बाराही सेदी र एनएमबि क्यापिटलबीच सम्झौता, बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल नियुक्त
काठमाडौं । पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी र एनएमबी क्यापिटलबीच इसियु मेनेजमेन्ट एग्ररिमेन्ट साइनिगं सेरोमोनी सम्पन्न भएको छ । बाराही सेदीले सर्वसाधारणका लागि आइपीओ मार्फत साधारण शेयर निष्काशन गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको हो । यो सम्झौतापछि बाराही सेदी लिमिटेडको शेयर निस्काशन र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको हो । जारी पूँजी १ अर्व १६ करोड रुपैयाँ रहेको उक्त होटलले जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ६० हजार कित्ताको शेयर जारी गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि होटलले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरि प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, बैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटलका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन् । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भै सकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको । होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइड मै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।
मर्जरको सिनर्जी : बिजनेसमा नम्बर वान बन्यो सलिको, पछ्याउँदै सिद्धार्थ प्रिमियर र हिमालयन एभरेष्ट
काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुमा सिनर्जी देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकले बिजनेसको आधारमा मर्ज भएका कम्पनीहरुमा सिनर्जी आएको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेको सूचीमा मर्जरमा गएका कम्पनी छन् । सञ्चालित १४ कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक प्रिमियम संकलन गरेको छ । कम्पनीले एक महिनामा मात्रै २४ हजार ४८० वटा बीमालेख जारी गरी कूल ५५ करोड १५ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । बीमालेख जारी गर्नेको सूचीमा भने सलिको दोश्रो स्थानमा छ । त्यस्तै, सलिको पछि सिद्धार्थ प्रिमियरले सर्वाधिक प्रिमियम संंकलन गरेको छ । कम्पनीले एक महिनामा ४२ करोड ५० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको हो । समीक्षा अवधिमा कम्पनीले बीमितहरुलाई २७ हजार १८४ वटा बीमाशुल्क बिक्री गरेको छ । जुन संख्याको आधारमा अन्य कम्पनीको तुलनामा बढी हो । त्यस्तै, सर्वाधिक प्रिमियम संकलन गर्नेको तेश्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा ३४ करोड ३७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको हो । यसअघि प्रिमियम संकलनमा नम्वर वानको स्थानमा हुने शिखर इन्स्योरेन्स भने यो पटक चौथो स्थानमा छरेको छ । मर्ज नभएको शिखरलाई मर्ज भएका कम्पनीले उछिन्दै अघि बढेको साउनको तथ्यांकले पुष्टि गरेको छ । शिखरले एक महिनामा २२ हजार ५८३ वटा बीमा पोलिसी जारी गरी कूल ३३ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रिमियममा चौथो स्थानमा रहेको शिखर इन्स्योरेन्स जारी बीमालेखमा पनि चौथो स्थानमै छ । कुन कम्पनी कुन स्थानमा छन् ? प्रिमियममा शिखरलाई पछ्याउँदै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स अघि बढेको छ । हालै मर्ज भइ बनेको उक्त इन्स्योरेन्सले साउनमा ३० करोड ४० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रिमियम संकलनमा पाँचौं स्थानमा रहेको आईजीआई प्रुडेन्सियल जारी बीमालेखमा भने छैटौं स्थानमा देखिन्छ । त्यस्तै, प्रिमियम संकलन गर्नेको छैटौंदेखि १०औं स्थानमा क्रमशः राष्ट्रिय बीमा कम्पनी, यूनाइटेड अजोड, प्रभु, नेको, एनएलजी र दि ओरियन्टल रहेका छन् । यी कम्पनीले २० करोडभन्दा माथी र ३० करोडभन्दा कम प्रिमियमर उठाएका छन् । त्यसैगरी, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख, सानिमा जीआईसीले १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । कूल सञ्चालनमा रहेका १४ कम्पनीले एक महिनामा ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसले छोटो अवधि अर्थात एक महिनामा २ लाख १३ हजार ८०३ वटा बीमा पोलिसी जारी गरी सो मात्राको प्रिमियम उठाएका हुन् ।
मुख्यमन्त्रीहरुको प्रश्न : सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ ?
