गुडिरहेको गाडीमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु
बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विदेशी सम्बन्धन लिएका कलेजमा फेलै हुँदैनन् विद्यार्थी, त्रिविमा भने ४१ प्रतिशत मात्रै उत्तीर्ण
काठमाडौं । विदेशका विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुने गरेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, विदेशको सम्बन्धन लिएर सञ्चालित कलेजमा पढ्ने कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन् । सामान्यतया नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालका निजी शिक्षण संस्थाहरुले मेडिकल, इन्जिनियरिङ, सूचना प्रविधि जस्ता विषयहरुबाहेक अन्य उपयोगितामुलक (एप्लाइड कोर्ष) र विषयगत कोर्षका शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । नेपालमा ८७ वटा कलेजहरुले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ । ती शिक्षण संस्थामा करीब २६ हजार विद्यार्थी स्नातक तह अध्ययन गर्छन । सम्बन्धित विश्वविद्यालयले लिने परीक्षामा सबै विद्यार्थी उत्तिर्ण हुने गरेको तथ्यांक विश्वविद्याय अनुदान आयोगले प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ । कसरी सम्भव छ शतप्रतिशत उत्तीर्ण ? काठमाडौं तीनकुनेमा रहेको आइएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहमा बिएससी, बीबीए, बीएचएम र एमबीए लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका बिजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्तीकाअनुसार पढाइ बीचमा छाड्ने विद्यार्थी बाहेक कलेजमा पढ्ने सबै विद्यार्थीले आफ्नो तह उत्तीर्ण गर्ने गर्छन् । वस्तीका अनुसार विद्यार्थी पास वा फेल हुने नेपाली विश्वविद्यालयको जस्तो परीक्षा मोडल सन्डरल्यान्ड विश्वविद्यालयको छैन । ‘नेपालमा मात्रै पास र फेल भन्ने मोडालिटी हुन्छ, हामीकहाँ विद्यार्थी क्वालिफाइड भयो की भएन अथवा उसले अब के प्रोग्रेस गर्नुपर्ने थियो भन्ने हुन्छ अथवा सुधारात्मक सुझाव दिइन्छ’, उनले भने । विद्यार्थीलाई ३/४ तहमा परीक्षण गर्ने गरिएको र त्यस्तो परीक्षण पास वा फेल गराउनको लागि नभई उसलाई थप उत्कृष्ट बनाउनको लागि हुने गरेको वस्तीले बताए । ‘तीन–चार तहमा जाँच हुन्छ, पहिलो तहमा जाँच गर्दा उसले राम्रो गर्न सकेको देखिएन भने उसलाई आवश्यक सुझाव दिइन्छ र उसको सुधार तोकिएका विषय विज्ञले त्यसलाई हेर्छन्, त्यसपछि विश्वविद्यालयले भेरिफिकेसन गर्छ’, उनले भने । विद्यार्थीले पढ्ने विषयहरु अनुसन्धान र योजनामा आधारित हुने भएकाले अनुसन्धान तथा योजना कसरी सफल बनाउने भन्नेमा नै पढाइ र परीक्षा केन्द्रित हुने भएकाले विद्यार्थी फेल नहुने तर, तुलनात्मक रुपमा कम र बढी अब्बल भने हुने उनले बताए । त्यस्तै, काठमाडौं कमलपोखरी स्थित आइआइएमएस कलेजले मलेसियाको टेलर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर बिसिएस, बिएचएम र बीबीए लगायतको कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका एकेडेमिक डाइरेक्टर बृहत बोस्वाका अनुसार बीचैमा पढाइ छाडेका बाहेक अरु सबै विद्यार्थी परीक्षामा शतप्रतिशत उत्तिर्ण हुन्छन् । ‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी सेमेस्टरअनुसार हेर्दा ९० प्रतिशत भन्दा धेरै उत्तीर्ण हुँदै जान्छन्, अनि फाइनल सेमेस्टरमा पुगेपछि फेल हुने भन्ने नै हुँदैन’ बोस्वाले भने । नेपाली विश्वविद्यालयमा भने भर्ना भएका सबै विद्यार्थी एकै पटक परीक्षामा उत्तीर्ण भने हुँदैनन् । नेपालमा अहिले संघीय र प्रदेश सरकारको पहलमा खुलेका १६ वटा विश्वविद्यालय छन् भने अझै केही विश्वविद्यालय सञ्चालनको प्रक्रियामा छन् । आर्थिक सर्वेक्षण अनुसार २०७९ असार मसान्तसम्म नेपालका ११ वटा विश्वविद्यालयमा ६ लाख ८७ हजार विद्यार्थीले अध्ययन गर्थें । अन्य प्रारम्भिक रुपमा सञ्चालनमा आएका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या जोड्ने हो भने नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या झण्डै सात लाख पुगेको देखिन्छ । विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार स्नातक तहको अध्ययन पश्चात त्रिभुवन विश्वविद्यालयको ४१ प्रतिशत, पोखरा विश्वविद्यालयमा ६९ प्रतिशत, सूदूरपश्चिम विश्वविद्यालयमा ८२ प्रतिशत, लुम्बिनी बुद्ध विश्वविद्यालयमा ५१.९८ प्रतिशत, मध्य पश्चिम विश्वविद्यालयमा ३९.४८ प्रतिशत र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।
