गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । अधिकांश भक्तजन बुधबार साँझ नै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीच बाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुत यात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूर्णिमाको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ । गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ । रासस
जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन् । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन)का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए । प्रधानमन्त्री दाहालले व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गरेका छन् । ‘विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताका सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सरकारको सङ्कल्प छ’, उनले भनेका छन् । प्रधानमन्त्री दाहालले पछिल्लो समय सरकारका तर्फबाट लिइएका पहल देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित रहेको बताए । ‘यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता तथा सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पुर्याउनसमेत आम जनसमुदायमा अपिल गर्दछु’, उनले भनेका छन् । प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमका रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । जाति, भाषा र पर्वको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गरेको जनाउँदै उनले यो सबै नेपालीका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय भएको बताएका छन् । प्रधानमन्त्री दाहालले गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले सबै नेपालीलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस भनी शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।
तीन हजार मिटरमाथि सञ्चालित होटल व्यवसायीलाई कर छुट दिनु पर्छ : अध्यक्ष शेर्पा
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्वतीय पर्यटनमा संलग्न हिमाल आरोहीहरु, विज्ञहरु र व्यवसायीहरुको संस्था पनि हो यो । हिमाल आरोहण गर्ने साहसिक गतिविधिको लागि नेपाल विश्वमै अब्बल गन्तव्यको रूपमा लिइन्छ । नेपाल विभिन्न विश्व रेकर्ड राख्न सफल नेपाली आरोहीको देश पनि पनि हो । विश्वका १४ वटा ८ हजारभन्दा अग्ला हिमालहरुमध्ये ८ वटासमेत गरी नेपालमा सत्र सय वटा भन्दा बढि हिमालहरु रहेकाले नेपाल विश्वमै पर्वतीय पर्यटनको गन्तव्य स्थल बनेको छ । पर्वतीय पर्यटनलाई व्यवस्थित गर्दै हिमाली भेगका संस्कृतिहरुको सम्बद्र्धनमा टेवा पुर्याउने, आरोहीहरु तथा पर्वतीय पर्यटनमा लागेका जनशक्तिको अभिलेख राख्ने तथा नीगित व्यवस्थाका लागि एनएमएले सरकारसँग सहकार्य गर्दै आएको छ । नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या ४१९ पुगेको छ । आरोहणका लागि खुल्ला गरेका हिमालको संख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । यसलाई विस्तार गर्दै व्यवस्थित रुपमा नेपालको पर्वतीय पर्यटनलाई अगाडि बढाउनुपर्ने चुनौतीलाई समाधान गर्न एनएमएको भूमिका महत्वपूर्ण रहेको छ । एनएमएले ५० वर्षको परिपक्व भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा एनएमएका अध्यक्ष निमा नुरु शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंश : एनएमएले अहिले कसरी काम गरिरहेको छ ? हिमाली क्षेत्रका गाउँपालिकाहरुसँग सहकार्य गरी हिमालहरुको संरक्षण, नयाँ चुलीहरु खुल्ला गर्ने र हिमालहरुको प्रोफाइल तयार गर्ने काम भइरहेको छ । पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा नीति नियम बनाउनेदेखि हरेक ठाउँमा मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरु तथा निकायहरुसँग सहकार्य गरी यस क्षेत्रलाई अझ व्यवस्थित र मर्यादिन बनाउन हामी क्रियाशील छौं । एनएमएको मातहतमा पोखराको रातोपैरोमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रहेको छ, जुन पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित भैसकेको छ । मनाङमा रहेको माउन्टेनेरिङ स्कुललाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेछ । आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको स्मरणमा ककनीमा स्थापना गरिएको अन्तर्राष्ट्रिय पर्वतारोही स्मारक पार्कलाई पनि अझ व्यवस्थित बनाउन खोज्दैछौं । एनएमएमा रहेको कल्याणकारी कोषमार्फत ती आरोहीका परिवारलाई सहयोग गर्ने काम भइरहेको छ । पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गरी यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य आइरहेका छौ । नेपाल सरकारले हामीलाई जिम्मा दिएका २७ वटा हिमचुलीहरुको व्यवस्थापकीय कार्य अन्तर्गत आरोहण अनुमति पत्र जारी गर्ने, संघले व्यवस्थापन गरिरहेका हिमचुलीहरुमा फोहोर मैला व्यवस्थापन गर्ने लगायतका कार्यहरु गर्दै आइरहेका छौँ । तपाइँ नेतृत्वमा आएपछि कतिवटा हिमाललाई व्यावसायिक आरोहणका लागि खुल्ला गराउनुभयो ? नेपालमा १७ सय भन्दा हिमचुलीहरु रहेको भनिएकोमा स्व.हर्क गुरुङले पहिचान गर्नुभएका १३९२ वटा हिमालहरुमध्ये सरकारले आरोहणका लागि जम्मा ४१४ वटालाई मात्र खुल्ला गरेको थियो । मेरो नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि थप ५ वटा हिमाललाई खुल्ला गर्न सफल भएका छौं । सिन्धुपाल्चोकमा रहेको जुगल हिमशृङ्खलामा पर्ने ५ वटा हिमालहरु आरोहणका लागि खुला गरिएको हो । आरोहण खुल्ला गरेका हिमालको उचाइ ५ हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । यी हिमालहरु काठमाण्डौबाट नजिक रहेकाले आरोहीको आकर्षण हुने आरोहण व्यवसायीहरु बताउँछन् । गएको वसन्त याममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ । ४१९ वटा चुलीमध्ये ६५०० मीटरभन्दा मूनिका ७२ वटामा अहिलेसम्म आरोहण नै हुन सकेको छैन । अहिले ५८०० मिटरदेखि ६५०० मिटरसम्मका २७ वटा हिमचुलीहरुको मात्रै व्यवस्थापन हामीले गरेका छौं भने अन्य सबै हिमचुलीहरुको व्यवस्थापन पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले गर्ने गर्दछ । ६५०० मीटर भन्दा मूनिका सबै हिमचुलीहरुको व्यवस्थापनको जिम्मेवारी सरकारले दिएमा हामी प्रचारप्रसार र प्रवद्र्धनका काम गर्नेछौं । यो वर्ष एनएमए स्थापना भएको ५० वर्ष पुग्दैछ, कसरी मनाउँदै हुनुहुन्छ ? एउटा संस्थाले ५० वर्षको यात्रा गर्नु आफैंमा पनि खुशीको कुरा हो । ०१ नोभेम्बर, २०२३ मा यस संघ ५० बर्ष पुग्दैछ । यसमा वर्षेनी गरिने नियमित कार्यक्रमहरुको अतिरिक्त राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि महत्व राख्ने खालका केही कार्यक्रमहरुको आयोजना गर्दैछौं । एसियाली पर्वतारोहण महासङ्घको वार्षिक साधारणसभा