भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँको लागतमा संघीय सरकारले ती पुल निर्माण गर्न लागेको हो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नं १ छलगाडमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले बताए । चितवन भरतरपुरस्थित वाइपी, एमआर जेविले निर्माणको जिम्मा लिएको तीनवटै पुल ४२ महिनभत्र पूरा गर्ने सम्झौता भएको छ । तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ । छलगाड खोलमा निर्माण हुने पुलको वातावरणीय प्रभाव मूल्यांकनबारे सार्वजानिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । सुनुवाइका क्रममा त्रिपुराकोटका स्थानीयले तल्नुबगर र रूपगाड खोलमाजस्तो पुल निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए । सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अझै स्वीकृत नभएको बताइएको छ ।
अर्बौं लगानीमा एकै वर्ष खुले दर्जन बढी तारे होटल
काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या बढ्दै जान थालेपछि तारे स्तरका होटल दर्जनभन्दा बढी थपिएका छन् । यसले होटल उद्योगमा उल्लेख्य परिमाणमा लगानी बढ्न थालेको पुष्टि गर्छ । बढी पैसा खर्च गर्ने ‘क्वालिटी’ पर्यटक लक्ष्य गर्दै थपिएका यस्ता तारे होटलले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार गराएको व्यवसायी बताउँछन् । सन् २०२३ मा एकै वर्ष एक दर्जनभन्दा बढी तारेस्तरका होटल थपिएका हुन् । यी होटलमा अर्बौं रुपैयाँबराबर लगानी भएको छ । पर्यटन विभागका अनुसार २०२३ मा १३ वटा तारे होटल थपिएका छन् । यिनमा एकदेखि पाँचतारे स्तरसम्मका छन् । २०२३ मा होटल उद्योगमा राम्रो परिमाणमा लगानी थपिएको होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । ‘यस उद्योगमा पछिल्लो एक वर्षमा थपिएको होटल संख्या र लगानीले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार गराएको छ,’ शाहले विकासन्युजसँग भने, ‘यसबाट हामीले बढिभन्दा बढी क्वालिटी टुरिस्टलाई सेवा दिन थप सहज हुनेछ ।’ पर्यटन बोर्डको तथ्यांकअनुसार २०२३ मा १० लाख १४ हजार ८ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अर्को वर्ष दोब्बर संख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । पर्यटक नेपाल घुम्न आउने सन्दर्भमा नेपाल २०१९ कै तहमामा आइसकेको अध्यक्ष शाह बताउँछन् । त्यस वर्ष करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । ‘नेपालमा पर्यटक आगमन वृद्धि हुनु, तारेस्तरका होटलहरू धमाधम खुल्दै जानु, होटलहरूमा राम्रो बुकिङ भएकाले हामी उत्साहित र सकारात्मक दुवै छौं,’ शाहले भने, ‘हाम्रो होटल क्षमता वृद्धि भएर गयो, तर पर्यटक ल्याउन सक्ने क्षमता भने अझै वृद्धि भएन ।’ नेपालका होटलले ३० देखि ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता बनाएको अध्यक्ष शाह बताउँछन् । ‘नेपाली आतिथ्य उद्योगको क्षमता ३५ लाखको भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षमता त भयो, तर यो क्षमतालाई कसरी परिपूर्ति गर्ने भन्ने पनि महत्वपूर्ण छ ।’ अहिले नेपालमा जति पनि ठूला लगानीका होटल, रिसोर्ट थपिएका छन् र अझै थपिने क्रममा रहेका छन् तिनलाई कसरी चलायमान बनाउने र तिनबाट प्रतिफल कसरी लिने भन्नेमा सरकारले पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘सरकारले सन् २०२३ सम्म ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यो लक्ष्य पूरा गर्न हाम्रा पूर्वाधार छन् कि छैनन् भन्ने हेर्नुपर्यो,’ उनले भने, ‘२०२३ मा काठमाडौंको विमानस्थलले १० लाख पर्यटक ल्यायो, हाम्रो क्षमता ३५ लाखको छ, त्यो क्षमताको एक तिहाइ मात्रै उपयोग भयो । निजी क्षेत्रले आफ्नो तर्फबाट पूर्वाधार बलियो बनाइसक्यो अब पालो सरकारको हो ।’ उनका अनुसार विमानस्थल र बाटोघाटो मात्रै बलियो हुने हो भने नेपालले पर्यटनबाट मनग्य आम्दानी गर्न सक्छ । अहिलेसम्म देशैभरि होटल, लज, रिसोर्ट, होमस्टेलगायत गरेर झन्डै १० हजार बेड पर्यटकीय स्तरका उपलब्ध रहेको शाह बताउँछन् । दिनमा १० हजार पर्यटक आउँदा पनि सेवा दिन सक्ने उनको भनाइ छ । नेपालको होटल उद्योगमा हालसम्म करिब १५ खर्ब रुपैयाँ हाराहारीमा लगानी भइसकेको हानको तथ्यांक छ । सरकारले २२ वटा पाँचतारे होटलको लाइसेन्सिङ गरेको छ भने अर्को वर्षसम्म १८ देखि २० वटा पाँचतारे होटल थपिने क्रममा रहेको शाह बताउँछन् । ‘हामीसँग अर्को दुई वर्षमा ४०–४२ वटा पाँचतारे होटल हुन्छन्,’ उनी भन्छन्, ‘यो खुलिरहेका होटल क्वालिटी टुरिस्ट लक्ष्य गरेर खोलिएका हुन्, यो निजी क्षेत्रको प्रयास हो, अब सरकारका तर्फबाट हुनुपर्ने प्रयास आवश्यक छ । क्वालिटी टुरिस्टका लागि हाम्रो सर्भिस पनि क्वालिटी हुनुपर्छ ।’ यस्तै नेपाल पर्यटन बोर्ड निर्देशक मणिराज लामिछाने देशमा तारे होटल बढ्नु भनेको समृद्धि आउनु भएको बताउँछन् । नेपालमा पर्यटक संख्या बढिरहेका बेला तारेस्तरका होटलमा पनि वृद्धि हुनुले अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक सन्देश पुग्ने उनको विश्वास छ । उनका अनुसार पहिला तारे होटल भन्नासाथ विदेशी पर्यटक मात्रै जाने भन्ने थियो । तर, अहिले तारे होटलमा विदेशी पर्यटक मात्रै जाने भन्ने भाष्य बदलिएको उनी बताउँछन् । ‘अहिले विदेशीमात्रै होइनन् नेपाली पनि तारे होटलमा खर्च गर्न सक्ने छन्,’ उनी भन्छन्, ‘पछिल्लो समय मध्यम वर्गीय र उच्च मध्यम वर्गीय पनि तारेस्तरका होटलमा पाहुना बन्न थालेका छन्, यसलाई पनि सकारात्मक रूपमै लिन सकिन्छ ।’ अहिले देशभरि तारेस्तरका होटल तथा रिसोर्टहरू धमाधम खुल्नुले क्वालिटी पर्यटकको आगमनमा पनि वृद्धि हुँदै गएको बुझाउने निर्देशक लामिछानेको भनाइ छ । अहिले नेपालमै पनि विवाह तथा अन्य समारोहका लागि तारे होटल मानिसहरूको रोजाइमा पर्न थालेका छन् । अहिले सानादेखि ठूला कार्यक्रम पनि तारे होटलमै आयोजना हुन्छन् । नेपालमा तारे होटल वृद्धि हुनु आन्तरिक र वाह्य दुवैका लागि फाइदाजनक देखिने निर्देशक लामिछाने बताउँछन् । अब २०२३ मा कहाँ–कहाँ कस्ता होटल थपिए त ? यसबारे विस्तृतमा चर्चा गरौं । पाँचतारे होटल वर्णवास संघीय राजधानी काठमाडौंको बालुवाटारमा लक्जरियस पाँचतारे बुटिक होटल वर्णवास सञ्चालनमा आएको छ । होटलमा कुल ४८ वटा कोठा छन् । यो होटल निर्माणमा १ अर्ब ३१ करोड रुपैयाँ लगानी भएको छ । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको लगानीमा होटल सञ्चालनमा आएको हो । पाँचतारे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालनमा आएको सिद्धार्थ भिलासा होटलले पाँचतारे स्तरको मान्यता पाएको छ । यो होटलमा ८५ वटा कोठा छन् । बाराही जंगल रिसोर्ट बाराही ग्रुपले चितवन मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको छ । बाराही जंगल भिल्लैभिल्ला रहेको रिसोर्टमा ३५ कोठा छन् । सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट कपिलवस्तु चन्द्रौटामा चारतारे होटल सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएको छ । यो होटलमा ६१ वटा कोठा छन् भने यसको चुक्ता पूँजी १५ करोड