२७ जनालाई ‘क्लिन चिट’ दिएको अदालतको विरोधाभाषी फैसला : खानी अधिक दोहन भएको हो तर कसुर होइन
काठमाडौं । गैरकानुनी रूपमा चुनढुंगा खानी उत्खनन गरी राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले खानीको अधिक उत्खनन् कसुर नहुने विरोधाभाषी व्याख्या गरेको छ । खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनालाई विपक्षी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । विशेष अदालतले उक्त मुद्दामा गत चैत पहिलो हप्ता नै सफाइ हुने फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ भने केही दिन अघि आएको हो । विशेष अदालतका न्यायाधीशहरू रमेशप्रसाद पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासमा मुद्दाको सुनुवाई भएको थियो । उक्त मुद्दाको फैसलामा खानीको अधिक उत्खननबाट खनिज पदार्थको भण्डारमा क्षति पुगेको मान्न नमिल्ने व्याख्या गरिएको छ । फैसलामा खानी तथा खनिज पदार्थ ऐन, २०४२ मा खनिज पदार्थको भण्डारमा क्षतिको परिभाषा उल्लेख नरहेको तर्क उल्लेख गर्दै अधिक उत्पादनलाई कसुर मान्न नमिल्ने भनेर प्रतिवादीहरुलाई सफाइ हुने ठहर गरिएको छ । फैसलामा चुनढुंगाको अधिक उत्खनन भएको देखिए पनि त्यसले वातावरणीय क्षेत्रमा प्रतिकूल असर पुगेको प्रमाण नदेखिएको भनिएको छ । ‘खानी तथा खनिज पदार्थ ऐन, २०४२ मा खनिज पदार्थको भण्डारमा क्षतिको परिभाषा रहेको पाइँदैन । माथि गरिएको विवेचनाअनुसार उत्खनन कार्य अनुमति योग्य विषय रहेको तथा अनुमति प्राप्त व्यक्तिका लागि आज्ञात्मक रहेको अवस्था हुँदा अधिक उत्खननबाट खनिज पदार्थको भण्डारमा क्षति पुगेको अर्थ गर्न मिल्दैन । अधिक उत्पादनको माइनिङ स्किमको सर्तको उल्लंघन गरेको अवस्थासम्म देखिन्छ’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘तर, अधिक उत्पादनलाई कानुनले कसुरको परिभाषामा राखेको अवस्था होइन । अधिक उत्पादनलाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ ले कसुर भनी परिभाषित गरेको अवस्था नहुँदा स्ट्रिक्ट कन्स्ट्रक्सन स्टेच्युटको नियमअनुसार अधिक उत्पादनलाई कसुर मान्न सकिने कानुनी आधार देखिन आएन ।’ व्यावसायिक लाभको नियत र गैरकानूनी लाभको वदनियत सर्वथा अलग अलग विषय भएको भन्दै प्रतिवादीहरुले सफाइ पाउने जिकिर फैसलामा छ । यी उद्योगीले पाए सफाइ विशेष अदालतको फैसलाबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, कानून उपसचिव सपना अधिकारी, माइनिङ इञ्जिनियर जयराम घिमिरे, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरू प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, भूगर्भविद डा. सौनक भण्डारी र रिसर्च अधिकृत बसन्त अधिकारीले सफाई पाएका छन् । यस्तै, उद्योगीतर्फ, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्ट लिमिटेडका सरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, सोनापुर मिनरल्सका निपेश तायल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठ र कञ्चभन क्वेरिजका भीमबहादुर थापा क्षेत्रीले आरोपबाट सफाइ पाएका हुन् । खानी तथा भुगर्भ विभागका तत्कालीन उपमहानिर्देशक राम प्रसाद घिमिरेको नेतृत्वमा २०७६ जेठ १४ गते गठित ३ सदस्यीय समितिले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुको स्थलगत अनुगमन पश्चात खानी दोहन गरी उत्खनन अनुमति परिमाणभन्दा बढी चुनढुंगा निकालेको र ती कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ राजस्व छलेकाले त्यो उठाउनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको थियो । विभागले त्यसपछि पुनः माइनिङ इञ्जिनियर जयराज घिमिरेको संयोजकत्वमा दोस्रोपटक समिति बनाएर छानबिन गर्ने काम ग¥यो । सो समितिले १५ जेठ २०७७ मा १८ लाख मात्रै जरिवाना लिएर अरु राजस्व लिनु नपर्ने भन्ने निर्णय सहितको प्रतिवेदन बुझाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माइनिङ इन्जिनियर जयराज घिमिरेको नेतृत्वमा बदनियतपूर्वक दोश्रो समिति गठन गरी सरकारलाई राजस्व हानी नोक्सानी हुने र निजी उद्योगलाई फाइदा पुग्ने गरी प्रतिवेदन तयार पारिएको भन्दै