विकासन्युज

कामना सेवा विकास बैक र हिमालयन जाभा कफिबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । मंगलबार दुवै संस्थाले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै कामना सेवा विकास बैंकका ग्राहकले पुतलिसडक स्थित हिमालयन जाभा कफिमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट बीच छुट सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै एभरेष्ट बैंकका ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन् । अब बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभ लिन सक्ने बैंकले बताएको छ । समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेति, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीको समेत उपस्थिति रहेको थियो ।

दुई जीवन लघुबीमा कम्पनीले उठाए साढे ५ लाख प्रिमियम, कुनले कति ?

काठमाडौं । सञ्चालनमा रहेका दुई जीवन लघुबीमा कम्पनीले एक महिनामा ५ लाख ६८ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार दुई कम्पनीले साउन महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ४ सय ७४ वटा पोलिसी मार्फत सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले ४ लाख २३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ३ सय ५५ वटा बीमा पोलिसी बिक्री गरेको छ । त्यस्तै, क्रेष्ट माइक्रोले एक लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले एक महिनामा ११९ वटा पोलिसीमार्फत सो रकम बराबरको बीमाशुल्क संकलन गरेको हो ।

दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी प्रणालीलाई डिजिटलाइज गर्ने समझदारी

काठमाडौं । नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष रामदीप शाहले हस्ताक्षर गरेका छन् । खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एक आपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठी, अनुभव आदान–प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ । हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश साह लगायत दुई वटै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । हालसम्म करिब ८ सय वटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको को बनाउने गरी वाटरमार्क सफ्टवेयर बनाइरहेको बताएको छ । करिब दश वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एनआरडब्लु (पानी चुवाहट विश्लेषण) प्रविधि, ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लिकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ । यसैगरी स्मार्ट वास सोलुसनले विगत ५ वर्षदेखि खानेपानी तथा सरसफाई क्षेत्रमा रहेका समस्याहरूलाई न्यूनिकरण गर्न तथा सुशासनमा सुधार गर्न आवश्यक नँया प्रविधिहरूको विकास, केन्द्र तथा प्रदेशमा खानेपानी तथा सरसफाई क्षेत्रमा नीतिगत तथा कानूनमा सुधार गर्न बहस तथा पैरवी गर्ने, सरोकारवाला निकायहरूको क्षमता अभिबृद्धि गर्ने, लगायतका क्रियाकलापहरू संचालन गर्दै आइरहेको छ ।

राष्ट्र बैंकको कर्जा सम्बन्धी निर्देशनले अर्थतन्त्रमा असर गर्ने महासंघको ठहर

काठमाडौं । चालु पूँजी कर्जा मार्गदर्शनको संसोधन एवं एकिकृत निर्देशन संसोधनमा महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार चालु पूँजी कर्जा मार्गदर्शनमा संसोधन गरि नेपाल उद्योग वाणिज्य महासंघद्धारा उठाउँदै आएका माग आंशिक रुपमा संसोधन भएकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ । तर सोही दिन एकिकृत निर्देशनमा संसोधन गरि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति भने महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । एकिकृत निर्देशनमा कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । यसैगरि कुनै समुहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसंगको व्यावसायिक अन्र्त सम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत सोहि निष्कृय वर्गमा वर्गीकरण गर्नु पर्ने व्यवस्था पनि गरिएको छ । यी दुई प्रावधानले निजी क्षेत्रलाई हतोत्साही वनाउनुका साथै बैंक वित्तिय संस्थाको खराब कर्जा अनुपात बढ्न गै अर्थतन्त्रमा नै प्रतिकुल असर पर्नेछ । यसमा तत्काल संसोधन आवश्यक रहेको महासंघको भनाई रहेको छ। यसैगरि पछिल्लो समय बैंक तथा वित्तिय संस्था र विभिन्न समुदायप्रति विविध किसिमका नकारात्मक प्रचार एवं टिकाटिप्पणी भैरहेको प्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  सामाजिक सदभाव र व्यवसायिक वातावरणमा खलल पुग्ने गरि भैरहेका गतिविधिले अर्थतन्त्र र सामाजिक संरचनामा नै नकारात्मक प्रभाव पर्ने हुँदा यस तर्फ सचेत रहन महासंघ सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रिमियममा सिटिजन, प्रभु महालक्ष्मी र आईएमई लाइफबीच प्रतिस्पर्धा, ६ कम्पनी भित्रिए अर्ब क्लबमा

