विकासन्युज

भृकुटीमण्डपमा भोलीबाट इभीको अन्तर्राष्ट्रिय प्रदर्शनी, विद्युतीय सामाग्री पनि रहने

काठमाडौं । भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी भोलि (भदौ १५ गते) बाट हुने भएको छ । नेपालमा विद्युतीय माध्यमको उपभोग बढाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोर्टरस एसोसिएसन अफ नेपालको संयुक्त आयोजना गरेको प्रदर्शनी आयोजना हुन लागेको हो । उक्त प्रदर्शनी भदौ १७ गतेसम्म चल्ने बताइएको छ । प्रदर्शनीमा स्वदेश तथा विदेशका गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी रहने बताइएको छ । विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी सहयोगी हुने आयोजकको अपेक्षा छ । उक्त प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ लगायतका सामग्री रहनेछन् । यस्तै, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण लगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गरिने आयोजकको भनाई छ । यस्ता छन् एक्स्पोमा राखिने प्रडक्ट [pdf id=433593]

कर नबढाउन आग्रह, उद्यमीलाई आत्मनिर्भर बनाउन जोड दिनुपर्ने

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको जनाउँदै यसलाई फिर्ता गर्न आग्रह गरिएको छ। विभिन्न राजनीतिक दलले चरणबद्ध सङ्घर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नसक्नेगरी निर्धारण गरिएको करलाई पुनरावलोकन  गर्न माग गरेका हुन् ।  ती दलले पहिलाकै अवस्थामा करलाई  ल्याउन अनुरोध गर्दै यसो नगरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘कर तिर्न हामी तयार छौँ तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ’ भन्ने नाराका साथमा बृहत् नागरिक कार्यक्रम समेत आयोजना गरिएको छ ।   कार्यक्रमसँगसँगै करवृद्धिविरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाँईले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका  कार्यक्रम जारी रहने बताए ।  सुन्दरहरैँचा नगरपालिकाको १२औँ नगरसभाबाट आव २०८०-८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल जानकारी दिए ।  उनले जनताको जीवनस्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगरस्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्ने तर्फ ध्यान दिन आग्रह गरे । स्थानीय शिक्षासेवी तथा राजनीतिकर्मी महेश आचार्यले जनभावनाको कदर गर्दै कर सन्तुलित र जनप्रिय बनाउन सुझाव दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित नगरसभापति टेकमणि न्यौपानेले हालको अव्यावहारिक आर्थिक ऐन, २०८० लाई व्यावहारिक बनाउन माग गरे ।  सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले जग्गाको वर्गीकरण गर्ने क्रममा  सामान्य कर बढेको हुनसक्ने उल्लेख गर्दै बढी भए पुनर्विचार गरिने बताए । ‘आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिन सकिने छ’, उनले भने, ‘जग्गाको वर्गीकरण जनताको हित र भलाइका लागि परिवर्तन पनि हुनेछ ।’ रासस

चीनले नेपालको नयाँ नक्सा अस्वीकार गरेको भन्दै बालेनले गरे चीनको भ्रमण रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीनले जारी गरेको नक्सालाई देखाएर चीन भ्रमण रद्द गरेको बताएका छन् । चीनले नेपाली भूमिलाई भारतमा देखाएर नक्सा जारी गरेको भन्दै उनले आपत्ति समेत व्यक्त गरेका छन् । चीनको नक्सा जारी गर्दा नेपालको भूमि भारतको देखिने गरी उल्लेख गरेको भन्दै मेयर साहले गर्न लागेको चीनको ५ दिने भ्रमण स्थगित गरेको बताएका छन् । ‘हामी नेपालीले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ’ मेयर साहले फेसबुक स्टेटस लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समावेश गरेर नेपालले नयाँ नक्सा जारी गरेको छ । चीनले केही दिन अघि अपडेट गरेको नयाँ नक्सामा नेपालको भूभागका भारतमा पर्ने गरी उल्लेख गरेको छ ।