रुपैयाँबराबर रहेको छ । चारतारे होटल रोम रिजेन्सी पर्यटन राजधानी पोखरामा खुलेको रोम रिजेन्सी चारतारे स्तरको होटल हो । यस होटलको चुक्ता पूँजी १५ करोड रुपैयाँ छ भने यसमा ६१ वटा कोठा रहेका छन् । चातारे होटल आइकावा इन चितवन सौराहामा चारतारे स्तरको होटल आइकावा इन सञ्चालनमा आएको छ । आइकावामा डिलक्स, सुपर डिलक्स, एक्जिक्युटिभ र प्रेसिडेन्सियल सुइट गरी ४ श्रेणीका कोठा छन् । होटलमा ६१ वटा कोठा रहेको छ । यसको पनि चुक्ता पूँजी १५ करोड रुपैयाँ छ । पाँचतारे होटल अकामा काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल पाँचतारे स्तरको हो । यो होटलमा १ सय ८ कोठा छन् । दुईतारे होटल द मायसा काठमाडौंमा सञ्चालनमा आएको मायसा होटल दुईतारे स्तरको होटल हो । यस होटलमा ४१ वटा कोठा रहेका छन् । दुईतारे होटल सनसेट भ्यु काठमाडौं बानेश्वरमा रहेको सनसेट भ्यु होटल दुईतारे स्तरको होटल हो । यस होटलमा २१ वटा कोठा रहेको छ । दुईतारे होटल हिमालयन होराइजन काभ्रेपलान्चोक धुलिखेलमा रहेको होटल हिमालयन होराइजन दुईतारे स्तरको होटल हो । यस होटलमा ४८ वटा कोठा रहेका छन् भने यस होटलको चुक्ता पूँजी ३ करोड रहेको छ । एकतारे होटल फरेस्ट इन काठमाडौं बूढानीलकण्ठमा रहेको होटल फरेस्ट इन एकतारे स्तरको होटल हो । यो होटलको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ भने होटलमा कोठा संख्या २० रहेको छ । एकतारे होटल रूपम कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालनमा आएको होटल रूपम एकतारे स्तरको होटल हो । यो होटलको चुक्ता पूँजी २ करोड रुपैयाँ छ । यस होटलमा २१ कोठा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार २०२३ मा झन्डै २ सय नयाँ होटल थपिएका छन् । तिनमा तारेस्तरका नयाँ ९ होटल थपिएका छन् भने तारेस्तर नभएका १ सय ८८ वटा नयाँ होटल छन् । प्रतिवेदनअनुसार २०२२ मा मुलुकमा तारे होटलको संख्या १ सय ७३ थियो । एक वर्षपछि २०२३ मा बढेर १ सय ८२ पुगेको छ । तारेस्तर नलिएकातर्फ २०२२ मा १ हजार २ सय २८ थियो भने २०२३ सम्म आइपुग्दा १ हजार ४ सय १६ पुगेको छ । ती सबै र नयाँ बनेका होटलमा रुम संख्या पनि राम्रै बढेको छ । २०२२ मा तारे र तारेस्तर नभएका होटल दुवैमा गरी ५३ हजार ३ सय ६५ रुम थियो । एक वर्षपछि २०२३ मा आइपुग्दा ५४ हजार ३ सय ७० पुगेको छ । यो भनेको नयाँ १ हजार ५ रुम थपिएको हो ।
बाँकेका किसान चैते धानप्रति आकर्षित
नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् । पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताइन् । उनले बर्खे धान खेतीभन्दा चैते धान खेतीमा बढी मिहिनेत गर्नुपर्ने र उक्त धान खेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरिन् । यद्यपि, उनले मनग्य उत्पादन हुनेमा आफू ढुक्क भएको बताइन् । करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको बताइन् । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षदेखि चैते धानको खेती सुरु गरेको जानकारी दिए । उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते ५ जातको चैते धानको खेती भएको बताए । उनले भने, ‘चैते धान लगाउन किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकै खेती पनि गरेका छन् ।’ बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै बर्खे धानलाईजस्तै प्रशस्त पानी नचाहिने बताए । कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्ष्जमिनमा चैते धानको खेती गरेका छन् । यस वर्ष जिल्लाको बैजनाथ गाउँपालिका–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका–३ को सूर्य, लालपुर्जा, वनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका–२ को के गाउँमा चैते धानको खेती भएको छ । साथै गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरिएको छ ।