यस वर्ष नेपालमा आयोजना हुँदैछ । आगामी अक्टोबर ३१ मा आयोजना हुने सो बैठकमा पर्वतारोहणसँग सम्बन्धित एशियाली महादेशका करिब १५ देशका १९ वटा अल्पाईन क्लवका प्रतिनिधिहरुको सहभागिता रहने छ । ०१ नोभेम्बर, २०२३ मा आयोजना गरिने संघको ५० औं बार्षिकोत्सव कार्यक्रममा विश्व पर्वतारोहण महासंघ र एशियाली पर्वतारोहण महासंघका अध्यक्षहरुसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरुसमेत गरी ४० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । यसले विश्वमा नेपालको पर्वतीय पर्यटनको सम्भावना र अवसरका बारेमा प्रचारप्रसार गर्न सहयोग पुग्नेछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रको बिकास गर्न तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालका कुराहरु राख्नका लागि महत्वपूर्ण अवसर हुनेछ । नेपाल पर्वतारोहण संघ एक मात्र राष्ट्रिय “अल्पाइन क्लब नेपाल”को रुपमा रही नेपाल सरकारसँग मिलेर काम गर्ने संस्था हो । संसारको विश्व पर्वतारोहण महासंघ, एशियाली पर्वतारोहण महासंघ लगायत सबैमा सक्रिय सदस्यको रुपमा एनएमएले काम गर्दै आएको छ । विश्वका पर्वतारोही र पर्वतीय पर्यटनमा क्रियाशील संघसंस्थाहरुको नेपालप्रतिको दृष्टिकोण कस्तो पाउनुहुन्छ ? विश्वभरमा नेपालको पर्वतीय पर्यटनप्रति निकै सकारात्मक रहेको देखिन्छ । नेपाल साहसिक पर्यटनको मुख्य गन्तव्य मुलुक भएकाले यसलाई हबको रुपमा लैजान सकिन्छ । पर्वतीय पर्यटनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सके नेपाल माउन्टेनेयरिङ र क्लाम्बिङको हेडक्वाटर नै बन्नसक्छ भन्ने उनीहरुको बुझाइ छ तर यसका लागि हामीले उपयुक्त वातावरण तयार गर्नुपर्छ । नेपाल आउने पर्वतारोहीमध्ये झण्डै ५० प्रतिशत दोहो¥याएर आउने भएकाले सधैँ केही पिकहरु मात्र बेचेर हुँदैन, नयाँ नयाँ पिकहरु खुल्ला गर्दै त्यसको प्रचारप्रसार र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ । राज्यसँग तपाइँहरुको अपेक्षा के छ नि ? म भर्खरै कोरियाको भ्रमणमा जाँदा त्यहाँका राजनीतिज्ञ, बुद्धिजीवीदेखि कर्मचारीतन्त्र सबैको ध्यान साहसिक पर्यटनमा केन्द्रित भएको पाएँ, तर हामीले नेपालमा यो आरोहण क्षेत्रमा संलग्न सिमित व्यक्तिहरुको मात्रै हो भन्ने दृष्टिकोण रहेको छ । नेपालको समृद्धिको एउटा मुख्य आधार साहसिक पर्यटन हो भन्ने भन्ने बुझ्न आवश्यक छ । पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि राज्यले विशेष महत्व दिनुपर्ने छ । नयाँ पिकहरु खुल्ला गर्दै जाने, खुल्ला गरिएका पिकहरुको प्रचारप्रसारमा जोड दिने र यसमा संलग्न व्यवसायीहरुलाई प्रोत्साहन गर्न आवश्यक छ । ३ हजार मिटरमाथि होटल, लज सञ्चालन गर्ने व्यवसायीहरुलाई राज्यले कर छुट दिन सकेमा उनीहरु उत्साही भएर व्यवसाय सञ्चालन गर्न सक्नेछन् । पर्वतीय पर्यटनसँग सम्बन्धित कतिपय एने कानूनहरु धेरै वर्षअघि तर्जुमा गरिएका छन्, तिनको समयानुकूल परिमार्जन गर्नुपर्छ । पर्यटनसँग सम्बन्धित कामलाई एकद्वार प्रणालीअनुसार गराउन आवश्यक छ । पर्यटन मन्त्रालयबाटै हुनुपर्ने कामलाई कम्तिमा पाँचवटा मन्त्रालय र विभिन्न निकायहरुमा धाउनुपर्ने अवस्था छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर देखा परिसकेको सन्दर्भमा आगामी दिनमा यसलाई कसरी सुरक्षित राख्नुपर्ने देख्नुहुन्छ ? हिमाललाई सफा राख्नुपर्छ, प्रदूषण हुन दिनुहुँदैन