लगातार ३ दिन सार्वजनिक विदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । बिहीबार रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको सार्वजनिक विदा दिइएको छ । शनिबार नियमित सार्वजनिक परेकाले लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सापारु वा गाई जात्रा काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो। धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् । काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
आठराई-त्रिवेणीका सपना सारथी दीपेन्द्र
काठमाडौं । सामान्य चियागफमा पनि धेरै चर्चा हुने विषय हो विकास र नेताको भूमिका । कुनै काम वा निर्णय यसरी वा त्यसरी गर्नुपर्थ्यो भनेर उपाय सुझाउने पनि धेरै हुन्छन् । तर, आफैले ती कामको नेतृत्व गर्ने आँट भने कमैमा हुन्छ । अझ ग्रामीण क्षेत्रको समग्र विकासको जिम्मेवारी काँधमा लिन जो कोही तयार भइहाल्दैनन् । तर, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकालाई विकासमा अग्रणी बनाउने अठोट शिरमा लिएर खटेका छन् गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु । अघिल्लो बैशाखमा भएको चुनाव जितेसँगै समाज परिवर्तन र विकासलाई गति दिने गरी काम गरिरहेको उनले बताए । ‘गाउँपालिका हरेक क्षेत्रमा पछि परेको देखेर नै मलाई गाउँपालिकाको अध्यक्ष बन्न मन लागेको हो, यहाँको विकासलाई तीव्रता दिन नसकेको देखेर आफै पालिकाको अध्यक्ष बनेको हुँ’ उनले भने । दीपेन्द्र परिवारका ९ सन्तानमध्येका कान्छा छोरा हुन् । उनको जन्म २०४४ बैशाखमा भएको हो । ३५ वर्षको उमेरमा उनी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन् । उनले प्लस टुसम्मको अध्ययन गरेका छन् । स्नातक तह अध्ययनको लागि भर्ना भए पनि पूरा गर्न नसकेको उनले बताए । ‘मैले धेरै पढ्न पाएको छैन । स्नातक तहको अन्तिम वर्षमा पुगेपछि पढाइमा ब्रेक लाग्यो’, उनले भने। त्यसबेला दीपेन्द्र चाहन्थे, पढाइ सकेर राम्रो जागिर पाइयोस् । जागिर नपाए विदेश जाने सोच पनि उनमा आएको थियो । अध्ययनकै क्रममा उनी राजनीतिमा पनि आवद्ध भइसकेका थिए । तर, राजनीतिमै स्थापित भइएला भन्ने उनलाई लागेको थिएन । बरु जिविकोपार्जनको विकल्प रोजगारी हुन सक्ला भन्ने साेचेका थिए। काम खोज्दै जाँदा उनले एउटा गैरसरकारी संस्थामा जागिरको अवसर पाए । तर, उनले डेढ वर्षभन्दा बढी उक्त संस्थामा काम गर्न सकेनन् । ‘एनजीओमा काम गरेपछि जागिरको अनुभव पर्याप्त भयो । त्यहीँ बेला थाहा भयो जागिर खाने होइन रहेछ, खुवाउने रहेछ’, उनले भने । एनजिओको जागिर छाडेपछि भने उनले विदेशको सोच पनि त्यागिदिए । स्वदेशकै माटोमा पसिना बगाउने र व्यवसायमा रमाउने भन्दै निर्माण क्षेत्रको काममा हात हाले । उनले २०६९ सालमा पोमु कन्स्ट्रक्सन नामको कम्पनी दर्ता गरी निर्माण व्यवसायीको रुपमा काम सुरु गरेका थिए । त्यसपछि भने उनले व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाउँदै गए । राजनीतिमा बढी केन्द्रीत भएपछि उनले कन्स्ट्रक्सन कम्पनीको जिम्मा भने उनले आफ्नो श्रीमतीलाई दिएका छन् । सुरुमा अनेरास्ववियूसँग आवद्ध रहेका दीपेन्द्र पढाइ छाडेपछि युवा संघको राजनीतिमा लागे । संघमा रहँदा युवा सशक्तिकरणका साथै युवा जागरूकताका क्षेत्रमा उनले काम गरेको बताउँछन् । यसपछि भने उनमा राजनीतिक राप रात दिन भरिँदै गयो । २०६९ सालमा बुटवलमा भएको युवा संघको केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनले २०७७ सालमा करिव डेढ वर्ष राष्ट्रिय युवा परिषद्को जिल्ला अध्यक्ष भएर पनि काम गरेका थिए । जुन राजनैतिक नियुक्ति थियो । त्यसबेलासम्म उनले आफ्नो राजनीतिक प्रतिष्ठा उँचो बनाइसकेका थिए । २०७४ को चुनावमा उनी उम्मेदवार बन्न चाहेका थिए तर, पार्टीले टिकट दिएन । ‘मेरो आकांक्षा भए पनि पार्टीले मलाई टिकट दिएन, म अर्को पटकको चुनावमा उठ्छु भनेर सन्तोष माने । तर, हाम्रो उम्मेदवार जित्न सक्नुभएन’, उनले भने । २०७९ को निर्वाचनमा भने पार्टीले दीपेन्द्रलाई नै टिकट दियो । उनले चुनाव जिते । उनले सामाजिक रुपमा गरेको योगदान र उनको क्षेत्रमा देखाएको बलियो राजनीतिक उपस्थिति नै उनको जित्ने आधार भएको दीपेन्द्र बताउँछन् । दीपेन्द्र हाल जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा छन् । एमाले विभाजन अघि उनले जिल्ला कमिटी सचिव भएर काम गरेका थिए । अब भने पार्टीमा जिल्ला कमिटीकै नेतृत्व सम्हाल्ने योजनामा उनी छन् । विकासमै केन्द्रित उनको ठाउँमा विद्युत पुगेकै थिएन । तर, निर्वाचित हुनु अगावै उनले गाउँमा विद्युत बाल्न भूमिका निर्वाह गरेका थिए । निर्वाचित भएपछि घोषणा पत्रमा उल्लेख भएका विषय एक एक गरी कार्यान्वयन गरिरहेका छन् । गाउँपालिकाभरी नै तीब्र विकासको नेतृत्व दीपेन्द्रले गरेका छन् । गाउँपालिकाभित्र करिब २८ सय घरधुरी छन् । जसमध्ये दुई हजार घरमा बिजुली पुगिसकेको छ । बाँकी घरमा पनि बिजुली पुर्याउन उनी दिन रात खटिरहेका छन् । उनले घरायसी प्रयोजनको विद्युतीय महसुल गाउँपालिकाले नै तिरिदिने व्यवस्था मिलाएका छन् । गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाएको छ । गाउँ पालिकाको प्रशासनिक भवन निर्माणको काम अघि बढाएका छन् । त्यससँगै सबै वडाको कार्यालय बनाउने उनको योजना छ । ‘संविधान बनाउँदा हामीले जनसंख्यालाई हेरेर गलत व्यवस्था गर्यौं । पहाडी क्षेत्रमा विकासमा करोडौं रुपैयाँ खर्च हुन्छ, बजेट थोरै हुन्छ’, उनले भने, ‘राज्यले बनाएको नीति नै लागू हुन सकेको छैन ।’ गाउँपालिकाको नेतृत्व मार्फत उनी गाउँलेले देखेको सम्पन्नाको सपना साकार पार्न लागेका छन् । मतदाताले पनि उनी सफल हुँदै गएको विश्लेषण गरिरहेका छन् । तर, दीपेन्द्र आफै भने गाउँका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । ‘मान्छेले मलाई सफल भएको देख्छन्, तर म सफल भएको छैन, गाउँपालिका बासी र मैले देखेको सपना जब पूरा हुन्छ त्यसबेला मात्रै म सफल भएको हुन्छु’, उनले भने ।
कर्मचारीका बारेमा प्रकाशित समाचारप्रति नेपाल एसबिआई बैंकको गम्भीर ध्यानाकर्षण
काठमाडौं । नेपाल एसबिआई बैंकले बैंकका कर्मचारीका बारेमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै बैंक सदैव निष्पक्ष, पारदर्शी र बैंकिङ अनुपालनमा विश्वास गर्ने बताएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै बैंकले विभिन्न सञ्चार माध्यममा कर्मचारीको बारेमा लगाइएको आरोपका सम्बन्धमा प्रकाशित समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै, बैंकले यस सम्बन्धमा अनुसन्धान कार्य शुरूवात गरिसकेको पनि बैंकले जानकारी दिएको छ । अनुसन्धानपश्चात उचित कदम लिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बचतकर्ताको अर्बौं रकम ठग्ने केदार शर्मा जेल चलान
काठमाडौं । शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको बचत ठग्ने केदार शर्मा जेल चलान भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । शर्माकी श्रीमती गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल यसअघि नै जेल चलान भइसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । शर्मा सँगै पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको सिआईबीले जनाएको छ । सिआईबीका अनुसार १९ जनालाई प्रतिवादी बनाइएकोमा १२ जना फरार छन् । सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएको भन्दै ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ ।
हिमालयन ८०-२० म्युचुअल फण्डमा आकर्षण बढ्दो, साढे ४४ हजारले दिए आवेदन
काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्डमा लगानीकर्ताहरुको आकर्षण बढ्दो रहेको छ । साउन ३२ गतेदेखि बिक्री खुला गरेको ‘हिमालयन ८०–२०’ फण्डमा बिहीबार ८० करोड रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । सिडिएसका अनुसार बिहीबार १० बजेसम्म ४४ हजार ३८७ जना आवेदकले ८ करोड ४ लाख २ हजार १३० इकाईका लागि ८० करोड ४० लाख २१ हजार ३ सय रुपैयाँ बराबरको आवेदन दिएका छन् । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलको सो फण्डको अवधि १० वर्ष रहेको छ ।
दुई थान पेस्तोलसहित माझी पक्राउ
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको प्रहरीले जनाएको छ । यसैबीच भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ । बसमा आगजनी त्यसैगरी आज बिहान मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरि राखेको बा४ख ६६६९ नम्बरको बसमा आगजनी गरिएको छ । कमलविनायकबाट रत्नपार्क जाने क्रममा भाडाको उक्त बसमा आगजनी गरेपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस
यसरी मनाइँदै छ जनैपूर्णिमा र रक्षाबन्धन (फोटोफिचर)
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।
मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु
काठमाडौं । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए । यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए। भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए । यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ । त्यसबाट झण्डै रु आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङक छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट रु १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए । मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब रु ४१ करोडको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा रु नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ । क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न रु १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए । यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए । हाल मुलुकका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । रासस