विकासन्युज

विकास बैंक र फाइनान्सको सेयर कर्जा : ग्रीन र सेन्ट्रल आक्रामक, कुनको कति ?

काठमाडौं । राष्ट्र बैंकले कडाई गरेको भएपनि बैंक तथा वित्तीय संस्थाहरुले भने गत वर्ष सेयर कर्जा बढाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विकास बैंक र फाइनान्स कम्पनीले १३.८२ प्रतिशत सेयर कर्जा बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब १६ करोड ८८ लाख रुपैयाँ बढाएर १७ अर्ब ८५ करोड ६२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ मात्रै सेयर कर्जा दिएको तथ्याङ्कमा उल्लेख छ । समीक्षा अवधिमा विकास बैंकहरुको सेयर कर्जा २०.३२ प्रतिशत बढेर १४ अर्ब १६ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ७७ करोड रुपैयाँ सेयर मार्जिन कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरुले कर्जा बढाएको भएपनि वित्त कम्पनी अर्थात् फाइनान्स कम्पनीहरुको भने घटेको देखिन्छ । गत असारसम्म फाइनान्स कम्पनीहरुको सेयर कर्जा ५.७२ प्रतिशत घटेर ३ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीको सेयर कर्जा ३ अर्ब ९१ करोड रुपैयाँ थियो । ग्रीन डेभलपमेन्ट बैंक आक्रामक बन्दा ८ बैंकको बढ्यो गत वर्ष अधिकांश विकास बैंकले सेयर कर्जा बढाएको भएपनि केही बैंकले भने घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले सेयर कर्जा बढाएको छ । बैंकले १५०.२२ प्रतिशत बढाएर २ करोड २६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२६.७० प्रतिशत बढेर १ अर्ब २५ करोड, एक्सेल डेभलपमेन्ट बैंकको ९८.१६ प्रतिशत बढेर ४३ करोड २० लाख, गरिमा विकास बैंकको ४८.४० प्रतिशत बढेर १ अर्ब ५४ करोड र मुक्तिनाथ विकास बैंकको ३५.७४ व्रतिशत बढेर २ अर्ब ७८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै लुम्बिनी विकास बैंकको १८.२७ प्रतिशत बढेर १ अर्ब ८२ करोड, कामना सेवा विकास बैंकको १७.९२ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ र महालक्ष्मी विकास बैंकको १३.८३ प्रतिशत बढेर २ अर्ब ६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । मितेरी डेभलपमेन्ट बैंकले अघिल्लो वर्ष कर्जा दिएको थिएन भने गत वर्ष ५ करोड ३० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । तर, ज्योति विकास बैंकको ९.४७ प्रतिशत घटेर १ अर्ब ६६ करोड, नारायाणी डेभलपमेन्ट बैंकको १९.१४ प्रतिशत घटेर ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकको २२ प्रतिशत घटेर ९३ करोड ३३ लाख, सप्तकोशी डेभलपमेन्ट बैंको २५.८९ प्रतिशत घटेर १ करोड ३० करोड र सिन्धु विकास बैंकको ४५.५६ प्रतिशत घटेर १५ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । १३ वटा फाइनान्समध्ये ४ वटाले मात्रै बढाए गत वर्ष १३ वटा फाइनान्स कम्पनीले सेयर कर्जा प्रदान गरेका छन् । जसमध्ये ४ वटा फाइनान्सले बढाउँदा अधिकांशले सेयर कर्जा घटाएका छन् । गत असारसम्म सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सले ३०.८१ प्रतिशत बढाएर ६५ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेको छ । यस्तै, आइसिएफसिको २२.२५ प्रतिशत बढेर ५४ करोड ३६ लाख, श्रीइन्भेष्टमेन्ट फाइनान्सको २०.३२ प्रतिशत बढेर ४३ करोड ८७ लाख र नेपाल फाइनान्सको ५.७१ प्रतिशत बढेर १९ करोड ५७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । बेस्ट फाइनान्सको ०.५० प्रतिशत घटेर २२ करोड ६९ लाख, रिलायन्स फाइनान्सको ४.२५ प्रतिशत घटेर ४२ करोड ३४ लाख, मञ्जुश्री फाइनान्सको ७.३१ प्रतिशत घटेर ५४ करोड १० लाख र पोखरा फाइनान्सको १२.१८ प्रतिशत घटेर १९ करोड २७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको १२.५६ प्रतिशत घटेर ३४ करोड १४ लाख, समृद्धि फाइनान्सको १८.५० प्रतिशत घटेर १० करोड ४८ लाख, गुडविल फाइनान्सको २३.९६ प्रतिशत घटेर ३२ करोड ३५ लाख, प्रोग्रेसिभ फाइनान्सको २५.१६ प्रतिशत घटेर १६ करोड ४५ लाख र गोर्खाज फाइनान्सको ३५.६९ प्रतिशत घटेर १६ करोड १ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

