विकासन्युज

कम्प्युटरमा समस्या आउँदा टोयोटाले रोक्यो काम

एजेन्सी । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन मंगलबार बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले मंगलबार बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएकाे र  कम्प्युटर प्रणाली कहिले सञ्चालन आउँछ  भन्ने स्पष्ट छैन । फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् । गत वर्ष फेव्रुवरीमा टोयोटाले कम्पनीमा सरसामान र उपकरण आपूर्तिकर्ता कोजिमा इन्डस्ट्रिज कर्पोरेशनको प्रणालीमा समस्या हुँदा देशभरका सबै कारखाना बन्द भएका थिए । त्यस बेला १४ वटै कारखानामा काम नहुँदा १३ हजार सवारी साधन उत्पादन रोकिएिको थियो ।

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष

फाइल फाेटाे काठमाडौं । सरकारले प्रमाणपत्रमा उमेर, नाम र जात सञ्याउने अवधि बढाएको छ । मन्त्रीपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको हो । गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो । यसअघि प्रमाणपत्रमा गल्ती हुँदा सञ्याउने अवधि ६ महिनामात्रै रहेकोमा सरकारले बढाएर ५ वर्ष बनाएको हो । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा विद्यार्थीहरू ठूलो मर्कामा थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ । शैक्षिक प्रमाणपत्र सच्याउने वाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एकवर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् । यस्तो छ संशोधित व्यवस्था कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिईसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ । तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनु अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच बर्षभन्दा पुरानो कुनै ब्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ । त्यसैगरी नागरिकता सच्चाएको एक बर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने छ्न ।

मुगुको नाग्चेनाग्नालाई चीन र नेपालबीचको नयाँ व्यापारिक नाका बनाइने, यस्ता छन् प्रधानमन्त्रीका भ्रमणका एजेण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  चीनको भ्रमणले हालसम्म भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद उदयशमशेर राणाले राखेको जिज्ञाशाको जवाफ दिदैँ उनले आफ्नो चीन भ्रमणले परराष्ट्र नीतिसँगै दुई देशबीचको व्यवसायिक सम्बन्ध पनि मजबुत हुने बताएका हुन् । तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक चीन भ्रमणमा जान लागेका उनले चीन देशको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रीत रहने बताए । उनले चीन भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिने, नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सदन बनाउने, दुई देशबीच रहेका सीमानाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने तथा नयाँ नाकाहरु खोल्ने विषयहरु कार्यसूचिमा रहेको समेत जानकारी गराए । यसैगरी सडक, कृषि, उर्जा, विज्ञान तथा प्रविधि व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टीभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रुपान्तकारी परियोजनाहरुमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहने बताए । चीन र नेपालबीच नयाँ नयाँ व्यापारिक नाका खोल्ने छलफल हुने निश्चित भएको पनि उनले जानकारी गराए । मुगुको नाग्चेनाग्नालाई नयाँ व्यापारिक नाकाका रुपमा सुरुवात गर्ने उनको भनाइ छ । कृषिमा सुधारकानिम्ति उत्पादन र उत्पादकत्व वृद्धिमा विशेष ध्यान दिने पनि योजना रहेकाे उनले बताए । चीन भ्रमणकै क्रममा नेपाल-चीन सीमापार विद्युत् प्रसारणलाइन सम्बन्धी सम्झौता हुने जनाइएको छ । रसुवागढी-केरुङ तथा संखुवासभा-तिब्बत विद्युत् प्रसारणलाइन निर्माणबारे सम्झौता, संखुवासभामा चिनियाँ सहयोगमा जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा समेत छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौको अन्तिम साता अमेरिकामा हुने संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले ६ र ७ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए । पाँच दिन न्युयोर्कको व्यस्त कार्यतालिका सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट ४ असोजमा चीन जानेछन् । उनले न्यूयोर्कमा ४ असोजमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन् । २ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८ औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । प्रचण्ड पाँच दिनको न्यूयोर्क बसाइमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहदेखि उच्चस्तरीय भेटवार्तामा सहभागी हुने कार्यक्रम छ ।

