काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको भ्रमणले हालसम्म भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद उदयशमशेर राणाले राखेको जिज्ञाशाको जवाफ दिदैँ उनले आफ्नो चीन भ्रमणले परराष्ट्र नीतिसँगै दुई देशबीचको व्यवसायिक सम्बन्ध पनि मजबुत हुने बताएका हुन् ।
तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक चीन भ्रमणमा जान लागेका उनले चीन देशको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रीत रहने बताए ।
उनले चीन भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिने, नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सदन बनाउने, दुई देशबीच रहेका सीमानाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने तथा नयाँ नाकाहरु खोल्ने विषयहरु कार्यसूचिमा रहेको समेत जानकारी गराए ।
यसैगरी सडक, कृषि, उर्जा, विज्ञान तथा प्रविधि व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टीभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रुपान्तकारी परियोजनाहरुमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहने बताए ।
चीन र नेपालबीच नयाँ नयाँ व्यापारिक नाका खोल्ने छलफल हुने निश्चित भएको पनि उनले जानकारी गराए । मुगुको नाग्चेनाग्नालाई नयाँ व्यापारिक नाकाका रुपमा सुरुवात गर्ने उनको भनाइ छ । कृषिमा सुधारकानिम्ति उत्पादन र उत्पादकत्व वृद्धिमा विशेष ध्यान दिने पनि योजना रहेकाे उनले बताए ।
चीन भ्रमणकै क्रममा नेपाल-चीन सीमापार विद्युत् प्रसारणलाइन सम्बन्धी सम्झौता हुने जनाइएको छ । रसुवागढी-केरुङ तथा संखुवासभा-तिब्बत विद्युत् प्रसारणलाइन निर्माणबारे सम्झौता, संखुवासभामा चिनियाँ सहयोगमा जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा समेत छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौको अन्तिम साता अमेरिकामा हुने संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले ६ र ७ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए । पाँच दिन न्युयोर्कको व्यस्त कार्यतालिका सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट ४ असोजमा चीन जानेछन् । उनले न्यूयोर्कमा ४ असोजमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन् ।
२ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८ औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । प्रचण्ड पाँच दिनको न्यूयोर्क बसाइमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहदेखि उच्चस्तरीय भेटवार्तामा सहभागी हुने कार्यक्रम छ ।