डिएभी विद्यालयले सम्पन्न गर्यो सांस्कृतिक कार्यक्रम
काठमाडौं । डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ बुधबार विद्यालयको सभागृहमा सम्पन्न भएको हो । भारतीय राजदुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवको मुख्य आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय चर्चित कलाकारहरुको एकल प्रस्तुति रहेको थियो भने डिएभी विद्यालयको तर्फबाट विभिन्न प्रकारका सामूहिक तथा एकल प्रस्तुति रहेका थिए । डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा भारतीय चर्चित कलाकार शशी रमेशको भरतनाट्यम नृत्य, बिभाहरी आशिश नेभ्रेकारको कथक नृत्य र शिव प्रसाद एन.एन. को बेजोड गीत र सङ्गीतले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए । त्यसैगरी डिएभी विद्यालयका विभिन्न तह र कक्षाका विद्यार्थीहरुले टाट्कर जय पुरी घराना र ठुम्रीमा आधारित कथक नृत्य, काशी विश्वनाथम कथामा आधारित भरतनाट्यम नृत्य र उत्तर–दक्षिण भारतको क्लासिकल जुगलबन्दी नृत्यलाई बेजोड रूपमा प्रस्तुत गरेको विद्यालयले जनाएको छ । साथै, केही समसामयिक चर्चित नेपाली र हिन्दी गीत सङ्गीतलाई समेत क्लासिकल विद्याका विभिन्न तालमा प्रस्तुत गरेका थिए । तरङ्गको राग आयामलाई घनिभूत तुल्याउन डिएभी विद्यालयका विद्यार्थीहरुले एकल, युगल र सामूहिक गीत प्रस्तुत गरे । कार्यक्रममा साहित्य, सङ्गीत र कला अनुरागी, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रममा सुशिला आर्ट एकेडेमीकी संस्थापक एंव अध्यक्ष युलीया कोइरालाले स्वागत मन्तव्यसहित गीत सङ्गीत र नृत्यले शिक्षा क्षेत्रमा पुर्याइरहेको अतुलनिय योगदानको चर्चा गर्दै डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया र प्राचार्य डा. भुवनेश्वरी रावको साहित्य र कलाको प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय दुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवले कार्यक्रमका आयोजकले दुई देश बिच साहित्य, कला र संस्कृति आदान–प्रदान र जगेर्ना गर्ने अभियानमा पुर्याइरहेको योगदानको चर्चा गर्दै उपस्थित सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक र साहित्य अनुरागीहरूलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । सोही अवसरमा उनले अनादिकालदेखि नेपाल–भारत बिच रहेको पारस्परिक सम्बन्धमा सांस्कृतिक भूमिकाको विस्तृत रुपमा चर्चा गरेका थिए । तरंग कार्यक्रममा प्रस्तुत भएका भारतीय कलाकार लगायत डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमी सम्बद्ध सङ्गीत र नृत्य विभागका सम्पूर्ण शिक्षकहरूलाई मुख्य अतिथि श्रीवास्तव, उनकी श्रीमती निधी श्रीवास्तव र विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले मायाको चिनोसहित प्रसंशा पत्र प्रदान गरेका थिए । उपस्थित पाहुनाको स्वागत र सत्कारको लागि विद्यालयका उप–प्राचार्य रामचन्द्र खनाल, सि.ए.ओ. विजया टाटर, एस.एस.ओ. प्रशान्त सामल र प्लस टु कोर्डिनेटर टेङ्क मेघजी देवजी लगायत विभिन्न तहका कोर्डिनेटरहरुको उपस्थिति रहेको थियो । तरंग सांस्कृतिक कार्यक्रमको उद्घोषक शिक्षकद्वय शशिल्ता राई र मोहिनी तामाङ्ग थिए । आस्था ठाकुरको मन्तव्यसहित कार्यक्रम औपचारिक रूपमा समापन भएको विद्यालयले जनाएको छ ।
सिद्धार्थ बैंकलाई ‘अन्तर-बैंक पुरुष फुटसल’ को उपाधि
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले आयोजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । बुधबार वीरगञ्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६-० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । विजेता टिमलाई वीरगञ्ज उप-महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका थिए । सो फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।
प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत
काठमाडौं । प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ । बैंकको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो । सापकोटा बैंकको संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।
विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो, सञ्चालन खर्च कम आउने
गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार गर्ने योजनामा छ । ‘एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा छपटक भ्यान छुट्छ’, प्रालिका अध्यक्ष उमेश केसीले भने, ‘सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन् ।’ चौध सिट भएको उक्त भ्यानमा सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था रहेको छ । भ्यानमा पोखरा–बागलुङको भाडादर प्रतियात्रु चार सय ५० रुपैयाँ तोकिएको छ । प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौंमा उक्त सेवा बिस्तार गर्ने योजना बनाएको अध्यक्ष केसीले बताए । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन, पाटपुर्जाआदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योलता देखिएको उनको भनाइ छ । ‘सरकारले विद्युतीय सवारीसाधनको आयातदेखि चार्जिङ स्टेसन बिस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितताजस्ता विषयमा ध्यान दिनुपर्छ’, अध्यक्ष केसीले भने । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले उक्त कार्यालयमा ५० भन्दाबढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए । पोखरामा आठ वटा विद्युतीय ट्याक्सी र स्कुटर एक सयभन्दा बढी दर्ता भई सञ्चालन भइरहेको उनको भनाइ छ । ‘निजी विद्युतीय कारको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ’, प्रमुख रिजालले भने, ‘पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ ।’ उनले डिजेल–पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च कम आउने बताए । ‘प्रदुषणमुक्त हुने र सेवासुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ’, प्रमुख रिजालले भने, ‘सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ ।’ प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको बताए । ‘गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको संख्या बढ्दो छ’, उनले भने, ‘कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ ।’ पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन् । चार्जिङ स्टेनशन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले बताए । विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा दुई वटा चार्जिङ स्टेशन स्थापना गरेको उनको भनाइ छ । बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेशन राखिएको छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेशन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ । रासस
समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरीङ सेन्टरमा छुट हुने
काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा छुट हुने भएको छ । बिहीबार डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाण्डौसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले शुक्रबारदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरीङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
कोरिया । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो । नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो । यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । यसले कोरियाली प्रायद्वीप र त्यस वरपरका क्षेत्रहरूको निगरानी गर्नेछ र तस्बिर लिएर सरकारलाई राष्ट्रिय सुरक्षामा आउने कुनै पनि धम्की, प्राकृतिक विपत्ति वा कुनै पनि खतराको तुरुन्त प्रतिक्रिया दिन सहयोग गर्नेछ । दक्षिण कोरियोले सन् २०२६ जुनमा थप पाँच नानोस्याटेलाइट प्रक्षेपण गर्ने र सन् २०२७ सेप्टेम्बरमा स्वदेशी नुरी अन्तरिक्ष रेकटमा अन्य पाँचवटा नानास्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । रासस
हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन, विद्युत निर्यात गर्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत छिमेकी भारतमा बिक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे । ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत उत्पादनको लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ’ उनले भने । एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आव्हान गरे । ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताए । ‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो’ उनले भने । लगानीको लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत विद्येयक चाडोँ भन्दा चाडोँ पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे । जलविद्युत परियोजना विकासको लागि नयाँ विद्युत ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गरे । ‘परियोजनाको लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ’ मन्त्री बस्नेतले भने । अहिले जलविद्युत परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्धासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागिसमेत टेवा पुग्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी भइसकेको बताए । ‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भुमिका खेलिरहेको र दक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन्’ उनले भने । उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गरे । सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्नको लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । विदेशी लगानी वृद्धि गर्नको लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउदै लैजान सरकारसँग आग्रह गरे । जलविद्युत परियोजना विकाससँग स्थानीय विकासमा महत्वपूर्ण सहयोग पुगिरहेको छ । आयोजाना प्रवद्र्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्याएको बताए । नेपालका लागि क्यानाडाका राजदुत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिको लागि जलविद्युतको विकास महत्वपूर्ण रहेको उल्लेख गरे । ‘नेपालमा जलविद्युत परियोजनाको विकास गर्नको लागि क्यानाडासँग रहेको शीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ’ उनले भने । उनले नविकरणीय ऊर्जा विकासको लागि अद्यावधिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । समद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ । इप्पानका बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत निर्यातमाभन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा रहेको बताए । यसको लागि सबै सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको महत्वपूर्ण हुने उल्लेख गरे । समद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरू भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।
इमर्जेन्सी सेयर बेच्न अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्छ : निरञ्जन फुयाँल
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले दोश्रो बजारमा अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले इमर्जेन्सीअवस्थामा सेयर बेच्नको लागि उक्त व्यवस्था हुनुपर्ने बताएका हुन् । ‘ब्रोकरले तीन दिनपछि मात्रै पैसा दिन्छ, इमर्जेन्सी पैसा आवश्यक परेर राती सेयर बेच्नु परे के गर्ने ? त्यसका लागि अफ मार्केट ट्रान्जिक्सन हुनुपर्छ,’ फुयाँलले भने । उनले आधारभूत रुपमा राम्रो कम्पनी हेरेर सेयर किन्ने लगानीकर्तालाई घाटा नहुने बताउँदै उनले भने- ‘नबिल बैंक र गोरखकाली रबर उद्योग एकैपटक सेयर कारोबार भएका हुन् । तर नबिल बैंकको अर्बौंको पोर्टफोलियो छ । रबर उद्योगको शून्य ।’ त्यस्तै, देशको अर्थमन्त्री परिवर्तन हुँदा पुँजी बजारमा केही समय मात्रै प्रभाव पार्ने स्पष्ट पारे । कम्पनीको सेयर मूल्यलाई सीईओको भूमिकाले नि निर्वाह गर्ने बताउँदै उनले कम्पनीको सीईओ कस्तो हो ? कति अब्बल छ भनेर लगानीकर्ताले विश्लेषण गर्नुपर्ने बताए । ‘मेगा बैंक र जनता बैंकले एकैदिन लाइसेन्स पाए । पुँजी बजारमा एउटै दिन कारोबारमा आए तर सेयर मूल्य १ सय रुपैयाँ तलमाथि भएर कारोबार भयो,’ उदाहरण दिँदै फुयाँलले भने । पुँजी बजारमा लगानी गर्दा देशको आर्थिक अवस्था, कम्पनी र उद्योगको विश्लेषण गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार एउटै किसिमको पीई रेसियो कायम गर्न सके राम्रो मानिने र कम पीई रेसियो भएका कम्पनीको सेयर किन्दा जोखिम कम हुन्छ । तर वाणिज्य बैंकको सबैभन्दा कम पीई रेसियो भएपनि लगानीकर्ताले लगानी गरेको नपाइएको उनले भने । बजारमा ओभर क्यापिटलाईजेशन हुँदा तरलता अभाव भएको देखिन्छ । नेपालमा उत्पादन भएको जलविद्युत् भारतले खरिद गरेन, अन्य कुनै वैकल्पिक (सोलार) बाट बिजुली उत्पादन भएर जलविद्युत आयोजनाको भविष्यमा समस्या आउँछ । लगानीकर्ताले यस विषयलाई पनि विश्लेषण गर्नुपर्ने फुयाँल बताउँछन् । त्यस्तै, नीति नियम, टेक्निकल र सूचना प्रभावकारी हुँदा पुँजी बजारले सकारात्मक दिशा लिने बताउँदै उनले बजारमा प्रवेश गर्दा सकेसम्म न्यूनतम शुल्कमा प्रवेश हुनुपर्ने बताए ।