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजीलगायतका ठाउँमा स्याउ उत्पादन गरिँदै आएकामा अहिले निसीखोला, ताराखोला र बडिगाडको माथिल्लो क्षेत्रमा स्याउ खेती गर्न थालिएको छ । पछिल्लो पाँच वर्षयता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको संख्या पनि बढ्दै गएको छ । करिब २२ सय मिटरको उचाईदेखि स्याउ उत्पादन हुने हुँदा कृषकको आकर्षण बढेको पाइन्छ । जिल्लामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रलाई लिन्छ । यी क्षत्रेमा दुई दशकभन्दा अगाडिदेखि व्यावसायिक स्याउ उत्पादन हुँदै आएको पाइन्छ । पछिल्लो समय ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको उच्च क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा १ सय ८० वटा स्याउको बिरुवा लगाइएको छ । बिरुवा लगाएको दुई वर्षमै फल्ने हुँदा कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाको ५ नम्बर वडामा उन्नत प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातिको स्याउ लगाइएको गाउँपालिकाका सायक पशु चिकित्सक प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । यस वर्ष पनि गाउँपालिकाले आठ सय स्याउका बिरुवा खरिद गरी किसानलाई वितरण गरेको बताए। अघिल्लो वर्ष ताराखोला गाउँपालिकाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट उन्नत जातका स्याउका बिरुवा लिएर कृषकलाई दिएको भन्दै ती बिरुवा सप्रिदै गएको उनको भनाइ छ । उन्न्त जातका स्याउका बिरुवालाई सरसफाई गर्न, बगैंचामा विषादी व्यावस्थापन र कलमी गर्न सजिलो हुने भएकाले किसानले खेती गर्न चासो देखाएको शर्माले बताए । अघिल्ला वर्षहरुमा १४ रोपनी क्षेत्रमा स्याउ खेती भएको भन्दै यस वर्षदेखि एक रोपनीमै चारदेखि पाँच हजार बिरुवा लगाउन मिल्ने खालको स्याउका बिरुवा विस्तार गर्ने योजना रहेको उनले बताए । निसीखोला गाउँपालिका–५ मा पनि गाउँपालिकाले स्याउ खेती विस्तार गरेको छ । सिप, भल्कोट लगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि उत्साहित भएका छन् । भौगोलिक वनावट, हावापानी र स्थानीयवासीको मागअनुसार निसीखोलाको माथिल्लो क्षेत्रमा स्याउ खेती विस्तार गर्न थालेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । यस वर्ष वडा नम्बर ५ र ६ मा ४५० स्याउका बिरुवा लगाएको अध्यक्ष घर्ती मगरले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती विस्तार गर्न थालेको उनको भनाइ छ । निसेलढोर बाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाइएको छ । ‘बागलुङ जिल्लामा स्याउ फल्ने ठाउँका रुपमा निसेलढोर र उत्तरगङ्गा ढोरपाटनलाई चिनिदै आएको छ, हामीले अहिले तल्लो क्षेत्रमा पनि स्याउ उत्पादन गर्ने गरि किसानलाई बिरुवा दिएका छौँ, यहाँका किसानले स्याउ लगाएको स्थान उच्च पहाडी क्षेत्र पर्छ, कृषि प्राविधिकहरुको टोलीले माटो परीक्षण गरेर उन्नतजातका स्याउका बिरुवा लिएर लगाइएको छ, यी बिरुवाले एक/दुई वर्षमै उत्पादन दिन्छन् भन्ने छ, यसले कृषिकलाई उत्पादन गर्नेतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने छ ।’ निसीखोला गाउँपालिकामा दर्ता भएका कृषि फर्म तथा समूहलाई स्याउका बिरुवा प्रदान गरेको उनले बताए। वडा नं ५ र ६ का ४५ समूहलाई चार सय ५० स्याउका बिरुवा दिएको उनले बताए । पाल्पामा उत्पादन गरिँदै आएको स्याउको बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको हो । निसीखोलामा दुई हजारदेखि चार हजार उचाईसम्म स्याउका बिरुवा लगाइने उनको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने, सिप, चोरबास, कोस्काँ लगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् । निसीखोला गाउँपालिका–२ अर्नाकोटमा पनि अघिल्लो वर्षदेखि व्यावसायिक स्याउ खेती सुरु भएको छ । स्थानीय दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाएको बिरुवाले अहिले फल दिएको छ । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि उनी उत्साहित भएका छन् । ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका छन्। सुरुमाल लगाएका बाइस बिरुवामध्ये दुई वटा मरेको भन्दै अहिले २० वटा बोटमा स्याउ फलेको उनले बताए । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । ओलीले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ जना कृषकले पनि बिरुवा लिएर लगाएको बताए । वर्षौँदेखि गाईभैँसी र खेती किसानी गर्दै आएका किसान अहिले स्याउ खेती गर्नेतर्फ ध्यान दिएको उनको भनाइ छ । हाल उनको बगानमा २७ नयाँ बिरुवा र  पोहोर साल लगाएका २० गरी ४७ स्याउका बोट रहेको उनले बताए । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन जानकारी पाएपछि ओलीले परीक्षणका लागि स्याउ लगाएको बताए । परीक्षणका लागि लगाएको स्याउले एकै वर्षमा फल दिएपछि थप उत्साहित भएको उनको भनाइ छ । उनले भने, ‘अर्नाकोट क्षेत्रमा स्याउ लगाउने चाहना पहिलेदेखि नै थियो तर विभिन्न कारणले गर्दा लगाउन पाएको थिएन, पोहोर साल ल्याएर लगाएको अहिले फलेको छ, यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिएन । यस ठाउँमा पानीको समस्या भएकाले सिँचाइको कारण बिरुवा बचाउन सकिन्न कि भन्ने उनलाई निकै डर थियो तर यसमा धेरै सिँचाइ गर्नुपर्ने नपर्ने हुँदा उहाँमा चिन्ता रहेन । अब उनलाई व्यावसायिकरुपमा धेरै स्याउ उत्पादन गर्ने उत्साह बढेको छ ।’ स्थानीय चेतबहादुर कुँवरले पनि दुई वर्ष अगाडि २७ वटा बिरुवा लगाउनु भएको थियो । अहिले सबैले बिरुवामा स्याउ फलेका छन् । कुँवरले लगाएकै सालमा फूल फूल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताए । स्याउ खेती व्यवस्थित गर्नका लागि गाउँलेलाई नै यसतर्फ आकर्षित गर्न थालेको उनको भनाइ छ । आफूले स्याउ लगाएको क्षेत्र अलि बढी सुख्खा भएको हुँदा स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उनले बताए । गाउँमा पछिल्लो समय सयौँ रोपनी जग्गा खाली हुँदै गएको र यी जग्गालाई सदुपयो गरी स्याउ खती गर्ने योजना रहेको उनको भनाइ छ । एउटा व्यक्तिले मात्रै बाँझो जमिन सदुपयोग गर्न नसक्ने हुँदा यसका लागि गाउँले नै सक्रिय हुनु पर्ने कुँवरले बताए । गाउँमा अघिल्लो वर्षसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको उनले बताए । यस वर्ष गाउँमा स्याउका बिरुवा लगाउनेको संख्या बढेको उनले बताए  । ‘हामी सानो–सानो हुँदा ढोरपाटन पुगेर स्याउ खाने गरिन्थ्यो, पहिले त अहिलेको जस्तो बजारमा विदेशी स्याउ पनि आउँदैनथे, अहिले त जता पनि छ्याप्छ्याप्ती पाइन्छन्, हामीले पनि गाउँमा स्याउ लगायौँ, हाम्रो गाउँ स्याउ फल्ला भन्ने कल्पना पनि थिएन, अहिले चकित पार्ने गरी सानै बोटमा फल्यो, स्याउ फलेपछि गाउँका धेरैलाई आश्चर्य बनाएको छ,’ उनले भने, ‘यो ठाउँ खानेपानीको अभाव भएको ठाउँ हो, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरुलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आश पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।’ कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनमगरले जिल्लामा स्याउ खेती विस्तारका लागि ज्ञान केन्द्रबाट कृषकलाई प्रोत्साहन गरेको र उन्नत जातका स्याउका बिरुवासमेत वितरण गर्दै आएको बताए । स्याउ खेतीप्रति किसानले चासो देखाएपछि ज्ञान केन्द्रले यस वर्ष २५ सय बढी बिरुवा वितरण गरेको छ । उनका अनुसार हाल बागलुङमा ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । यसमध्ये ५५ हेक्टरमा लगाइएका स्याउका बोटले उत्पादन दिएको उनले बताए । जिल्लाको माथिल्लो क्षेत्रमा स्याउ खेतीका लागि हावापानी उपयुक्त भएकाले हरेक वर्ष जिल्लामा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने किसानहरुले आशा गरेका छन् । रासस

५९ हजारले लिए ट्रेडमार्क, अन्वेषणमा उदासिन

काठमाडौं । पछिल्लो समय पेटेण्ट, डिजाइन र ट्रेडमार्क लिने उद्योगी तथा व्यवसायीहरुको संख्यामा वृद्धि हुन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ५८ हजार ९९५ जनाले ट्रेडमार्क लिएका छन् । जसमा ३१ हजार ९०६ जना स्वदेशी तथा २७ हजार ८९ जना विदेशीले ट्रेडमार्क लिएका हुन् । गत आर्थिक वर्ष २०७९/०८० मा ३ हजार २५४ वटा ट्रेडमार्क दर्ता भएकाे विभागका सूचना अधिकारी रमिला भण्डारी बताउँछिन् । उद्यमीले आफूले उत्पादन गरेका सामानलाई छुट्टै किसिमले परिचय दिनका लागि ट्रेडमार्क लिने गर्छन् । ट्रेडमार्क एउटा संकेत वा चिह्न हो, जसले प्रतिष्पर्धी बजारमा उद्योगीका हरेक उत्पादनलाई फरकफरक रूपमा बजारीकरण गर्न सहज बनाउँछ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानुनी हक र अधिकार हो । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न भने मिल्दैन । पेटेण्ट, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक ७ वर्षमा नवीकरण गरिरहनुपर्छ । यदि नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ । संख्या धेरै भए पनि कतिपय ख्यातिप्राप्त नेपाली उत्पादनहरूले आफ्नो ट्रेडमार्क जोगाउन दर्ताको पहल समेत गर्ने नगरेको विभागले जनाएको छ । यस्तै, विभागको तथ्यांक अनुसार हालसम्म ११४ जना स्वदेशी र १८९ जना विदेशी गरी हालसम्म ३०३ जनाले मात्र डिजाइको अनुमति लिएका छन् । एक वर्षमा ५ जनाले लिए पेटेण्ट अनुमति सरकारले गत पुसमा तेहथुमका दिर्घजंग सुब्बाको बौद्धिक सम्पतीको सुरक्षा गर्दै उनको नाममा पेटेण्ट जारी गर्याे । सरकारले गत पुस ७ गते राजपत्रमा सूचना प्रकाशन गर्दै उनले दर्ता गराएको ‘सट साइकल ड्राइङ प्रोसेस अफ अत्तिस युजिङ हाइ फ्रिक्वेन्सी हिट अन्डर सब प्याबनोसफेरीक प्रेसर’ दर्ता भएको जनाएको थियो । करिब २ वर्ष अगाडि उद्योग विभागमा उनले उत्तिसको काठलाई सुकाएर लामो समयसम्म प्रयोग गर्न सकिने भन्दै आफ्नो आविष्कारको पेटेण्ट लिन आवेदन दर्ता गराएका थिए । उनले आवेदन दिएको २ वर्षपछि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी दर्ता अनुमति दिएको हो । गत माघमा रुपन्देहीका किरण सुवेदीको नाममा सरकारले अर्काे पेटेण्ट दर्ता गरायो । ‘मल्टी हाट् एक्सचेन्ज हाइब्रिड कुलिङ सिष्टम वाइ इभापोरोसन’ नामको उनको आविष्कारलाई सरकारले माघ २६ गते राजपत्रमा सूचना प्रकाशन गर्दै अनुमति दिएको हो । गत चैत २० गते सरकारले