विकासन्युज

मेरोमाइक्रोफाइनान्स लघुवित्तले नवनियुक्त कर्मचारीलाई दियो तालिम

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम तथा सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति-नियमको बारेमा जनकारी गराउने उदेश्यले दिइएको संस्थाले जनाएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाका ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । साथै कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराइएको थियो । संस्थाले मुलुकभर १४९ शाखा कार्यालयहरु, २४ अनुगमन कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

क्रेस्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले लिए सपथ

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष बुधबार सपथ ग्रहण गरेका हुन् । गत चैत ५ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट मोर संस्थापक सेयरधनी समूहबाट सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । सोही सभापछि बसेको सञ्चालक समितिको बैठकले मोरलाई अध्यक्षमा नियुक्त गरेको थियो । उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थित रहेको थियो ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा ती  सम्झौता र समझदारीमा  हस्ताक्षर भएको हो । सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान सम्झौता तथा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका थिए । यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । सरकारले उनको भ्रमणका अवसरमा वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिएको थियो । कतारी अमिर थानी आजै दिउँसो काठमाडौंबाट प्रस्थान गरिसकेका छन् । कतारका अमिरका लागि प्रधानमन्त्री दाहालले बुधबार दिउँसो द्वारिका होटलमा दिवाभोजको आयोजना गरेका थिए । कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो वैशाख ११ गते अपराह्न यहाँ आइगेका थिए । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए । कतारका  अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत तथा बिदाई गरेका थिए । भ्रमणका क्रममा नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ । नेपाल र कतारबीच सन् २००५ मार्च २१ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता र त्यसको अतिरिक्त प्रोटोकल (२० जनवरी २००८ मा हस्ताक्षर भएको) थियो । त्यसयता कतारमा नेपाली कामदारको संख्या बढ्दै गएको छ । हाल कतारमा रहेका झण्डै चार लाख नेपाली श्रमिकहरुको हक हित तथा रोजगारी सुरक्षाका विषयमा समेत सो कार्यसमूहले आवश्यक काम गर्नेछ । जसबाट त्यहाँ कार्यरत श्रमिकहरुको विद्यमान समस्या समाधान हुनेमा अपेक्षा गरिएको छ । साथै लगानी सम्मेलनको सम्मुखमा भएको कतारका अमिरको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा लगानीका दृष्टिले नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छ । नेपाल र कतारले सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । त्यस समयदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्ने भएकाले संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले विश्व शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५ मार्च २१ मा कतारको भ्रमण गरी नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यस्तै कतार पक्षबाट कतारका महान्यायाधिवक्ता डा अल बिन फेताइस अल–मरीले सन् २०१४ जुलाई १७ र १८ मा नेपालको भ्रमण गरेका थिए । दुवै देश प्राकृतिक स्रोतसाधनले सम्पन्न भएकाले व्यापार, लगानी, कृषि, पर्यटन तथा जनशक्ति उपयोगका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको छ । साथै, नेपाल पर्यटन, व्यापार र लगानीको अवसरको गन्तव्यको रूपमा मनपर्ने देश भएकोले नेपाल र कतार दुवैले तुलनात्मक लाभ हुने क्षेत्रमा आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ । नेपाल र कतारबीच सहकार्य गर्ने महत्वपूर्ण क्षेत्र पर्यटन हो । रासस

नेपाल-कतार द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराए । कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिए । उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गरे । नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए । ‘कतार नेपालको विश्वासिलो मित्रका रुपमा रहेको छ’, प्रधानमन्त्रीले भने, ‘हाम्रो सम्बन्ध प्रगाढ र विस्तार हुँदै गएको छ । यो सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित छैन, जनताको तहमा पनि बिस्तार भएको छ ।’ उनले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे । ‘लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’ नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए । उनले भने, ‘नेपालमा शुद्ध पिउने पानीको पर्याप्त स्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचूर सम्भावना छ ।’ नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताए । भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताए । नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।’ उनले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गरेको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचीमा नेपाललाई समावेश गर्न आग्रह गरे । ‘लुम्बिनी र पोखराबाट पनि उडान सञ्चालन गरौँ’  प्रधानमन्त्री दाहालले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् । ‘कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु’, प्रधानमन्त्री दाहालले भने । नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समयको मागसँगै दुवै देशबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए । आप्रवासी श्रमिक द्विपक्षीय सम्बन्धका सूत्र  प्रधानमन्त्री दाहालले कतारमा कार्यरत करिब चार लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताएका छन् । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरु पठाउनका लागि नेपालमा व्यावसायिक तालिम र सीपविकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे । नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपाल आफ्ना नागरिकका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्यालाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।’ आर्थिक विकास नेपालको प्राथमिकता प्रधानमन्त्री दाहालले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकाङक्षा पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए । उनले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्था वा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गरे । विपिन जोशीको रिहाइका लागि पहल गरिदिन प्रमको आग्रह  प्रधानमन्त्री दाहालले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । ‘आफ्नो शैक्षिक प्रयोगात्मक परीक्षाका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।’ प्रधानमन्त्री दाहालले भने, ‘यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।’ पश्चिम एसियामा बिग्रँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले जतिसक्दो चाडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापना होस् भन्ने कामना गरे ।

