काठमाडौं । भन्सार विभागमा कार्यरत १ सय ३७ जना कर्मचारीले सामूहिक सरुवा माग गरेका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा अनावश्यक रुपमा दुख दिइएको भन्दै उनीहरुले सरुवा माग गरेका हुन् ।
भन्सारमा कार्यरत अधिकृतदेखि कार्यालय सहायकसम्मका कर्मचारीहरुले मंगलबार भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै सामूहिक सरुवाको माग गरेका हुन् ।
‘हामी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले निरन्तर रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक विदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएका छौं, कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुव्र्यवहार र अपशब्दको त कुनै सीमा नै छैन’, सामूहिक सरुवा पत्रमा भनिएको छ ।
कर्मचारीहरुले आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ आफ्नो जिम्मेवारी अनुसार काम गर्दै आएको भन्दै उनीहरुले सुन तस्करी प्रकरणपछि अनुसन्धानका बाहनामा विभिन्न निकायहरुबाट विनाकारण दुख दिने, मानसिक रुपमा क्षतविक्षत बनाउने कार्य भएको जनाएका छन् ।
‘सुन तस्करी प्र्करणमा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ ।
[pdf id=433366]