भनेर जनचेतना अभिवृद्धि गर्ने आरोहणमा जाने आरोही, भरिया वा अन्य व्यवसायीहलाई यसम्बन्धी जनचेतना, सुरक्षासम्बन्धी तालिम प्रदान गर्ने काम भइरहेको छ । नेपाली सेनासँग मिलेर हिमाल सफाई कार्यक्रम सञ्चालन भइरहेको छ । आरोहीलाई अरु हिमालमा पनि आकर्षित गरेर सगरमाथासहितका हिमालको चाप घटाउनुपर्ने जलवायुविज्ञहरुको राय छ । जलवायु परिवर्तनका कारण जसरी हिमालयहरुमा हिउँ पर्ने क्रम कम हुँदै जानु र तीब्र गतिमा पग्लने क्रमले भोलि हिमाल आरोहणको सट्टा रक क्लाम्बिङ भन्नुपर्ने अवस्था आउन नदिन हामीले अहिलेदेखि नै उच्च सावधानी अपनजाउनु आवश्यक छ । यद्यपि यो समस्या नेपालले सिर्जना गरेको नभई विश्वव्यापी समस्या भएकाले समयमै विश्व समुदायको ध्यानाकर्षण गराउन सक्नुपर्छ । अहिलेसम्म कतिजनाले एनएमएबाट तालिम प्राप्त गरेका छन् ? हाम्रो मुख्य काम भनेको दक्ष जनशक्ति उत्पादन गर्नु हो । सङ्घले प्रदान गरेको तालिमबाट नै प्रत्यक्ष रुपमा २० हजारभन्दा बढी व्यक्ति पर्वतीय पर्यटन क्षेत्रमा सक्षम भएका छन् । पिक क्लाइमिङदेखि सगरमाथा क्लाइम्बिङसम्म सफल भएका व्यक्तिहरुले ९५ प्रतिशतले एनएमएसँग तालिम लिएका हुन्छन् । अन्त्यमा नेपालको समग्र पर्यटन विकासका लागि एनएमएको भूमिकालाई कसरी बढाउने सोच बनाउनु भएको छ ? नेपालको आर्थिक विकासको मुख्य आधार भनेकै पर्यटन हो । सरकारले पर्यटन क्षेत्रको विकासका लागि भनेअनुसार प्राथमिकता दिएको छैन । यस क्षेत्रमा संलग्न व्यवसायीहरुले पनि आआफ्नो व्यावसायिकताको रुपमा मात्र बुझ्ने गरेका छन् । समग्र राष्ट्रकै एउटै सोच, लक्ष्य र भावी कार्यक्रम नबनेसम्म पर्यटन विकासको कुरा नारामै सिमित रहन्छ । प्रकृतिले नै हामीलाई हिमाल, पहाड र तराई दिएको छ भने सामाजिक विविधता पनि महत्वपूर्ण सम्पदा छ । विश्वका यतिधेरै अवसर कमै मुलुकले पाएका छन् । तर हामीले पहिलो योजनादेखि नै पर्यटनका कुरा गर्दै आज १६ औँ योजनासम्म आइपुग्दा त्यही पुरानै कुरा दोहोर्याइरहेका छौं, यसले हामीलाई समृद्धिमा पुर्याउँदैन । एनएमएजस्ता संस्थाहरुलाई राज्यले साथमा लिएर सामूहिक ढङ्गबाट अगाडि बढ्ने हो भने एउटा आवधिक योजनामै हामीले पर्यटनको क्षेत्रमा ठूलै फड्को मार्न सकिन्छ ।रासस
एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा
काठमाडौं । एनआइएमबि क्यापिटलले एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआइबिएल प्रगति फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८०को नाफाबाट कर सहित ६.८ प्रतिशतका दरले ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सुधीर बस्नेतले ऋण नतिरेपछि सञ्चय कोषले लिलामीमा राख्यो कोहिनुर हिल हाउजिङ
काठमाडौं । कर्मचारी सञ्चय कोषले कोहिनुर हिल हाउजिङलाई लिलामीमा राखेको छ । कोषबाट ऋण लिएर चुक्ता नगरेपछि कोहिनुर हिल हाउजिङ लिलाममा बिक्री गरेर असुल गर्ने भएको हो । कर्मचारी सञ्चय कोषले कोहिनुर हिल हाउजिङ ऋण तर्न पटक पटक ताकेता गरेको थियो । तर, कम्पनीले ऋण चुक्ता नगरेपछि सम्पत्ति नै लिलाम गर्ने भएको हो । कोहिनुर हिलले कोषबाट साँवा र ब्याजसहित १ अर्ब रुपैयाँभन्दा बढी कर्जा चुक्ता गर्नु पर्नेछ । कोहिनुर हिलका सञ्चालक सुधीर बस्नेत हुन् । बस्नेतले सो रकम चुक्ता नगरेपछि कोषले लिलामी प्रक्रिया अघि बढाएको हो । ऋणी कोहिनूर हिल हाउजिङ्गको १०-९-२-० रोपनी जग्गा कोषको नाममा दृष्टिबन्धक छ । ललितपुरको साविक इमाडोल गा.