काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।
बिहीबार रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको सार्वजनिक विदा दिइएको छ । शनिबार नियमित सार्वजनिक परेकाले लगातार तीन दिन सार्वजनिक विदा परेको छ ।
सापारु वा गाई जात्रा काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् ।
रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो। धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।
काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।