पोखरा युनिभर्सिटी, पोखरा कास्कीका नाममा ४ वटा पेटेण्ट दर्ता गरायो । प्रेसराइज इलेक्टीकल भेसल फर कुकिङ लोक्ता बार, बिटिङ डिभाइस फर डिमिङ फाइबर फर हिमालयन गाइन्ट नेटल, अल्ले रिफाइन सिष्टम फर प्रोसेसिङ एण्ड एक्ट्रक्टीङ फाइबर फर्म हिमालयन गाइन्ट नेटल प्लान्टलाई पेटेण्टका लागि अनुमति दिएको हो । विभागको तथ्यांक अनुसार १४ वर्षको अवधिमा १८ वटा स्वदेशी पेटेन्ट दर्ता भएका छन् । आर्थिक वर्ष ०६६/६७ यता गत आर्थिक वर्ष २०७९/०८० को एकै वर्षमा सबैभन्दा बढी पेटेन्ट दर्ता भएको हो । यसअघि०७४/७५ र ०७५/७६ मा २/२ वटा पेटेन्ट दर्ता भएको विभागको थियो भने ०६६/६७ यता कुनै पनि विदेशी पेटेन्ट दर्ता भएको छैन । ७ सय बढी आवेदन ८६ जनालाई अनुमति  विभागको तथ्यांक अनुसार गत असार मसान्तसम्म पेटेण्टका लागि ७ सयभन्दा बढीले आवेदन दिएका छन् । आवेदन परेकामध्ये विभागले न्यून संख्यामा मात्र अनुमति दिएको छ । विस २०३१ सालदेखि हालसम्म पेटेन्ट दर्ताका लागि उद्योग विभागमा ७ सयभन्दा बढीको आवेदन परेकोमा विभागले असारमसान्तसम्म ८६ जनालाई अनुमति दिएको हो । जसमा ५० स्वदेशी र ३६ विदेशी गरी ८६ वटा पेटेन्ट दर्ता भएका हुन् । ठूलो संख्यामा पेटेन्ट दर्ताका लागि विभागमा आवेदन परेपनि अधिकाशंले आवश्यक कागजपत्र नै पूरा नराख्दा समस्या हुने गरेको विभागका अधिकारीहरु बताउँछन् । विभागका सूचना अधिकारी रमिला भण्डारीले आवेदन दिनेको संख्या ठूलो भएपनि न्यून संख्यामा मात्र अनुमति दिइएको स्वीकार गर्छिन् । कुनै व्यक्तिले आविष्कार गरेको वस्तु वा पदार्थको बनावट वा कुनै नयाँ सिद्धान्त अथवा सूत्रद्वारा पत्ता लगाइएको उपयोगी आविष्कारलाई पेटेन्ट मानिन्छ । अरू कसैले त्यस्तो आविष्कार नक्कल नगरोस् भनी दर्तामार्फत पेटेन्ट अधिकार सुरक्षित गरिएको हुन्छ । दर्जनौं यस्ता दाबीको फस्यौट हुनै सकेको छैन । आवेदन परेका पेटेन्टसँग सम्बन्धित विज्ञ नै नहुँदा समेत समस्या भएको जनाईएको छ । नेपालमा आविष्कार पनि कम हुने र त्यस्तो आविष्कार नवीनतम हो वा होइन भनी ठम्याउने विभागको क्षमता कमजोर भएकाले पेटेन्ट दर्ता कम भएको उनको भनाई छ । पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार, पेटेन्ट अधिकार सुरक्षित राख्न बिल्कुल नयाँ आविष्कारलाई मात्र दर्ता गरिने व्यवस्था छ । अरूको आविष्कारमा आधारित भएर गरिएका सुधारलाई पेटेन्ट अधिकार दिने विषयमा विद्यमान कानून मौन छ, त्यसैकारण पनि पेटेन्ट दर्ताको संख्या कम छ ।

बिहीबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधबार तोलाको एक लाख १२ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार चार सय ८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए । समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले राससलाई जानकारी दिएका छन् । उनले भने, ‘निमा लामाको नामबाट नागकिरता लिएको पुष्टि भयो, अनुसन्धानमा उनको सिआइबी, अध्यागमन विभागमा भएको बायोमेट्रिक र हिरासतमा भेटेर लिएको बायोमेट्रिक मिलेकाले उनकै नागकिरता भएको पुष्टि गरेका छौँ ।’ समितिले बनाएको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ । थप अपराध अनुसन्धान भने सिआइबीलाईले नै हेर्ने गरी सिफारिस गरिएको पनि समितिले जनाएको छ । दावालाई गत साउनको १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो । १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए । उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । गत साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अहिले उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गरिरहेको छ । छ विदेशीसहित २५ जना पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन् । सुन प्रकरणकै सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको छ । रासस

आईएनजी स्किल एकेडेमीले हेटौंडामा गर्‍यो ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम

काठमाडौं । आईएनजी स्किल एकेडेमीले ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आईएनजी स्किल एकेडेमीले हेटौंडा एभोकाडो एण्ड अर्किड रिसोर्टमा अगस्ट २९ गते ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य आईटीको नयाँ पुस्तालाई भविष्यको प्रविधि प्रदर्शन गरेर र विकसित आईटी परिदृश्यमा अनुभवहरू कार्यशालाहरू र अन्तरदृष्टिहरू प्रदान गरेर नवीनतम प्रविधिमा परिचय गराउने थियो । कार्यक्रमले एआई र रोबोटिक्स, हिड्ने पियानों, ड्रोन, र गो कार्टमा प्रदर्शनी सहित भविष्यको प्रविधिमा नवीनतम र उत्कृष्ट प्रदर्शन गरेको थियो । यसमा ३० औं शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र ख्ँह् जस्ता केही रोमाञ्चक नयाँ प्रविधिहरूका प्रत्यक्ष प्रदर्शनहरू पनि समावेश थिए। प्रविधिको अतिरिक्त, फ्युचरागाले प्रविधि र दिगो व्यापारको प्रतिच्छेदनलाई पनि सम्बोधन गरे। कार्यक्रमले सहभागीहरूलाई स्थानीय नर्सरीबाट प्राप्त साइटमा बिरुवाहरू साझा गरेर खेती गर्न प्रोत्साहित गर्यो । यसले उद्यमशीलता र आईटीको क्षेत्रलाई एकसाथ ल्याएको एक विजेता व्यवसाय सिर्जना गर्ने विषयमा कुराकानी पनि प्रस्तुत गरेको संस्थाले जनाएको छ । सहभागी पासाङ तामाग लामाले भने, ‘३०औं शताब्दीको कार रेसमा मैले राम्रो समय बिताएँ भीड साँच्चै यसमा थियो, र वातावरण विद्युतीय थियो । म भविष्यमा फ्युचरामा मा थप कार्यक्रमहरू हेर्न जाँदैछु ।’ कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका २१ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सक्रिय प्राविधिक संलग्नता, विचारहरूको आदानप्रदान, र नवीनताको लागि बलियो प्रेरणाले भरिएको थियो ।