समाजवादी मोर्चाले भदौ १५ गते पोखरामा सन्देशसभा गर्ने
काठमाडौं । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ । माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुनुहुने जानकारी दिए । “प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो”, उनले भने, “पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।”
हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने, स्वाप रेसियो १००:३१ अनुपात
काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई गाभ्ने भएको छ । दुवै क्यापिटलका माउ संस्था (हिलमायन बैंक र सिभिल बैंक) एक आपसमा मर्जर तथा एक्विजिशन भएपश्चात् हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभ्ने भएको हो । दुवै क्यापिटललको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए)अनुसार सेयर आदान प्रदान अनुपात १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । अर्थात् सिभिल क्यापिटलको १ सय कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर पाउने छन् । सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार गर्नेछन् । हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २७ गते बिहान ११ बजे रजिष्टर्ड कार्यालय ठमेलमा सभा बोलाएको हो । क्यापिटलको सभाले डीडीए प्रतिवेदनले निर्धाणरण गरेको स्वाप रेसियो पारित गर्नेछ । त्यस्तै, सिभिललाई गाभेपछि जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । साथै, सिभिललाई प्राप्ति गर्ने प्रक्रिया सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र
काठमाडौं । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ६० किलो सुन तस्करी भएपछि तत्कालीन प्रमुख पोखरेललाई त्यहाँबाट हटाएर अर्थ मन्त्रालय तानिएको थियो । सरकारी वकिल कार्यालयले पोखरेलमाथि अकुत सम्पत्ति आर्जन र भ्रष्टाचार मुद्दामा छानबिन गर्न अख्तियारलाई पत्र पठाएको छ । पोखरेलको समयमा यसअघि भेपमार्फत सुन तस्करी भएको थियो । भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको थियो । सो सुन भन्सारका कर्मचारीले गायब पारेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर पोखरेलमाथि सुन प्रकरणमा अनुसन्धान गर्न भनेको हो । उनी सरकारी कर्मचारी भएकाले भ्रष्टाचारमा अनुसन्धान गर्ने निकाय अख्तियारलाई पत्र लेखिएको छ । यसअघि भ्रष्टाचारविरुद्धको साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमानसिंह पाख्रिनले अख्तियारमा विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रामबन्धु सुवेदी, विमानस्थलमा खटिएका प्रहरी प्रमुख डिआइजी अर्जुन चन्द, विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी प्रमुख एसएसपी भूमि पाठकमाथि अनुसन्धानको माग गर्दै आयोगमा उजुरी दर्ता गरेका थिए । अख्तियार सो उजुरीको विषयमा छानबिन तयारी थालिरहेका बेला जिल्ला सरकारी वकिल कार्यालयले पनि छानबिनका लागि पत्र लेखेको छ । तत्कालीन विमानस्थल भन्सारका प्रमुख पोखरेलमाथि अनुसन्धान हुनुपर्ने प्रमाण फेला परेकाले अख्तियारलाई पत्र लेखिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । पदीय आचरणविपरीत बिदामा बसी ६० केजी सुन तस्करी प्रकरणमा सहयोग पुग्ने काम गरेको र विवादमा मुछिएकाले कार्यालयमा रहँदा जिम्मेवारी वहन गर्न नसकेको पाख्रिनले अख्तियारमा निवेदन दिएका थिए । साथै सार्वजनिक पदधारण गर्ने सबैको विस्तृत छानबिन तथा अनुसन्धानपश्चात निजले सार्वजनिक पदधारण गर्दाको सुरुवातदेखि हालसम्मको सेवामा रहँदा अनुचित कार्य गरेको एवं गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएमा भ्रटाचार निवारण ऐन २०५९ संशोधनसहित बनेको कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फ बजेट खर्च गर्न सकेन
काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ १९ करोड ७६ लाख रुपैयाँ बजेटमध्ये ९ करोड २६ लाख ४४ हजार रुपैयाँ अर्थात् ४६.८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ ६९ लाख रुपैयाँ बजेट विनियोजन भएकामा कार्यक्रमले ३० लाख ८१ हजार रुपैयाँ अर्थात् ४४.६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५० प्रतिशत पुग्न सकेन । २० करोड ४५ लाख रुपैयाँ कार्यान्वयनका आगि आएको बजेटमा कार्यक्रमले ९ करोड ५७ लाख २५ हजार रुपैयाँ अर्थात् ४६.८१ प्रतिशत बजेट खर्च भएको कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले जानकारी दिए । उनका अनुसार कार्यान्वयन एकाइले ठूलो आयोजनाका रूपमा रहेको शीतभण्डार (कोल्डस्टोर)को बजेट खर्च हुन नसक्दा प्रगति कम देखिएको छ । “शीतभण्डारका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यसलाई गत आवमा खर्च गर्न सकिएन । त्यो बजेट कुल बजेटको करिब ३० प्रतिशत हुन आउँछ”, उनले भने, “अन्यमा पनि किसानले सम्झौताअनुसार काम नगर्दा भुक्तानी कम हुनु, कार्यालयमा कर्मचारी नहुँदा तलबभत्तामा जाने रकम पनि खर्च कम हुँदा प्रगति कम देखिएको हो ।” कार्यक्रममा कामको प्रगति कम देखिनुमा शीतभण्डार निर्माणको काम सुरु नहुनु पनि देखिएको छ । बर्सेनि बजेट विनियोजन हुने तर कार्यान्वयन नभएरै त्यसै बजेटलाई अल्यामा ल्याउने काम आयोजनाले गर्दै आएको छ । चालु आवमा भने शीतभण्डार निर्माणको काम सुरु हुने भएको छ । आयोजनाले सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाएपछि कृषि क्षेत्रमा सम्भावना बढाउँदै गएको टीकापुरमा शीतभण्डार निर्माण हुने आशा जागेको स्थानीय कमल चौधरी बताउँछन् । यसमा १ करोड २५ लाख रुपैयाँ स्थानीय सरकारले लगानी गर्दै छ । अर्को कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव देखिएको छ । कर्मचारी अभावका कारण पनि गत वर्ष कामको प्रगति सन्तोषजनक हुन नसकेको सूचना अधिकारी रानाले बताए । उनका अनुसार १३ स्थायी कर्मचारीको दरबन्दी रहेकामा हाल सातजना मात्रै छन् । अधिकृतस्तरको मात्रै सात जनाको दरबन्दी छ । यसमा तीनजनाको मात्रै पदपूर्ति छ । “कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको हो”, उनले भने, “विशेषगरी अधिकृतस्तरको कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयन हुन नसकेका हुन् । त्यहीँ पनि सहायकस्तरका कर्मचारीले पनि काम गरेकै हुन् ।” लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको कार्यक्रमको चालु आवका लागि बजेट घटेर आएको छ । चालु आवमा १४ करोड ८६ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ । यसमा नेपाल सरकारको १ करोड ६७ लाख रुपैयाँ छ भने विश्व बैंकको १३ करोड १९ लाख रुपैयाँ रहेको छ । यसमा ६ करोड ६० लाख रुपैयाँ कोल्डस्टोर निर्माणका लागि मात्रै छ । विश्व बैंकसँगको सन् २०२३ डिसेम्बरमा कार्यक्रमको सम्झौता अवधि सम्पन्न हुनेमा पुनः १८ महिनाका लागि कार्यक्रम थप भएको छ । अब आयोजनाले सन् २०२५ जुलाइसम्म काम गर्ने छ । अब आयोजनासँग दुई वर्ष बाँकी छ । रासस
सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोल्हुवा शाखाले कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई दुई र नवलपुरलाई १३ गरी कुल १५ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कम्पोस्ट बिन हस्तान्तरण गरेको बताएको छ । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाइ सो सामाग्री हस्तान्तरण गरेको बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छा घरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको बताएको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तनमा योगदान गर्ने योजना रहेको बताएको छ ।
सानिमा रिलायन्सका ६ जना एजेन्सी म्यानेजर विश्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान गरेका छन् । आार्थिक वर्ष २०७९/८० मा उत्कृष्ट जीवन बीमा व्यवसाय गरेर मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा सहभागी हुने अवसर पाएर उनीहरू सिंगापुर प्रस्थान गरेको कम्पनीले बताएको छ । मिलियन डलर राउण्ड टेबल बीमाका एजेन्सी म्यानेजरहरुको विश्वव्यापी सम्मेलन हो । सम्मेलनमा भाग लिन जाने अभिकर्ताहरुमा नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेको कम्पनीले बताएको छ । कम्पनीले कार्यक्रमको आयोजना गरेर एमडीआरटीमा सहभागी हुन जाने अभिकर्ताहरुलाई विदाई गरेको थियो । एमडीआरटीमा सहभागी हुनको लागि हरेक अङ्ग्रेजी वर्षको जनवरीदेखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने कम्पनीले बताएको छ । एमडीआरटी सञ्जालमा हालसम्म ७२ देशका पाँच सय कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्डमार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बताएको छ । त्यसैगरी, सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि दुई करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।
यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटमा छानबिन गर्न केपी ओलीको चुनौती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट लगायत प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै ओलीले ती सबै प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् । ती विषयमा छानबिन गर्दा आफूलाई केही फरक नपर्ने ओलीले बताए । ‘के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललिता निवास ललिता निवास भन्दै थिए । अहिले भागा भाग छ’, ओलीले भने । ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुन बिना बिक्री भएकोमा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे । ‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । जेल जाऊ’, उनले भने । ओलीले सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाए ।
साउनमा दुई लघुबीमा कम्पनीले जारी गरे २५ वटा पोलिसी, कति उठाए प्रिमियम ?
काठमाडौं । साउन एक महिनामा दुई लघुबीमा कम्पनीले २५ वटा बीमा पोलिसी बिक्री गरेका छन् । हालै निर्जीवन लघुबीमा व्यवसाय गर्दै आएका नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो महिनामा कूल २५ वटा बीमालेख बिक्री गरेका हुन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले १७ वटा र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८ वटा बीमा पोलिसी बीमितहरुलाई बिक्री गरेका छन् । समीक्षा अवधिमा दुई कम्पनीले कूल ९५ हजार प्रिमियम संकलन गरेका छन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार बीमाशुल्क संकलन गरेको छ । जुन प्रोटेक्टिभ माइक्रोको तुलनामा बढी हो । प्राटेक्टिभ माइक्रोले भने समीक्षा अवधिमा ३२ हजार प्रिमियम उठाएको छ ।