विकासन्युज

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

भैरहवा । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुुुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हँुदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो । आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिनुभयो । हङकङ जाने यात्रुलाई काठमाडौंँ हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिनुभयो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो । नेपाल वायुसेवा निगमले मलेसिया(भैरहवा रुटमा थत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।

बैतडी विमानस्थल बन्द, नागरिक हवाई सेवाबाट वञ्चित

बैतडी । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन्  । प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट  कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए ।  उनले भने, ‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।’ पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा तीन हजार सात सय रुपैयाँमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर पाँच हजार रुपैयाँ पुगेको थियो । हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै  विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताए । ‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई  समस्यामा हुने गरेको  छ’, उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे  पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन ।  नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’ करोडौँका संरचना प्रयोगविहीन डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयवासी डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संचरनाहरू प्रयोगविहीन बनेका हन् । तीन वर्षअघि रु ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी लक्ष्मीदत्त पाण्डेयले बताए ।  उनले भने, ‘थुपै्र पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । त्यसका लागि चाँडोभन्दा चाँडो यहाँ  हवाई सेवा सञ्चालन गर्नुपर्छ ।’ नियमित उडान नहुने र भाडा पनि महँगो भएको भएकाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ थियो । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने  अर्का स्थानीय जयराज अवस्थीले बताए । उनले भने, ‘भाडा समायोजन गरेर नियमित हवाई सेवा सञ्चालन गर्न आवश्यक छ । भाडा समायोजन गरे  यात्रुहरु पनि पाइन्छन् ।’ विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै  नागरिकले सेवासमेत पाउन सकेका छैनन् । नियमित   हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग  समन्वय भइरहेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले बताए । उनले भने, ‘नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ । नगरपालिकाबाट यसका लागि पहल भइरहेको छ ।’ धावनमार्ग टिकटक बनाउने थलो जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयवासीका लागि टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ ।  उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो । साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै  तारजालीहरु पनि समेत चुँडिन थालेका छन् । द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द  थियो । विसं२०३६ देखि २०५२सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो । छब्बिस वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु  गरेको थियो । रासस

टिपरको ठक्करबाट चिकित्सक यादवको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो । डा यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

ललिता निवास जग्गा हिनामिना प्रकरणका दोषीलाई कारबाही गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे । उनले भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो औँल्याए । उनले भ्रष्टाचार र तस्करीले आम जनतामा निराशा छाएको र यसले सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राखे । ’देशको अवस्था सुधार गरी सुशासन प्रवद्र्धन हुनुपर्छ । प्राप्त उपलब्धि गुम्नसक्ने अवस्था रहेकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने । उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गरे । उनले पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव र शान्ति प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको प्रगति नियालीरहेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्सन रुमबाटै राष्ट्रिय गौरवका आयोजनाको प्रगति नियालिरहेको बताएका छन् । मंगलबार संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैँ उनले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरमा कार्यतालिका बनाएर कार्य प्रगतिको जानकारी लिई कार्य सम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको बताए । उनले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गरिनुका साथै नियमित अनुगमन भईरहेको समेत बताए । हालसम्म राष्ट्रिय गौरवका आयोजनामध्ये २ वटा सम्पन्न भएका, १४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र २ वटाको प्रगति ५० प्रतिशत रहेको छ । हुलाकी राजमार्गका सम्बन्धमा चितवन र पर्सामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डिपिआर तयार लगायतका कार्यमा भएको ढिलाइका कारण सो आयोजनाको कार्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको उनले जानकारी गराए । यस्तै, पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भई समष्टिगत वित्तीय प्रगति ६५.७३ प्रतिशत रहेको, लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रारम्भिक चरणको कार्यहरू मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भए पश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने उनले बताए । उक्त आयोजनाको लागि चालू आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन भएको छ । मेलम्ची खानेपानी आयोजनामा श्रावण महिनामा आएको बाढीले पुनः हेडवर्क्स पुर्नुका साथै मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको पहुँच मार्गमा क्षति पुगेको छ । मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी मेलम्चीको पानी वितरणलाई सुचारु गरिने उनले जानकारी गराए । यस्तैगरी प्रधानमन्त्री प्रचण्डले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिदैँ आएको समेत बताए ।

सेल्सवेरीमा म्याजिक मनसुन अफर

काठमाडौं । सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले म्याजिक मनसुन अफर ल्याएको छ । भदौ १ बाट लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छूट प्राप्त गर्ने जनाइएको छ । रक्षा बन्दन, गाइजात्रा, कुशे औशी र तीजको अवसरलाई लक्षित गरेर अफर ल्याइएको हो । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सवेरीले जनाएको छ । यो अफर सेल्सवेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ । दैनिक उपभोगका हरेक समानहरु सहुलियत दर मा प्राप्त गर्न सकिने मन्सून अफरमा वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याइएको हो । त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छूट प्रदान गरिएको छ । १० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्रदान हुने सेल्सवेरीले जनाएको छ ।

महानगरको एक्सनपछि कपनमा आरम्भचोकसम्म खोलियो यज्ञमती र चखुँचा खोला

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ । खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिए । काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो । गैरकानुनीरूपमा सुरु गरिएको यो कामलाई तत्कालीन कपन गाविसले वैधानिकता दिँदा अहिले समस्या आएको स्थानीयवासी चुडामणि कोइरालाले बताए । तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्वपदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनको भनाइ थियो । नदी पुरेर ढल बिच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्दै आएको थियो । महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताए । दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको छ । दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकाले समेत सहयोग गरिरहेको जनाइएको छ । कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखुँचा खोला कायम हुँदा बाढीको समस्या कम हुन थालेको स्थानीयवासी वाङ्छी शेर्पाको भनाइ छ । खोला पुरेर ढल हालेपछि भने वर्सातका समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गर्दा यस वर्ष एक बालकलाई बाढीले बगाएको थियो । विगत वर्षमा पनि बर्खायाममा प्रायःजसो यहाँ दुर्घटना हुने गरेको स्थानीयवासीले बताए ।

बीपीले तीन वर्षमा इजिप्टमा ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने

काठमाडौं । उर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिश पेट्रोलियम (बीपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरुसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सोमवार यसबारे एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र बीपीका कार्यकारी निर्देशक बर्नार्ड लुनीबीचको भेटपछि यो घोषणा गरिएको हो । लुनिनले लगानीले अनुसन्धान, अन्वेषण र विकासका क्षेत्रलाई समेट्ने बताए । इजिप्टका राष्ट्रपतिले बेलायती कम्पनीको इजिप्टमा बिस्तार भइरहेको र लगानीका साथै ग्याँस र तेलको खोज र उत्पादनमा योगदान हुने विश्वास व्यक्त गरे । बीपीले विगत ६० वर्षमा इजिप्टमा ३५ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरेको बताएको छ ।