वि.स. ४ स्थित कित्ता नम्बर ८०, ८४, ८९, ५६६, ५७९, ५८०, ५८१, ५८२, ५८४, ७५२, ७५३, ७७२, ७७३, ७७४, ८४६, ८४७, ८४८, ८५०, ९२३, ९६०, ९६२, १०२८, ३३६, १०३१, ९६६, ९१८ को कूल क्षेत्रफल १०-९-२-० जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरू रहेको कोषले जनाएको छ । कोषलेले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ३५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । बोलपत्र स्वीकृत भएको ३० दिनभित्र सबै रकम कोषमा बुझाइसक्नु पर्नेछ । यदि कोहिनुर हिलका सञ्चालक बस्नेतले ३५ दिन अगावै ऋण चुक्ता गरे लिलामी प्रक्रिया स्थगित गर्ने कोषले बताएको छ । बस्नेतमाथि सर्वसाधारणको करिव १२ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो । सहकारीबाट सर्वसाधारणको ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन, बैंकहरुको ऋण र आफूसँग कारोबारमा जोडिएका झण्डै ८ हजार सर्वसाधारणलाई ठगी गरेको उनीमाथि आरोप छ । अग्नी यातायातको लामो दुरीको बसबाट आफ्नो व्यससायीक यात्रा गरेका वस्नेतले आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स, कोहिनुर हिल हाउजिंग मार्फत सर्वसाधारणलाई आवस दिने सपना देखाएर ठगी गरेको आरोप छ । सामान्य परिवारका उनले विभिन्न सहकारी खडा गर्दै आमसर्वरणमा संकलित निक्षेपलाई घरजग्गा लगानी गरेका बस्नेतले २०६५÷६६ पछि रियलस्टेट कारोबार खस्किएपछि विभिन्न व्यक्तिसँग अपाटमेन्ट लिने आश्वासन दिँदै रकम असुल्दै गरेको थिए । दुई दशकअघि व्यवसायमा लागेको उनका घरजग्गा कारोबारबाटै व्यवसायिक सफलता चुम्दै गएका थिए । २०६० देखि २०६६ सालसम्म हाउजिङ व्यवसायमा उनी सबैभन्दा ठूलो कारोबारीको रुपमा चर्चामा थिए । २०६७ सालमा राष्ट्र बैंकले वित्तीय संस्थाको घरजग्गा लगानी कर्जामा सीमा तोकेपछि उनको व्यवसाय ओरालो लाग्न शुुरु भयो । अपार्टमेन्ट र हाउजिङ प्रोजेक्टको निर्माकार्य सम्पन्न गर्न भनेर सर्वसाधारणबाट लिएको रकम र बैंक वित्तीय संस्थाबाट जग्गामा अन्धाधुन्दा लगानी गरेका उनलाई त्यसपछि तरलता अभावमा पर्न थाल्यो । घरजग्गाको मूल्य समेत घटेपछि बस्नेतले न जग्गा बिक्री गर्न सके न त हाउजिङ र अपार्टमेन्टको योजना निर्माण सम्पन्न भयो । त्यसको व्यवस्थापनका लागि सर्वसाधारणसँग थप रकम उठाउँदै बैंकको ब्याज तिर्न आम सर्वसाधारणले जम्मा गरेको निक्षेप चलाउन थाले र डुबाए ।
महानगरको व्यवस्थापन समिति हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो । अदालतले काठमाडौँ महानगरपालिकासँग विद्यालय व्यवस्थापन समिति अध्यक्ष हटाउनुका कारणसहित लिखित जवाफसमेत माग गरेको छ । महानगरको उक्त निर्णय संविधान, शिक्षा ऐन र नियमावलीविपरीत रहेको उल्लेख गर्दै १८ वटा सामुदायिक विद्यालयका अध्यक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
आज जनैपूर्णिमा र रक्षाबन्धन, किन मनाईन्छ ?
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्पररा जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनको भनाइ छ । तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
आज देशभर गाईजात्रा मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । विकृतिका विरुद्ध हाँस्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हाँस्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।