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल
काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१र०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको बताए । उनले हल्लाहरूको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे । ‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरूले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो’, पौडेलले भने, ‘संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’
सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८ सय ५ कित्ता सेयर लिलामीमा राखेको हो । यस सेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा लेख्नुपर्छ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालय विराटनगर, मोरङ, आदर्शनगर, वीरगञ्ज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगरमा पेस गर्नुपर्नेछ । संस्थाले उक्त सेयर यसअघि संस्थापकहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ ।
युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४० हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ । यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने सेयर र मूल्य खुलाई बाँके कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार तोकिएको समयसम्म संस्थापकहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन तथा नियमानुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाइने छ ।
यी हुन् विश्वका सबैभन्दा लामो पाँच रेलमार्ग
काठमाडौं । म्याग्लेभ र बुलेटजस्ता हाई स्पिड ट्रेनहरूको साथ तपाईं आँखा झिम्काउँदा एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्नुहुन्छ । तर, आज पनि संसारमा यस्ता धेरै रुट छन् जसमा यी ट्रेनहरू पनि पसिना बगाउन बाध्य छन् । हामी विश्वको सबैभन्दा लामो रेल मार्गहरूको बारेमा कुरा गर्दैछौं । यीमध्ये एउटा बाटो यति लामो छ कि यो एउटा महासागरबाट सुरु भएर अर्को महासागरमा जान्छ । विश्वका पाँचवटा लामो रेल मार्गमध्ये भारतसँग पनि एउटा रुट छ । ट्रान्स-साइबेरियन रेल्वे रुस क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो देश हो । विश्वको सबैभन्दा लामो रेल मार्ग पनि रुसमा छ । यसले देशको राजधानी मस्कोलाई पूर्वी शहर भ्लादिभोस्तोकसँग जोड्छ । ९ हजार २ सय ५९ किलोमिटर लामो यो रुटमा सामान्य रेलले यात्रा पूरा गर्न सात दिन लाग्छ । यदि भारतको वन्दे भारत १ सय ६० किलोमिटर प्रतिघण्टाको पूर्णगतिमा चल्यो भने यो मार्गमा यात्रा गर्न लगभग ५८ घण्टा लाग्छ । त्यसैगरी ४ सय ६० किलोमिटरको गतिमा गुड्ने चीनको म्याग्लेभ ट्रेनले पनि यात्रा पूरा गर्न २० घण्टा लाग्ने छ । टोरन्टो टु भ्यानकुभर संसारको दोस्रो सबैभन्दा लामो रेलमार्ग क्यानडामा छ । चाखलाग्दो कुरा के छ भने क्यानाडा क्षेत्रफलको हिसाबले विश्वको दोस्रो ठूलो देश हो । यो मार्गले टोरन्टोलाई भ्यानकुभरसँग जोड्छ । यसको लम्बाइ ४ हजार ४ सय ६६ किलोमिटर छ। आधिकारिक रूपमा यो यात्रा पूरा गर्न चार दिन लाग्छ । यस ट्रेनबाट प्रकृतिको मनोरम दृश्यहरू देख्न सकिन्छ । यस रुटमा चल्ने ट्रेनको न्यूनतम भाडा ५ सय २९ डलर हो । बुलेट ट्रेनले