काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुमा सिनर्जी देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकले बिजनेसको आधारमा मर्ज भएका कम्पनीहरुमा सिनर्जी आएको देखाएको हो ।
आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेको सूचीमा मर्जरमा गएका कम्पनी छन् । सञ्चालित १४ कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक प्रिमियम संकलन गरेको छ । कम्पनीले एक महिनामा मात्रै २४ हजार ४८० वटा बीमालेख जारी गरी कूल ५५ करोड १५ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । बीमालेख जारी गर्नेको सूचीमा भने सलिको दोश्रो स्थानमा छ ।
त्यस्तै, सलिको पछि सिद्धार्थ प्रिमियरले सर्वाधिक प्रिमियम संंकलन गरेको छ । कम्पनीले एक महिनामा ४२ करोड ५० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको हो । समीक्षा अवधिमा कम्पनीले बीमितहरुलाई २७ हजार १८४ वटा बीमाशुल्क बिक्री गरेको छ । जुन संख्याको आधारमा अन्य कम्पनीको तुलनामा बढी हो ।
त्यस्तै, सर्वाधिक प्रिमियम संकलन गर्नेको तेश्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा ३४ करोड ३७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको हो ।
यसअघि प्रिमियम संकलनमा नम्वर वानको स्थानमा हुने शिखर इन्स्योरेन्स भने यो पटक चौथो स्थानमा छरेको छ । मर्ज नभएको शिखरलाई मर्ज भएका कम्पनीले उछिन्दै अघि बढेको साउनको तथ्यांकले पुष्टि गरेको छ । शिखरले एक महिनामा २२ हजार ५८३ वटा बीमा पोलिसी जारी गरी कूल ३३ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रिमियममा चौथो स्थानमा रहेको शिखर इन्स्योरेन्स जारी बीमालेखमा पनि चौथो स्थानमै छ ।
कुन कम्पनी कुन स्थानमा छन् ?
प्रिमियममा शिखरलाई पछ्याउँदै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स अघि बढेको छ । हालै मर्ज भइ बनेको उक्त इन्स्योरेन्सले साउनमा ३० करोड ४० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रिमियम संकलनमा पाँचौं स्थानमा रहेको आईजीआई प्रुडेन्सियल जारी बीमालेखमा भने छैटौं स्थानमा देखिन्छ ।
त्यस्तै, प्रिमियम संकलन गर्नेको छैटौंदेखि १०औं स्थानमा क्रमशः राष्ट्रिय बीमा कम्पनी, यूनाइटेड अजोड, प्रभु, नेको, एनएलजी र दि ओरियन्टल रहेका छन् । यी कम्पनीले २० करोडभन्दा माथी र ३० करोडभन्दा कम प्रिमियमर उठाएका छन् ।
त्यसैगरी, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख, सानिमा जीआईसीले १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् ।
कूल सञ्चालनमा रहेका १४ कम्पनीले एक महिनामा ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसले छोटो अवधि अर्थात एक महिनामा २ लाख १३ हजार ८०३ वटा बीमा पोलिसी जारी गरी सो मात्राको प्रिमियम उठाएका हुन् ।