युवाले ठूला सपना देख्नु पर्छ : एनसेल सीईओ जाब्बोर
काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा दिए । युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरू सहभागी थिए । यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ रहेको एनसेलको विज्ञप्तिमा उल्लेख छ । प्रेरणादायी वक्ताका रूपमा सहभागी जाब्बोरले १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुमाझ आफ्नो प्रस्तुति राखेका थिए । युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न उनीहरुले प्रेरित गरेका थिए । जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरेको बताएका थिए । उनले भनेका थिए, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाइँलाई अझ राम्रो बनाउँछन् ।’ युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्व र लगनशीलतामा जोड दिनुपर्ने बताएका थिए । ‘यदि तपाइँ अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाइँले सपना देख्नु पर्छ,’ उनले भने, ‘आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’ कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासलगायतका वक्ता थिए । विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो । यो सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।
दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको मङ्गलबारको निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम दुवै संस्थालाई निलम्बन गरिएको जानकारी दिए। वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएका संस्थाले प्रचलित कानुनको अक्षरसः पालना गरी आफ्ना गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ । ओमेगा इन्टरनेशनल प्रालिले विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगतरूपमा गन्तव्य मुलुकमा पठाउने गरी शङ्कास्पद कार्यहरू गरेकाले कारबाहीस्वरुप निलम्बन गरिएको विभागले जनाएको छ । यस्तै अक्सन इन्टरनेशनल प्रालि (अवतार ह्युमन रिसोर्स प्रालि)ले आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोबार गर्नुका साथै व्यक्तिगतरूपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न रहेकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले वैदेशिक रोजगारीमा जान इच्छुक सम्पूर्ण दाजुभाइ, दिदीबहीनीलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै प्रचलित ऐन, कानुनको बर्खिलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषणलगायतका गतिविधि सञ्चालन नगर्न इजाजतपत्रवाला संस्थाहरूमा अनुरोध गरिएको छ । दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ चेक अनादर गरेको बैंकिङ कसुरमा दोषी ठहर भइ दुई वर्ष कैद तोकिएर फरार भएका दुई व्यक्तिलाई प्रहरीले काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको छ । कास्की जिल्ला अदालत पोखराको गत असार १ गतेको आदेशानुसार दुई वर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। मदन केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कास्की घर भई हाल जिल्ला काठमाडौँको सतुङ्गल घर भएका ४५ वर्षीय राजेन्द्र भण्डारी भएको चेक अनादर बिगो मुद्दामा उनी दोषी ठहर भएका थिए । निर्मला कार्की ९भण्डारी०विरुद्ध प्रविनकुमार श्रेष्ठले जाहेरी दिएका थिए । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी फैसला कार्यान्वयन तथा थप अनुसन्धानका लागि काठमाडौँबाट वडा प्रहरी कार्यालय रामबजार कास्की पठाइएको रेग्मीले जानकारी दिए। रासस