सपोर्ट लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं ।  जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाइजर बरिष्ठ सहायक सहायक आईटीका लागि केही र शाखा प्रमुखका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि ईच्छुक व्यक्तिले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । संस्थाले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका  व्यक्तिले भदौ २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अर्घाखाँचीको एभरेष्ट ओल्ड होटेल र छाँया अस्पतालमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची’ र ‘छाँया अस्पताल’ मा छुट हुने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको ‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र छाँया अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँची को अकुमुडेसन एन्ड फूडमा र छाँया अस्पताल प्रालि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसस नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । ‍

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाादीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँ पुगेको छ । यसको मूल्य सोमबार १४ सय ६० रुपैयाँ थियो ।

देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताएका हुन् । प्रशिक्षणमा प्रधानमन्त्रीले भने, ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ, यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ, त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ, जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरण तथा सुन तस्करी प्रकरणको जालो तोड्ने काम अगाडी बढेको समेत बताए । ‘यी प्रकरण यही रोकिनेवाला छैन्, भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ, हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ, तर, हामी दृढताका साथ नै अघि बढ्छौँ’, उनले भने ।

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

  भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी दुई सय ५० देखि तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।  विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई  खेतीमा प्रोत्साहन गरेको छ । पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारी भञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन् । यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको पौवादुङमा–२ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले बताए । गाउँमा उत्पादन भएको खुर्सानी सङ्कलन गरेर दैनिकजसो बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिए । ‘पौवादुङमा क्षेत्रमा धेरै किसानले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन्’, तिवारीले भने, ‘सडकको सहजताका कारण यहाँ उत्पादन भएको खुर्सानी बढी मात्रामा बाह्य जिल्ला जाने गरेको छ । खुर्सानी बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।’ खुर्सानी बिक्रीबाट वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी लिने गरेको किसान तिवारीले बताए । यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा रु ५० हजारदेखि पाँच लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । तिवारीभञ्याङ क्षेत्रमा एक सय बढी घरले व्यावसायिकरूपमा खेती गर्दै आएको किसान तिवारीले जानकारी दिए। खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक सहयोग गरेकाले थप सहज भएको उनको भनाइ छ । ‘हाम्रो गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती गर्ने  किसानको सङ्ख्या धेरै नै छ’, उनले भने, ‘विगतमा कमै मात्रामा किसानले खेती गर्दै आएका थिए । गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गरेपछि प्रायः सबै किसानले खेती गरेका छन् । गाउँपालिकाको सहयोगले यसको व्यावसायिक खेतीमा लाग्न  हामीलाई टेवा पुगेको छ ।’ खुर्सानी खेती गाउँपालिकाको राम्रो आम्दानीको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ । गाउँपालिकाले भूगोलअनुसारको बालीमा जोड दिएको प्रशासकीय अधिकृत भट्टराईले बताए । ‘अकबरे खुर्सानी खेती किसानको राम्रो आम्दानीको स्रोत बनेको छ’, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘गाउँपालिकाले खुर्सानी खेतीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि खेतीमा लाग्ने किसानको सङ्ख्या बढेको अवस्था छ । गत वर्ष मात्र हाम्रो गाउँपालिकामा खुर्सानी विक्रीबाट रु छ करोड बढी भित्रिएको अवस्था छ ।’ कृषिबाट स्थानीयको आयस्तरमा सुधार ल्याउँदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । छवटा वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनको लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। ‘कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘खास गरेर हामीले यहाँ माटो सुहाउँदो बालीमा जोड दिएका छौँ । गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् । अहिले गाउँपालिकामा वार्षिकरूपमा छ करोड बढीको खुर्सानी उत्पादन हुने अवस्था छ ।’ गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे–४, बास्तिम–५, सानोदुम्मा–६, ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडो खेतीको पकेट क्षेत्र निर्धारण गरिएको जनाएको छ । त्यस्तै  वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउली खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किबीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको उनले जानकारी दिइन् । रासस