काठमाडौं । सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । नागरिकलाई घर आँगनमै सहजरुपमा सेवासुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको सङ्घीय प्रणाली पनि प्रक्रियामा फस्दै गएको, महत्वपूर्ण कानून निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै मुख्यमन्त्रीहरुले गत असारमा पोखरामा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय पनि तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज (सोमबार) आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकमा सहभागी हुँदै मुख्यमन्त्रीहरुले प्रदेश सरकरालाई सबल नबाइ र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए । प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउन नस्क्दा प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीले तत्काल सो ऐन कार्यान्वयनमा ल्याई प्रदेश सरकारलाई प्रहरी परिचालनको अधिकार दिन समेत माग गरे । सङ्घीय संसदको अघिल्लो कार्यकालमा नै पारित भएको सो ऐन कार्यान्वयन हुन सकेको छैन । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तत्काल प्रहरी समायोजन ऐनले गरेको व्यवस्था अनुसार प्रहरी समायोजन गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए । उनले सङ्घीय निजामति ऐन, सङ्घीय शिक्षा ऐनलगायतका महत्वपूर्ण ऐन ल्याउन र प्रदेश सरकारलाई सबल बनाउन आग्रह गरे । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न अबलम्बन गरिएको प्रणालीलाई सहज र सबल बनाउन पनि महत्वपूर्ण कानुन छिटो निर्माण हुनुपर्नेमा ढिलाइ भएकाप्रति उनले गुनासो गरे । मुख्यमन्त्री जम्मकट्टेलले निजामति विधेयकमा राखिएका केही प्रावधानप्रति आपत्ति प्रकट गर्दै प्रदेश सरकारमार्फत नै स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीको प्रबन्ध गर्न पाउनुपर्ने धारणा राखे । उनले कर्णाली प्रदेश बाहेक अरु सबै प्रदेशले प्रहरी परिचालन ऐन पारित गरी तम्तयारी अवस्थामा रहेको जानकारी दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सुरक्षा र प्रशासन बिना प्रदेश सरकार सबल हुन नसक्ने भएकाले तत्काल प्रहरी समायोजना ऐन अनुसार प्रहरी परिचालन गर्ने अधिकार प्रदान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। मुख्यमन्त्री चौधरीले सङ्घबाट प्रदेशमा पठाइएका योजनाको स्रोत व्यवस्थापन हुन नसक्दा लामो समयदेखि आयोजना अलपत्र परेको गुनासो गरे । यस्तै उनले लुम्बिनी विकास कोष र राष्ट्रिय निकुञ्जहरुसँग पनि प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। पाँच दश लाख रकमका योजना समेत सङ्घीय सरकारको कार्यक्षेत्रमा राखेर सङ्घीयतालाई विद्रुप पारिएका आपत्ति प्रकट गर्दै आगामी आर्थिक वर्षदेखि यस्ता विषयलाई तत्काल सम्बोधन गर्न मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गत असारको सुरुआतको प्राकृतिक विपदका कारण आफ्नो प्रदेशमा ठूलो जनधनको क्षति भएपनि हालसम्म प्रभावितले राहत नपाएकामा गुनासो गरे । उनले कोशी प्रदेशको धरानलगायतका स्थानमा डेङ्गुको चरम समस्या देखिएकाले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी उपचारको प्रबन्ध गर्न माग गरे । उनले डेङ्गुका बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको भन्दै कोरोनाकालमा निर्माण भएको आकस्मिक अस्पताललाई तत्काल प्रदेश सरकारले सञ्चालन गर्ने वातावरण मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । मुख्यमन्त्री थापाले पूर्वमा देखिएको पहिचान पक्षधरको आन्दोलनमा उठेको माग समेत सम्बोधन हुनुपर्ने माग गरे। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मन्त्री भएपनि सङ्घीय सरकारले साविककै बजेट ल्याइएको भन्दै आफ्नो प्रदेशमा भने यर्थाथवादी बजेट ल्याएको बताए । आफ्नो प्रदेशको बजेट शतप्रतिशत कार्यान्वयन गराउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रभावकारी रुपमा कर्मचारीको प्रबन्ध गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । उनले कास्की बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन गरी सङ्घीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले प्रहरी समायोजन एने कार्यान्वयन गर्न तथा सङ्घीयतासँग जोडिएका महत्वपूर्ण ऐन निर्माणलाई तत्काल गति दिनुपर्ने बताए । उनले महकाली करिडोर, गेटा मेडिकल कलेजलगायत महत्वपूर्ण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकरण गरी गति दिनुपर्ने उल्लेख गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको समग्र विकासका लागि विशेष आर्थिक प्याकेजको प्रबन्ध गर्न माग गरे। उनले पनि प्रहरी समायोजन ऐनलाई व्यवहारिक रुप दिई प्रदेशलाई बलियो बनाउनुपर्ने धारणा राखे । यस्तै, कर्णाली प्रदेशका हालसम्म पनि सहज रुपमा बिजुली उपलब्ध हुन नसकेको उल्लेख गर्दै निर्माणाधिन एक सय ३२ केभी क्षमताको प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन ऐन तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । उनले कर्मचारी परिचालनमा देखिएको समस्या समाधान गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए । बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री भने अनुपस्थित थिएनन्। रासस
तीर्थयात्रीको उपचारका लागि डाक्टरको समूह गोसाइँकुण्डमा