मुद्दा पक्रिया अगाडि बढाएको थियो । दोस्रो समितिले तयार गरेको गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम माइनिङ स्किममा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा उद्योगहरुको लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी चुनढुङ्गा उत्खनन् गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको थियो । माइनिङ इञ्जिनियर घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी र भूगर्भविद डा. सौनक भण्डारीमाथि पनि कानूनको आफूखुसी व्याख्या गरी राजस्वबाट उन्मुक्ति दिएको आरोप अख्तियारले लगाएको थियो । उद्योगीहरुले भने करसम्बन्धी विवादमा भ्रष्टाचार मुद्दा लगाउन नमिल्ने दाबी गर्दै आएका थिए । धरौटीमा रहेको सवा ४ करोड फुकुवा सर्वाेच्चले उक्त मुद्दामा सफाइ दिएसँगै सरकारी कर्मचारी तथा सिमेन्ट उद्योगीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको सवा ४ करोड रुपैयाँ फुकुवा भएको छ । उद्योगीहरुले १ करोड रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म धरौटी राखेका थिए । विशेष अदालतले मुद्दामा सफाइ दिएसँगै पशुपति मुरारका तथा सिद्धार्थ मिनरल्स प्रालिले नेपाल इन्भेष्टमेण्ड बैंकमा राखेको एक करोड रुपैयाँ फुकुवा भएको छ । यस्तैगरी, विभागका महानिर्देशक घिमिरेले नेपाल बंगलादेश बैंकबाट राखेको ५० लाख रुपैयाँ, जयराज घिमिरेले सोही बैंकमा राखेको ४० लाख रुपैयाँ, सपना अधिकारीको ३ लाख, विष्णुप्रसाद न्यौपानेले तथा सर्वाेत्तम सिमेन्टले प्राइम कमर्सिलय बैंकमा राखेको ५० लाख, सरद गोयलले सिद्धार्थ बैंकमा राखेको १० लाख, मारुति सिमेन्टले सिद्धार्थ बैंकमै राखेको ५० लाख, अन्नपूर्ण क्वेरिज तथा ऋषि अग्रवालले नेपाल इन्भेष्टमेण्ट बैंकमा राखेको ३० लाख रुपैयाँ धरौटी फिर्ता हुने फैसला विशेष अदालतले गरेको छ । यस्तैगरी, प्रवलजंग पाण्डे तथा उदयपुर मिनरल्स टेक प्रालिले नेपाल बंगलादेशमा राखेको ६ लाख, नरेश दुगड तथा युनाइटेड सिमेन्टले लक्ष्मी बैंकमा राखेको ४० लाख, निपेश तायल तथा सोनापुर मिनरल्स एण्ड आयलले प्राइम कमर्सियल बैंकमा राखेको २२ लाख, भिमबहादुर थापा तथा कन्चन क्वरिज प्रालिले नेपाल इन्भेष्टमेन्ट बैंकमा राखेको ९ लाख र मानबहादुर श्रेष्ठ तथा डोलोमाइट चुनढुंगा उद्योगले सिद्धार्थ बैंकमा राखेको १५ लाख रुपैयाँ पनि फिर्ता हुने फैसला विशेष अदालतले गरेको छ ।
डेङ्गु सङ्क्रमणबाट मृत्यु
कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताए । डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए । रासस
सुनसान छन् बागलुङका घरबास
ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन् । जिल्लाको चर्चित घरबासमध्येको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डेलगायतमा पाहुना कम पुग्ने गरेका छन् । बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ । पश्चिम बागलुङको ढोरपाटन र पातीहाल्नेमा पुग्ने पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ । बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने बताए । उनले भने, ‘असारदेखि हालसम्मका हरेक महिना फाट्टफुट्ट पाहुना आएको छन् ।’ बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ । गाउँसम्म पुग्ने सडक व्यवस्थित बनाउन नसक्दासम्म बर्खामा घरबास र पर्यटकीयस्थलमा पर्यटक भित्र्याउन नसकिने उनले बताए । ‘अहिले त घरबास बन्दजस्तै छ, पाहुना आएपछि त खाना खुवाउनुपर्यो, खुवाइन्छ, बास पनि दिइन्छ, तर हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, घरबासलाई व्यवस्थित बनाउने र पाहुनमैत्री बनाउने विषयलाई बढी ध्यान दिएका छौँ’, श्रीसले भने, ‘अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरु केही गर्न सकिएको छैन, पाहुना नआउने भएपछि अरु काममै व्यस्त हुने गरेका छौँ ।’ घरबासमा आउने पाहुनालाई पूरै अग्र्यानिक उत्पादन खुवाउने उनको भनाइ छ । यहाँ विशेषगरी कोदोको ढिडो, स्थानीय कुखुरा, खसी, बोकाको मासु, बाँकोको गुन्द्रुक र आलुका परिकार खुवाइने गरेको उनको भनाइ छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासको सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताए । बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ । बागलुङ बजारबाट यहाँ पुग्न करिब डेढ घण्टा लाग्छ । कहिलेकाहीँ मात्रै पाहुना घरबासमा बस्न आएको उनको भनाइ छ । तीज सुरु भयो भने पर्यटक बजारबाट भकुण्डे उक्लिन थाल्ने उनले बताए । ‘बजारबाट दूरीका हिसाबले टाढा होइन, जिल्लामा बागलुङ बजारबाट सबैभन्दा नजिकको घरबास अतिथि सत्कार हो, नजिक भएर के गर्नु यहाँसम्म आउने सडकको अवस्था निकै खराब छ, त्यसले गर्दा पाहुना आउन कम भएको छ’, उनले भने, ‘पाहुना नआएपछि घरको काम कम भएको छ, त्यही भएर घरबास सञ्चालक कोदो गोड्ने र मकै भित्र्याउने काममा व्यस्त हुनुहुन्छ, हिउँदमा धेरै पाहुना हुनुहुन्छ, त्यसबेलाका लागि चाहिने गुन्द्रुक, आलु जोहो गरेर राख्ने काम भएको छ ।’ प्राकृतिक सुन्दरताले भरिएको भकुण्डेमा ताल, र दर्जनौँ हिमशृङ्खला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत घरबास बनेको छ । घरबासले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भई पाहुनसँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रदर्शन गर्न सक्ने भएका छन् । जिल्लाको विभिन्न स्थानमा घरबास सञ्चालनमा आएपछि मौलिक कला, संस्कृतिको जगेर्नासमेत हुन थालेको छ । रासस
तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा. कृष्णबहादुर घिमिरे
काठमाडौं । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा. कृष्णबहादुर घिमिरे नियुक्त भएका छन् । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी तीन वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा. घिमिरेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि निजामती क्षेत्रमा कार्यरत डा घिमिरेले गत साउन १० गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका थिए । नेपालको संविधानको धारा २२६ (१) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरको अधिकार प्रयोग गरी तारकेश्वरको १३औँ नगरसभाले सो ऐन पारित गरेको थियो । नव नियुक्त उपाध्यक्ष डा घिमिरेले तारकेश्वरको समृद्धि र विकासका लागि आफूले जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको विकास योजना आयोगले नगरपालिकाको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनका लागि सिफारिस गर्नेछ । यस्तै नगरपालिकाको विकास सम्भावना र अवसरलाई बृहत्तर अध्ययन, अनुसन्धान गरी सहभागितामूलक विधिबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्नेछ । यसैगरी नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक योजना तथा परियोजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण, सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्नेलगायतका विभिन्न २७ काम, कर्तव्य र अधिकार तोकिएको छ ।
सामाजिक सञ्जालमा आलोचना गर्नेलाई मृत्युदण्ड
काठमाडौं । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो । अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतङ्कवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले एएफपीलाई बताएका छन् । यससम्बन्धमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधलाई साउदी अधिकारीहरूले जवाफ दिन अस्वीकार गरेको छ । मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको छ । सामाजिक सञ्जाल एक्स अर्थात् तत्कालीन ट्वीटरमा उनले सरकारी रवैया र भ्रष्टाचारको आलोचना गरेका थिए । देश जनाभन्दा कम ‘फलोवर्स’ भएका अलघामदीलाई प्राणदण्डको घोषणा भएकामा मावनअधिकारवादी संस्थाहरूले साउदी सरकारलको आलोचना गरेका थिए । मोहम्मदका भाइ र साउद अरब बाहिर निर्वासनमा रहेका मावनअधिकारकर्मी सइद अलका अनुसार घामदीले सरकारको आलोचना गर्दै जेलमा परेका आस्थाका बन्दी र धार्मि व्यक्तिहरूको समर्थन गरेका थिए । साउदी सरकार मृत्युदण्डका कारण अन्तरराष्ट्रिय जगतमा बारम्बार आलोचनाको पात्र बनेको छ । गत वर्ष १७४ जनालाई मृत्युदण्ड दिएको रियादले यो वर्ष ९४ जनाको प्राण हरण गरिसकेको छ । साउदीले मृत्युदण्ड कसरी दिन्छ भन्ने नखुलाए पनि क्रुर ढङ्गले शिरच्छेदन गर्ने उसको परम्परा छ । साउदी अरबका वास्तविक शासक युवराजाधिराज मोहम्मद बिन सलमानको नेतृत्वमा देशलाई विश्वव्यापी पर्यटन र व्यापार गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी ‘भिजन २०३०’सुधार योजनालाई अघि बढाइए पनि मृत्युदण्डको कठोर सजायका प्रावधानमा उक्त मुलुक उदार हुन सकेको छैन ।