२०६ रुपैयाँमा माण्डु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ १० गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको स्थानीयलाई बिक्री गरेको सेयरमा आवेदन नपरेको ७९ हजार ३० कित्ता सहित गरी कूल १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारी र ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।

भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय, घिमिरे सचिवमा बढुवा

काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुई विधेयक संसदमा लैजाने निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । नेपाल प्रशासन सेवा सामूहीकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । त्यसैगरी, सरकारले प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको शर्माले बताइन् । यस्तै, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरूलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् । नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

ग्लोबल आइएमई बैंकबाट ७ महिनामै किन बाहिरिए वरिष्ठ डीसीईओ मास्के ?

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रवणलाल मास्के बाहिरिएका छन् । उनले स्वास्थ्य समस्या देखाउँदै गत साता बैंकबाट बाहिरिएका हुन् । बैंक स्रोतका अनुसार उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ । साविक बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत रहेका मास्के सो बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि वरिष्ठ डीसीईओ बनेका थिए । उनी ग्लोबल आइएमई बैंकमा प्रवेश गरेको ७ महिनामै बैंकबाट विदा भएका हुन् । ग्लोबल आइएमई बैंक र साविक बैंक अफ काण्ठमाण्डूबीच गत वर्षको पुस २५ गतेदेखि एकीकृत कारोबार भएको थियो । बैंकिङ्ग क्षेत्रमा साढे ३ दशक बिताएका मास्केको आगामी यात्राको विषयमा भने खुलाएका छैनन् ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग

काठमाडौँ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सरकारले नै श्रमिकको ज्यालामा विभेद गरेको भन्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । युनियनले मंगलबार पत्रकार सम्मेलन गरी सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीको न्यूनतम पारिश्रमिक २६ हजार तीन सय ४८ रहेको अवस्थामा सरकारले निजी क्षेत्र र उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दा विभेद गरेको आरोपसमेत लगाएको छ । सरकारले गत साउन ३२ गते नेपाल राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि २६ दिनको १७ हजार तीन सय पारिश्रमिक निर्धारण गरेको थियो । सरकारले निर्धारण गरेको उक्त न्यूनतम पारिश्रमिक पनि कार्यान्वयनमा नआउने खतरा बढेको युनियनको भनाइ छ । सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेमबहादुर कार्कीले समान कामको समान ज्याला, श्रमको सम्मान र श्रमिकको समृद्धिबिना समाजवादमा पुग्न नसकिने जिकिर गरे । नेपाल उद्योग परिसङ्घले सरकारको निर्णयलाई चुनौती दिँदै वृद्धि भएको न्यूनतम पारिश्रमिक अहिलेको अवस्थामा कार्यान्वयन गर्न नसक्ने जनाउँदै विज्ञप्ति जारी गरेको भन्दै अध्यक्ष कार्कीले त्यसको विरोध गरे । आउटसोर्स क्षेत्रमा कार्यरत श्रमिक कानुनप्रदत्त हक अधिकारबाट वञ्चित रहनुपरेको उनको भनाइ थियो । हालै शिक्षा मन्त्रालयअन्तर्गतको सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यानले आधारभूत पारिश्रमिक र महँगी भत्ताबाहेक अन्य कुनै सुविधा नपाउने भनी सुरक्षा गार्ड आपूर्तिको बोलपत्र आह्वान गरेको भन्दै युनियनले आपत्ति जनाएको छ । उक्त टेण्डर श्रम ऐन विपरीत रहेको युनियनको भनाइ छ । श्रम कानुनविपरीत बोलपत्र आह्वान गर्ने कार्यालय प्रमुखलाई विभागीय कारबाही गर्न युनियनले सरकारसँग माग गरेको छ । रासस