सिभिल सहकारीले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले विशेष साधारण सभा बोलाएको छ । सहकारी संस्थाले भदौ ३० गते सोल्टीमोड कालिमाटीमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विशेष साधारण सभा आह्वान गरेको हो । उच्च अदालत पाटनले वि.सं. २०७९ कात्तिक २५ गते साधारण सभा आह्वान गर्न आदेश दिएको थियो । सोही बमोजिम भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संस्थाका पिडित बचतकर्ता सदस्यहरूबीच पटक–पटक छलफल भई सभा बोलाउने सहमति भएको थियो । गत बैशाख २१ गते पठाएको पत्र अनुसार विशेष सभा बोलाएको संस्थाले जनाएको छ । सहकारीको सभाले समस्या समाधान गर्ने प्रयोजनका लागि विशेष अधिकार प्राप्त समितिको चयन गर्नेछ । त्यस्तै, विशेष अधिकार प्राप्त समितिलाई संस्थाको एकिन गरी बचत तथा लगानी गरेको ऋण लगायत सम्बन्धित दायित्व एकिन गरी सहकारीका ऋणीहरूबाट लेना रकम असूल उपर गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी प्रदान गर्नेछ । यस्तै, पिडित बचतकर्ता सदस्यहरूको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने भएको छ । पिडित बचतकर्ता सदस्यहरूबाट प्राप्त सुझावहरू उपर छलफल गरी निर्णय गर्नेछ । साथै, विशेष साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सहकारी संस्थाले जनाएको छ । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इच्छाराज तामाङ हिरासतमा छन् ।
नबिल बैंकले राख्यो २ वटा उद्योग लिलामीमा
काठमाडौं । नबिल बैंकले ऋण चुक्ता नगर्ने दुई वटा उद्योगलाई लिलामीमा राखेको छ । बैंकले पशुपति उड उद्योग प्रा.लि. र मकालु काष्ठ उद्योग प्रा.लि.लाई लिलामीमा राखेको हो । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने भएको हो । पशुपति उड उद्योग काठमाडौं महानगरपालिका ६ बौद्धमा रहेको छ भने मकालु काष्ठ उद्योग कागेश्वरी मनोहरा नगरपालिका ७ मा रहेको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
नौमुरे जलविद्युत् आयोजनाको ८३ प्रतिशत रकम फ्रिज, कर्मचारी तलब भत्ता पचाउँदै
काठमाडौं । लुम्बिनी प्रदेशका ५ जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको हो । १७.४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर ६ करोड ७९ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकामा जम्मा १ करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताए । चालु खर्चतर्फ १ करोड ८५ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकामा ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । दरबन्दीअनुसारको कर्मचारी नहुँदा चालु खर्चको रकम फ्रिज भएको आयोजनाको पुँजीगततर्फ ४ करोड ९४ लाख रुपैयाँ विनियोजन भएकामा ७६ लाख ७ हजार रुपैयाँ मात्र खर्च भएको देखिन्छ । कार्यालयको ५ करोड ६० लाख ७७ हजार रुपैयाँ फ्रिज गएको हो । जुन कूल बजेटको ८२.५३ प्रतिशत रकम हो । सम्भाव्यता अध्ययनअनुसार ७ वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्यअनुरुप काम भने हुन सकेको छैन । कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले तलब भत्ता खानुबाहेक अन्य प्रगति शून्यजस्तै छ । बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीयले बताएका छन् । आयोजनाको मुख्य काम बाँकी नै रहे पनि अन्य कार्य अगाडि बढेको कार्यालय प्रमुख प्रजापतीले जानकारी दिए । रिभर ट्रेनिङ वर्कको डिजाइन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी कार्य, जलाधार क्षेत्र संरक्षणसम्बन्धी कार्य, जलाशयको परिधि छुट्टाउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्यजस्ता काम सम्पन्न भएको उनको भनाइ छ ।रासस
सुन तस्करी प्रकरण : सिआइवीले विदेशमा पनि अनुसन्धान गर्ने, एसएसपीलाई हङकङ पठाइँदै
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाइने भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए । चाँडै आचार्य हङकङ जाने पनि उनले बताए । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइवीले गरिरहेको छ । सिआइवीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइवीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो ।