेत् ।। शास्त्रका उल्लिखित वचनअनुसार पनि भदौ १४ गतेको जनैपूर्णिमामा दुई मुहूर्त न्यून पूर्णिमा नभई तीन मुहूर्त व्यापिनी अर्थात् पाँच घडी १८ पला पूर्णिमा भएकाले पूर्वदिनमा उपाकर्मादि कृत्य गर्नु शास्त्रसम्मत नदेखिने समितिको ठहर छ । उपाकर्म र रक्षाबन्धनलाई अलग अलग कृत्यका रूपमा स्वीकार गर्ने शास्त्रीय परम्परा छैन । उदय पूर्णिमाकै दिन अर्थात् भदौ १४ गते गुरुबारका दिन नै जनैपूर्णिमासित सम्बन्ध सम्पूर्ण कृत्यहरू गर्न शास्त्रसम्मत र परम्परा अनुमोदित विषय देखिने वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए । कुनै भ्रममा नपरी पञ्चाङ्गमा उल्लेख भएअनुसार बिहीबारकै दिन उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन आदि श्रावणी पर्व र गाईजात्रा पर्व पनि मनाउन समितिले आज जारी गरेको अपिलमा उल्लेख छ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेशानुसार चाडपर्व र तिथिमितिको निर्णय गर्ने अधिकारअनुसार यस्तो निर्णय गरिएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । रासस

आईएनजी स्किल एकेडेमीले गर्‍यो ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम

चितवन । आईएनजी स्किल एकेडेमीले ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आईएनजी स्किल एकेडेमीले भरतपुर, चितवनमा अगस्ट २७ गतेदेखि २८ सम्म ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको उद्देश्य भविष्यको प्रविधि प्रदर्शन गरेर आईटी अर्को पुस्तालाई प्रेरित गर्ने, सशक्तिकरण गर्ने र विकसित आईटी परिदृश्यमा अनुभवहरू, कार्यशालाहरू प्रदान गर्ने संस्थाले जनाएको छ । पयुचरामा आगन्तुकहरूले टेक्नोलोजी र नवीनताको रोमाञ्चक पयूजन अनुभव गर्न पाएका छन् । एआई र रोबोटिक्स, स्मार्ट हाउस, हिड्ने पियानो, ड्रोन र गो कार्ट जस्ता प्रदर्शनीहरूले यी क्षेत्रहरूमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरे । ३० औं शताब्दीको कार रेस लाइन फलोइङ रोबोट, एनिमेसन र भिएफएक्सलगायत प्रत्यक्ष प्रदर्शनहरू पनि प्रमुख आकर्षण थिए । फ्युचरामाले टेक्नोलोजी र दिगो व्यापार बीचको सम्बन्धको अन्वेषण गर्यो । यसले सहभागीहरूलाई स्थानीय रूपमा स्रोतका बिरुवाहरू साइटमा बाँड्न प्रोत्साहित गरेर हरियो र दिगो भविष्यको खेती गर्ने महत्त्वलाई हाइलाइट गर्यो । । यसबाहेक, एक विजयी व्यवसाय सिर्जना गर्ने मनमोहक कुराकानीले उद्यमशीलता र आईटीको संसारलाई एकसाथ ल्यायो, सहभागीहरूलाई उनीहरूको भविष्यका उद्यमहरूको कल्पना गर्न प्रेरणा दिएको संस्थाले जनाएको छ । कार्यक्रममा उपस्थित रहेकी रमा श्रेष्ठले फ्युचरामामा उपस्थित हुँदा प्रविधिप्रतिको आफ्नो धारणा पूर्णरुपमा परिवर्तन भएको बताइन् । उनले भाग लिने अन्तरक्रियात्मक कार्यशालाहरूले आँखा खोलिदिए र उनलाई प्राविधिक उद्योगमा अवस्थित असंख्य सम्भावनाहरू महसुस गराए ।

सुन तस्करी प्रकरण : भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । भन्सार विभागमा कार्यरत १ सय ३७ जना कर्मचारीले सामूहिक सरुवा माग गरेका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा अनावश्यक रुपमा दुख दिइएको भन्दै उनीहरुले सरुवा माग गरेका हुन् । भन्सारमा कार्यरत अधिकृतदेखि कार्यालय सहायकसम्मका कर्मचारीहरुले मंगलबार भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै सामूहिक सरुवाको माग गरेका हुन् । ‘हामी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले निरन्तर रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक विदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएका छौं, कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुव्र्यवहार र अपशब्दको त कुनै सीमा नै छैन’, सामूहिक सरुवा पत्रमा भनिएको छ । कर्मचारीहरुले आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ आफ्नो जिम्मेवारी अनुसार काम गर्दै आएको भन्दै उनीहरुले सुन तस्करी प्रकरणपछि अनुसन्धानका बाहनामा विभिन्न निकायहरुबाट विनाकारण दुख दिने, मानसिक रुपमा क्षतविक्षत बनाउने कार्य भएको जनाएका छन् । ‘सुन तस्करी प्र्करणमा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ । [pdf id=433366]

