टीभीएस अपाचेको आरटीआर १६० सार्वजनिक, मूल्य तीन लाख बढी
काठमाडौं । टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको न्यु-जेन इन्जिनले बेस्ट-इन-क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर-टु-वेट रेसिओमा वृद्धि ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०२४ टीभीएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टएक्सोनेक्टटीएम सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । आरटीआर ओभरस्क्वायर न्यु-जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल-इन्जेक्टेड १५९.७ सीसी सिंगल-सिलिन्डर, दुई-भल्भ ओटा एसओएचसी एयर-कूल्ड इन्जिन रहेको छ । यसको पावर हाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार डबल-क्रयाडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच-स्पीड गियरबक्स र २७० एमएम रोटो-पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ । नेपालमा २०२४ टीभीएस अपाचे आरटीआर १६०- म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ । जसको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
चिया निर्यातमा भारतीय अवरोध हट्यो
झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘रोकिएका सबै ट्रक आज छाडिए, उनले भने, “‘ब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन ।’ पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाएको थियो । गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यवहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधानअनुरुप चियाको निर्यात गर्न दिन माग गर्दै आएको थियो । नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो । अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भयो । चियाको एउटा नमूनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन थियो । भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई आज छाडिदिएको हो । सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।
नेपाल रिमा लगानी बढाउँदै हिमालयन र एशियन लाइफ, बुधबार किने ६३ करोडको सेयर
काठमाडौं । बुधबार पुँजी बजारमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को सेयर सर्वाधिक कारोबार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ६३ करोड रुपैयाँ बढीको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बुधबार कम्पनीको २२ लाख ६० हजार ८८० कित्ता सेयर खरिद बिक्री हुँदा ६३ करोड ३० लाख ९३ हजार २५८.५० रुपैयाँ बराबरको कारोबार भएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बुधबार नेप्सेमा कारोबार भएको स्रोतले बताएको छ । स्रोतका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । सिद्धार्थ प्रिमियरले प्रतिकित्ता २८० रुपैयाँका दरले २० लाख ७३ हजार ४४६ कित्ता सेयर बिक्रीमा राखेको थियो । सोही मूल्यमा उक्त सेयर हिमालयन लाइफले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर हिमालयन लाइफले ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँमा खरिद गरेको हो । यस्तै, ग्लोबल आइएमई क्यापिटलपनि प्रतिकित्ता २८० रुपैयाँका दरले १ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर प्रतिकित्ता २८०.२५ रुपैयाँका दरले एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर कम्पनीले ५ करोड २५ लाख २८ हजार ३८७.५ रुपैयाँमा खरिद गरेको हो । यसअघि गत मंसिरमा पनि हिलमायन लाइफ र एशियन लाइफले नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर खरिद गरेका थिए । हिमालयन लाइफले प्रतिकित्ता ३ सय रुपैयाँका दरले १९ लाख ७९ हजार २४२ कित्ता सेयर ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको थियो । यस्तै, एशियन लाइफले छुट्टाछुट्टै मूल्यमा १० लाख कित्ता सेयर २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँमा खरिद गरेको थियो । पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् भने हिमालयन र एशियनले उक्त सेयर खरिद गरिरहेका छन् । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण लगानी गर्ने अन्य क्षेत्र नभएपछि नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गरेको बताउँछन् । बैंकको ब्याजदर निरन्तर रूपमा घट्दोक्रममा रहेकाले रिइन्स्योरेन्सको सेयर खरिद गरेको उनको भनाइ छ । ‘लगानी कहाँ गर्ने ?, बैंकको ब्याजदर घटिरहेको छ । नेपाल रिको सेयर खरिद गर्याे भने पछिका दिनमा काम लागि हाल्छ,’ उनले भने, ‘हामीसँग ६५ अर्ब रुपैयाँ पुगिसक्यो । साढे ६ अर्ब लगानी गर्नुपर्छ । नेपाल रिससहित अन्य कम्पनीमा पनि लगानी गरेका छौं । नेपाल रिमा दीर्घकालमा फाइदा भएकाले लगानी गरेका हौं ।’