एमसीसी परियोजना कार्यान्वयनका लागि काठमाडौं आइपुगे उपाध्यक्ष क्यामरुन

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । भोलीबाट नेपालमा एमसीसी सम्झौताको कार्यन्वयन सुरु हुने भएपछि क्यामरुन नेपाल आएका हुन् । उनी एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख पनि हुन् । एमसीसी कार्यान्वयनको सुरुवात गर्नका लागि बुधबार अर्थ मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ । उक्त कार्यक्रममा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’मार्फत एमसीसी कार्यान्वयनको घोषणा हुनेछ । भदौ १३ अर्थात भोलीबाट एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधिको गणना सुरु हुनेछ । सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ हुन्छ । एमसीसी सम्झौता अनुसार, नेपाललाई अमेरिकाले ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ भने नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने छ । २०७८ को फागुनमा नेपालको संसदले एमसीसी सम्झौता अनुमोदन गरेको थियो । अनुमोदन भएको करीब १८ महिनापछि कार्यान्वयन सुरु हुन लागेको हो । सम्झौता संसदबाट अनुमोदन हुने बेला राजनीतिक तहमा चर्को विवाद भएको थियो । अन्ततः तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बहुमतको आधारमा संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

शैक्षिक परामर्शदाता विभाजित, एप्क्यानको तदर्थ समिति घोषणा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)को तदर्थ समिति घोषणा भएको छ । स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (फेकोन) फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रज्जवल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति घोषणा गरिएको हो । समितिको सदस्यहरुमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दीपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री, रमेश भट्टराई, मदन उप्रेती र नरेश सेढार्इं रहेका छन् । तदर्थ समितिका संयोजक बस्नेतले फेकोनले मनोमानी ढंगले संस्थाको गतिविधि गरेपछि बाध्य भएर नयाँ संस्था स्थापना गर्नुपरेको बताए । उनले संस्थाको पारदर्शितामाथि प्रश्न उठाउँदा आफूहरुलाई गलत बनाइएको बताए । ‘आज भन्दा अगाडी हामी कुनै संस्थामा आवद्ध थियौँ । त्यो संस्थामा हाम्रो माग, विधि, प्रकृया, अनुशासन मान्नुपर्छ भन्ने थियो । संस्था र इकाईमा फरक हुन्छ । हामी इकाई थियौँ । संस्था, संस्था थियो । संस्थाका लागि आएको अवसर समानुपातिक ढंगले वितरण भनेका थियौं’, बस्नेतले भने, ‘तर, टाठा बाठाले अवसर आफूखुशी गरिसकेका हुने रहेछन् ।’

स्वीट्जरल्याण्डको प्रसिद्ध आइसक्रिम मुभएनपीक अब नेपाली बजारमा

काठमाडौं । स्वीट्जरल्याण्डको चर्चित आइसक्रिम ब्राण्ड मुभएनपीक अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । शत प्रतिशत प्राकृतिक सामाग्रीको प्रयोगबाट तयार हुने मुभएनपीक आइसक्रिममा स्वीस शिल्प र कौशल देख्न पाइन्छ । व्यवसायीक घराना केएल दुगड समूहले मुभएनपीक नेपाली बजारमा ल्याएको हो । उक्त आइसक्रिममा कुनै स्टेबिलाइजर प्रयोग नभएको प्रिमियम आइसक्रिम सेगमेन्ट अन्तर्गत मानिन्छ । उक्त आइसक्रिमका लागि ठमेलस्थित ठमेल द कर्नरमा पहिलो आउटलेट सुरू गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्टोर विहान ११ बजेदेखि राती ११ बजेसम्म खुल्ला रहने कम्पनीले बताएको छ । त्यसैगरी, शुक्रबार र शनिबार भने राती २ बजेसम्म स्टोर खुल्ला रहने छ ।