यस रुटमा ११ घण्टाभन्दा बढी समय लिनेछ भने वन्दे भारतले पूर्ण गतिमा यो यात्रा एक दिनमा कभर गर्न सक्छ । सांघाई टु ल्हासा विश्वको तेस्रो ठूलो रेलमार्ग चीनमा छ । यसले देशको आर्थिक राजधानी सांघाईलाई तिब्बतको ल्हासासँग जोड्छ । यसको लम्बाइ ४ हजार ३ सय ७३ किलोमिटर छ । यस रुटमा चल्ने रेल नम्बर जेड१६४ ट्रेनले यात्रा पूरा गर्न ४६ घण्टा ४४ मिनेट अर्थात करिब दुई दिन लगाउँछ । यो सांघाई रेल्वे स्टेसनबाट बिहान ८ः०२ बजे छुट्छ र दुई दिनपछि साँझ ६ः४६ बजे ल्हासा पुग्छ । बुलेटलाई पनि यो यात्रा पूरा गर्न आधा दिन लाग्नेछ । सिड्नी टु पर्थ अअस्ट्रेलियाको रेलमार्ग यो सूचीमा चौथो नम्बरमा छ । सिड्नी र पर्थ जोड्ने यो मार्ग ४ हजार ३ सय ५२ किलोमिटर लामो छ । यस रुटमा इन्डियन प्यासिफिक ट्रेन चल्छ जसले चार दिनमा यात्रा पूरा गर्छ । यो हिन्द महासागरको तटबाट बगेर प्रशान्त महासागरको तटमा पुग्छ । यस यात्राको क्रममा तपाईंले प्रकृतिका धेरै चमत्कारहरू पनि देख्नुहुनेछ । यस अवधिमा ट्रेन संसारको सबैभन्दा लामो सिधा स्ट्रेच हुँदै जान्छ । यो ४ सय ७८ किलोमिटर लामो स्ट्रेच दक्षिण अस्ट्रेलियामा छ जसलाई द न्युलरबोर भनिन्छ। वन्दे भारतले पूर्ण गतिमा यात्रा पूरा गर्न एक दिन लाग्छ । डिब्रुगढ टु कन्याकुमारी भारतको सबैभन्दा लामो रेल्वे लाइनले आसामको डिब्रुगढलाई तमिलनाडुको कन्याकुमारीसँग जोड्छ । यो विश्वको पाँचौं लामो रेलमार्ग हो । यसको लम्बाइ ४ हजार २ सय २७ किलोमिटर छ। यस रुटमा चल्ने विवेक एक्सप्रेसले आफ्नो यात्रा पूरा गर्न ७२ घण्टा लाग्छ । यदि वन्दे भारत एक्सप्रेस यस रुटमा फुल स्पिडमा चल्यो भने यो दूरी पूरा गर्न २६ घण्टाभन्दा बढी समय लाग्ने छ । त्यसैगरी म्याग्लेभ ट्रेनले यो दूरी पार गर्न करिब १० घण्टा लाग्नेछ । एजेन्सी
अर्थमन्त्री पुनलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव : पपुलिष्ट बजेट नल्याउनू, आकार सानो बनाउनु
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरूले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरूले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् । ‘बजेटको आकार ठूलो नबनाउनुस् । जे पजि गर्छु भन्ने टाइपका नल्याउनुस्’, निवर्तमान अर्थमन्त्री महतले भने, ‘पपुलिज्मको पछाडि कोही लाग्नु हुँदैन । कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम नगर्नुस् भन्ने मेरो सुझाव छ ।’ अर्का पूर्वअर्थमन्त्री डा. खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझाए । उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रूपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे । ‘ हामीले विगतदेनि नै बजेटको साख गिराउने काम गर्दै आएका छौं’, खतिवडाले भने, ‘यो पटक पनि राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको बजेटको सिलिङ ठूलो हो ।’ खतिवडाले दायित्वजति संघीय सरकारमा राखेर स्रोतजति प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति हानिकारक रहेको औंल्याउँदै त्यसो नगर्न भने । ‘दायित्वजति संघीय सरकारमा राख्ने र श्रोतजति तल पठाउँदा अर्थमन्त्री असफल भयो भन्ने आरोप आउने गरेको छ’, खतिवडाले भने, ‘श्रोत तल पठाउने हो भने त्योसँगै दायित्व पनि पठाउनुस् भन्ने मेरो आग्रह छ ।’ अर्का पूर्वअर्थमन्त्री डा. लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने स्पष्ट गरे । त्यसका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो । ‘एकजना अर्थमन्त्रीले मात्र चाहेर केही गर्न सक्दैन’, उनले भने, ‘नीति निर्माता सबैले सोच्नुपर्छ । अरु मन्त्रालयहरूको पनि सहभागिता चाहिन्छ ।’ राजनीतिक स्थायित्वको ग्यारेन्टी नभएसम्म आर्थिक विकास नहुने भन्दै उनले असुरक्षाको वातावरण निर्माण हुनुमा अस्थिरता बाधक रहेको औंल्याए । उनले कम्तिमा तीन वर्ष वर्तमान सरकारले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । अर्का पूर्वमन्त्री शंकर कोइरालाले विगतमा जलस्रोतमा लगानी गर्दा स्रोत नखोज्ने र १५ वर्षसम्म थप आयकर नलाग्ने नीतिका कारण अहिले विद्युत निर्यात हुने अवस्था आएको चर्चा गर्दै आर्थिक स्थायित्वका लागि कम्तिमा यस्तै एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । अर्का अर्थमन्त्री जनार्दन शर्माले अख्तियार सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धा र सिआईबीजस्ता निकायले जथाभावी अधिकारको दुरुपयोग गरेका कारण कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे । ‘नियामक संस्थाहरूका कारण निजी क्षेत्र आतंकित भएको छ’, उनले भने, ‘सचिवदेखि कर्मचारीहरुलाई हुँदै नभएको मुद्धा लगाइदिने प्रवृत्तिका कारण कोही पनि फाइल सदर गर्ने अवस्थामा छैन ।’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए । पाण्डेले गलत नियतका साथ सामाजमा राजनीतिज्ञ र कर्मचारीतन्त्र सबै खत्तम भन्ने मनोविज्ञान फैलाइएकाले त्यसलाई नचिरेसम्म काम गर्ने वातावरण नबन्ने औंल्याए । ‘पुँजीगत खर्च किन हुँदैन भने कोही कर्मचारी फाइल सदर गर्न तयार छैन । विधिपूर्वक काम गर्दा केही हुँदैन भन्ने ग्यारेण्टी गरिनुपर्छ’, पाडेले भने, ‘कुन दिन कसलाई अख्तियारमा लाने हो टुंगो छैन । काम गरेबापत गाउँमा सबैले भ्रष्टाचारी भन्छ । करिअर पनि सकिन्छ ।’ संसदीय समिति, अख्तियार, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धानजस्ता निकाय राज्यभन्दा अलग नभएको उनको भनाइ थियो । ‘देश बनाउने हो भने सबै एकैतिर फर्किनुपर्छ । कोही कता कोही कर्ता फर्किएर मुलुक बन्दैन’, पाण्डेले भने । पाण्डेले नियामक निकायलाई राजनीतिक वा व्यक्तिगत प्रतिशोधका आधारमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन फुकाएर बजेट बनाउने अवस्था नभएकाले प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्य र सरकारमा संलग्न दलका नेताहरुलाई अहिलेको अथार्थ अवस्था, बाध्यता र सीमाबारे बुझाउन अर्थमन्त्री पुनलाई आग्रह गरे । उपलब्ध श्रोतबाट अवस्था सुधार्न कठिन भएकाले नीतिमार्फत सुधार गर्न उनले सुझाव दिए । बजेटको विश्वसनीयता कायम राख्न आकार अनावश्यक ठूलो बनाउन नहुनेमा उनको पनि जोड थियो । ‘असीमित ढंगले बजेटको आकार फराकिलो बनाउन सकिँदैन’, पौडेलले भने, ‘राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र चालु आयोजनामा मात्र बजेट राखौं । अनगिन्ती योजना थप्ने काम नगरौं ।’ उनले विगतमा राजनीतिक दबाबका कारण बिना तयारी र बिनास्रोत राखिएका हजारौं टुक्रे आयोजना खोज गर्न आँट गर्न अर्थमन्त्री पुनलाई सुझाव दिए । त्यसमा आफू र आफ्नो दलका तर्फबाट अर्थमन्त्रीलाई साथ रहने प्रतिबद्धता जनाए । मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरूका सुझावलाई मनन् गरी बजेट निर्माण गर्ने बताए । विकास र सुशासनलाई सँगै लाने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने खालको बजेट ल्याउने उनको भनाइ थियो । उनले अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै अर्थमन्त्रीहरुका सुझावलाई गाइडलाइनका रूपमा गह गर्ने प्रतिबद्धता जनाए ।