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
जापान । जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ । आफ्नो अवतरण सटीकताका लागि ‘मुन स्नाइपर’ भनिने स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) जनवरीमा चन्द्रमाको सतहमा आएको थियो । यसबाट जापान चन्द्रमामा सफ्ट अवतरण हासिल गर्ने पाँचौँ मुलुक बन्यो । यद्यपि कछुवा गतिमा चल्ने एउटा मिनी–रोभर बोकेको मानवरहित हलुका यो अन्तरिक्ष यान एउटा अस्पष्ट कोणमा उत्रिँदा उसको सौर्य प्यानल गलत दिशामा गयो । निराशावादी भविष्यवाणीहरूलाई बेवास्ता गर्दै फेब्रुअरीको अन्त्यमा पृथ्वीको करिब १४ दिनसम्म चल्ने चन्द्र रात समाप्त भएपछि अनुसन्धानलाई पुनर्जीवित गरिएको थियो । माइनस एक सय ३० डिग्री सेल्सियससम्मको न्यूनतम तापक्रमको सामना गरेपछि यसले गत महिनाको अन्त्यमा यो उपलब्धि दोहोर्यायो र नयाँ तस्बिरहरू पृथ्वीमा पठायो । जापान । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले बुधबार यानले तेस्रो पटक बिउँझिएपछि परीक्षणसँग सञ्चार गर्न पुनः सफल भएको बताएको छ । सामाजिक सञ्जाल एक्समा जाक्साले उक्त ल्यान्डरबाट प्राप्त चन्द्रमाको सतहको एउटा तस्बिर पोस्ट गरेको छ । ‘एसएआइएमले तीन रातसम्म जीवित रहेपछि आफ्नो मुख्य काम जारी राखेको छ’, जाक्साले भनेको छ । यसअघि जाक्साले अन्तरिक्ष यानलाई कठोर चन्द्र रातका लागि डिजाइन नगरिएको बताएको थियो । ‘हामी एसएआइएमको अवस्थाको सावधानीपूर्वक अनुसन्धान गर्न जारी राख्नेछौँ र दिन र रातमा चन्द्रमाको वातावरणमा निर्भर गर्दै कुन भाग बिग्रने सम्भावना छ र कुन भाग बिग्रने सम्भावना कम छ भनेर स्पष्ट गर्नेछौँ’, जाक्साले भनेको छ । रासस
सीईडीबी हाइड्रोले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी बैशाख ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सो दिन बिहानको ८ बजे दुई आर्थिक वर्षको साधारण सभा आव्हान गरेको हो । सो दिन कम्पनीले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख १९ गतेदेखि बैशाख ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै बैशाख १८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको छ ।
एआईको प्रयोगले सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
काठमाडौं । सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले बुधबार सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, दुर्व्यवहार जस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताए । ‘द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पुर्याइरहेका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ ।’ प्रतिवेदनमा दुर्व्यवहारविरुद्ध उभिँदै र मानव अधिकार संरक्षण तथा साझा मानवताको सम्मानको माग गर्दै विश्वभरका मानिसहरू अभूतपूर्व सङ्ख्यामा परिचालित भएको अवस्था रहेको जनाइएको छ । विश्वका एक सय ५५ देशको मानव अधिकारको अवस्थाको मूल्याङ्कनसहितको वार्षिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन प्रभावकारी नहुँदा विश्वले एउटा डरलाग्दो परिणाम भोगिरहेको उल्लेख छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा भइरहेको द्रुत प्रगतिसँगै कानुनको शासनको क्षयीकरणमा थप वृद्धि हुने सम्भावना रहेको र यदि एआईको विकासको तुलनामा नियमन पछाडि नै रहने क्रम जारी रहने हो भने यसले मानव अधिकारको उल्लङ्घनका घटना बढाउन जोखिम रहेको समेत औँल्याइएको छ । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारका अनुसार गहिरिँदो विश्वव्यापी असमानता, सर्वोच्चताका लागि तल्लिन महाशक्तिहरू र बढ्दो जलवायु सङ्कटको बीचमा मानव अधिकारको दमन र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बढ्दो रहेको पाइएको छ । प्रतिवेदनमा सैनिक, राजनीतिक र व्यावसायिककर्ताले हतियारको रूपमा नियमित प्रयोग गरिरहेका नयाँ र परिचित प्रविधिको अनियन्त्रित प्रयोगले द्वन्द्वग्रस्त क्षेत्र र अन्यत्र अराजकता, विभेद र दण्डहीनता फैलाउनलाई बल प्रदान गरेको उल्लेख छ । प्रतिवेदन भनिएको छ, ‘बढ्दो गतिको अनिश्चितताले घेरिएको वर्तमान विश्वमा विकसित प्रविधि बिस्तार र प्रयोग अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घनलाई बढोत्तरी गर्ने माध्यम बनेको छ ।’ एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले राजनीतिक दलका नेता र संस्थाद्वारा मानव अधिकारका सिद्धान्तमाथि विश्वासघात गरेको कठोर मूल्याङ्कन प्रस्तुत गरेको छ । बढ्दो द्वन्द्वहरूको बीच धेरै शक्तिशाली राज्यको व्यवहारले बहुपक्षीयताको विश्वसनीयतालाई थप क्षति पुर्याएको र सन् १९४५मा पहिलो पटक स्थापना गरिएको विश्वव्यापी नियममा आधारित व्यवस्थालाई कमजोर बनाएको प्रतिवेदने देखाएको छ । गत अक्टोबर ७ मा हमास र अन्य सशस्त्र समूहहरूले गरेको भयानक हमलापछि मानव अधिकार उल्लङ्घनमा बढावा दिएको, अत्यावश्यक मानवीय सहायताको पहुँचमा रोक लगाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा गलत सूचना फैलाउन, समुदायहरूलाई एकअर्काको विरुद्धमा खडा गराउन र अल्पसङ्ख्यकमाथि आक्रमण गर्नका लागि राजनीतिक शक्तिको सहयोग र मतियारीका लागि नयाँ तथा विद्यमान प्रविधिलाई हतियार बनाइएको औँल्याइएको छ । ‘प्रविधिहरूको अनियन्त्रित विकासले निम्त्याउने जोखिम र यसबारे नियमन र सुरक्षणका सवालमा जुन ठाउँमा हुनुपर्ने हो, त्यसबीच ठूलो खाडल रहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यो भविष्यको पूर्वानुमान हो, अनियन्त्रित प्रविधिको व्यापक बिस्तारलाई कम नगर्ने हो भने यो समस्या अझ खराब मात्रै हुनेछ ।’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले सन् २०२३ मा नेपालमा पनि मानव अधिकारको अवस्था सन्तोषजनक नभएको बताए । प्रतिवेदनमा नेपालमा पहिलो पटक यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई विवाह दर्ता गरिएको राम्रो पक्ष प्रतिवेदनमा छ । समग्रमा सन् २०२३ मा मानव अधिकारको अवस्था विश्लेषण गर्दा विभिन्न देशमा द्वन्द्वका कारण मानव अधिकारको उल्लङ्घन धैरै भएको र मानव अधिकार रक्षकलाई पनि संरक्षण गर्न कठिनाई भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वभरी नै आर्थिक सङ्कटका कारण शरणार्थी र आप्रवासीलाई थप समस्या परेको जनाइएको छ । रासस
प्राधिकरणको आम्दानीबाट विद्युत सहुलियत धान्न सम्भव छैन : घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले विभिन्न शिर्षकमा दिने विद्युत सहुलियत धान्न असम्भव रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले सरकारले विद्युतीय सहुलियत घोषणा गर्ने तर सरकारले प्राधिकरणलाई सहयोग नगर्ने अवस्था रहेको बताए । सरकारले दिने विद्युत सहुलियतको रकम प्राधिकरणलाई सरकारले दिनुपर्ने दाबी गरे । घिसिङले विद्युत प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियतको धान्न सम्भव नहुने उल्लेख गरे । सरकारले सहुलियत घोषणा गर्ने तर प्राधिकरणलाई रकम भुक्तानी दिँदा प्राधिकरण समस्यामा परेको गुनासो गरे । शित भण्डारणको लागि सरकारले विद्युतमा ५० प्रतिशत अनुदान दिएको अनुदानको रकम अहिलेसम्म अर्थ मन्त्रालयले नदिएको दाबी उनको थियो । उनले प्राधिकरणले सिंचाईको लागि २.२५ पैसा, खानेपानीमा ५.७५ पैसा र चार्जिङ स्टेसनमा ७.५० पैसा शुल्क लिइरहेको बताए । सरकारले २० युनिट विद्युत खपत गर्नेलाई छुट दिएका उपभोक्ता मात्रै उपभोक्ता २५ लाख रहेको बताए । सरकार विभिन्न शिर्षकमा दिएको २० युनिट विद्युतको शुल्क बाहेक डिमाण्ड शुल्क, खानेपानी, सिंचाई, कोल्ड स्टोरेज समेत गरी करिब ७ अर्ब बराबरको रकम अर्थ मन्त्रालयसँग माग गरिएको तर मन्त्रालयले अहिलेसम्म सम्बोधन गरेको बताए । उनले विद्युत प्राधिकरणले प्रति युनिट ९.