सरकारले कृषि बीमाको अनुदान नदिएसम्म दावी भुक्तानी गर्न सक्दैनौं : बीमक

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारबाट कृषि बीमाको अनुदान रकम नपाएसम्म दावी भुक्तानी गर्न नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारबाट रकम नपाएसम्म कृषि बीमा गर्ने बीमितहरुलाई दावी भुक्तानी गर्न नसक्ने बताएको हो । कम्पनीहरुमा नगद प्रवाहको अभाव भएकोले दावी भुक्तानी गर्न सहज नभएको कम्पनीहरुको गुनासो छ । गत बैशाख १० गते बसेको संघको पूर्ण बैठकमा भएको निर्णयअनुसार विज्ञप्ति जारी गर्दै संघले कम्पनीहरुले नेपाल सरकारले भूक्तानी गर्नु पर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन अनुरोध गरेको छ । ‘नेपाल सरकारले भूक्तानी गर्नु पर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन यसै प्रेस विज्ञप्ती मार्फत अनुरोध गर्दछौं अन्यथा नगद प्रवाहको अभावमा बीमकहरुलाई दावी भूक्तानी गर्न असहजता हुने व्यहोरा सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराउँदछौं,’ संघमार्फत जारी विज्ञप्तिमा भनिएको छ- ‘यसबाट कृषि बीमा गर्ने बीमितहरु तथा दावीकर्तामा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौं ।’ सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब दुई अर्ब रुपैयाँ बाँकी रहेको छ । उक्त अनुदान रकम उपलब्ध गराउन सरकार कृषि तथा पशुपंछि मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हालसम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेका संघले जानकारी गराएको छ । साथै, कृषि बीमाको एकातर्फ अनुदान प्राप्त नहुने र अर्को तर्फ दावीको भूक्तानी तत्काल गर्नु पर्ने परिस्थितिका कारण बीमकहरुको नगद प्रवाहमा समस्या भएको कम्पनीहरुको गुनासो छ । कृषि बीमा सम्बन्धमा सरकारले मिति २०६९ साल देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दावी भूक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पछिमात्र पाएको कम्पनीहरु बताउँछन् ।

छनोट उपसमिति गैरकानुनी भन्दै पर्यटन बोर्ड सीईओ छनोट तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले १० वैशाखमा बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्यको नियुक्ति गैरकानुनी भएको भन्दै बोर्डको सीईओ छनोट सम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । कुन्दन शर्मा मिश्रसमेतको निवेदनसहित मिसिल अध्ययन गरी अधिवक्ताहरू रमेश बडाल, रमेशप्रसाद धिताल र हरिप्रसाद मैनालीको बहस सुनेपछि न्यायाधीश पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा अल्पकालीन अन्तरिम जारी गरेको छ । के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षीका हकमा आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस गर्नुपर्ने उक्त आदेशमा छ । पर्यटन बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गैरकानुनी भएको, उनीहरू अन्तर्गत रहेको सीईओ छनोटसम्बन्धी उपसमिति अवैधानिक भएको र सीईओ नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० समेत नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को विपरीत भएको निवेदनपत्रमा उल्लेख छ । बोर्डको ऐनले बोर्ड सदस्य सरकारले नियुक्त गर्ने व्यवस्था गरेको छ ।

हिमालयन हाइड्रो एक्स्पोको चौथो संकरण सुरु, विद्युत् खपत बढाउने उद्देश्य

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको चौथो संकरण सुरु भएको छ । बुधबार काठमाडौंमा विद्युतीय सवारी (इभी) र्यालीसहित हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले इभी र्यालीको शुभारम्भ गरेका हुन् । विद्युतीय सवारी प्रर्वद्धन गर्ने उद्देश्यले एक्स्पोको प्रारम्भमा इभी र्यालीली आयोजना गरिएको हो । र्याली शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । ‘हाइड्रो एक्स्पोअघि सुरु भएको यो र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ,’ उनले भने । हाइड्रो एक्स्पोले नेपालको विद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने उनले विश्वास समेत व्यक्त गरे । यस्तै, इपान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफैँ खपत गरौँ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए । ‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ, यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ,’ उनले भने । एक्स्पो आयोजक संस्था इभेन्ट सोलुसनका प्रबन्धक विजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए । र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी हुँदै एक्स्पो आयोजना स्थल भृकुटी मण्डपमा गएर समापन भएको थियो । र्यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी भएका थिए । र्यालीसँगै भृकुटीमण्डपमा सुरु भएको एक्स्पो शुक्रबार सम्म चल्ने छ । एक्स्पोको औपचारिक उद्घाटन भने बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ ।

लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह, ३ संस्थासँग समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ । बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरे । लगानीका लागि नेपाल उर्बर भूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताए । व्यवसायिक भ्रमणको नेतृत्व गरिरहेका रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताए । नेपालमा लगानीका लागि रसियाका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्वपूर्ण काम गर्ने बताए । दुई देशका व्यवसायिहरुलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको बताए । यसैबीच परिसंघ र रसियाका तीन व्यवसायिक संस्थाबीच दुई पक्षिय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । रसिया उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिेक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो । समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेस्टिेक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गरे । उक्त समझदारी पत्रमा हस्ताक्षर तथा व्यवसायिक छलफल कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राज बहादुर शाह, अमित मोर, भीम घिमिरे, राष्ट्रिय परिषद् सदस्यहरु छायाँ शर्मा, अमित बेगानी, मनिष खेम्का, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी भएका थिए ।