काठमाडौं । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले डा निशान्त जोशीको संयोजकत्वमा माउण्टेन मेडिसीन सोसाइटीका सातजना चिकित्सक गोसाइँकुण्ड पुगेको जानकारी दिए । डा जोशीले हिमालय उद्धार सङ्घको सोलुखुम्बुस्थित फेरिचे स्वास्थ्य चौकीमा काम गरिसकेका छन् । उक्त डाक्टर समूहले १० दिन उक्त क्षेत्रमा सेवा गर्नेछ । ‘उक्त टोलीले गोसाइकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ,’– प्रमुख कार्यकारी अधिकृति बस्यालले भने। सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्यसेवा प्रदान गर्ने अध्यक्ष पराजुलीको भनाइ छ । समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यको पहलमा भर्खरै मोबाइल फोनको टावरसमेत पु¥याइएको छ । यसअघि गोसाइकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्क गर्न निकै कठिन थियो । एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । रासस
प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गर्नुभएकोमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन् । सभापति घोषणासँगै आजै सपथ ग्रहणको तयारी भइरहेको संसद सचिवालय गरेको छ । अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा ९माओवादी केन्द्र०का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् । त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेलको निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।
सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई १० हजार जरिवाना
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई कारबाही गर्ने निर्णय गरेको छ । क्याप्टेन थापाले उडान सुरक्षा विपरितका अभिव्यक्ति दिएको र क्यानले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै प्राधिकरणले थापालाई १० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । सोमबार क्यानले थापालाई जरिवाना गर्ने निर्णयको जानकारी सहितको पत्र पठाएको बताएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले थापालाई कारबाही स्वरुप जरिवाना गर्ने निर्णय भएको पुष्टि गरेका छन् । प्राधिकरणले भदौ १ गते ७ दिनको समय दिदै थापालाई स्पष्टीकरण सोधेको थियो । तोकिएको समयभित्र स्पष्टीकरणको जवाफ पेश नगरी थापाले प्राधिकरणको आदेश तथा निर्देशनको समेत अवज्ञा गरेको भन्दै जरिवानाको निर्णय गरेको निरौलाले बताए । यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको र गर्न लागेको काममा थापाले बाधा पुर्याएको ठहर प्राधिकरणको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैया जरिवाना गरिएको निरौलाले बताए । थापा वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत हुन् । सिम्रिक एयरका अध्यक्ष थापाले भक्तपुरमा हेलिप्याड बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दवाब दिएपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी र क्याप्टेन थापाकाबीच तनावपूर्ण सम्बन्ध छ । पर्यटन मन्त्री सुदन किरातीको निर्देशन अधिकारीले नमानेपछि मन्त्री र अधिकारीकै बीचमा स्पष्टिकरणको जुहारी चलेको थियो ।
यूनिक नेपाल लघुवित्तमा ५० जनालाई रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायकका लागि १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी गरी कुल ५० जना माग गरेको हो । अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने सहायकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
माटोको प्रयोग बिना तरकारीखेती, उत्पादन दोब्बर हुने
गण्डकी । पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारीखेती सुरु गरिएको छ । माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारीखेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए। ‘सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ’, उनले भने, ‘तरकारीमा मात्रै वार्षिक चारदेखि पाँच लाख खर्च हुने गरेको छ ।’ प्रविधि सफल भएमा आश्रमलाई तरकारीमा आत्मनिर्भर बनाउँदै बाहिर बिक्री गरेर थप आयआर्जन गर्ने लक्ष्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो । ‘लहरै मिलेका पोलिथिन पाइपको माथिल्लो भागमा पारिएका प्वालमा सानो फमको टुक्राको बीचमा राखिएका पेपर कपमा लगाइएका गोलभेँडा र सलाद सागका बिरुवा फस्टाएका छन्’, उनले भने, ‘परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कूल दुई सय ७० बिरुवा लगाइएको छ ।’ अध्यक्षय पराजुलीका अनुसार आश्रमको छानाबाट वर्षात्को पानी सङ्कलन गरी मोटरको सहायताले पाइपमार्फत सञ्चालन गरिएको छ । बिरुवालाई पोषणका रुपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको उनले बताए । हाइड्रोपोनिक प्रविधि संयोजक सिद्धिकुमार रेग्मीका अनुसार गोदावरी नगरपालिकाको ठेचोस्थित कुशल गुरुङले सञ्चालन गरेको उक्त प्रविधिको स्थलगत अवलोनपश्चात् आश्रममा सो प्रविधिबाट तरकारीखेती सुरु गरिएको हो । पहिलो पटक सुरु गरिएको उक्त प्रविधिअन्तर्गत न्युटेसनको मात्रा नमिल्दा र खुला स्थलमा भएको हुँदा सोचेजस्तो नभए पनि आगामी दिनमा व्यवस्थित गर्दै आश्रमलाई आवश्यक तरकारी उत्पादन गर्ने अभियानमा जुटेको उनको भनाइ छ । आश्रममा समाजका विपन्न, असहाय र अपहेलित ज्येष्ठ नागरिक र सेवकसेविका गरी कूल ५५ जना आश्रित छन् । आश्रमको गोठमा सानाठूला गरी छ गाई रहेको बताउँदै रेग्मीले भने, ‘गाईको दूधले आमाबुवालाई पुगेको छ भने मलले वृद्धाश्रमको हातामा परम्परागतरुपमा मौसमअनुसारको तरकारीखेती गरिएको छ ।’ रासस