घर जान गाडीभाडा नहुँदा चोरी, प्रतिकार गर्दा चक्कु प्रहार
काठमाडौं । गत साता चैनपुरमा आमा छोरालाई चक्कु प्रहार गर्ने आरोपी पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्याने चौधरी पक्राउ परेका हुन् । सोमबार सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले आरोपीलाई सार्वजनिक गरेको हो । चौधरी गएको सोमबार मादक पदार्थ सेवन गरी सुनिता विकको कोठामा गएर विकसहित उनका दुई नाबालक छोरालाई चक्कु प्रहार गरी फरार रहेका थिए । सदरमुकाम चैनपुरमा ज्याला मजदुरी गर्दै आएका चौधरी चोरी गर्न कोठाभित्र पसेको र विक परिवारले प्रतिकार गरेपछि भान्छाबाट चक्कुले प्रहार गरी मोबाइल लुटेर भागेका थिए । लुटिएको मोबाइलका आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । आरोपित चौधरीमाथि अहिले जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए । “आरोपी केही दिनयता गाडीभाडा नपाएर चैनपुरमै रोकिएको रहेछ । त्यस दिन घटना घटाएर दोस्रो दिन नै कैलाली गएर घरमा बसेको अनुसन्धानबाट देखिएको छ”, नायब उपरीक्षक भण्डारीले भने । उनका अनुसार मदिरा खाएर चोरी गर्ने उद्देश्यले घटना घटाएको देखिन्छ । उनले भने, “विकको कोठामा राति उज्यालै रहेछ । बाहिरबाट हेर्दा झ्याल छेउमा मोबाइल देखेपछि कोठाभित्र पसेको र परिवारका सदस्यले थाहा पाएपछि अन्धाधुन्ध भान्छाबाट चक्कु लिएर प्रहार गरेको देखिन्छ ।” आरोपित चौधरी मजदुरी गर्न चैनपुरमा ६ महिना अगाडि आएका थिए ।
नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न दक्षिण कोरियाको चासो
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाका राजदूत थेयङ पार्कसहितको उद्यमी प्रतिनिधिमण्डलले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटवार्तामा उक्त प्रतिनिधिमण्डलले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको भन्दै भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्न आफूहरू तयार रहेको बताएको हो । राजदूत पार्कले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको उल्लेख गर्दै भौतिक पूर्वाधारका हिसाबले नेपालमा अझै धेरै गर्नुपर्ने भएकाले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको बताए । सन् २०१८ मा नेपाल र दक्षिण कोरियाबीच भौतिक पूर्वाधारका विषयमा सम्झौता गर्ने तयारी गरिएकामा सरकार परिवर्तनले हुन नसकेको सम्झौतालाई अगाडि बढाउन राजदूत पार्कले आग्रह गरे । केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा हुँदैछ । सो अवसरमा केही ठोस योजनामा लगानी गर्न दक्षिण कोरिया तयार रहेको जनाइएको छ । जवाफमा मन्त्री ज्वालाले सम्झौतालाई अध्ययन गरी अगाडि बढाउन आफूले पहल गर्ने उल्लेख गर्दै पूर्वाधार निमार्णका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए । उनले नेपालका इन्जिनियरलाई दक्षिण कोरियाले विभिन्न समयमा तालिम दिएकोमा कोरियाली सरकारलाई धन्यवाद दिए ।
बैङ्किङ कसुरमा नुवाकोटका घले पक्राउ
काठमाडौं । ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा आज आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई आज आगलागी भएको जानकारी दिए । आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब ४४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए । यस्तै, बैङ्किङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौँको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन् । बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज उनलाई पक्राउ गरेको हो । काठमाडौँको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।