विकासन्युज

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टाअघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

ललितपुरमा पाठेघर र स्तन क्यान्सर परीक्षण थालियो

पाटन । ललितपुर महानगरपालिकामा बुधबारदेखि महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु भएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले बुधबार ललितपुर महानगरपालिका–१४ तिखेदवलमबाट शिविर सञ्चालन गरी गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हो । शिविर शुभारम्भ गर्नुहुँदै सामाजिक विकास समितिका संयोजक एवं महानगरका प्रवक्ता राजु महर्जनले एचपिभीडिएनए विधिद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी क्यान्सर रोग लाग्नबाट बचाउने अभियान थालिएको बताए । ‘हामीले पाठेघर क्यान्सर रोकथामका लागि गत वर्षदेखि अभिमुखीकरण र स्क्रिनिङ कार्यक्रम सुरु गरेका थियौँ । गत वर्ष आठ वडामा भएको कार्यक्रम यस वर्ष २९ वटै वडामा गरिनेछ । पहिला अभिमुखीकरण, त्यसपछि परीक्षण र परीक्षणपछि डाक्टरको परामर्शमा निःशुल्क उपचार गरिनेछ,’ प्रवक्ता महर्जनले भने । ललितपुर महानगरले स्वास्थ क्षेत्रमा ज्येष्ठ नागरिकलाई निमोनियाबाट बचाउन विगत दुई वर्षदेखि निःशुल्क खोप सेवासमेत सञ्चालन गर्दै आएको जानकारी गराउँदै उनले गत महिना चार सय जनालाई खोप दिइएको बताए । महानगरले ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रमअन्तर्गत चिकित्सकसहित घरमै सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा एम्बुलेन्स नै लिएर गएर अस्पतालसम्म ल्याउने व्यवस्थासमेत रहेको बताए । हरेक क्षेत्रमा अन्य पालिकामा भन्दा महानगरले अलि फरक तरिकाले व्यवस्थापन गर्दै आइरहेको प्रवक्ता महर्जनको भनाइ छ । स्वास्थ्य बिमामा आबद्ध भएका र हुनेका लागि ५० प्रतिशत बिमा शुल्क वडाले बेहोर्ने तयारी भइरहेको उनले जानकारी गराए । हाल महानगरले यल स्वास्थ्य केन्द्र स्थापना गरेर बिमाका बिरामीलाई २४सै घण्टा चिकित्सक, ल्याब, एक्सरे र औषधिसहितको सेवा प्रदान गर्दै आइरहेको छ । ललितपुर महानगर–१४ का वडाध्यक्ष अमृतजङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताए । ‘समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिला र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो,’ उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपिभी डिएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए । सरकारले आव २०८०÷८१ मा कोशी, मधेस र बागमती र लुम्बिनीका आठ जिल्लाका १४ स्थानीय तहबाट एचपिभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा सुरु गरेको हो । नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसारभरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपिभी डिइनए प्रभावकारी विधि हो । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये सात जनालाई नसर्ने रोग लाग्ने गरेको तथ्यांक रहेको बताए । महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै समयमै थाहा पाउन सके स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिने जानकारी गराए । महानगरकी जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले गत वर्ष आठवटा वडामा एचपिभी डिएनए विधिद्वारा एक हजार तीन सय महिलामा परीक्षण गर्दा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको र अहिले उनीहरूको उपचार महानगरले गराइराखेको जानकारी गराइन् । उनले यस वर्ष हुने स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहभित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने जानकारी गराइन् ।

भन्सार छलेर ल्याइएको १६ लाख बराबरको सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको १६ लाख रुपैयाँबराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार दुई दिनयता भारतबाट भन्सार छली गरेर ल्याएको गहुँ, ट्रली र दैनिक उपभोग्य सामाग्री बरामद गरिएको हो । बरामद गरिएका सामाग्री कञ्चनपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ । ‘भारतबाट भन्सार छलेर ल्याइएका सामाग्री बरामद गरेर भन्सारको जिम्मा लगाउँदै आएका छौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने । प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा कञ्चनपुरमा चार करोड रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थान अन्य प्रदेशका छिटपुट ठाउँमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बीमकलाई प्राधिकरणले भन्यो : भ्रम सिर्जना नगरी दावी भुक्तानी सुरु गर्नुस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो । संघले नेपाल सरकारले कृषि बीमाको अनुदान रकम नदिएसम्म दावी भुक्तानी नगर्ने भन्दै बुधबार एक विज्ञप्ति जारी गरेको थियो । जसमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले उक्त निर्णयबाट पछि हट्न बीमा कम्पनीहरुलाई निर्देश गरेको हो । सरकारले कृषि बीमाको अनुदान नदिएसम्म दावी भुक्तानी गर्न सक्दैनौं : बीमक ‘कृषि तथा पशुपन्छीं बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छीं विकास मन्त्रालयसंग बारम्बार समन्वय तथा पहल भईरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुदाँ तत्काल उक्त विज्ञप्ती फिर्ता लिई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी सुचारु गरियोस्,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै, आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनियतामा नै असर पर्ने खालका विज्ञप्ती एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले जानकारी गराएको छ ।

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले आज त्रिविका कानुनी सल्लाहकार खनाललाई कुनै पनि कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकालाई कारबाही गर्न निर्देशन दिएको थियो । त्रिविका कानुनी सल्लाहकार खनालले बिना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले कारबाही नगर्न आदेश दिएको हो । रासस

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

बैंकरका सामू राष्ट्र बैंक स्तब्ध

काठमाडौं । बैंकरहरूका सामू नेपाल राष्ट्र बैंक स्तब्ध भएको छ ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेकाे हाे । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच बुधबार भएकाे मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकर्सले ५-२ गोलले जित हासिल गरेका हुन् । बैंकर्सको टिमबाट कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङले २ गोल गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी (सिनियर डीसीईओ) सुमन पोखरेलले एक/एक गोल गरे । राष्ट्र बैंककाे तर्फबाट डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक ऋषिकेश भट्टले एक/एक गोल गरे । राष्ट्र बैंककाे टिमबाट डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक भट्ट, पिताम्बर भण्डारी, प्रदीपराज पौड्याल, नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, गुरू प्रसाद पौडेल, बिमल राज खनाल र निर्देशक राम प्रसाद गौतम र राजनबिक्रम थापाले फुटसल खेलेका थिए । बैंकरहरूको टिममा वाणिज्य बैंकबाट ६ जना, विकास बैंकबाट २ जना र फाइनान्स कम्पनीबाट ३ जना सीईओले खेलेका थिए ।  गत वर्षको मैत्रीपूर्ण खेलमा राष्ट्र बैंकले बैंकरहरूलाई हराएको थियो । यस पटक भने बैंकरहरूले  जित हासिल गर्दै गत वर्षकाे बदला लिएका हुन् ।