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ वटा बीमा कम्पनीहरुले कूल १९ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै सो मात्राको प्रिमियम उठाएका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमै छ । इन्स्योरेन्सले एक महिनामा ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । प्रिमियम संकलनमा पहिलो स्थानमा रहेको कम्पनी जारी बीमालेखको आधारमा भने सातौं स्थानमा छ । प्रिमियम संकलनमा सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, आईएमई लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यी तीन कम्पनीले एक महिनाको अवधिमै ५२ करोडदेखि ५८ करोड रुपैयाँसम्मको प्रिमियम संकलन गरेका छन् । जसमध्ये सिटिजन लाइफले सबैभन्दा बढी अर्थात ५७ करोड ९४ लाख, प्रभु महालक्ष्मीले ५४ करोड ११ लाख र आईएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जारी बीमालेखमा भने यी कम्पनी क्रमशः तेश्रो, १३औं र नवौं स्थानमा छन् । कुनले कति उठाए ? सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान प्रिमियम संकलनमा दोश्रो स्थानमा छ । इन्स्योरेन्सले साउनमा मात्रै ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालित कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले एक महिनामै एक अर्ब बढी प्रिमियम उठाएको छ । जसमा नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, लाइफ इ. कर्पोरेशन (नेपाल), नेशनल र सुर्यज्योति लाइफ रहेका छन् । सबैभन्दा कम प्रिमियम संकलन गर्नेमा सन नेपाल रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ३५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जारी बीमालेखको अधारमा मेट लाइफ अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले एक महिनामै ४ लाख ५५ हजार ९७६ वटा पोलिसी जारी गरेको छ । र, सबैभन्दा कम बीमालेख जारी गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । जसले साउनमा ७ सय ३८ वटा बीमापोलिसी बिक्री गरेको छ ।

कोरियामा गाई फर्ममा काम गरेर फर्किएका दाजुभाइ भैँसीपालनमा, वार्षिक ४८ लाख नाफा

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी व्यावसायिकरुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य बताउँछन् । ‘कोरियामा रहँदा गाई फार्ममा काम गर्दाको सीप तथा अनुभव हामीसँग थियो’, उनले भने, ‘विदेशमा सिकेको सीपले आज आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा सहज भएको छ ।’ उनले सुरुआतमा २० उन्नत जातका मुर्रा भैँसीबाट व्यवसाय थालेका थिए । हाल उनको फार्ममा माउ ८०, दुई उन्नत जातका मुर्रा राँगा र पाडापाडी ५० वटा छन् । हाल ५० भैँसीले दूध दिइरहेका छन् । ‘अहिले दैनिक तीन सय ५० देखि तीन सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ’, आचार्यले भने, ‘प्रतिलिटर दूध एक सय पाँच देखि एक सय १० सम्म स्थानीय बजारमा खपत हुने गरेको छ ।’ मासिक ११ लाख बराबरको दुध बिक्री हुने गरेको छ । भैँसीलाई दानापानी तथा कामदारको पारिश्रमिकमा सात लाख खर्च हुने गरेको छ । फार्ममा छ जनाले रोजगारी पाएका छन् । सुरुआतमा एक करोड लगानीबाट थालिएको व्यवसायमा लगानी वृद्धि गर्दै हालसम्म तीन करोड रुपैयाँ लगानी भइसकेको उनले बताए । ‘सात रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक गोठ, भण्डारण कक्ष, कामदारका लागि आवास कक्ष, कार्यालय, भान्साकोठा, शौचालय र तारबार गरी संरचना निर्माण गरेका छौँ’, आचार्यले भने, ‘यसलाई अझै व्यवस्थित गर्नका लागि करिव डेढ करोड लगानी गर्ने तयारीमा छौँ ।’ अहिले दूधमात्रै उत्पादन र बिक्री हुँदै आएकामा यसलाई थप विस्तार गरी दूधजन्य अन्य परिकार पनि उत्पादन गर्ने तयारीमा आफूहरु रहेको अर्का सञ्चालक वीरेन्द्र आचार्यले बताए । दूध मात्रै बिक्री गरेरभन्दा पनि अन्य दूधजन्य परिकार उत्पादन गर्न सके आम्दानी अझै बढ्ने भएकाले सोही तयारीमा रहेको उनी बताउँछन् । भैँसीपालनका लागि अत्यावश्यक घाँस एक सय रोपनी क्षेत्रफलमा रोपिएकाले पनि घाँसमा लगानी गर्नु नपरेको आचार्यले बताए । फार्मले ८० रोपनी जग्गा भाडामा लिएको छ । ‘फार्म सञ्चालन गरेका व्यवसायीलाई अनुदान होइन लगानीकर्तालाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराए थप लगानी गर्न प्रोत्साहन पुग्ने थियो’, उनले भने । युवा स्वदेशमा रोजगारीको अवसर नदेखेर विदेशी भूमिमा पलायन भइरहेका बेला राज्यले बेलैमा सोच्नुपर्ने बेला आएको आचार्यको भनाइ छ । रासस

सांसद हाजिर गरेर हिँडेपछि एक हप्तालाई स्थगित भयो प्रतिनिधि सभा बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैंठकमा गणपुरक संख्या नपुगेपछि एक हप्ताको लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए । त्यसबेला संसद बैठकमा उपस्थित रहेका सांसदहरु क्रमशः बाहिरिएपछि अन्ततः गणपुरक संख्या नै नपुग्ने अवस्था बन्यो। मंगलबारको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफल भएको थियो । छलफल हुँदै गर्दा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक गणपुरक संख्या पुगेन । संसद बैठकका लागि कुल सदस्य संख्याको एक चौथाइ सांसद उपस्थित भएको हुनुपर्छ । सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक संख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन् । सांसदले गणपुरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेपछि सांसदको उपस्थिति संख्या यकिन गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । यस्तै एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक संख्या यकिन गर्न माग गरेपछि सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद संख्या गणना गर्न लगाएका थिए । बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र उपस्थित भएको पाइएपछि सभामुखले भदौ १८ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।