३५ पैसा रुपैयाँमा विद्युत दिइरहेको बताए । प्राधिकरणको सबै विद्युत हिस्सा नभएकाले विद्युत प्राधिकरणले पनि विद्युत खरिद गरेर नै उपभोक्तालाई वितरण गर्ने भन्दै प्रत्येक महिना ७ अर्ब रुपैयाँ विद्युत खरिद गरेको पैसा तिर्ने गरेको बताए । विद्युत व्यापारबाट भन्दा पनि अन्य आम्दानीबाट प्राधिकरण नाफामा गएको जानकारी दिए । ‘शित भण्डारणको लागि सरकारले विद्युतमा ५० प्रतिशत अनुदान दिएपछि हामीले ५० प्रतिशत रकम व्यवसायीहरुबाट पाइरहेका थियौं । सरकार विभिन्न शिर्षकमा दिएको २० युनिट विद्युतको शुल्क बाहेक डिमाण्ड शुल्क, खानेपानी, सिंचाई, कोल्ड स्टोरेज समेत गरी करिव ७ अर्ब बराबरको रकम एडजसमेण्टको लागि अर्थ मन्त्रालयलाई पठाएका थियौं । विद्युत प्राधिकरणले प्रति युनिट ९.३५ पैसा रुपैयाँ पर्छ । विद्युत प्राधिकरण विद्युत खरिद गर्नुपर्छ । विद्युत प्राधिकरणको राजश्व संकलनबाट नै सबै कुरा सञ्चालन गर भन्दा एकदमै असम्भव छ’, उनले भने । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलले स्वदेशी उत्पादनहरुलाई भण्डारण गर्ने स्टोरेजहरुलाई मात्रै सहुलियत दिनुपर्ने बताए । उनले त्यसको लागि सम्बन्धित निकायहरुले अनुगमन गर्ने आवश्यक रहेको बताए । सचिव पौडेलले कोल्डस्टोरहरुमा कुन वस्तु प्राथमिकता दिने विषयमा खाल गर्न आवश्यक रहेको बताए । कोल्ड स्टोरेजहरुलाई वर्गिकरण गर्नु आवश्यक रहेको बताए । कोल्ड स्टोरेजहरुलाई विद्युतमा ५० प्रतिशत अनुदान दिने हो भने अर्थ मन्त्रालयबाट कृषि मन्त्रालयलाई बजेटको व्यवस्था गर्नु आवश्यक रहेको जानकारी दिए । बैठकमा कोल्ड स्टोरेज संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत विद्युत शुल्क लिने निर्णयले व्यवसायीहरुले शित भण्डारण सञ्चालन गर्ने अवस्था नभएको बताए । सरकारले विगतमा कोल्ड स्टोरेजहरुमा ५० प्रतिशत विद्युत अनुदान निरन्तरता दिन माग गरे । शित भण्डारहरुमा कृषि मिटर जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिन माग गरे ।
पार्किन्सन रोगका कारण वार्षिक ७ सयको मृत्यु, कसरी गर्ने उपचार ?
काठमाडौं । पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अफ्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमा समेत मनाउँदै आइएको छ । दिमागको भित्रि भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरिरको सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरिर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निस्कृय हुँदै जान्छ तव पार्किन्सन रोग देखिन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाईन्छ । पार्किन्सन रोगका लक्षणहरु पार्किन्सन रोग लागेका व्यक्तिलाई भिन्नभिन्दै लक्षणहरु देखिने गरेको पाईन्छ । जसमा मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशीबाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् । मांसपेशीलाई असर गर्ने लक्षणहरुमा कम्पन, कडापन सुस्तपना, र हिँडाईमा समस्या आदी रहेका छन् । हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा विरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं । यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ । शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनैपनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ । यस्तै, मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु समेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाव तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा विर्सने आदी हुन् । नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका बिरामी रहेका पाईन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७ सय जनाको मृत्यु भएको पाइन्छ । उपचार विधि दिमागको भित्रि भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा बिरामीलाई आराम हुने र निको हुने हुन्छ । यो रोग औषधी सेवनका कारण पुरा निको हुने रोग होइन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षणपनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ बिरामी प्रत्येक वर्ष २०० को हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना विरामी ७०० को हाराहारीमा रहेका छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका बिरामीलाई उपचारका लागि १ लाख रूपैयाँ दिने व्यवस्था गरेको छ । (डा. राजु पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका वरिष्ठ न्यूरोलोजिष्ट हुन् ।)