भृकुटीमण्डपमा एकैपटक ३ वटा प्रदर्शनी हुँदै

काठमाडौं । भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स तथा नेपाल ईभी अन्तरराष्ट्रिय प्रदर्शनी हुने भएको छ। मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपाल को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुन लागेको हो। आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुने छ। उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरूको स्टल रहने छन्। विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्। यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चारजिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुऱ्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन्। तीन दिने यस प्रर्दशनीको भदौ १५ गते बिहान ११;०० बजे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतबाट उद्घाटन हुने कार्यक्रम रहेको छ।

आजदेखि एमसीसीको कार्यान्वयन, ५ वर्षमा सकिएला काम ?

काठमाडौं । सरकारले अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता आजदेखि कार्यान्वयनमा ल्याउँदैछ । बुधबार दिउँसो अर्थमन्त्रालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष एलफोर्डले संयुक्त रुपमा परियोजना कार्यान्वयनको उद्घाटन गर्नेछन् । सरकारले आजदेखि औपचारिक रुपमा एमसीसी परियोजना कार्यान्वयनको घोषणा गरेतापनि अहिलेसम्म परियोजना कसरी अघि बढ्ने भन्ने विषयमा प्रष्ट भैसकेको छैन । सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ १३ भित्र) परियोजना सक्नुपर्ने हुन्छ । उक्त परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो । नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ । आयोजना कार्यान्वयनका लागि गठित एमसीए-नेपालअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना सञ्चालन हुनेछन् । तोकिएको समयमा परियोजना पूरा नभए नेपालले एमसीसीमार्फत् रकम प्राप्त नगर्ने सर्त रहेको उल्लेख छ । विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, विद्युत नियमन आयोग ऐन लागू गर्ने, कार्यक्रम कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्ने, अन्तर्राष्ट्रिय प्रसारण लाइनका लागि नेपाल सरकार तथा भारत सरकारबीच कार्यसञ्चालन कार्ययोजना र प्रसारण लाइनसम्बन्धी सम्झौता गर्ने, प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन तथा आयोजना निर्माणस्थलमा पहुँचका लागि जग्गा प्राप्ति र रूख कटानी सम्पन्न गर्नुपर्ने शर्त छन् । केछ हालसम्मको प्रगति ?  नुवाकोटको रातमाटे सबस्टेसनका लागि २०.२७ हेक्टर जग्गा प्राप्ति भएको छ भने बुटवल र दमौली सबस्टेसनका लागि प्राधिकरणले जग्गा उपलब्ध गराएको छ । ३ सय १५ किमि लामो प्रसारण लाइन निर्माणका लागि १० जिल्लामा १०४ हेक्टर जग्गा चाहिने र सोमध्ये ९ जिल्लाको तथ्यांक संकलन गरिएको एमसीए-नेपालले जनाएको छ । हालसम्म प्रसारण लाइन, सबस्टेसन निर्माण र सडकका लागि ठेक्का सम्झौता भएको छैन भने आवश्यक जग्गा प्राप्ति प्रक्रिया समेत टुंगिएको छैन । एमसिए नेपालका अनुसार विद्युत प्रसारण लाइन निर्माणका लागि भारतका ६ कम्पनीले बोलपत्र पेस गरेका छन् । ४ सय केभी क्षमताको ३ सय १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन एमसिए नेपालले २०७९ मंसिर १२ मा अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको थियो । १ सय १९ दिन ठेक्काको म्याद रहेकोमा गत जेठ ८ गते उक्त कम्पनीको ठेक्का खोलेर मूल्यांकन भइरहेको एमसिए नेपालले जनाएको छ । एमसीसी नेपालले करिब २ महिनापछि मात्रै मूल्यांकनको काम सकेर प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गर्ने जनाएको छ । अमेरिकाको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर लागत रहेकामा तीनवटा सबस्टेसनका लागि ६ करोड ७० लाख डलर थप भएको छ । रकम थपपछि एमसीसीको कुल लागत ६९ करोड ७० लाख डलर पुगेको छ । २०७४ भदौ २९ मा नेपालको अर्थ मन्त्रालय र एमसीसीका प्रतिनिधिबीच वासिङ्टनमा सम्झौता भएको थियो ।