विकासन्युज

बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

बलेवा । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ । केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिकरुपमा आलु खेतीमा छन् । गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा तीन करोड ६० लाख बजेट बिनियोजन गरेको छ । ज्ञान केन्द्रको लागि बिनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रवर्द्धनका लागि छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि आठ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ । यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् । आलु प्रबद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई आलुको बीऊ, कृषि आँैजारदेखि बजारीकरणमा सहयोग पुर्याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए । ‘कृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ’, पुनले भने, ‘उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्याउँछौँ ।’ गत वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् । रासस

श्रीनगर एग्रीटेकले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भविष्यमा निष्काशन गर्ने आइपीओको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १ सय रुपैयाँ दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्नेछ । सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द्र श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर सम्पन्न भएको हो । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो  आइएसो ९००१ : २०१५ प्रमाणित एकिकृत कुषि व्यवसाय हो । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले कृषि अन्तर्गतको व्यवसाय इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना बाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै सन २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिजबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ । कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ । कम्पनीले, श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्दि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ । उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंगले श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कर्जा असुलीको नयाँ व्यवस्थाले बैंकहरूको नाफामा ठूलै धक्का लाग्छ : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले गरेको कर्जा असुली सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्न सक्ने बताएका छन् । मंगलबार नेपाल बैकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केसीले कर्जा असुलीका सम्बन्धमा राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्थाले बैंकको खराब कर्जा बढ्ने र त्यसले नाफामा असर गर्ने बताए । ‘अब बैंकहरूको नाफामा ठूलो धक्का लाग्छ । आरओई घटिरहेको छ’, केसीले भने । जग्गामा हदबन्दी लागेजस्तै अवस्था बैंकमा पनि लागू हुने अवस्था आइर।हेको भन्दै त्यसले बैंकलाई समस्या सिर्जना हुन सक्ने केसीले बताए । उनले बैंकका तरलता अभाव कायमै रहेको बताए । वित्तीय प्रणालीमा तरलता कायम गर्न स्थानीय तहको रकम गणना गर्न पाउनु पर्ने केसीले बताए ।

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट हुने भएको छ । एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाइने बैंकले जनाएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य के.सीको समेत उपस्थिति रहेको थियो ।

आइएमई पे र कान्तिपुर सिनेमास् बीच भुक्तानी साझेदारी सम्झौता

काठमाडौं । डिजिटल वालेट आइएमई-पेले कान्तिपुर सिनेमाससँग एक्सक्लुसीभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमासकाे एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ । कान्तिपुर सिनेमास ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरु हेर्न मिल्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् । आइएमई-पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको दावी गरेकाे छ । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

बैंकको ब्याजदर अझै बढ्न सक्छ : बैंकर्स संघ

काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको छ । मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएका हुन् । भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको र सबै देशमा ब्याजजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । नेपालमा ब्याजदर घट्नु सकरात्मक भए पनि अन्तर्राष्ट्रिय परिवेशसले भने ब्याजदर बढाउन दबाब दिइरहेको बैंकर्सको भनाई छ । बैंकिङ क्षेत्रमा गत असारसम्मको सूचक सन्तोषजनक नै रहेको पनि उनीहरुले बताएका छन् । पछिल्लो समय बैंकमा निक्षेप केही बढेको भए पनि कर्जा भने तीन प्रतिशतमा सीमित भएको केसीले बताएका छन् । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकको नाफा ६ प्रतिशत मात्रै भएको उनको भनाई छ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी बाहिर चर्चा भएजस्तो सहज नभएको पनि बैंकर्सहरु बताउँछन् । ‘पहिलेको तुलनामा तरलता कम नै छ । तरलता बाहिर भनेजस्तो सहज छैन । कर्जाको माग पनि छैन । अझै २÷३ महिना माग नहुने अवस्था छ’, अध्यक्ष केसीले पत्रकार सम्मेलनमा भने ।

दशौं ‘नेपाल भर्चुअल एजु फेयर’ शुरु

काठमाडौं । नेपाल भर्चुअल एजुकेशनले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आजबाट ‘नेपाल भर्चुअल एजु फेयरु शुरु’ गरेको छ । स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल एजु फेयर मार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् । स्नातक तहमा पढ्ने तयारी गरेका, पास भएका विद्यार्थीहरूले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसी बसी भर्चुअल टुर मार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्ने संस्थाले जनाएको छ । साथै, नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजु फेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी गराए । उनका अनुसार विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजु फेयरको सहयोगवाट छात्र वृत्ति प्राप्त गर्न सकेका थिए।

शिथिल सेयर बजारमा कुथेली भने निरन्तर उकालो, पाँच अंकले ओर्लियो बजार

काठमाडौं । मंगलबारको सेयर बजार ५.०५ अंक घटेर बन्द भएको छ । केही दिनयता नेप्से परिसूचक २००० भन्दा तल झरेर कारोबार भइरहेको छ । सोमबार भने नेप्से १९९३.४२ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ । सेयर बजारमा केही दिन यता सुस्तता आएसँगै कारोबार रकम पनि अर्ब मुनी नै सीमित भइरहेको छ । सोमबारको कारोबारको तुलनामा मंगलबार झन घटेर कारोबार भएको छ । मंगलबार २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा भने ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । मंगलबारको सेयर बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मुल्य सूचीकृत भएदेखि नै निरन्तर उकालो लागिरहेको छ । अहिले कुथेली बुखरी हाइड्रोमध्ये सेयर बजारमा पहिलो नम्बरको कम्पनी भएको छ । मंगलबार मात्रै उक्त कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । मंगलबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको तीन करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सेयर बजारको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक राताम्मे भएको छ ।